क्वारेण्टाइन मापदण्ड अनुरुप सञ्चालन गरः आयोग

  ०७७ जेठ ५ गते

विश्व स्वास्थ सङ्गठनको क्वारेण्टाइन व्यवस्थापन मापदण्डअनुसार क्वारेण्टाइनमा उपयुक्त र पर्याप्त खाना, पानी र सरसफाइको प्रबन्ध हुनुपर्ने राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।
आयोगले वैशाख ५ गते एक विज्ञप्ति प्रकाशन गरि ‘सङ्क्रमण रोकथाम तथा नियन्त्रणका न्यूनतम उपायहरूको कार्यान्वयन गर्नुपर्ने, क्वारेण्टाइनमा रहेका व्यक्तिहरूको स्वास्थ्य अवस्थाको अनुगमन तथा न्यूनतम आवश्यकता पूर्तिको सुनिश्चितता गर्नुपर्ने’ जनाएको छ ।
कोरोना भाइरस (कोभिड १९) को असर र त्यसको कारणबाट नेपालमा एक जना सुत्केरी महिलासहित दुई जनाको देहावसानप्रति आयोगले समवेदना प्रकट गरेको छ ।
कोभिड–१९ को कारणबाट मृत्यु हुनेको प्रत्येक परिवारलाई उचित राहत उपलब्ध गराउने व्यवस्था मिलाउन समेत आयोगले नेपाल सरकारलाई आग्रह गरेको छ ।
कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणमा दिनरात खटिएका व्यक्तिहरूलाई आयोगले धन्यवाद ज्ञापन गरेको छ । चिकित्सक, नर्स, सफाइ कर्मचारीहरु, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन कार्यमा संलग्न स्वयम्सेवक तथा सञ्चारकर्मीहरूप्रति आयोगले धन्यवाद ज्ञापन गरेको हो ।
रोकथाम, उपचार तथा नियन्त्रणमा खटिइरहनुभएका व्यक्तिसहित उनीहरूका परिवारको स्वास्थ्य सुरक्षाको प्रत्याभूति गर्न समेत आयोगले ध्यानाकर्षण गराएको छ ।
क्वारेण्टाइमा रहेका व्यक्तिहरूलाई सम्भव भएसम्म पर्याप्त रूपमा हावा ओहोर दोहोर गर्न सक्ने खालको एकल कोठा उपलब्ध गराउनुपर्ने आयोगको सुझाव छ । क्वारेण्टाइमा रहेका व्यक्तिहरू बीचमा समेत शारीरिक दूरी कायम हुनुपर्ने, क्वारेन्टिनमा रहेका व्यक्तिहरूलाई क्वारेण्टाइन बाहिर रहेका परिवारका सदस्यहरुसँग कुराकानी र सञ्चार गर्ने प्रबन्ध मिलाउनुपर्ने पनि आयोगको विज्ञप्तिमा उल्लेख छ ।
यथासम्भव इन्टरनेट, समाचार तथा मनोरञ्जनको व्यवस्था मिलाउन, मनोसामाजिक सहायता उपलव्ध गराउन र बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकलाई विशेष ध्यान दिनुपर्नेलगायतका व्यवस्था क्वारेण्टाइनमा हुनुपर्ने आयोगको सुझाव छ ।
अनुगमनको क्रममा उक्त मापदण्ड अनुरुप क्वारेण्टाइनहरूमा पर्याप्त पोषणयुक्त खाना, पिउने पानीको व्यवस्था गर्नु पर्ने पाइएको आयोगले जनाएको छ ।
यसैगरि शौचालय, उचित बसोबास, स्वास्थ्य हेरचाह जस्ता आवश्यकताहरू समेतको उचित व्यवस्थापन हुन नसक्दा व्यक्तिका आधारभूत मानव अधिकार सङ्कुचनमा परेको पाइएको आयोगले जनाएको छ ।
क्वारेण्टाइनहरू व्यवस्थित हुन नसक्दा सम्भावित सङ्क्रमितहरू क्वारेण्टाइनमा बस्न नचाहने र बसिरहेकाहरू पनि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको आँखा छली उम्किने, भाग्ने गर्दा समाजमा सङ्क्रामक रोग अझ बढी फैलिने आयोगको आँकलन छ ।
विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड बमोजिम क्वारेण्टाइन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी निर्देशिका लागू गरी त्यहाँ रहेका व्यक्तिहरूलाई छिटो प्रक्रियाबाट स्वास्थ्य परीक्षण गर्न आयोगको आग्रह छ ।
सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्न एवम् प्रदेश तथा स्थानीय तहहरूसँग पर्याप्त समन्वय गर्दै केन्द्रीय राहत कोषलाई उपयोगमा ल्याउन पनि आयोग आग्रह गरेको छ ।
प्रत्येक स्वास्थ्य उपचार केन्द्र तथा अस्पतालहरूलाई स्वास्थ्य सुरक्षाको दृष्टिकोणबाट पूर्ण रूपमा सुरक्षित राख्नेतर्फ आवश्यक कदम चाल्न आयोगले भनेको छ ।
सङ्क्रमण फैलिन नदिनेतर्फ सजग भई कार्य गर्न, गराउन समेत आयोग नेपाल सरकारको ध्यानाकर्षण गराएको आयोगका सचिव एवम् प्रवक्ता वेद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


दीपकप्रसाद घिमिरे