क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा औषधि उपचारमा समस्या

  ०७३ पुस १५ गते

जिल्ला कारागार बैतडीमा क्षमताभन्दा दोब्बर कैदीबन्दी भएकाले औषधि उपचारमा समस्या भएको कारागार प्रशासनले जनाएको छ ।

२५ जनाको क्षमता भएको जिल्ला कारागारमा ४७ जना कैदी र एक जना थुनुवा गरी जम्मा ४८ जना कैदीबन्दी रहेका छन् । २५ जनाको लागि मात्रै आषधि उपचार खर्च हुने भएकाले बाँकिको उपचार गर्न समस्या भएको जिल्ला कारागार बैतडीका जेलर अनिल तिवारी बताए ।

कारागारमा एक अहेबको दरबन्दी भएपनि हाल उक्त दरबन्दी रिक्त रहेको तिवारीले बताए । जिल्ला अस्पताल बैतडीले करारमा अहेब भर्ना गरी सेवा दिइरहेको जनाएको छ । हिउँदको समयमा कैदीबन्दीमा रुघाखोकीको समस्या देखिएको जेलर तिवारीले बताए ।

खानपिन र बासोबास एकै ठाउँमा भएकाले एक जनालाई लाग्ने सरुवा रोग सबैमा सर्ने खतारा भएको र त्यसको लागि औषधि-उपचारको समस्या रहने उनले बताए ।

२०४२ सालमा निर्माण गरिएको कारागार भवन जीर्ण अवस्थामा छ । पानी परेको बेला चुहिने भएकाले छानामा त्रिपाल राखिएको छ । कारगारमा खानेपानीको समेत चरम समस्या हुने गरेको कैदीबन्दीको गुनासो छ । 'ख' श्रेणीको जिल्ला कारागारको क्षमता १५ पुरुष १० महिला गरी जम्मा २५ जनाको हो । कारागारमा अहिले महिला कैदीबन्दी छैनन् । खानेपानी, औषधिलगायतको समस्याका कारण व्यवस्थापनमा समस्या भएको जेलर तिवारीको भनाइ छ ।


नरी बडु