क्याम्पस प्रमुखको कुर्सीमा आगजनी र तलाबन्दी

०७५ मङ्सिर २१ गते

सुनसरी बहुमुखी क्याम्पसमा विद्यार्थीहरूले मङ्सिर २१ गते बिहान आगजनी गरेका छन् । पढाइ प्रभावित हुने गरी एक विद्यार्थी समूहलाई कार्यक्रम गर्न दिएको भन्दै सुनसरी बहुमूखी क्याम्पसका निमित क्याम्पस प्रमुख गोविन्द सिलवालको कुर्सी जलाएर आगजनी गरेका छन् भने झ्यालका सिसा तोडफोड गरेका छन् ।

पढाइ प्रभावित भएको र नियमित पढाइमा समस्या देखिएकाले नेपाल विद्यार्थी सङ्घ, सङ्घीय समाजवादी विद्यार्थी फोरमलगायतका विद्यार्थीहरूले आगजनी, तोडफोड र क्याम्पसको मुल गेटमा तलाबन्दी गरेका छन् ।

तलाबन्दी गर्दै असक्षम क्याम्पस प्रमुख र प्राध्यापकहरूले राजीनामा दिनुपर्ने, क्याम्पसमा बढेको हस्तक्षेप बन्द गर्नुपर्ने, नियमित पढाई हुनुपर्ने, क्याम्पस प्रभावित हुने गरी कार्यक्रम सञ्चालन गर्न नहुनेलगायतका माग अघि सारेको विद्यार्थी नेता कुन्दन मेहताले बताए ।

उता आफूहरूलाई सङ्घीय समाजवादी विद्यार्थी फोरमको एक समूहले पढाइ भइरहेको समयमा मङ्सिर २१ गते बिहान आठ बजे सांस्कृतिक तथा विद्यार्थी स्वागत कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यक्रम गर्ने अनुमती भने क्याम्पसले नदिएको तर रातारात टेण्ड राखेर कार्यक्रम गरेकाले समस्या भएको निमित क्याम्पस प्रमुख गोविन्द सिल्वालले जानकारी दिए ।

कार्यक्रम विद्यार्थी फोरमका रञ्जित मेहताको समूहले गरेको सिल्वालले बताए । यसअघि समेत अवैध रकम उठाएको आरोप फोरम विद्यार्थीमाथि लागेको थियो ।

मङ्सिर २१ गते बिहान आठ बजे सांस्कृतिक तथा विद्यार्थी स्वागत कार्यक्रम सञ्चालन गरेको विरोधमा तलाबन्दी र आगजनी भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचलन गरिएको थियो ।

आगजनीपछि मात्रै प्रहरीलाई जानकारी भएको र कसैलाई गिरफ्तार गर्न नसकिएको सुनसरीका डिएसपी ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिनभुयो । एक समूहको कार्यक्रम र क्याम्पसमा थप घटना हुन नदिनका लागि दजनौँ प्रहरी परिचलान गरेको थियो ।

नेविसङ्घ र विद्यार्थी फोरमको आधिकारी समूहका ब्रम्हदेव यादवले अवैध र अवैधानिक रूपमा चन्दा उठाएर आफूखुसी कार्यक्रम गरेकाले त्यसलाई कारवाही गर्नुपर्ने माग गरे । यादवले क्याम्पससँग समेत अनुमति नलिई कार्यक्रम गरेकाले आपत्ति समेत रहेको प्रतिकृया दिए ।

नेविसङ्घका धिरज घट्टराईले समेत क्याम्पसलाई जानकारी नदिई कार्यक्रम गर्नेलाई कारवाही गर्न माग गर्दा सुनुवाइ नभएकाले आगजनी र तोडफोड तथा तलाबन्दीको घटना भएको प्रतिकृया दिए ।


जयकृष्ण यादव