कोरोना भाइरस सम्बन्धमा सुदूरपश्चिम प्रदेशको अवस्था

  ०७६ चैत २४ गते

इन्सेक सुदूरपश्चिम प्रदेश अन्तर्गत कार्यरत इन्सेक जिल्ला प्रतिनिधिहरूले चैत २४ गते पठाउनु भएको सूचनाका आधारमा उच्च सतर्कताका लागि प्रदेश अन्तर्गत स्थानीय तहले गरिरहेका कार्य र समस्याहरूको जिल्लागत अवस्था विश्लेषण गरिएको छ ।

इन्सेक बाजुरा जिल्ला प्रतिनिधि पदमबहादुर सिंहका अनुसार जिल्लाका नौ ओटै स्थानीय तहले कोरोना भाइरस विरूद्धको अभियानलाई प्रभावकारी बनाउनका लागि सहयोगार्थ राहात कोष स्थापना गरेका छन् ।

गौमुल गाउँपालिकाले ३० लाख बराबरको विपत राहात कोष स्थापना गरेको छ । गाउँपालिकाले चैत २३ गते गाउँ कार्यपालिकामा उपलब्ध सदस्यहरूको आकस्मिक बैठकले कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा प्रतिकार्य योजनाको लागि ३० लाखको विपत व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको गौमुल गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकायाले बताउनु भयो ।

हिमाली गाउँपालिकाले ५० लाख बराबरको राहात कोष स्थापना गरिएको छ । गाउँसभाको आकस्मिक बैठकले उक्त राहत कोष स्थापनाको निर्णय गरेको हो । कोषलाई कोरोना भाइरस माहामारीको रोकथामको लागि प्रयोग गरिने गाउँपालिकाका अध्यक्ष गोबिन्द मल्लले बताउनु भयो ।

गाउँपालिकाहरूले कोरोना भाइरसको सम्भावित जोखिम रोकथामका लागि गाउँबस्तीमा जनचेतना फैलाउने कम गरिरहेका छन् । बिदेशबाट आएकाहरूको तथ्याङ्क सङ्कलनका लागि सबै वडा अध्यक्षहरू निरन्तर काम गरिरहनु भएको हिमाली गाउँपालिका अध्यक्ष मल्लको भनाइ छ । हिमाली गाउँपालिकासँग जोडिएको कर्णाली प्रदेशका सिमानामा पूर्णरूपमा तारजालि लगाएर बन्द गरिएका  छन् ।

स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरन्जीबी शाहीले १० लाख बरावरको राहात कोष स्थापना गरिएको र सबै वडाहरूमा बिदेशबाट आएकाहरूको तथ्याङ्क सङ्कलन भइरहेको बताउनु भयो । स्वामीकार्तिक गाउँपालिकामा भारतबाट आएका ३५ जनालाई क्वारेन्टाइनमा राखि खानबस्नको व्यवस्था गरिएको भए पनि  पीपिइ सेट नहुँदा उनीहरूको स्वास्थ्य चेकजाँचमा समस्या भएको अध्यक्ष शाहीको भनाइ छ ।

जगन्नाथ गाउँपालिकाले २० लाख बरावरको राहात कोष स्थापना गरेको छ भने अतिविपन्न  परिवारको तथ्याङ्क सङ्कलन गरी प्रति परिवार २ हजार रूपियाँ बराबरको खाद्यान्य उपलब्ध गराउने निर्णय गरेको छ ।

भारतबाट फर्किएकाहरूको तथ्याङ्क सङ्कलन गर्ने काम वडास्तरबाट शुरू गरिएको जगन्नाथ गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले बताउनु भयो ।

बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले अतिविपन्न परिवारको तत्कालको समस्या समाधान गर्नका लागि चार जनासम्मको परिवारका लागि ३० केजी चामल, दुई केजी दाल, दुई केजी नुन, दुई लिटर तेल, दुई  केजी चिनी र  दुई ओटा साबुन दिने गरी राहत प्याकेज ल्याएको  बताउनु भयो ।

नगरपालिकाले तत्कालका लागि २४ लाख बराबरको आपतकालिन राहत कोष निर्माण गरेको र थप आवश्यक परेमा विकास निर्माणका योजनाको बजेटलाई पनि रकमान्तर गरेर कोरोना विरूद्धको लडाइमा खर्च गर्न नगरपालिका तयार रहेको नगर प्रमुख बडुवालको भनाइ छ ।

खप्तड छेडेदह गाउँपालिकाले १९ लाख बराबरको आपतकालिन कोषको स्थापना गरेको र विपन्न र गरिव परिवारको पहिचान गरी खाद्यन्नको ब्यवस्था गरिने गाउँपालिकाका अध्यक्ष नरबहादुर रावलको भनाइ छ ।

इन्सेक डडेल्धुरा जिल्ला प्रतिनिधि भूपेन्द्र विष्टका अनुसार अमरगढी नगरपालिकाले नगरपालिकामा रहेका विपन्न परिवारको तथ्याङ्क सङ्कलनपश्चात वडा नम्बर ५ मा चैत २४ गतेदेखि टोकन प्रणाली मार्फत राहत वितरण शुरू गरेको छ ।

वडा अध्यक्षको हस्ताक्षर गरिएको टोकनमा राहत पाउने व्यक्तिले पाउने सामाग्रीहरू चामल १५ केजी, दाल दुई केजी, तेल एक पोका, नुन एक पोका र साबुन दुई पिस उल्लेख गरी पसलमा पठाइने व्यवस्था गरिएको छ ।

खाद्यान्न सामाग्री बिक्री गर्ने पसलहरूसँग सम्झौता गरी वडा कार्यालयले सबैको पायक पर्ने पसलका टोकन उपलब्ध गराएर राहत वितरणको नयाँ अभ्यास शुरू गरेको छ ।

वडामा हरेक स्थानमा पसल रहेकाले कसैलाई पनि असहज नहुँने वडा अध्यक्ष खेमराज पाठकले बताउनु भयो । वडामा रहेका करिव १ स ५० जना दैनिक ज्यालामजदुरी गर्ने परिवारलाई राहत वितरण गरिएको उहाँले बताउनु भयो ।

पसलहरूमा भीडभाड नहोस् भन्नका लागि सबै क्षेत्रका पसलहरूका राहत पाउने व्यक्तिको टोकनमा नाम लेखिएको र थोरै मात्रामा मात्रै मान्छेहरूलाई पठाइने व्यवस्था गरेको वडा कार्यालयले जनाएको छ ।

व्यवस्थित रूपमा राहत प्राप्त गरेपछि स्थानीय भने निकै खुसी भएका छन् । राहत वितरण गरिने सम्पुर्ण पसलहरूमा समेत सामाजिक दूरी कायम गरी राहात सामाग्री हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको वडा अध्यक्ष पाठकको भनाइ छ ।

आलिताल गाउँपालिकाले एक गाउँबाट अर्को गाउँ र एक वडाबट अर्को वडामा जान पूर्णरूपमा रोक लगाउने निर्णय गरेको छ । स्थानीय नागरिकहरूको आवतजावत नरोकिएपछि चैत २४ गतेदेखि एक वडाबाट अर्को वडामा जान गाउँपालिकाले निषेध गरेको हो ।

गाउँपालिकाका हरेक गाउँ सिल गर्नुका साथै भारतबाट घर फर्किएकाहरूको उच्च निगरानी गरिने गाउँपालिकाका उपाध्यक्ष जलाकुमारी विष्ट बोगटीले  बताउनु भयो ।

६ सय परिवारका लागि सरसफाइ सामाग्री हस्तान्तरण

कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण बढ्दै गएपछि सरकारले गरेको लकडाउनले दैनिक ज्यालामजदुरी गर्ने वर्गलाई समस्या भएपछि डडेल्धुरा जेसिजले ६ सय परिवारका लागि सरसफाइ सामाग्री हस्तान्तरण गरेको छ ।

संस्थाले जिल्ला सदरमुकाम, डडेल्धुरामा अमरगढी नगरपालिका, नवदुर्गा गाउँपालिका, भागेश्वर गाउँपालिका र गन्यापधुरा गाउँपालिकालाई उक्त सरसफाइ सामाग्री हस्तान्तरण गरेको हो । प्रति स्थानीय तहका १ सय ५० जनालाई प्रति व्यक्ति दुई पिस हात धुने साबुन, कोलगेट र ब्रस प्रदान गरिएको डडेल्धुरा जेसीजले जनाएको छ ।

अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले जेसीजबाट प्राप्त सहयोग सामाग्री दैनिक ज्यालामजदुरी गर्ने वर्गलाई वितरण गरिने बताउनु भयो ।

इन्सेक अछाम जिल्ला प्रतिनिधि शिवराज ढुंगानाका अनुसार कोरोना भाइरसको सङ्क्रमणको अवस्था पत्ता लाउन चैत २५ गते एकैपटक २ सय जनाको विशेषज्ञ टोलीबाट स्वाब परीक्षणका लागि नमूना सङ्कलन गरिने भएको छ ।

नेपाली सेनाको विशेषज्ञ टोलीले मंगलसेन, साँफेबगर र कमलबजार गरेर तीन स्थानमा क्वारेन्टाइन र होम क्वारेन्टाइनमा रहेका र कोरोना भाइरससँग मिल्दो लक्षण देखिएका अन्य केही व्यक्तिको नमूना सङ्कलन गर्ने भएको छ ।

जिल्लाका १० स्थानीय तहमा कम्तिमा २० जना पर्ने गरी २ सय जनाको नमूना सङ्कलन गरिने भएको स्वास्थ्य कार्यालय, अछामका प्रमुख झनराज ढुंगानाले बताउनु भयो ।

२ सय जनाको स्वाब सङ्कलन गरेर परीक्षणका लागि काठमाडौँ पठाइने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको भनाइ छ ।

कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्नका लागि साँफेबगर नगरपालिका – ११ देविस्थानमा वडा कार्यालयले ३ सय २५ घरपरिवारमा हात धुने साबुन र मास्क वितरण गरिएको छ । वडाका हरेक टोलमा पुगेर ३ सय २५ साबुन र १ हजार मास्क वितरण गरिएको वडा अध्यक्ष गणेशबहादुर खड्काले जानकारी दिनु भयो ।

चौरपाटी गाउँपालिकाले सात ओटै वडामा क्वारेन्टाइन निर्माण गर्ने भएको छ । वडामा रहेका विद्यालयमा निर्माण गरिने क्वारेन्टाइनका लागि आवश्यक सामाग्री र अन्य व्यवस्थापनको काम भइरहेको गाउँपालिका अध्यक्ष हर्कबहादुर साउँदले जानकारी दिनु भयो ।

इन्सेक कञ्चनपुर जिल्ला प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार भीमदत्त नगरपालिकामा लकडाउनको समयमा सञ्चालन गरिएका घुम्ती पसल सेवा बन्द गरिएका छन् ।

नगरपालिकामा चैत २४ गते बसेको अत्यावश्यक खाद्यान्न आपूर्ति तथा व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसको सङ्क्रमणको थप जोखिम बढेपछि अर्को व्यवस्था नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।

नगर प्रमुख सुरेन्द्र विष्टले सुदूरपश्चिम प्रदेशमा पहिलो पटक स्थानीयमा कोरोनो भाइरस सङ्क्रमण देखिएकोले हाललाई सञ्चालनमा ल्याइएको घुम्ती सेवा बन्द गर्नु परेको बताउनु भयो । सङ्क्रमणलाई रोक्नका लाग सबै स्थानीय नागरिकहरूले लकडाउनको पूर्ण पालना गरी सबैलाई सुरक्षित रहन समेत प्रमुख विष्टले आग्रह गर्नु भएको छ ।

लकडाउनको समयमा उपभोक्ताहरूलाई खाद्यान्नको समस्या नहोस भन्नका लागि नगरपालिका र कञ्चनपुर उद्योग बाणिज्य सङ्घको समन्वयमा ती घुम्ती पसल सेवा सञ्चालन गरिएको थियो ।

इन्सेक दार्चुला जिल्ला प्रतिनिधि नरेन्द्र कार्कीका अनुसार चैत ११ गते कैलालीको गौरीफन्टा नाका भएर नेपाल प्रवेश गरेका दार्चुलाबासीको खोजी शुरू गरिएको छ । जिल्ला प्रहरी कार्यालय, दार्चुलाका अनुसार चैत १२ गते धनगढीबाट दार्चुला आएका ८० जना व्यक्तिहरूको सूची र सम्पर्क नम्बर तयार गरेर सम्बन्धित स्थानीय तहमा पठाउने तयारी गरिएको छ ।

भारतबाट आएका व्यक्तिमा कोराना सङ्क्रमण भेटिएपछि उनीहरूसँगै दार्चुला आएका व्यक्तिहरूको खोजी शुरू गरिएको हो ।

कैलालीबाट आएका व्यक्तिहरूको नाम, ठेगाना र सम्पर्क नम्बर आइसकेको कारण सम्बन्धित स्थानीय तहमा उनीहरूको नियमन गरी क्वारेन्टाइनमा राख्न परिपत्र गरिएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका डिएसपी दिपेन्द्र बहादुर शाहीले बताउनु भयो ।

भारतका विभिन्न शहरमा काम गरेर चैत ११ गते गौरीफन्टा नाका खुलेपछि दार्चुलाका शैल्यशिखर नगरपालिकाका १३ जना, मार्मा गाउँपालिकाका २० जना, लेकम गाउँपालिकाका  दुई जना, अपिहिमाल गाउँपालिकाका १० जना, महाकाली नगरपालिकाका १० जना, नौगाड गाउँपालिकाका नाै जना, दुहुँ गाउँपालिकाका चार जना र व्यास गाउँपालिकाको एक जना रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

चैत १२ गते नै बझाङ,बैतडी र कैलालीबाट दार्चुला आएका ११ जनालाई खोजी गरेर क्वारेन्टाइनमा अनिवार्य राख्ने गरी स्थानीय तहलाई विवरण पठाइएको छ ।

भारतका विभिन्न ठाउँबाट चैत ११ गते गौरीफन्टा नाका भएर फर्किएका १२ जनालाई भने मार्मा गाउँपालिका लटिनाथ मावि रस्कोटमा रहेको क्वारेन्टाइनमा राखिएको छ ।

चैत १२ गते नै दार्चुला भित्रिएका शैल्यशिखर नगरपालिका – ८ का महानन्द जोशी आएदेखि आफू सेल्फ क्वारेन्टाइनमा बसेको जानकारी गराउनु भयो । सारथी खबरसँगको फोन सम्पर्कमा उहाँले भन्नु भयो । ‘घर पुगेदेखि सेल्फ क्वारेन्टाइनमा छुट्टै बसेको छु ।’

कोरोना (कोभिड १९) को जोखिम बढ्दै गएपछि दार्चुलाका स्थानीय तहहरूले पनि आवतजावतमा कडाई गर्न थालेका छन् । जिल्लाभरी एक स्थानीय तहबाट अर्को स्थानीय तहमा प्रवेश गर्न रोक लगाइएसँगै स्थानीय तहहरूले एक वडाबाट अर्को वडामा जान रोक लगाएका हुन् ।

कैलाली र कञ्चनपुरमा चैत २२ गते थप तीन जनामा सङ्क्रमण देखिएसँगै दार्चुला जिल्लाका स्थानीय तह प्रवेश गर्ने नाकामा चेकजाँचलाई कडा पारिएको छ ।

जिल्लाका पाँच ओटा स्थानीय तहले कोरोना भाइरसको माहामारी रोकथाम तथा विपद व्यवस्थापन कोष स्थापना गरेका छन् ।

अपिहिमाल गाउँपालिकाको कार्यपालिका बैठकले कोराना भाइरस रोकथाम तथा नियन्त्रण व्यवस्थापनको लागि २५ लाख, दुहुँ गाउँपालिकाले विपद् व्यवस्थापन कोषमा १५ लाख, नौगाड गाउँपालिकाले ९ लाख ७४ हजार र शैल्यशिखर नगरपालिकाले २५ लाख रूपियाँ कोराना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने निर्णय गरेका छन्  ।

 


इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,धनगढी