क्षमता भन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या

  ०७५ वैशाख १३ गते

जिल्ला कारागार डडेल्धुरामा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या भएको छ । २५ जनाको क्षमता रहेको कारागारमा ४२ जना कैदी र तीन जना थुनुवा गरी ४५ जना कैदीबन्दी हुँदा बस्न समस्या भएको जेलर शिवराज भट्टले बताए ।

विसं २०४२ सालमा निर्माण गरिएको कारागार अहिले जीर्ण छ । अब बर्खाको समय आउनै लागेकाले पानी परेको बेला चुहिने भएकाले कैदीबन्दीहरूलाई कसरी सुरक्षित राख्ने भन्ने चिन्ताले सताउन थालेको जेलर भट्टले भने  । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएकाले उपचारका लागि पनि समस्या भएको उनले बताए ।

कारागारमा एकजना एचएको दरबन्दी भए पनि हाल उक्त दरबन्दी रिक्त हुँदा उपचारमा समस्या भएको हो ।

कारागारमा २५ जनाका लागि मात्रै औषधि उपचार खर्च हुने भएकाले क्षमताभन्दा दोब्बर कैदी हुँदा औषधिको अभाव हुने गरेको जेलर भट्टले बताए ।


भुपेन्द्र बिष्ट