कोरोना भाइरस सम्बन्धी कर्णाली प्रदेशको अवस्था

  ०७६ चैत २६ गते

कर्णाली प्रदेशमा सङ्कलन गरिएका ५ सय १ नमूनामध्ये प्रदेश अस्पताल सुर्खेतमा बुधबार साँझसम्म १ सय ६ जनाको स्वाब परीक्षण भएको छ । परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिनु भयो ।

प्रदेशभरि ३ हजार ७ सय ८० ओटा क्वारेन्टाइन बेड रहेको जसमा ७ सय ४३ जना बसेकोमा २ सय ९ जना घर फर्किएको, ४ सय ६६ आइसोलेसन बेड रहेकोमा एक जना मात्र आइसोलेसनमा बसेको र ४५ ओटा हेल्थ डेस्क राखी चेक जाँच कार्य भइरहेको मन्त्री रावलले बताउनु भयो ।

कोरोना भाइरस प्रकोप न्यूनीकरणका लागि जिल्ला-जिल्लामा भएका प्रयास सम्बन्धमा इन्सेकका जिल्ला प्रतिनिधिमार्फत प्राप्त सूचनाको आधारमा जिल्लागत अवस्था विश्लेषण यसप्रकार छ ।

मुगु जिल्ला प्रतिनिधि जीवन सेजुवालका अनुसार लकडाउन उल्लङ्घन गर्दै छाँयानाथ रारा नगरपालिका-३ र ५ वडाका महिलाहरू दाउरा र स्याउलाको खोजीमा रारा राष्ट्रिय निकुञ्जमा प्रवेश गर्ने गरेको पाइएको छ ।

भान्सामा प्रयोग हुने दाउरा र पशु चौपायाका लागि आवश्यक पर्ने स्याउलाको खोजी गर्न नगरपालिका-३ र ५ वडाका ढुमा, लुवाडबाटा, कार्कीबाडा, तुमा गाउँका १ सयभन्दा बढी महिलाहरू मङ्गलबार निकुञ्ज हाताभित्रको वन क्षेत्रमा अवैधरूपमा दाउरा र पिरल सङ्कलन गरिरहेको अवस्थामा निकुञ्ज कार्यालयको फाँका चेकपोष्ट र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको श्रीदल गुल्मको फाँका पोष्ट सेनाको संयुक्त टोलीले औजारसहित चैत २५ मा नियन्त्रणमा लिई यो समयमा घरमै बस्न सम्झाइ-बुझाइ घर फर्काएको एक महिलाले बताउनु भयो ।

स्याउलाको लागि यो मौसममा निकुञ्ज र मध्यवर्ती क्षेत्र आसपासका बासिन्दालाई १५ रुपियाँ रसिद काटेर सीमित समयका लागि हरेक वर्ष खुल्ला गरिने वन लकडाउन अवधिमा निकुञ्ज कार्यालयले स्याउला सङ्कलनमा रोक लगाएको छ ।

मध्यवर्ती क्षेत्रभित्रका बासिन्दालाई लकडाउनमा वनजङ्गलमा नजान जानकारी गराउँदै आएको भए पनि अटेर गरेर निकुञ्जभित्र प्रवेश गर्ने गरेको लामा लेखसेरी मालिका मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष सुरेन्द्रबहादुर मल्लको भनाइ छ ।

निकुञ्जको अनुमतिमा मात्र प्रवेश गर्ने सहमतिमा सहीछाप गरी छाडिएको र सङ्कलनमा प्रयोग हुने औजारसहित सङ्कलन गरिएका स्याउला र दाउरा जफत गरिएको रारा राष्ट्रिय निकुञ्ज फाँका चेक पोष्टका सिनियर गेम स्काउट जमुना भण्डारीले जानकारी दिनु भयो ।

दैलेख जिल्ला प्रतिनिधि अमर सुनारका अनुसार दुल्लू नगरपालिकाले कोरोना भाइरसको सम्भावित जोखिम रोकथाममा संलग्न स्वास्थ्यकर्मी तथा कार्यदलमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता प्रदान गर्ने भएको छ ।

नगरपालिकाको चैत २६ गते बसेको कार्यपालिका बैठकले नगरपालिकाभित्रका स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी र भाइरस रोग नियन्त्रण तथा रोकथाममा खटिएकाहरूलाई प्रोत्साहनस्वरूप भत्ता उपलब्ध गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणी नेपालले जानकारी दिनु भयो ।

निर्णय अनुसार मेडिकल अधिकृतलाई ३ हजार, कर्मचारीलाई २ हजार र श्रेणीविहीन कर्मचारीलाई १ हजार ५ सय रुपियाँ प्रोत्साहन भत्ता उपलब्ध गराइने छ ।

सुर्खेत जिल्ला प्रतिनिधि दुर्गा थापाका अनुसार वीरेन्द्रनगर नगरपालिकाले मजदुर र अतिविपन्न ६६ सय परिवारलाई खाद्यान्न वितरण गरेको छ । तीन जनाको परिवारलाई १५ किलो र चारभन्दा माथिको परिवारलाई ३० किलोको दरले चामल र साबुन वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिनु भयो ।

रुकुम पश्चिम जिल्ला प्रतिनिधि मनिषा केसीका अनुसार प्रतिनिधिसभा सदस्य तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले कोरोना भाइरस उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री जिल्लामा ल्याउनु भएको छ ।

रुकुम पश्चिमबाट निर्वाचित सांसद शर्माले चैत २५ गते ६० थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), सात सय २० थान सेनिटाइजर, ३२ थान थर्मल गन, दुई हजार थान पन्जा र ३० थान मास्क जिल्ला समन्वय समितिमा सबै स्थानीय तहका प्रमुखहरूलाई हस्तान्तरण गर्दै प्राप्त सामग्रीको उचित प्रयोग गर्न आग्रह गर्नु भयो ।

सो सामग्रीहरू जिल्लाका सबै स्थानीय तहहरूलाई समानुपातिक रूपले वितरण गरिएको छ । साथै, सांसद शर्माले यसअघि पनि ३९ सेट पीपीई सहित विभिन्न स्वास्थ्य सामग्रीहरू जिल्लामा पठाउनु भएको थियो ।

त्यसैगरी, सानीभेरी गाउँपालिकाले ११ ओटै वडाका २ सय ५२ विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ ।

चैत २६ गते नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिम शाखाले जिल्ला कारागार र जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका कैदीबन्दी र थुनुवालाई पाँच/पाँच थान कम्बल, ४०/४० थान साबुन, दुई/दुई ओटा बाल्टिन वितरण गरेको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालयको प्रयोजनको लागि चार रोल डोरीसमेत उपलब्ध गराएको रेडक्रस रुकुम पश्चिमका सभापति रमा गौतमले बताउनु भयो ।

हुम्ला जिल्ला प्रतिनिधि नन्द सिंहका अनुसार सिमकोट गाउँपालिका-७ को कैलाश माविमा रहेको क्वारेन्टाइनमा बसेकी महिलाले आफूलाई वडा कार्यालयले कुनै पनि सेवासुविधा नदिएको गुनासो गर्नु भएको छ ।

'वडाले नत सुत्ने खटिया दिएको छ, न त उज्यालोको लागि बत्तीको नै व्यवस्था गरेको छ । खानेपानीको समेत व्यवस्था छैन' उहाँले भन्नु भयो । पाँच दिनदेखि चेकजाँचका लागि स्वास्थ्यकर्मी पनि नआएको गुनासो गर्नु भएको छ । कपडा तथा खाना घरबाटै ल्याउने गरेको उहाँले बताउनु भयो ।

क्वारेन्टाइनमा बसेका व्यक्तिहरूलाई चेक जाँच गर्नु नपर्ने सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक दानबहादुर बोहराले बताउनु भयो । क्वारेन्टाइनमा बसेका व्यक्तिमा बिरामीको लक्षण देखिनेबित्तिकै आइसोलेसन वार्डमा राखेर चेकजाँच गर्नुपर्ने र उपचार गर्नुपर्ने उहाँको भनाइ छ ।

डाँडाफया स्वास्थ्यचौकीका इञ्चार्ज सुरविर शाहीले चैत २१ गते नै थर्मोगनद्वारा चेकजाँच भइसकेको र कुनै पनि लक्षण नदेखिएको बताउनु भयो ।

क्वारेन्टाइनमा बसेका व्यक्तिहरूलाई सुविधा दिने सम्बन्धमा सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले जिल्ला विपद् व्यवस्थापन समिति, सात ओटै गाउँपालिका वा प्रदेश सरकारमध्ये एउटाले व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

सदरमुकामभन्दा बाहिरका क्वारन्टाइनमा बसेका व्यक्तिहरूले भने बिल भरपाइ बुझाए मात्र सो सुविधा पाउने अध्यक्ष लामाको भनाइ छ ।

यसैबीच कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै हुम्लामा स्थापना भएका आइसोलेसन वार्डका लागि आधार विकास नेपालले चैत २५ गते करिब ३० लाख रुपियाँको उपकरण सहयोग गरेको छ ।

मल्टी फङ्सन मोनिटर दुई थान, इसिजी मोनिटर एक थान, निब्युलाइजेसन मेशिन एक थान, अम्बु लग एक थान, युएसजी मेशिन एक थान, अक्सिजन कन्सन्ट्रेटर एक थान, अटोक्लेभ एक थान र सर्जिकल उपकरणहरू सहयोगस्वरूप प्राप्त भएको डाक्टर नविन रोकायाले बताउनु भयो ।

यसैगरी, खार्पुनाथ गाउँपालिकाले कोरोना सङ्क्रमणविरुद्ध खरिद गरेको १० लाख बराबरको औषधि तथा उपकरणहरू चैत २६ गते जिल्लामा आइपुगेको छ ।

कोरोना सङ्क्रमणविरुद्धका उपकरण र औषधिहरू प्रदेश सरकारबाट उपलब्ध नभएपछि खार्पुनाथ गाउँपालिकाले आफै खरिद गरेको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताउनु भयो । सिमकोट आइपुगेका उपकरणहरूमा २५ सेट पीपीई, तीन थान थर्मोगन, मास्क र सेनिटाइजर रहेको छ ।

कालीकोट जिल्ला प्रतिनिधि कालिबहादुर मल्लका अनुसार सान्नीत्रिवेणी गाँउपालिका-६ लुवारवाडाका तीन जना व्यक्तिलाई होहल्ला गरेको आरोपमा प्रहरीले कुटपिट गरेको छ ।

५६ वर्षीय जले लुवार, सोही ठाउँका ५१ वर्षीय जयमल सुनार र ४३ वर्षीय धर्म लुवारलाई चामल वितरण गर्ने ठाउँमा होहल्ला गरेको भन्दै सोही गाउँपालिकास्थित प्रहरीचौकी इञ्चार्ज असई नरबहादुर केसीको टोलीले लाठीचार्ज गरी घाइते बनाएको पीडितले आरोप लगाउनु भएको छ ।

वडा अध्यक्ष रङ्गराज सार्कीले भेला भएका सबैलाई हटाउन भनेपछि प्रहरीले लाठी हान्नु परेको प्रहरीचौकी इञ्चार्ज केसीले प्रतिक्रिया दिनु भयो ।

यसैगरी, सोही गाउँपालिका निवासी नेकपा प्रदेशसभा (ख) सह-संयोजक ३२ वर्षीया पार्वती सिंहलाई चैत २६ गते लकडाउनको समाचार मिडियामा दिएको आरोपमा पञ्चदेवल माविको भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष खगेन्द्रबहादुर शाही प्रख्यात, उनकी श्रीमती पञ्चदेवल माविका प्रधानाध्यापक जया देवकोटा शाही, नेत्र शाही, मनराज शाही, धर्म शाही, अशोक शाही, कृष्ण शाही, हरि शाहीलगायतको समूहले पीडितको घरमा आएर कुटपिट गरेका हुन् ।

कर्णाली प्रदेश सरकारको बजेटमा निर्माण भइरहेको पञ्चदेवल माध्यामिक विद्यालयको भवन निर्माणको काम सञ्चालन गरेर लकडाउनको उल्लङ्घन गरेको समाचार सञ्चार माध्यममा दिएको भन्दै कुटपिट गरेको पीडितको भनाइ छ ।

सल्यान जिल्ला प्रतिनिधि मीना बुढाथोकीका अनुसार कोरोना सङ्क्रमण हुन नदिन कुमाख र दार्मा गाउँपालिकाले तेस्रो मुलुक र भारतबाट फर्किएका व्यक्तिहरूको नमूना परीक्षण गर्ने भएको छ ।

दार्मा गाउँपालिकामा हालसम्म भारतबाट १ सय ५३ जना र तेस्रो देशबाट सात जना गरी १ सय ६० जना आएका छन् भने विभिन्न जिल्लाबाट २ सय ४४ जना आएको अध्यक्ष निमबहादुर केसीले बताउनु भयो । गाउँपालिकामा क्वारेन्टाइनमा १ सय ६८ जना बसिरहेका छन् भने २ सय ३६ जनाले १४ दिनको अवधि पुरा गरेर घर फर्किएका छन् ।

यस्तै कुमाखगाउँपालिकाले पनि विदेशबाट आएकाहरूको द्रुत गतिमा स्वाब परीक्षण गर्ने गाउँपालिका अध्यक्ष दिलमाया बुढामगरले बताउनु भयो ।

यसैबीच कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र मुख्य मन्त्रीका राजनीतिक सल्लाहकार भीमप्रकाश शर्माले व्यक्तिगत लगानीमा सल्यानका ६ ओटा स्थानीय तह बनगाड कुपिण्डे नगरपालिका, कुमाख गाउँपालिका, शारदा नगरपालिका, कलिमाटी गाउँपालिका, छत्रेश्वरी गाउँपालिका र त्रिवेणी गाउँपालिकामा अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरिएको राजनीतिक सल्लाहकार भीमप्रकाश शर्माले जानकारी दिनु भयो । हरेक स्थानीयतहमा पीपीई १० सेट, सर्जिकल मास्क २ हजार थान र सिटामोललगायत एक कार्टुन औषधि हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

यसैगरी, भाइरस सङ्क्रमणको परीक्षण गर्न भारतबाट फर्किएका तीन जनाको नमूना सङ्कलन गरिएको छ । कर्णाली प्रादेशिक जन स्वास्थ्य प्रयोगशाला सुर्खेतको टोलीले बागचौर नगरपालिकाका एक जना, दार्मा गाउँपालिकाका एक जना र शारदा नगरपालिकाका एक जना गरेर तीन जनाको नमूना सङ्कलन गरेको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा.अर्जुनकुमार बुढाले बताउनु भयो ।

नमूना सङ्कलन गरिएका तीन जनामध्ये दुई जिल्ला अस्पतालमा रहेको क्वारेन्टाइनमा र अर्का एक जना शारदा नगरपालिकाले तयार पारेको लुहापिङ्ग क्वारेन्टाइनमा रहेका छन् । सङ्कलन गरिएको नमूना प्रदेश अस्पताल सुर्खेतमा परीक्षण गरिने छ । यसअघि सल्यानका तीन जनाको नमूना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

डोल्पा जिल्ला प्रतिनिधि विष्णुप्रसाद देवकोटाका अनुसार जिल्ला प्रशासनले चैत २६ गते बिहान ६ बजेबाट २०७७ वैशाख ३ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको छ ।

लकडाउन फितलो भएको चौतर्फी आलोचना हुन थालेपछि यस्तो कदम चालेको र कसैले उल्लङ्घन गरेमा कडा कारवाही गरिने प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताउनु भयो ।

उहाँका अनुसार यो अवधिमा कसैलाई पनि घरबाट ननिस्कन, सवारी नचलाउन र सडकमा नहिँड्न भनिएको छ ।


इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत