कोरोना भाइरस सम्बन्धी सुदूरपश्चिम प्रदेशको अवस्था

  ०७६ चैत २६ गते

इन्सेक सुदूरपश्चिम प्रदेश अन्तर्गत कार्यरत इन्सेक जिल्ला प्रतिनिधिहरूले चैत २६ गते पठाउनु भएको सूचनाका आधारमा उच्च सतर्कताका लागि प्रदेश अन्तर्गत स्थानीय तहले गरिरहेका कार्यहरू र समस्याहरूको जिल्लागत अवस्था विश्लेषण गरिएको छ ।

अछाम जिल्ला प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार कोरोना भाइरसको आशङ्कामा स्वास्थ्य मन्त्रालयबाट खटिएको स्वास्थ्यकर्मीको टोलीले कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रबाट नमूना परीक्षणका लागि कमलबजार नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकाबाट कोरोना भाइरसको आशङ्का गरिएका ६ महिला र ६२ पुरुष गरी जम्मा ६८ जनाको स्वाब सङ्कलन गरेर चैत २६ गते काठमाडौँ पठाएको छ ।

मन्त्रालयकै टोलीले चैत २५ गते अछामकै वयलपाटा अस्पतालमा ५१ जना र जिल्ला अस्पताल मङ्गलसेनमा १ सय ७ जनाको स्वाब सङ्कलन गरेको थियो ।

विभिन्न व्यक्तिबाट सङ्कलन गरिएको उक्त स्वाबलाई सेनाको हेलिकप्टरमार्फत चैत २६ गते काठमाडौँ पठाएको छ । टेकु अस्पतालमा पिसिआर विधिबाट स्वाबको परीक्षण हुने स्वास्थ्य कार्यालय, अछामका प्रमुख झनकराज ढुङ्गानाले जानकारी दिनु भयो । स्वाबको परीक्षण नतिजा तीन दिनपछि आउन सक्ने बताइएको छ ।

रोजगारीको क्रममा भारतमा रहेका ४ हजारभन्दा बढी व्यक्ति घर फर्केका कारण जिल्ला विपद् व्यवस्थापन समितिले अछाम जिल्ला कोरोना भाइरसको उच्च जोखिममा रहेको विश्लेषण गरेको छ ।

कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्न रामारोशन गाउँपालिकाको चैत २६ गते बसेको आकस्मिक बैठकले एक वडाबाट अर्को वडामा आवतजावत गर्न पूर्ण प्रतिबन्ध लाएको छ ।

बैठकले असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक तथा असहायलाई उपलब्ध गराउने राहतसम्बन्धी मापदण्ड २०७६ पारित गरिएको छ । नेपाल-भारत सीमा नाकामा अलपत्र रहेका रामारोशन गाउँपालिकाका १ हजार ५ सय बढी नागरिकलाई उद्दारका लागि सङ्घीय र प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले जानकारी दिनु भयो ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि सदरमुकामस्थित मङ्गलसेन नगरपालिका-३ को वडा समितिले स्थानीय बासिन्दाबाहेक अन्यलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको वडा अध्यक्ष पदमबहादुर भाटले जानकारी दिनु भयो । मङ्गलसेन नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस रोकथाम उपचार कोषमा नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले १ लाख ५ सय रुपियाँ सहयोग गर्नु भएको  छ । वडामा मानिसहरूको आवतजावतमा प्रतिबन्ध लाउन मेल्लेख गाउँपालिका-३ ठाँटीले अछाम र बाजुरा जोड्ने बिराबगरस्थित बुढीगङ्गा नदी माथिको पुलमा बार लगाएर बन्द गरेको छ । वडाका स्थानीयको एक भेलाले बाहिरबाट वडामा आउने मानिस रोक्नलाई पुल बन्द गरिएको वडा अध्यक्ष केशबहादुर शाहले जानकारी दिनु भयो । बाजुराको छतारासम्मका मानिसहरूसमेत आफ्नो गाउँ भएर जाने भएकोले पुल र अन्य नाकासमेत बन्द गरिने वडा अध्यक्ष शाहको भनाइ छ ।

मेल्लेख गाउँपालिकाले आठ ओटै वडाका २ सय बासिन्दालाई वडामै गएर राहतस्वरूप निःशुल्क खाद्यान्न वितरण गरेको छ । गाउँपालिकामा रहेका अतिविपन्न, एकल महिला, अशक्त, टुहुरा र आर्थिक आर्जन गर्न नसक्ने व्यक्ति छनौट गरेर हरेक वडाका प्रत्येक घरधुरीलाई २५ किलो चामल, एक पोका तेल र एक पोका आयोडिनयुक्त नुन वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत हिक्मतबहादुर बुढाले जानकारी दिनु भयो ।

मङ्गलसेन नगरपालिकाले राहत आवश्यक भएका व्यक्तिको वडा तहबाटै विवरण सङ्कलन भइरहेको नगरप्रमुख पदमबहादुर बोहराको भनाइ छ ।

बान्नीगढी जयगढ गाउँपालिकाले आफ्नो क्षेत्रका बासिन्दालाई कोरोना रोगका बारेमा सचेतना वा जानकारी दिन आइभिआर सेवा सञ्चालनमा ल्याएको छ । कुनै व्यक्तिले ९८०११४६३० मा फोन सम्पर्क गरेमा कोरोनाको सङ्क्रमणबाट बच्ने उपाय, लक्षण र अपनाउनुपर्ने सतर्कतालगायतमा आवाज सुनिने बताइएको छ । व्यक्तिगत भेटघाट र मानिसहरूको आवातजावतलाई कम गर्ने उद्देश्यले आइभिआर सेवा सुरु गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वसन्तबहादुर रावलले जानकारी दिनु भयो ।

दार्चुला जिल्ला प्रतिनिधि नरेन्द्र कार्कीका अनुसार सर्वोच्च अदालतले भारतको धार्चुलामा कष्टपूर्णरूपमा क्वारेन्टाइनमा बसिरहेका नेपालीलाई नेपाल प्रवेश गर्न दिन सरकारलाई चैत २५ गते आदेश जारी गरेको छ । सर्वोच्च अदालतले आफूहरूलाई नेपाल भित्र्याउन आदेश जारी गरिसकेको भए पनि स्थानीय प्रशासनले पहल नगरेको गुनासो पीडितहरूले पोखेका छन् ।

भारत सरकारले तयार गरेका क्वारेन्टाइनमा बस्दै आएका नेपालीहरूको उद्धार नहुँदा  महाकाली नदीमा ट्यूबबाट तरेर स्वदेश फर्किने क्रम रोकिएको छैन । चैत २६ गते बैतडी डिलौशनी गाउँपालिकाका १५ जना, पूर्चौडी नगरपालिकाका ६ जना, बझाङ बुङगल नगरपालिकाका ६ जना, दार्चुला मार्मा गाउँपालिकाका एक जना, अपिहिमाल गाउँपालिकाका ६ जना र बझाङ्ग बुङ्गल नगरपालिकाका ६ जनामध्ये २० जना जौलजीवी क्वारेन्टाइनमा रहेका र भारतका विभिन्न ठाउँबाट फर्किनेहरू गरी ३९ जना महाकाली नदी तरेर मालिकार्जुन आइपुगेका छन् ।

भारतबाट आएका सबै जनालाई मालिकार्जुन गाउँपालिकामा राखिएको छ । उनीहरूलाई सम्बन्धित स्थानीय तहमा पठाउन प्रयास गरिएको भए पनि जिल्ला प्रशासन कार्यालयले अनुमति नदिदा मालिकार्जुनमै राख्नु परेको गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीले बताउनु भयो ।

उहाँले भन्नु भयो- '३९ जना राख्न सक्ने हामीसँग क्वारेन्टाइन छैन । ६ बेडको क्वारेन्टाइन बनाइएको छ । हामीले सम्बन्धित स्थानीय तहमा पठाउन खोज्दा प्रशासनले अनुमति दिएको छैन ।'

भारतमा कोचिएर बस्न नसकेर राती क्वारेन्टाइनबाट भागेर आएको अपिहिमाल गाउँपालिका-५ का गणेशसिंह धामीले बताउनु भयो ।

उहाँले भन्नु भयो- 'सयौँ जना एउटै कोठामा बस्नुपर्ने भयो । रोग नलागेको मान्छे पनि रोग लाग्ने खतरा थियो । आफूहरू खतरामा परेपछि राती भाग्यौँ ।'

भारतीय क्वारेन्टाइनमा समयमै खान नपाइने र पिउनलाई पानीसमेत नहुने भएपछि ज्यानको पर्वाह नगरी नदी तरेर नेपाल प्रवेश गरेको बैतडी डिलाशैनीका रतनसिंह धामीले बताउनु भयो ।

लकडाउनको समयावधि थपिँदै जाँदा महाकाली नदी तरेर भित्रिने क्रम रोकिएको छैन ।

लकडाउनपछि नेपाल-भारत झोलुङ्गे पुल नखुल्दा यसअघि ८१ जना महाकालीमा ट्यूब, तरेर र हाम फालेर नेपाल भित्रिएका थिए ।

नेपाल-भारत लकडाउन भएपछि दुई देशबीच भएको सहमतिअनुसार भारत उत्तराखण्डको पिथौरागढ प्रशासनले १ हजार बढी नेपालीहरूलाई धार्चुलामा रहेको मिनी स्टेडियम, बालुवाकोट, जौलजीवी, निगलपानीमा र बरममा राख्दै आएको छ ।

तर, उनीहरूले एक सातादेखि कष्टकर जीवन बिताइरहेका छन् । एउटै हलमा सयौँ नेपालीहरू कोचिएर बसिरहेकाले उनीहरू कोरोना मात्र नभएर अन्य सङ्क्रमणका जोखिममा रहेका छन् ।

चैत २५ गते न्यायाधीशद्वय दीपककुमार कार्की र डा. मनोजकुमार शर्माको इजलासले महाकालीपारी अलपत्र परेका नागरिकहरूलाई नेपालमा ल्याएर विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार क्वारेन्टाइनमा राखी उपचारलगायतका सेवा प्रदान गर्न आदेश दिएको छ ।

अधिवक्ता मनिषकुमार श्रेष्ठ सर्वोच्चको आदेश पालना गर्नु सरकारको दायित्व भएको भन्दै तत्काल आदेश कार्यान्वयन हुनुपर्ने बताउनु हुन्छ । दुई सातादेखि भारतमा अलपत्र परेका नपाली दाजुभाइका लागि देश लकडाउन भएको अवस्थामा सर्वोच्च धाएर नेपालीको उद्धार गर्न आदेश आएको अवस्थामा उनीहरूलाई तत्काल उद्धार गर्नुबाहेकको सरकारसँग विकल्प नभएको उहाँको भनाइ छ ।

उहाँले भन्नु भयो -'सरकारले आदेश कार्यान्वयन गरेन भने हामी पुनः मानहानीमा मुद्दा हाल्छौँ ।'

सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तह, एक जिल्लाबाट अर्को जिल्ला र एक प्रदेशबाट अर्को प्रदेशमा आवतजावतमा रोक लगाएको अवस्थामा भारत सरकारले आफ्नो क्वारेन्टाइनमा राखेका नेपालीहरूलाई कसरी उद्धार गर्ने र व्यवस्थापन गर्ने भन्ने विषयमा समन्वय र छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको भनाइ छ ।

उहाँले भन्नु भयो हामीले निर्णय गरेर पठाइएका छौँ ।  उद्धार र व्यवस्थापन गर्न केही दिन अझै लाग्छ ।

दुहुँ गाउँपालिका-३ का पदमसिंह धामी गत चैत ११ गते कञ्चनपुरको बनबासा नाका हुँदै नेपाल भित्रिएका थिए । दार्चुला पुग्नेबित्तिकै गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा १४ दिन बसेर चैत २५ गते उनी घर फर्किएका छन् ।

आफू १४ दिनसम्म क्वारेन्टाइनमा बस्दा आफूलाई कुनै समस्या नभएको र घरमै बसेको अनुभूति भएको बताउनु भयो ।

दुहुँ गाउँपालिका-३ कै सुरेन्द्र बोहरा पनि १४ दिनको क्वारेन्टाइन बसाइपछि चैत २५ गते घर फर्किएका छन् ।

मार्मा गाउँपालिका-२ का जनकराज भट्ट भारतको बेंगलोरमा मजदुरी गर्न गएका थिए । लकडाउनपछि बनबासा नाका भएर घर पुगेका भट्ट परिवारको नजिक नगएर सिधै लटिनाथ मावि रस्कोटको क्वारेन्टाइनमा १४ दिन बिताएर घर फर्किएका छन् । १४ दिनसम्म क्वारेन्टाइनमा बस्दा स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि आफू स्वस्थ भएको प्रमाणित भएकोले खुसी लागेको भट्टको भनाइ छ ।

उहाँले भन्नु भयो - 'भारतलगायतका विभिन्न ठाउँबाट आएका नेपाली दाजुभाइले अनिवार्य क्वारेन्टाइनमा बस्नु आवश्यक छ । यो हाम्रो दायित्व हो ।  हामीले आफू, आफ्नो परिवार र सम्पूर्ण समाजलाई जोखिममा पार्ने काम गर्नु हुँदैन । कोराना भाइरसका कारण देश अप्ठ्यारोमा परेको बेला हामीले पनि सहयोग गर्नु पर्छ ।'

दुहुँ गाउँपालिकाका स्वास्थ्य संयोजक दिनेशकुमार सिंहले गाउँपालिकाले तयार गरेको क्वारेन्टाइनमा बसेका व्यक्तिहरू निकै अनुशासित तवरले बसेको बताउनु भयो ।

उहाँले भन्नु भयो - 'क्वारेन्टाइनमा बसेकाहरूलाई गाउँपालिकाको तर्फबाट सम्मान कदर-पत्र दिएर १४ दिनपछि बिदाइ गरिरहेका छौँ । जसले गर्दा उनीहरूमा आत्मबल र विश्वास बढेको छ ।'

दुहुँ गाउँपालिकामा भारतलगायत विभिन्न ठाउँबाट आएका १ सय २१ जनामध्ये ३३ जना क्वारेन्टाइनमा बसेकोमा २२ जनालाई सम्मानसहित क्वारेन्टाइनबाट घर पठाइएको र अन्य १४ जनालाई चैत २७ गते सम्मानसहित पठाउने तयारी भइरहेको स्वास्थ्य संयोजक सिंहको भनाइ छ ।

मार्मा गाउँपालिकाले पनि क्वारेन्टाइनमा बसेकामध्ये १२ जनालाई घर पठाएको मार्मा गाउँपालिका स्वास्थ्य संयोजक चक्रसिंह धामीले जानकारी दिनु भयो ।

बझाङ जिल्ला प्रतिनिधि रमेश केसीका अनुसार जिल्लाका १२ ओटा स्थानीय तहले तयार गरेका क्वारेन्टाइनमा हालसम्म नौ जना महिला, ३ सय १० जना पुरुष र पाँच जना बालबालिका गरी ३ सय २४ जना रहेका छन् । क्वारेन्टाइनमा राखिएकामध्ये १६ जनाको स्वाब नमूना सङ्कलन गरेर सुदूरपश्चिम प्रदेशको प्रयोशालामा पठाउने तयारी भइरहेको रिर्पोट नेगेटिभ आएको खण्डमा घर पठाउने तयारी गरिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समितिका फोकल पर्सन नारायण जोशीले बताउनु भयो । जिल्ला अस्पताल सिमखेतमा तयार गरिएको २५ बेडको आइसोलेसनमा भने हालसम्म कसैलाई भर्ना गर्नु नपरेको र अस्पतालमा अतिआवश्यक सुरक्षाका सामग्रीको अभाव रहेको जोशीको भनाइ छ ।

जिल्लामा दैनिक उपभोग्य बस्तु चामल, दाल, नुन, ग्याँसको अभाव नभएको र स्थानीय तहमा समेत खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुहरूको अभाव हुन नदिन व्यापारीहरूलाई पासको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनु भयो ।

छविस पाथिभेरा गाउँपालिकामा लाग्ने चैतली मेलामा भने स्थानीयहरूलाई भीडभाड नगर्न सूचना जारी गरी अनुरोध गरिएको भए पनि स्थानीयहरूले त्यसको परिपालना नगरेको प्रमुख जिल्ला अधिकारी पाण्डेको भनाइ छ ।

कञ्चनपुर जिल्ला प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार भारतबाट फर्किएका एक युवामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि सरकारले कञ्चनपुर जिल्लामा र्‍यापिड टेस्ट सुरु गरेको छ ।

भारतबाट नेपाल फर्किएका तथा जिल्लाका विभिन्न क्वारेन्टाइनमा रहेका व्यक्तिको र्‍यापिड टेस्ट गरिएको सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति वीरसिंह साहुले जानकारी दिनु भयो । उहाँका अनुसार चैत २५ गते पहिलो दिन ९५ जनाको नमूना सङ्कलन गरिएको छ ।

काठमाडौंबाट आएको तालिमप्राप्त विशेषज्ञ चिकित्सकको टोलीले भीमदत्त नगरपालिका-४ महेन्द्रनगर बजारमा रहेको बैजनाथ माविको क्वारेन्टाइनमा बस्दै आएका ९५ जनाको नमूना सङ्कलन गरेको हो । भीमदत्त नगरपालिका-४ बैजनाथ क्वारेन्टाइनमा सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका २ सय १० जनालाई राखिएको छ ।

सङ्कलन गरिएको नमूना काठमाडौँमा पठाएर परीक्षण गरिने जनाइएको छ ।


इन्सेक सुदूरपश्चि प्रदेश कार्यालय, धनगढी