क्षमता भन्दा तेब्बर बढी कैदी / बन्दी हुँदा कोभिड सङ्क्रमणको जोखिम, चिसोमा सुत्न समस्या

  ०७७ कात्तिक २१ गते

जिल्ला कारागार गुल्मीमा क्षमता भन्दा तेव्बर बढी कैदी/बन्दी भएपछि व्यवस्थापनमा चुनौति थपिएको छ । जिर्ण कारागार र सिमित स्रोत साधनका बिच कैदी/बन्दी अत्यधिक भएकाले एकातिर कोभिड सङ्क्रमणको जोखिम रहेको छ भने चिसो मौसममा खान र सुत्न समेत समस्या हुन्छ ।

कारागारको क्षमता पाँच महिला र २० पुरुष गरि २५ जनाको हो । अहिले कारागारमा ८९ जना छन् । पुरुष कैदी ४३ र बन्दी ३४, महिला कैदी चार र बन्दी चार जना छन् । भने कारागारमा दुई जना आश्रित बालक र दुई जना ६५ वर्ष माथिका ज्येष्ठ नागरिक रहेका छन् ।

सरकारले कोभिड सङ्क्रमणको कारण सबै क्षेत्रमा सामाजिक दुरी कायम गर्न भनेको छ । तर, साँघुरो र जिर्ण कारागारमा त्यो सम्भव छैन । जिल्ला कारागारका नाइके यमबहादुर सुर्यवंशीले दिउँसोमा बाहिर बस्ने र काम गर्ने भएकाले केहि सहज भएपनि रातमा निकै समस्या भएको गुनासो गरे । ‘मुटु कमाएर सुत्न परेको छ, लगाउने तातो कपडा छैन्,’उहाँले भन्नु भयो ।,‘कोरोना संक्रमणमा सामाजिक दुरी कहाँबाट कायम गर्नु ।’ चिसो मौसममा कारागारले दिएका मात्रै ओड्ने ओछ्याउनेले पुग्दैन् ।

photo2020100601gulmi

आर्थिक अवस्था राम्रो हुने परिवारले व्यक्तिगत रुपमा पनि घरबाट कपडा पुर्‍याउने गरेका छन् । तर, बिपन्न कैदीबन्दीको परिवार मुटु कमाउँदै सुत्छन् । क्षमताभन्दा तेब्बर बढि कैदी/बन्दी भएपछि नियमित खानपान, खानेपानी, सुत्ने र शौचालयको समस्या नयाँ होइन । एउटा मात्रै शौचालय भएकाले दैनिक एक/आधा घण्टा कुर्नु पर्ने बाध्यतामा कैदी/बन्दी रहेको अर्का नाइके बुद्ध नेपाली बताउनु भयो । बढी कैदी/बन्दीभएकाले खाने बस्ने, सुत्ने कुरामा मात्रै उनीहरुले समस्या भोगेका छैनन् । उनीहरुले सङ्क्रमणका बेला बल्लतल्ल बुनेका मुडाको रकम समेत पाएका छैनन् ।

भदौमा उत्पादन गरेर पोखरा पठाएका ८ सय ५०  मुढाको रकम पाएका छैनन् । प्रति मुढा ३ सयका दरले कारागारका पुर्व नाइके लेखनाथ गिरी र चौकीदारले मुडा बिक्री गरेको करिब २ लाख ५० हजार रुपियाँ कैदी ÷ बन्दीलाई दिएका छैनन् । उनीहरु अहिले तनहुँ कारागार सरुवा भएका छन् । यस बिषय प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराए पनि कुनै उपाय नभएको राजु नेपालीले बताउनु भयो ।  कैदी बन्दीहरूको फोन गर्ने बाहेक अरु उपाय छैन् । ‘अहिले मुडा बिक्री गर्नेहरु तनहुँ कारागार छन्, खरिद गर्नेले पैसा उनीहरूलाई दिएका छन्, समन्वय गर्ने कोही नहुँदा समस्या पर्‍यो।,’उहाँले भन्नुभयो ।,

उत्पादनको हिसावले कारागार काराखाना जस्तै छ । कारागारमा  बाँसका मुडाका साथै  सल, सुइटर, ढकिया र बाँसकै र्‍याक, कलमदानी लगायतका सामग्री कैदी/बन्दीले उत्पादन गर्दै आएका छन् । दैनिक फुटकर २५/३० र मासिक होलसेलमा ५/६ सय मुढा कारागारबाट बिक्री हुने भएकाले कैदी/बन्दीले राम्रो आम्दानी समेत गरेका थिए । अहिले कोभिड सङ्क्रमणको व्यवसाय ठप्प छ । गुल्मी कारागारका उत्पादित सामग्री जिल्लाका मुख्य बजार बाहेक पोखरा, पाल्पा र बुटवलमा पुग्थे । अहिले कहिँकतैबाट माग नभएकाले खासै उत्पादन नगरिएको चौकीदार नेपालीले जानकारी दिनुभयो ।

यस्तै गुल्मी कारागारमा कर्मचारी अभाव छ । कारागारको दरबन्दी १० जनाको हो । अहिले तीन जना मात्रै स्थायी कर्मचारी कार्यरत छन् । कारागारमा सहलेखापाल र सिनियर अहेव लगायतका पद रिक्त छ । सङ्क्रमणको बेलामा पनि सिनियर अहेव नहुँदा कैदी/बन्दी सामान्य स्वास्थ्य उपचारका लागि पनि अस्पताल पुग्नुपर्ने बाध्यता छ ।  एक जना कर्मचारी र सुरक्षाकर्मी उपचारकै लागि दैनिक जिल्ला अस्पताल जानु पर्ने बाध्यता रहेको कारागार प्रमुख भेषराम पन्थले बताउनु भयो ।

पन्थले जिर्ण कारागार, क्षमताभन्दा तेब्बर बढी कैदी/बन्दी र दरबन्दी अनुसारका कर्मचारी र बजेट नहुँदा कारागार धेरै समस्या रहेको बताउनु भयो । उहाँले अझै पनि निरन्तर कारागार आउने कैदीबन्दीलाई छुट्टै व्यवस्थापन गर्ने ठाउँ नभएकाले कोभिड सङ्क्रमणको डरले त्रास सृजना भएको बताउनु भयो । अहिले कारागारमा कोभिड सङ्क्रमित एक जना रहेका छन् ।


टोपलाल अर्याल