क्षमताभन्दा बढी कैदीबन्दी, व्यवस्थापनमा समस्या

  ०७६ असार २ गते

जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । ३ सय जनाको क्षमता रहेको कारागारमा ७ सय ५५ जना कैदीबन्दी रहेका छन् ।

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा, शौचालय, खानेपानी, सुत्नेलगायत भौतिक व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । गर्मी समयमा विद्युत बढी खपत हुने तर पुर्वाधारहरू नभएका कारण समस्या भएको कारागार प्रशासनले जनाएको हो ।

करिब १७ कठ्ठा ५ धुर क्षेत्रफलमा २००० सालमा बनाइएको कारागारमा हाल ६२ जना महिला र ६ सय ९३ जना पुरुष गरी ७ सय ५५ जना कैदिबन्दी रहेका छन । जसमध्ये ४ सय ५ जना कैदी र ३ सय ५० जना बन्दी रहेका जेलर भरत पाण्डेले बताए ।

कैदीबन्दीहरू सुत्न पनि रातमा आलोपालो गरेर सुत्न बाध्य छन् । एउटै कोठामा कोचिएर सुत्नुपर्ने, बाहिर सुत्नुपर्ने, लमखुट्टेको टोकाइका साथै लुतो, दाद जस्ता छाला रोग लाग्ने भएकाले उपचारमा समेत समस्या भएको जेलर पाण्डेले बताए ।

शौचालयका लागि लाइन लाग्नुपर्ने अवस्था रहेको जेलर पाण्डेले बताए । कारागारको पर्खालको अवस्था कमजोर भएका कारण सुरक्षामा समेत चुनौति रहेको उनको भनाई छ  ।

कैदीबन्दीको समस्या समाधान गर्न कारागारलाई ठुलो क्षेत्रफल भएको ठाउँमा सार्नुपर्ने पाण्डेले बताए । खानेपानी समस्या समाधान गर्नको लागि डिपबोरिङ र बिजुलीको समस्याको समाधानका लागि आवश्यक सामग्री माग गरिएको भएपनि उपलब्ध हुन नसकेको पाण्डेले बताए  ।


स्मृति देवकोटा