कोरोना भाइरस सम्बन्धमा सुदूरपश्चिम प्रदेशको अवस्था

  ०७६ चैत १९ गते

विश्वव्यापी माहामारीका रूपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि प्रदेश सरकार र स्थानीय सरकारले विभिन्न प्रयास गरिरहेका छन् । सतर्कताका लागि प्रदेश सरकार र स्थानीय सरकारले गरेका पुर्व तयारी र समस्याहरुको  जिल्लागत अवस्था यस प्रकार रहेको छ ।

कोरोना भाइरस सङ्क्रमणलाई रोकथाम गर्न सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा ३४ बेडको आइसोलेन र १ सय जना क्षमताको क्वारेन्टाइन स्थापन गरेको छ । सुदूरपश्चिम सरकारले चैत १९ गतदेखि कोरोना भाइरस नमुना परीक्षणका लागि धनगढीमा प्रयोगशाला सञ्चालनमा ल्याइएको जनाएको छ । यस प्रदेश अन्तर्गतका स्थानीय तहले हालसम्म १ सय २ ओटा क्वारेन्टाइन  तयार गरेको छ ।

इन्सेक सुदूरपश्चिम प्रदेश अन्तर्गत नौ ओटै जिल्लामा कार्यरत इन्सेक जिल्ला प्रतिनिधिहरूका अनुसार यस सुदूरपश्चिम प्रदेश अन्तर्गत नौ ओटै जिल्ला गरी हालसम्म १ हजार २३ जनालाई क्वारेन्टाइनमा राखिएको छ । जसमध्ये अछाम जिल्लामा ५० जना,बैतडी जिल्लामा १ सय ६८ जना,बझाङ जिल्लामा १ सय ५५ जना, दार्चुला जिल्लामा १ सय ४८ जना, कञ्चनपुर जिल्लामा नौ जना, डोटी जिल्लामा ३ सय ७४ जना, बाजुरा जिल्लामा १ सय जना र कैलाली जिल्लामा १९ जना रहेका छन । तर,सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीका अनुसार कैलाली  र कञ्चनपुर सहित प्रदेशका नौँ ओटै जिल्लामा भारत तथा अन्य मुलुकबाट आएका समेत गरी १ हजार २ सय ५७ पुरूष, १ सय ११ महिला र ३९ बालबालिका गरी १ हजार ४ सय ४२ जनालाई विभिन्न ठाउँका क्वारेन्टाईनमा राखिएको छ ।

उहाँका अनुसार क्वारेन्टाईनमा राखिएकामध्ये डोटीमा ३ सय ९४ जना ,कञ्चनपुरमा २६ जना ,बझाङमा २ सय ३० जना, बैतडीमा सय २ सय ८० जना , कैलालीमा १ सय ८९ जना , दार्चुलामा १ सय ४५ जना ,  अछाममा ५३ जना, बाजुरामा ५५ जना र डडेल्धुरामा ३५ जना रहेका छन् ।

संघिय सरकारले भारतबाट फर्किएका सबै व्यक्तिलाई १४ दिन अनिवार्य क्वारेन्टाईनमा राख्न निर्देशन दिएको भए पनि फर्किएका सबै जना क्वारेन्टाईनमा नबसेको अवस्था छ । तर , सुदूरपश्चिम सरकारले फर्किएका सबै जनालाई सेल्फ क्वारेन्टाईनमा बस्न आग्रह गरेको छ ।

दुबईबाट फर्किएका धनगढीका ३४ वर्षीय युवक चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भई कोरोना पोजेटिभ देखिएपछि यस क्षेत्रका नागरिकहरूमा थप त्रास श्रृजना भएको छ ।

 

इन्सेक कञ्चनपुर जिल्ला प्रतिनिधि कोमल निरञ्जन भाटका अनुसार विश्वव्यापी माहामारीका रूपमा फैलिएको कोरोना भइरसको रोकथामका लागि सरकारले जारी गरेको लकडाउन कञ्चनपुर जिल्लामा पूर्ण रूपमा कार्यान्वयन भएको छ ।

कारोना भाइरस सङ्क्रमणको आशंकामा जिल्लाका नौ जनाको नमुना परीक्षण गरिएकोमा पाँच जनामा नेगेटिभ देखिएको छ भने अन्यको परीक्षण प्रतिवेदन आउन बाँकी रहेको छ ।

जिल्लामा स्वास्थ्यकर्मीका लागि चाहिने पीपिई लगायतका अतिआवश्यक सुरक्षाका सामाग्रीहरूको अभाव रहेको छ । स्थानीय सरकारले घुम्ती खाद्यान्न बिक्री सेवा सञ्चालनमा ल्याएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन जारी गरिएको लकडाउनका कारण बजार पूर्णरूपमा ठप्प भएपछि जिल्लावासिलाई खाद्यान्न अभाव नहोस भनेर घुम्ती खाद्यान्न बिक्री सेवा सञ्चालनमा ल्याइएको हो ।

स्थनीय तहले गरीबीको रेखामुनी रहेका नागरिकहरूको तथ्याङ्क सङ्कलन,भाइरस नियन्त्रण औषधी छर्कने,क्वाराइन्टन र आइसोलेसन निर्माण गर्ने र घर फर्किएका नागरिकहरूको तथ्याङ्क सङ्कलन गर्ने कार्यहरू गर्दै आएका छन् । लकडाउन जारी रहेको अवस्थामा भारतका विभिन्न स्थानबाट आएका ६५ जना नेपाली नागरिकहरू  सिमानामा अडकिएका छन । उनिहरूको उद्धारका लागि पहल भइरहेको स्थानीय प्रशासनले जानकारी दिएको छ ।

लकडाउनका कारण ज्यालामजदुरी गर्ने र आर्थिक अवस्था कमजोर भएका नागरिकहरूलाई सास्ती हुँदै गएको भए पनि स्थानीय तहहरूले घुम्ती पसलहरू सञ्चालनमा ल्याएपछि केही राहत पुगेको छ । जिल्लामा स्वास्थ्यकर्मीहरूका लागि आवश्यक पर्ने पीपिइ र अन्य सुरक्षाका सामग्रीहरूको ब्यवस्थापन गर्न आवश्यक छ ।

इन्सेक बाजुरा जिल्ला प्रतिनिधि पदमबहादुर सिंहका अनुसार कोरोना भाइरसको सङ्क्रमणलाई रोक्नका लागि सरकारले जारी गरेको लकडाउन जिल्ला सदरमुकाममा पूर्ण रूपमा कार्यन्वयन भएको भए पनि ग्रामिण क्षेत्रमा यसको पूर्ण कार्यान्वय भएको छैन् । छिमेकि मुलुक भारत र अन्य देशबाट फर्किएका व्यक्तिहरू अहिले पनि गाउँघरमा खुला रूपमा हिडडुल गरिरहेका र भेटघाटमा व्यास्त रहेको पाइएको छ ।

१६ वर्षीय बालिकलाई सङ्क्रमणको आशंकामा जिल्ला अस्पतालको आइसोलेसन बेडमा राखिएको छ भने उनको नमुना परीक्षणका लागि धनगढी पठाइएको जनाइएको छ ।

स्वामीकार्तिक खापर गाउँपालिकामा चैत १९ गते भारतबाट फर्किएका २३ जनालाई क्वारेन्टाईनमा राखिएको छ । स्थानीय तहले कारोना भाइरस सङ्क्रमणबाट बच्नका लागि प्रचार प्रसार तथा घरघरमा पुगेर मास्क र साबुन वितरण गरिहरेका छन् ।

हाल जिल्लाका नौ ओटा स्थानीय तहमा १ सय जना क्षमता भएको १० ओटा क्वारेन्टाइन तयार गरिएको छ भने जिल्ला अस्पताल बाजुरामा दुई बेड, कोल्टि प्राथामिक स्वास्थ्य केन्द्रमा दुई बेड र जिल्ला समन्वय समितिको सभा हलमा १० बेड गरी जम्मा १४ बेडको आइसोलेसन तयार गरेको छ ।

उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई चाहिने अतिआवश्यक सुरक्षाका सामाग्री नभएका कारण स्वास्थ्यकर्मीहरूलाई समस्या भएको छ भने हाल जिल्लामा तीन ओटा मात्रै पीपिई रहेको जनाइएको छ ।

इन्सेक डडेल्धुरा जिल्ला प्रतिनिधि भूपेन्द्र बिष्टका अनुसार पछिल्लो १४ दिनको अवधिमा २ हजार ३ सय ६४ जना भारत लगायका अन्य मुलुकबाट घर फर्किएको तथ्याङ्क स्थानीय तहले उल्लेख गरेको भए पनि जिल्लामा हालसम्म २३ जना मात्र क्वारेन्टाईनमा राखिएको छ ।

अमरगढी नगरपालिकामा भारत लगायत अन्य मुलुकबाट फर्किएका ३ सय १४ जना रहेका छन जस मध्ये अहिलेसम्म एक जना पनि क्वारेन्टाइन बसेका छैनन् । नगरपालिको स्वास्थ्य शाखाका अनुसार उनीहरू सबै अहिले होम क्वारेन्टाइनमा रहेका छन् ।

यसैगरी परशुराम नगरपालिकामा अर्को मुलकबाट आउने ६ सय ६७ जना मध्ये १० जना नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका छन् । नबदुर्गा गाउँपालिकामा ४ सय ४८ जना तेस्रो मुलुकबाट आएका छन् । आलिताल गाउँपालिकामा १ सय ९६, अजयमेरू गाउँपालिकामा २ सय ४, गन्यापधुरा गाउँपालिकामा २ सय ५९ जना मध्ये ७ जना गाउँपालिकाले तयार गरेको क्वारेन्टाइनमा राखिएको छ । भने भागेश्वर गाउँपालिकामा २ सय ७ जनामा ५ जनालाई मात्रै गाउँपालिकाले तयार गरेको क्वारेन्टाईनमा राखिएको गाउँपालिका अध्यक्ष कौशिला भट्टको भनाइ छ ।

यस भन्दा अगाडी विभिन्न स्थानीय तहले तयार गरेका क्वारेन्टाइनमा बसेका ५२ जना व्यक्तिहरू समान्य चेकजाचँ पछि घर फर्केका छन् । उनीहरूले आफू होम क्वारेन्टाइनमा बस्ने बताएपछि  छोडीएको सम्बन्धित गाउँपालिकाले जनाएको छ ।

जिल्ला अस्पतालका स्वास्थ्यकर्मीका लागि पीपिई  र अन्य सुरक्षाका सामाग्री नभएको स्वास्थ्यकर्मीहरूले बताउँदै आएका छन् । स्वास्थ्यकर्मीका लागी चाहिने आवश्यक उपकरणका लागी प्रदेश र संघिय सरकारलाई माग गरेको भएपनी अहिलेसम्म उपलब्ध हुन नसक्दा आवश्यक सामाग्री नहुँदा उपचारमा खटिने स्वास्थ्यकर्मीलाई समेत जोखिम रहेको डडेल्धुरा अस्पतालका सुचना अधिकारी टंक प्रशाद पन्तले जानकारी दिनु भएको छ ।

भारत लगायत अन्य मुलकबाट फर्किएकाहरूको संख्या अत्याधिक भएको भए पनि उनीहरूलाई क्वारेन्टाईनमा नराखिएका कारण जिल्लामा कोरोना भाइरसको उच्च खोखिम हुन सक्ने देखिन्छ । यसका लागि नेपाल सरकारले अन्य मुलुकबाट फिर्किएकाहरूलाई अनिवार्य रूपमा क्वारेन्टाईनमा राख्ने प्रबन्ध मिलाउन आवश्यक छ ।

इन्सेक अछाम जिल्ला प्रतिनिधि शिवराज ढुंगानाका अनुसार जिल्ला सदरमुकाममा पूर्ण रूपमा लकडाउन भए पनि भारतबाट फर्किएकाहरू ग्रामिण क्षेत्रमा घुमफेर र भेटघाट गरिरहेको अवस्था छ । जसका कारण सम्भावित जोखिमलार्य बढाएको छ ।

कोरोना भाइरसको सम्भावित जोखिम कम गर्न स्थानीय तहहरूले पोष्टर, पम्पलेट र  माइकिंग गर्दै स्थानीयहरूलाई घरमै सुरक्षित बस्न र नियमित हात धुनका लागि नियमित रूपमा अनुरोध गर्दै अएका छन् ।

जिल्लामा  १० बेडको क्वारेन्टाइन र जिल्ला अस्पताल मंगलसेनमा १० बेड र  वयलपाटा अस्पतालमा तीन बेडको आइसोलेशन कक्ष बनाइएको छ । जिल्लामा कोरोना भाइरस नमुना परिक्षणका लागि उपकरण नभए पनि जिल्ला बाहिरबाट आएको व्यक्तिहरूको  हेल्थ डेस्कमा ज्वरो परीक्षण गरिदै आएको छ ।

मंगलसेन, पञ्चदेवल विनायक, कलबजार नगरपालिका र चौरपाटी, मेल्लेख, बान्नीगढी जयगढ, रामारोशन र ढकारी गाउँपालिकाले क्वारेन्टाइन निर्माण गरेका छन् । साँफेबगर नगरपालिका र तुर्माखाँद गाउँपालिकाले भने क्वारेन्टाइन निर्माण गर्ने तयारी भइरहेको जनाएको छ ।

मंगलसेन नगरपालिकाले लकडाउनका क्रममा खाद्य संकटमा परेका ६ घर बादी परिवारलाई १० कठ्ठा चामल, दाल, नुन र तेल वितरण गरेको छ भने नगरमा कार्यरत स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने निर्णय गरेको छ  । कारोना भाइरसको सम्भावित जोखिमलाई कम गर्नका लागि जिल्ला विपत व्यवस्थापन समितिको बैठक आवश्यकता अनुसार बसी विभिन्न निर्णयहरू गर्दै आएको छ ।

जिल्लाका स्थानीय तहहरूले क्वारेन्टाईन तयार गरेका भए पनि मापदण्ड अनुसार निर्माण नभएको अवस्था छ । अहिले पनि भारतबाट फर्किएका व्यक्तिहरू भेटघाट र घुमफिरा ब्यास्त रहेकाले उनीहरूलाई सेल्फ क्यारेन्टाईनमा राख्न अवश्यक छ ।

इन्सेक दार्चुला जिल्ला प्रतिनिधि नरेन्द्र कार्कीका अनुसार विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि दार्चुला जिल्ला पनि एक हप्तादेखि पुर्ण रूपमा लकडाउन गरिएको छ ।

लकडाउनको अवधीमा ६० जना व्यक्तिहरूलाई नियन्त्रणमा लिएर कारवाही गरेको प्रहरीले जनाएको छ । जिल्लामा हालसम्म खाद्यान्यको अभाव नभए पनि लामो समयसम्म लकडाउन कायम रहने हो भने खाद्यान्न अभाव हुने जनाइएको छ ।

भारतको दिल्लीबाट फर्किएका एक जनालाई उच्च ज्वरो र खोकी देखिएपछि गोकुलेश्वर अस्पतालको आइसोलेसन बेडमा राखिएको छ । अस्पतालमा पीपिई र मास्क नहुँदा विरामीको चेकजाँच गर्न जोखिम भएको गोकुलेश्वर अस्पतालका डाक्टर महादेव भट्टको भनाइ छ । जिल्ला अस्पताल दार्चुलामा १० थान पीपीइ रहेको अस्पतालका डाक्टर गजेन्द्र दुवालले जानकारी दिनु भएको छ ।

जिल्लाका नौ ओटै स्थानीय तहले कोरोना भाइरसबाट बाँच्ने उपाय र अपनाउनु पर्ने सावधानीको बारेमा गाउँगाउँमा प्रचारप्रसार गरिरहेका छन् । मार्मा गाउँपालिकाले कोराना भाइरसबाट रोकथाम र समस्या समाधानको लागि १५ लाख रूपियाँ बजेट विनियोजन गरेको छ । नौगाड, व्यास र मालिकार्जुन गाउँपालिकाले नागरिकलाई मास्क वितरण गर्दै जनचेतना जगाइरहेका छन् भने अपिहिमाल गाउँपालिकाले जेष्ठ नागरिक, बृद्धबृद्धालाई निशुल्क मास्क र डिटोल साबुन वितरण गरिरहेको छ ।

जिल्लाको सीमा नाका धारचुलामा चैत १४ गतेदेखि ६ सय ६० जना नेपाली अलपत्र अवस्थामा रहेकोमो नेपाल सरकार र भारत सरकारका पदाधिकारीबिच चैत १८ गते भएको सहमति अनुसार भारतमा अलपत्र अवस्थामा रहेका नेपालीलाई भारत सरकारले र नेपालमा अलपत्र परेका भारतिय नागरिकलाई नेपाल सरकारले क्वारेन्टाईनमाराखि आवश्यक सेवा सुविधा उपलब्ध गराउने भएको छ । धारचुलामा अलपत्र परेका नेपालीहरू मध्ये चैत १७ गते तीन जना र चैत १८ गते २६ जना महाकाली नदी तरेर नेपाल भित्रिएका छन् । उनीहरूलाई सम्बन्धित स्थानीय तहमा पठाइ क्वारेन्टाईनमा राख्ने व्यवस्था गरिएको छ ।

लकडाउनको समयमा पनि जिल्लाका वैध तथा अवैध नाका भएर सयौं नागरिकहरू घर फर्किएका छन्  । घर फर्किएका सबै जनालाई स्थानीय तहले क्वारेन्टाइनमा राख्न सकेको अवस्था छैन् । घर फर्किएकाहरूले क्वारेन्टाइमा बस्न नमान्दा जोखिम बढेको छ । स्थानीय तहले घर फर्किका सबै जनालाई अनिवार्य रूपमा क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न आवश्यक छ  ।

 

 


इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,धनगढी