क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या

  ०७७ चैत २४ गते

जिल्ला कारागार, बैतडीमा क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या हुन गएपछि  कैदीबन्दीहरु टेन्टमुनि बस्न बाध्य भएका छन् ।

१० जना महिला सहित २५ जना क्षमता भएको जिल्ला कारागार, बैतडीमा हाल ७४ जना कैदीबन्दी राखिएको छ । जसमध्ये ४० जना कैद भुक्तान गरिरहेका छन् भने ३४ जना पुर्पक्षका लागि कारागार चलान भएका थुनुवा छन् ।

क्षमता भन्दा तेब्बर कैदीबन्दी भएकाले त्रिपाल टाँगेर व्यवस्थापन मिलाइएको जिल्ला कारागार, बैतडीका जेलर अनिल तिवारीले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘क्षमता भन्दा तेब्बर कैन्दीबन्दी राख्नु पर्दा बस्न र खानपानको व्यवस्थापन गर्न समस्या छ । सबैलाई एकै ठाउँमा व्यवस्थापन गर्दा रोगको सङ्क्रमण चाँडो हुने सम्भावना पनि उत्तिकै छ । ०४० सालमा स्थापना भएको कारागारको स्तरउन्नति हुन सकेको छैन् । ’

कारागार व्यवस्था विभागलाई पटकपटक समस्या समाधानका लागि अनुरोध गर्दा पनि समाधान नभएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘सम्बन्धित विभाग र मन्त्रालयमा जानकारी गराएको छु । तर, अहिलेसम्म समस्या समाधान हुन सकेको छैन् ।  प्रहरीको थुनुवा कक्षमा पनि अनुसन्धानको म्याद सकिन लागेका व्यक्तिहरु भएकाले थुनुवाहरुको सङ्ख्या बढदै छ । यसले थप सकस्या सृजना गर्ने देखिन्छ ।’

जिल्ला कारागार, बैतडीमा महिला कैदीबन्दीहरुलाई कारागारमा राख्न समस्या भएपछि डडेल्धुरा र धनगढीका कारागारमा पठाउनु पर्ने बाध्यता रहेको छ ।

photo20210406baitadi (2)

photo20210406baitadi (1)


नरी बडु