क्वारेण्टाइन सुधारको माग गर्दै प्रदर्शन

  ०७७ असार २३ गते

जनकपुरधामको जनकचोकमा असार २३ गते विभिन्न सङ्घ–संस्थाहरूको आयोजनामा आयोजित कार्यक्रममा सुरक्षित क्वारेण्टाइनको माग गरिएको छ ।

IMG_9854

कायापलट संस्थाको आयोजना तथा इन्सेक, ओरेक नेपाल, एम्नेष्टि इन्टरनेशनल र महिला मानव अधिकार सञ्जाल धनुषा लगायतको सहकार्यमा आयोजित कार्यक्रममा अधिकारकर्मीहरूले प्ले कार्डसहित प्रदर्शन गरेका छन् ।

क्वारेण्टाइनमा भइरहेको हिंसाको जिम्मेवार को ? क्वारेण्टाइन व्यवस्थापनमा मौन सरकारलाई जिम्मेवारी बोध गराउ भन्ने मूल नारा तथा प्ले कार्डसहित सङ्घ–संस्थाका प्रतिनिधिहरूले प्रदर्शन गरेका हुन् ।

IMG_9861

कार्यक्रममा इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले धनुषा जिल्ला लगायतको क्वारेण्टाइनमा महिलाहरूमाथि बलात्कार प्रयास भएको, क्वारेण्टाइन महिलामैत्री नरहेको र क्वारेण्टाइनमा पोषणयुक्त खानाको अभाव, औषधी उपचार र रेखदेख नहुँदा राजु सदा आइसोलेनशनमा छटपटिएर मृत्यु हुन पुगेको दुःखद् घटनाहरूप्रति सम्बन्धित सरोकारवाला पक्ष गम्भिर हुनुपर्ने बताउनु भयो ।

संयोजक पासवानले सङ्क्रमित देशभर फैलिरहेको अवस्थामा समेत क्वारेण्टाइन र आइसोलेशन व्यवस्थित नहुनु र अस्पतालहरूमा भेन्टिलेटरको व्यवस्था नहुनु राज्य पक्षको कमजोरी रहेको हुँदा तत्कालै क्वारेण्टाइन र आइसोलेशनलाई व्यवस्थित गर्दै भेन्टिलेटरसहितको सुविधा सम्पन्न कोरोना विशेष अस्पताल निमार्णमा जोड दिनुपर्ने बताउनु भयो ।

IMG_9857

सामाजिक अभियन्ता सरोज मिश्रले अहिले देशभरको क्वारेण्टाइनमा महिलाहरूमाथि दुर्व्यवहार, बलात्कारलगायतका घटनाहरू हुँदै आएकाले विरोध स्वरूप प्ले कार्ड प्रदर्शन गरेको बताउनु भयो ।

कायापलट संस्थाका अभियन्ता कैयुम राइनले क्वारेण्टाइनमा बाहिरबाट व्यवस्थित र सुरक्षित भनिए पनि भित्रबाट महिलामैत्री हुन नसकेको, क्वारेण्टाइनमै घटना हुँदै आएको र आइसालेशन वार्ड समेत व्यवस्थित नभएकाले आफुहरूले विरोध स्वरूप प्ले कार्ड प्रदर्शन गरेको बताउनु भयो ।


दीपेन्द्रप्रसाद सिंह