खडेरी प्रभावित क्षेत्रमा आएको चामल वितरण नहुँदा कामदार मर्कामा

  ०७३ कात्तिक २५ गते

सर्किदेउ, बराई, साँया, रोडिकोट, गोठी, श्रीनगर, कालिका, मैला, मदान र जैर गाविसमा खडेरीग्रस्त पीडितका लागि आएको चामल कात्तिक २३ गतेसम्म वितरण नहुँदा सडकमा काम गर्ने कामदार मर्कामा परेको स्थानीयबासीले गुनासो गरेका छन् ।

नेपाल सरकारले खडेरी प्रभावित हुम्ला जिल्लाका स्थानीयबासीलाई दिएको खाद्यान्न काम गरेपछि दिने बताइएको थियो । ०७३ जेठको खडेरीले यहाँका स्थानीय प्रभावित भएका हुन् । सरकारले काम गरेपछि खाद्यान्न दिने भनेपछि स्थानीयलाई सडक खन्ने कामगर्न लगाइएको थियो । काम गरेको तीन महिना बितिसक्दा पनि खाद्यान्न वितरण नगरिएकाले कामदार मर्कामा परेको सर्किदेउ गाविसका रामबहादुर परियारले गुनासो गरेका छन् ।

खेडेरी परेपछि भोकमरीको चपेटामा परेका स्थानीयबासीलाई राहत पुगोस भन्ने उद्देश्यले जिल्ला विकास समितिमार्फत नेपाल खाद्य संस्थानले वितरण गर्ने गरि काम गर्न ताकेता दिएपछि सदरमुकामदेखि मुगुको गमगढी जाने करिब ९२ किलोमिटर बाटो निर्माण गरिएको थियो ।

बाटो निर्माण सम्पन्न भएपनि हालसम्म सर्किदेउ, बराई, साँया, रोडिकोट, गोठी, श्रीनगर, कालिका, मैला, मदान र जैर गाविसका स्थानीयबासीले खाद्यान्न (चामल) नपाएको परियारले गुनासो गरे ।

प्रति घरधुरीलाई यसअघि नेपाल खाद्य संस्थानले डाँडाफया, खार्फनाथ र सेडालगायतका गाविसका कामदारलाई ५० केजीको दरले वितरण गरेको थियो । ती गाविसका बासिन्दाले पाए सरह सरह आफूहरूले पनि पाउनु पर्ने चामल हालसम्म नपाएको रोडिकोट गाविसका ओमप्रकाश जैसीले गुनासो गरे ।

सर्केघाडमा केही चामल आएपनि सबैलाई पुग्ने गरी चामल ढुवानी नभएको भन्दै वितरण नगरेको खाद्य संस्थानका प्रमुख नारायणसिहं केसीले बताए ।

जिल्ला विकास समितिको सिफारिसमा काम गरे पश्चात खाद्य संस्थानले वितरण गर्ने गरी चामल ढुवानी गर्ने सरकारी निर्णय थियो । यस्तो निर्णय गत साउनमा गरिएको बताइएको छ । थियो । उक्त चामल सर्केघाडका लागि ३ हजार ५ सय र श्रीनगर डिपोका लागि ४ हजार ५ सय क्वीन्टल ढुवानी गर्ने भनिएको थियो । समयमै चामल नआएका कारण वितरण गर्न रोकिएको खाद्य संस्थानका प्रमुख केसीले बताए ।

पैदल मार्गबाट चामल ढुवानीमा ढिलाई भएपछि पर्यटन मन्त्री जीवनबहादुर शाहीको पहलमा हेलिकप्टरबाट सर्केघाडमा ४ सय १७ क्वीन्टल २० केजी, श्रीनगरमा ३ सय ९० क्वीन्टल ३० केजी मात्र ढुवानी भएकाले वितरण गर्न समस्या हुने हुँदा वितरण नगरिएको प्रमुख केसीले बताए । श्रीनगरमा ढुवानी भएको उक्त चमाल पछि डिपोबाट श्रोत भर्ना हुने गरि १ सय ९ क्वीन्टल बिक्री गरि रकम संस्थानमा जम्मा भएको केसीले जानकारी दिए ।


नन्द सिंह