कोरोना हब अस्पतालमा छैन आईसियू

  ०७७ भदौ २९ गते

नेपाल कै दोस्रो अस्तालको रूपमा रहेको १ सय १६ वर्ष पुरानो भक्तपुर अस्पतालमा आईसियू सेवाका लागि वार्ड तयार भए पनि अझै सेवा सुरु भएको छैन । सरकारको जिल्लाको कोरोना डेलिगेट अस्पतालको रूपमा भक्तपुर अस्पताललाई तोके पनि आवश्यक सामाग्री र जनशक्तिको अभावले आईसियू सञ्चालनमा आउन नसकेको हो ।

भक्तपुर अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले वर्षौदेखि प्रयोगमा नआएका आईसियू र भेण्टिलेटर सहितका सामानहरूको प्रयोग गर्ने गरी आईसियू सेवा सञ्चालन गर्न प्रयास गरेको दुई महिना बितिसक्दा पनि सेवा सुरु गर्न नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “म आएपछि वर्षौदेखि थन्किएका आईसियूका सामानहरू प्रयोगमा ल्याएर सेवा सुरु गर्न खोजेको हो, केही सामान खिया लागेर बिग्रिसकेका रहेछन्,। आईसियू सञ्चालनमा लागि ठाउँ समेत थिएन, त्यही बेलामा कोरोना भाइरसको माहामारी फैलियो, अस्पतालको अगाडिको खाली जग्गामा जस्ताको ब्लक बनायौँ, तयारी भयो तर जनशक्ति नहुँदा सञ्चालन गर्न सकेका छैनौ ।”

सरकारले कोरोना हब अस्पतालको रुपमा तोकेपछि भक्तपुर अस्पतालले तीन ओटा भेन्टिलेटरसहित ६ शैयाको आईसियू र कोरोना सङ्क्रमित राख्ने १५ शैयाको आइसोलेशन तयार गरेकोे मेसु डा. गौतमले बताउनुभयो ।

अस्पतालले प्रदेश र सङ्घीय सरकारसँग जनशक्तिको माग गर्दा नपठाएपछि बाध्य भएर समितिको निर्णयमा आफैले जनशक्तिको लागि सूचना प्ररकाशन गरेको छ । तत्काल नजिकै रहेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका जनशक्ति ल्याएर आईसियू र कोरोनाका बिरामीको उपचार सुरु गर्ने तयारी गरिएमा अझै केही प्राविधिक कठिनाई आएकाले सेवा सुरु नभएको डा. गौतमले बताउनुभयो ।

आफूले तयार पारेको योजना र सक्ने काम पनि माथिको आदेश कुर्नु पर्ने बाध्यताका कारण सरकारी अस्पतालमा छिटो काम गर्न नसक्ने परिपाटी रहेकोले ढिलो भए पनि अब केही दिनमै आईसियू र आइसोलेशनमा बिरामीको उपचार सुरु हुने उहाँको भनाई छ ।

तर, अस्पतालले विगत तीन महिनादेखि अब एकसाता भित्र आइसियू सेवा सुरु गर्छौ भने पनि अझै सञ्चालन हुन सकेको छैन । भक्तपुरका अस्पतालमा भेन्टिलेटरसहितको आईसियूको व्यबस्था नहुँदा बिरामीले पूर्ण उपचार नपाउँदै ज्यान गुमाउनु पर्ने अबस्थाको अन्त्य भएको छैन ।

सरकारले भक्तपुर अस्पताललाई कोभिड हब अस्पताल तोके पनि आवश्यक बजेट, प्राविधिक सामाग्री र जनशक्ति नपठाउँदा प्रभावकारी हुन सकेको छैन । मेसु डा. गौतम सरकारले आवश्यक जनशक्ति र सामाग्री पठाए भक्तपुर अस्पतालमा १ सय शैयाको कोभिड अस्पताल बनाउन आफू तयार रहेको बताउनुभयो ।

हालसम्म भक्तपुर अस्पतालमा आएको अन्य बिरामी, बिभिन्न अप्रेशन र सुत्केरीको अप्रेशनसमेत आईसियू बिना नै गर्दै आएको र अप्रेशन गर्दा गर्दै बिरामीलाई आइसियू आवश्यक पर्ने अबस्था आएमा तत्कालै अन्य अस्पताल रिफर गर्दै आएको छ ।

एकवर्ष अघि अप्रेशन गर्दागर्दै एक सुत्केरीलाई आईसियू चाहिने भएपछि भेनस अस्पताल रिफर गर्दा बाटो मै ज्यान गएको थियो । अस्पतालकी मेसु डा. गौतम विगतमा के भयो, आफूलाई थाहा नभएको बताउनुहुन्छ । आफू आएपछि भक्तपुर अस्पतालमा त्यस्तो अबस्था नआएको बताउँदै छिट्टै भेन्टिलेटर सहितको आइसियू सेवा सञ्चालन गर्ने उहाँ बताउनुहुन्छ ।


रमेश गिरी