क्वारेण्टाइनहरूलाई व्यवस्थित गर्न र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आयोगको आग्रह

  ०७७ जेठ २४ गते

विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को प्रभावबाट नेपाल पनि जटिल अवस्थामा रहेको भन्दै यहाँको क्वारेण्टाइनहरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । हालसम्म १ लाख ६७ हजारभन्दा बढी मानिस क्वारेण्टाइनमा नै रहिरहेको आयोगले जेठ २४ गते एक विज्ञप्ति जारी गरि उल्लेख गरेको छ  ।

सङ्क्रमितहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेकोले सङ्कट झनै लम्बिन सक्ने देखिएको आयोगले जनाएको छ । झापा, रौतहट, पर्सा, सर्लाही, सप्तरी, कपिलवस्तु, बाँके, दैलेख, कञ्चनपुरलगायत जिल्लाका अधिकांश क्वारेण्टाइनहरू न्यूनतम मापदण्ड विपरीत सञ्चालनमा रहेकोले आधारभूत मानव अधिकार संरक्षणमा समेत उदासिनता देखिएको आयोगले उल्लेख गरेको छ ।

लकडाउनको अवधिमा अनुगमन तथा समाचार सङ्कलनको क्रममा हिँडेका सञ्चारकर्मीहरूमध्ये २२ जना गिरफ्तार, आक्रमण, धम्की र दुर्व्यवहारमा परेको आयोगले जनाएको छ । उनीहरूलाई सरकारी निकायहरूबाट सूचना प्रदान गर्न इन्कार गर्ने गरिएको, कतिपय श्रमजीवी पत्रकारहरूले पारिश्रमिक प्राप्त गर्न नसकेको पाइएको जनाइएको छ । त्यस कारण पत्रकारिता पेशाबाटै विस्थापित हुनुपर्ने परिस्थिति रहेको र कतिपय सञ्चारमाध्यमहरू बन्द हुने अवस्थामा रहेको आयोगले उल्लेख गरेको छ ।

यिनै कारणहरूबाट नेपालको संविधान बमोजिमको विचार र अभिव्यक्ति स्वतन्त्रताको हक, सञ्चारको हक तथा सूचनाको हकबाट बञ्चित हुने देखिएको आयोगले जनाएको छ ।

कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि देशभर सञ्चालित क्वारेण्टाइनहरू मापदण्ड अनुरुप व्यवस्थित रूपले सञ्चालन गर्न आयोगले सुझाएको छ । क्वारेण्टाइनमा रहेकाहरूको पीसीआर परीक्षणलाई तीव्रता दिन आयोगले ध्यानाकर्षण गरेको छ ।

पत्रकारहरूलाई आवश्यक सूचना उपलब्ध गराउन, पत्रकारहरूमाथिको आक्रमण धम्की र दुर्व्यवहार रोक्न र श्रमजीवी पत्रकारहरूको पारिश्रमिक सुनिश्चित गरि सूचनाको पहुँचलाई सहज बनाउन आयोगले सरकारको ध्यानाकर्षण समेत गरेको छ ।

पत्रकारको सुरक्षाको सम्बन्धमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तथा कार्यक्रम ल्याई कार्य गर्न पनि आयोगले सुझाव दिएको छ । नेपालको संविधानको धारा ५२ बमोजिम मौलिक हक तथा मानव अधिकारको संरक्षण र सम्बर्धन गर्ने राज्यको दायित्व प्रभावकारी रूपमा पूरा गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको आयोगका सचिव एवम् प्रवक्ता वेद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


दीपकप्रसाद घिमिरे