क्षमता भन्दा बढी कैदीबन्दी हुँदा कारागार व्यवस्थापनमा समस्या

  ०७६ माघ २२ गते

क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी हुँदा कारागार व्यवस्थापनमा समस्या देखिएको छ । जिल्ला कारागार बागलुङको क्षमता ३५ जना कैदीबन्दी राख्ने हो । कारागारमा सेवा प्रवाह पनि ३५ जनालाई लक्षित गरेर प्रदान गरिन्छ ।

कारागारमा हाल १ सय ४ जना पुरुष, ११ जना महिला र २ जना आश्रित बालबालिका बस्दै आएको जिल्ला कारागार बागलुङका प्रमुख मोहनप्रसाद उपाध्यायले बताउँनुभयो ।

कारागारका चौकिदार सुर्य नेपालीका अनुसार कारागारमा शौचालयको ठुलो समस्या छ ।  कैदीबन्दीहरु उठेपछि आँखा खुल्ने हो भने शौच गर्नको लागि पालो पाईदैन, सबैलाई पालो दिनुपर्यो त्यसैले कोहि नउठ्दै आफु उठेर शौचालयको प्रयोग गर्ने गरेको नेपाली बताउँनुहुन्छ ।

पुरुषको लागि ३ र महिलाको लागि २ वटा शौचालय छ, पानी कारागार प्रशासनले अडकलेर छोड्ने गरेको छ, शौचालयमा पालो कुर्दा कुर्दै बिहान सकिने गरेको गुनासो चौकिदार नेपाली गर्नुहुन्छ ।

शौचालय, पानी र खानाको मात्र होइन कारागारमा स्वास्थ्य सेवा प्रवाहमा पनि समस्या देखिने गरेको छ । मानसिक रोगका बिरामीलाई छुट्टै राख्ने व्यवस्था हुनुपर्ने हो, जिल्ला कारागार बागलुङका स्वास्थ्यकर्मी एच.ए. आशिष सापकोटाले भन्नुभयो –‘यहाँ एकजना मानसिक रोगका बिरामी हुनुहुन्छ तर उहाँलाई छुट्टै राख्ने व्यवस्था नभएकोले सबैसँंग राख्नुपरेको छ ।’

कारागारमा महिलाको लागि एक र पुरुषहरुको लागि एक गरि दुईवटा भवन रहेका छन् । ‘क्षमताभन्दा तीन गुणा बढी कैदी र थुनुवाहरुलाई एकैठाउँमा राख्दा समय समयमा स्वास्थ्य समस्या देखिने गरेको छ । कारागारमा मानसिक रोगी, दिर्र्घ रोगीहरुलाई छुट्टै राख्ने व्यवस्था छैन।’, सापकोटाले भन्नुभयो–‘मानसिक रोगका बिरामीलाई कारागारमै स्वास्थ्य उपचार गर्दै आएको छु । कहिले काँही जटिल समस्या आउँदा धौलागिरि अञ्चल अस्पताल बागलुङमा लैजाने गरिएको छ ।’

कारागारमा आश्रित बालबालिकाहरुको लागि छुट्टै व्यवस्थापन छैन । आश्रितले सरकारबाट पाउँने रासन पाए पनि पोषणयुक्त खानेकुराको अभाव रहेको सापकोटाले बताउँनुभयो ।

धेरै मानिस कोचिएर बस्नुपर्छ, जाडोमा जेनतेन चलेको छ गर्मी लागेपछि निकै ग्राहो हुन्छ कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका बल बहादुर पौडेलले भन्नुभयो ।

कारागारमा दैनिक कैदी बन्दी थपिन्छन् सेवामा सुविधा सधै एउटै हुन्छ पौडेलले भन्नुभयो राम्रो पिउने पानी छैन, शौचालयको समस्या छ, भवन जिर्ण छ समस्या समाधानको बारेमा कसैको ध्यान गएको छैन । कतव्र्य ज्यान मुद्दामै कैद भुक्तान गरिरहेकी मन कुमारी पुन कारागारमा पत्रपत्रिका, रेडियो र टेलिभिजनको व्यवस्था हुनुपर्ने बताउनुहुन्छ ।

रेडियो, टेलिभिजन भए समाचार सुन्न हेर्न सुन्न पाइन्थ्यो, पुरानो टिभी बिग्रेको लामो समय भयो, पत्रपत्रिका पनि थोरै आउँदा रहेछन् हामीलाई पुग्दै पुग्दैन । महिला भन्दा कारागारमा पुरुषहरुको संख्या बढी भएको कारणले महिलाले भन्दा प्राथमिकता पुरुषले पाउने गरेको उहाँको गुनासो छ ।

जिल्ला कारागार बागलुङका प्रमुख मोहनप्रसाद उपाध्यायका अनुसार कारागारको नयाँ भवन निर्माणको लागि सम्झौता भइसकेको छ । आगामी जेठ महिनामा सक्ने गरि १ भवन र २ शौचालयको सम्झौता भएर काम सुरु भएको छ, । उहाँले भवन निर्माण भएपछि केहि हदसम्म समस्या समाधान हुनेछ ।

कारागारमा अधिकांश कर्तव्य ज्यान मुद्दाका कैदीबन्दी रहेका छन् । ज्यान मुद्धाका २९ जना, जवरजस्तीकरणीका २४ जना, बहुविवाहका ७ जना, चोरीका ६ जना, हाडनाता करणीका ६ जना, लागुऔषधका ४ जना, सवारी ज्यान मुद्धाको १ जना, अभद्र व्यवहारका ४ जना रहेका छन् भने कारागारमा विभिन्न घटनामा संलग्न अन्य ३३ जना कैदीबन्दी रहेका छन् ।

 

 

 


सिर्जना पन्त