खतना गर्दा अत्यधिक रक्तस्राव भई बालकको मृत्यु

  ०७५ चैत २७ गते

धार्मिक परम्परा मान्ने क्रममा महोत्तरीमा एक बालकको मृत्यु भएको छ । इस्लाम धर्माम्वलम्बी परिवारमा दुई महिने बालकको खतना गर्दा अत्यधिक रक्तस्राव भई बालकको मृत्यु भएको हो ।

लोहारपट्टी नपा-५ बस्ने आशिक शेषका दुई महिने छोरा फिरोज शेषको चैत २५ गते राति परिवारजनले धर्म गुरूहरू, आफन्त, इष्टमित्र र नाता कुटुम्बलाई बोलाई बाजागाजाका साथ पूजाआजा र भोजभतेर गरी खतना गर्दा अत्यधिक रक्तस्राव भएको र रक्तस्राव नरोकिएपछि उपचारका लागि अञ्चल अस्पताल जनकपुरमा बालकको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काले जनाए अनुसार घटनाबारे विशेष अनुसन्धान गर्न तथा सम्बन्धित व्यक्तिलाई गिरफ्तार गरी ल्याउन जिल्ला प्रहरी कार्यालयले चैत २६ गते प्रहरी टोली पठाएको छ ।


अजयकुमार साह