क्षमता भन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या

  ०७३ साउन ३१ गते

गोरखा कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा कठिनाइ भएको कारागार प्रशासनले जनाएको छ । ४५ जनाको क्षमता भएको पुरुष बन्दी गृहमा ८३ जना राख्नु पर्दा उनीहरूको व्यवस्थापनमा कठिनाइ भएको जेलर दिवाकर पौडेलले जानकारी दिए ।

१० जना महिलाको क्षमता रहेको कारागारमा नौ जना रहेकाले महिलाका लागि भने खासै समस्या नरहेको जेलर पौडेलले बताए । 'शौचालय जान लाइन नै बस्नुपर्छ ।'-कारागारका चौकिदार नारायण ढकालले भने-'ठाउँ नहुँदा खाना खाने ठाउँमै सुत्ने गरेका छौँ ।' खानेपानीको पनि निकै समस्या रहेको उनले बताए ।

गत वर्ष वैशाख १२ गते गएको भूकम्पले कारागारको पर्खाल भत्काएपछि व्यवस्थापनमा झनै समस्या भएको जेलर दिवाकर पौडेलको भनाइ छ । 'भूकम्पले नभत्काएपनि नयाँ बनाउनुपर्ने त थियो । तर, अहिलेसम्म बनाउन सकिएको छैन ।'-उनले भने-'कारागारको सबै समस्या कारागार व्यवस्थापन विभागमा जानकारी गराएका छौँ ।'

कारागारका कैदीबन्दीले समय बिताउनका लागि आफूहरूलाई खेलकुद सामग्री पनि नभएको बताएका छन् । 'खेलमैदानको पनि अभाव छ, खेल सामाग्री पनि छैन, पत्रपत्रिका पढ्न पनि पाइँदैन ।'-चौकिदार ढकालले भने ।


हरिराम उप्रेती