कोल्टि प्राथामिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन, बिरामी समस्यामा

  ०७५ वैशाख १० गते

कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र विगत तीन हप्तादेखि चिकित्सकविहीन बनेको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डक्टर बिजयकुमार शाह र डक्टर सत्य शाही विदा, तालिम र कागजमा बाहिर गएपछि चिकित्कसविहीन भएको छ । कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र हाल अहेब लोकेन्द्रप्रसाद जैशीको भरमा सञ्चालन हुँदै आएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डक्टर विजयकुमार शाह चैत १६ गतेदेखि घर विदा र सामान खरिदको काजमा गएपछि फिर्ता भएका छैनन् । डक्टर सत्य शाही भने फागुन २३ गते तालिममा गएका थिए । केन्द्रका प्रमुख घर विदामा गएको भएपनि उनले जिल्ला स्वास्थ्य कार्यलयमा कुनै जानकारी नगराएको र विदा स्वीकृत नगरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डक्टर रूपचन्द्र विश्वकर्माले बताएका छन् ।

'दैनिक ६०/७० जना भन्दा बढी उपचारको लागि आउने गर्छन्, स्वास्थ्य चौकीमा चिकित्सक नहुँदा समस्या भएको निमित्त प्रमुख अहेब लोकेन्द्रप्रसाद जैशीले बताए ।

हुम्ला, बाजुरा र मुगुका बिरामीलाई सेवा दिँदै आएको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा बिरामी मारमा परेको स्वास्थ्यकर्मीले बताएका छन् । चिकित्सक नहुँदा दैनिक ५ देखि १० जना बिरामीलाई सदरमुकाम मार्तडी, नेपालगञ्ज अछामको बयालपाटालगायत जिल्ला बाहिर रिफर गर्नु परेको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।

जहाजको महँगो भाडा तिरेर नेपागञ्ज उपचारका लागि जानु परेको स्थानीयले गुनासो गरेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र बुढिनन्दा नगरपालिकामा रहेको छ । नगरपालिका निमित्त कार्यकारी रामदत्त न्यौपानेले डक्टर विजयकुमार शाहलाई सोलार खरिदका लागि एक हप्ताको काज दिएको बताउँदै अहिलेसम्म पनि नआएको र सम्पर्कमा पनि नआएको बताए ।

लामो समयसम्म कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा बिरामीलाई समस्या भएको भन्दै प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले अनुगमन गरेका छन् ।

क्षेत्रीका अनुसार चिकित्सक नहुँदा यो क्षेत्रका बिरामीलाई निकै मारमा परेकोले तत्काल चिकित्सक ब्यबस्थाका लागी पहल भइरहेको क्षेत्रीले वताए । साथै प्राथमिक स्वास्थ्य केन्द्रको ब्यबस्थापन अस्तब्यस्त भएको भन्दै नगरपालिका सँग छलफल गरेको वताए । प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुदा बाजुराका उत्तरी क्षेत्रका ४ स्थानिय निकाय, हुम्ला कालिकोट र मुगुका जनतालाई प्रत्यक्षमारमा परेको पत्रकार अनिल शाशीले बताएका छन् ।


पदम सिंह