क्वारेण्टाइनमा राखिएकालाई वडाध्यक्षद्वारा निकाला

  ०७७ जेठ ८ गते

भानु नगरपलिका२ स्थित शारदा कलेजमा निर्माण गरिएको क्वारेण्टाइनमा राखिएका एक व्यक्तिलाई सो वडाका अध्यक्ष अर्जुन खड्काले जेठ ७ गते राति क्वारेण्टाइनबाट जबरजस्ती निकालेका छन् । भानु नगरपालिका ९ घर भएका ती व्यक्ति सोही दिन साँझ काठमाडौंबाट आएका थिए ।

उनलाई कोरोना सङक्रमण भएको हुन सक्ने भनी क्वारेण्टाइनमा राख्न नहुने भन्दै वडा अध्यक्ष खड्काको नेतृत्वमा मध्यरातमा उनलाई क्वारेण्टाइनबाट निकालिएको भानु नगरपालिकाका वरिष्ठ अधिकृत सुनील पाण्डेले जानकारी दिनभयो ।

क्वारेण्टाइनबाट निकालिएपछि बाटोमा अलपत्र परेका ती व्यक्तिलाई नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईको पहलमा राति नै एम्बुलेन्समा दमौली अस्पताल पुर्याइएको थियो ।

उनलाई जेठ ८ गते दिउँसो आफ्नै घरको क्वारेण्टाइनमा लगेर राखिएको भट्टराईले बताउनुभयो । सो क्वारेण्टाइनमा अर्का एक व्यक्ति पनि रहेका छन् । भानु नगरपालिकाको क्वारेण्टाइनमा १० जना रहेको भट्टराईले बताउनुभयो ।

घटना सार्वजनिक भएपछि जेठ ८ गते प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले उक्त क्वारेण्टाइनको निरीक्षण गर्नुभएको थियो ।

क्वारेण्टाइनको निरीक्षणपछि सीडीओ अधिकारीले क्वारेण्टाइनमा बस्नेहरुको सम्मान गर्न र क्वारेण्टाइनलाई व्यवस्थित गर्न निर्देशन दिइएको बताउनुभयो ।

यस सम्बन्धमा वडा अध्यक्ष खड्काले क्वारेण्टाइनमा बसेर हल्ला गरेको कारण सम्झाएको मात्र बताउनुभयो  ।

क्वारेण्टाइनबाट निकालेको भन्ने कुरा हल्ला मात्र भएको भन्दै आफ्नै वडा भित्र रहेको क्वारेण्टाइनमा सबैलाई सम्मानका साथ राखिने बताउनुभयो ।


प्रकाशचन्द्र भट्टराई