क्वारेन्टाइनमा राखेको भन्दै स्वास्थ्यकर्मीमाथि हातपात

  ०७६ चैत्र १४ गते

पुर्चौडी नगरपालिका – ५ कुवाकोटमा स्थापना गरिएको क्वारेन्टाइनमा आफन्तलाई राखेको भन्दै कुवाकोट स्वास्थ्य चौकीका अहेव ३० वर्षीय रनसिंह धामीमाथि चैत १२ गते क्वारेन्टाइन भित्रै हातपात भएको छ ।

भारतबाट आएका छोरालाई क्वारेन्टाइनमा राखेको भन्दै अहेव धामीमाथि पुचौडी नगरपालिका – ५ का स्थानीय ५० वर्षीय नरेन्द्र जागरीले हातपात गरेको पुर्चाडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोद कुँवरले बताउनु भयो ।

नरेन्द्रका छोरा सुनिल जागरीसहित पुचौँडी नगरपालिकाका अन्य सात जना चैत १२ गते राती भारतबाट घर फर्किएका थिए । उनीहरुलाई कुवाकोटको भूमिराज माबि काटै गहतालको क्वारेन्टाइनमा राखिएको थियो ।

अहेव धामीको बुढी औँलामा चोट लागेको छ । जागिरीले अहेव धामीको औला मुखमा हाली चपाउँदा उनको औलामा चोट लागेको हो ।

आरोपित जागिरीलाई प्रहरीले गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय, बैतडी ल्याएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका डिएसपी डिल्लीनारायण पाण्डेले बताउनु भयो ।

कोरोना भाइसर भित्रिन नदिन स्वास्थ्यकर्मीलाई चौबीसै घण्टा सेवाका तत्पर रहन निर्देशन दिइरहेकै बेला स्वास्थ्यकर्मीमाथि क्वारेन्टाइनमै आक्रमण हुनु दुःखद् भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनु भयो ।

 


नरी बडु