कोरोना सङ्क्रमित उपचारको लागि बागमती प्रदेश सरकारद्धारा कोष स्थापना

  ०७६ चैत १२ गते

बागमती प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको उपचारको लागि १० करोड रुपियाँको कोष स्थापना गरेको छ ।

विश्वभर नै महामारीको रुपमा फैलिएको कोरोना रोकथाम, नियन्त्रणमा सङ्क्रमितहरूको उपचारमा विशेष अभियान सञ्चालन गर्ने उद्देश्यले कोषको स्थापना गरिएको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।

मुख्यमन्त्रीसहित मन्त्रीहरुले कोषमा एक महिनाको तलब जम्मा गर्ने घोषणा गर्नुभएको छ । प्रदेश सरकारले सर्वसाधारणलाई समेत कोषमा रकम जम्मा गर्न आव्हान गरेको छ ।

यसैबीच जिसस मकवानपुरमा ‘कोरोना आपतकालीन कोष’ स्थापना गरिएको छ । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरमा २५ लाख बराबरको कोष स्थापना गरिएको हो । जिल्ला समन्वय समिति मकवानपुरमा बसेको स्थानीय तह समन्वय समितिको बैठकले जिल्लामा कोरोना नियन्त्रण तथा रोकथामका लागि कोष स्थापना गर्ने निर्णय गरेको हो ।

कोषमा जिल्ला समन्वय समितिले २ लाख र मकवानपुरका १० ओटै स्थानीय तहले दुई/दुई लाख तथा प्रदेश सरकारको समेत सहयोग रहने गरि तत्काल २५ लाखको आपतकालिन कोष स्थापना गर्ने निर्णय भएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो ।

कोषको रकम कोरोना रोकथामका निम्ति लड्न आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), स्वास्थ्य उपकरणका साथै क्वारेन्टाइन र आइसोलेसन निर्माणलगायत अत्यावश्यक सामग्री र स्वास्थ्य व्यवस्थाको प्रबन्ध मिलाउन खर्च गरिने उहाँले बताउनु भयो ।


पुष्पराज अधिकारी