कोरोना सङ्क्रमित युवालाई प्रहरीद्वारा कुटपिट, छानबिनका लागि समति गठन

  ०७७ साउन २ गते

सिम्ता गाँउपालिका ६ स्थित बागेश्वरी माध्यमिक विद्यालयको क्वारेण्टाइनमा राखिएका कोरोना सङ्क्रमित २८ वर्षीय एक युवालाई प्रहरीले कुटपिट गरेको छ ।

आफसँगै बसेका अन्य साथीहरूसँग भागेर जान लागेको आरोपमा सिम्ता गाउँपालिका–८ का २८ वर्षीय युवालाई इलाका प्रहरी कार्यालय वादेपिपलका असई विजय पुन सहितको टोलीले कुटपिट गरेको हो ।

दुई साता अघिदेखि क्वारेण्टाइनमा बस्दै आएका लोहारलाई असार २९ गते कारोना पुष्टि भएपनि सँगै बसेका आफ्ना साथीहरूसँग असार ३० गते भागेर गएको जानकारी पछि पुगेको प्रहरीको टोलीले कुटपिट गर्दा उनको ढाड तथा देब्रे हातमा चोट लागेको छ ।

सो घटनापछि आफन्तले उपचारका लागि अस्पताल लैजान माग गरेपनि सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र केसीको उपस्थितिमा कोरोना निको भएपछि प्रहरीले लोहारको उपचार गरिदिने उनका परिवारसँग सहमति भएको सिम्ता गाउँपालिका–८ का अध्यक्ष उदय थापाले जानकारी दिनु भयो ।

इलाका प्रहरी कार्यालय वादेपिपलका निमित्त प्रमुख नरबहादुर क्षेत्रीले सिम्ता गाउँपालिकाका अध्यक्ष केसीको उपस्थितिमा कोरोना सञ्चो भएलगत्तै प्रहरीले उपचार गर्ने सहमति भएको र सामान्य उपचारपछि हाल उनलाई सिम्ता गाउँपालिका–६ स्थित आइसोलेसनमा राखिएको बताउनु भयो ।

यस्तै लोहारलाई कुटपिटमा संलग्न रहेको आरोपमा असई पुनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा हाजिर गराइ अनुसन्धान गरिरहेको प्रहरीले जनायो ।

थप अनुसन्धान गर्न साउन १ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतका इन्स्पेक्टर गोपाल रायमाझीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको डिएसपी रामप्रसाद घर्तीले बताउनु भयो ।

 


दुर्गा थापा