कोरोना भाइरस सम्बन्धमा बागमती प्रदेशको अवस्था

  ०७६ चैत २४ गते

कोरोना भाइरस सङ्क्रमण रोकथामको लागि देशका सबै स्थानीय, प्रदेश तथा सङ्घीय सरकारले उच्च सतर्कता अपनाइरहेको छ । बागमती प्रदेशमा टेकु र हेटौँडाबाट मात्रै कोरोना परीक्षण हुँदै आएकोमा चैत २४ गतेबाट चितवन र  काभ्रेको धुलिखेलबाट समेत कोरोना परीक्षण शुरुवात भएको छ । अब धेरैभन्दा धेरै व्यक्तिको कोरोना परीक्षण गर्ने र उपचार तथा अन्य प्रक्रियालाई निरन्तरता दिने गरी काम अगाडि बढेको छ ।

कोरोना रोकथामको पहलमा इन्सेक बागमती प्रदेश कार्यालय अन्तरगतका १३ जिल्लाका भएका सकारात्मक गतिविधि तथा कोरोना भाइरस सङ्क्रमणको अवस्थाबारे जिल्ला प्रतिनिधिहरूबाट प्राप्त सूचनाको आधारमा  विश्लेषण गरिएको छ ।

रसुवा जिल्ला प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार जिल्लामा राहत वितरण कार्य थालनी गरिएको छ । जिल्ला भरका स्थानीय तहले असङ्गठित क्षेत्रमा कार्यरत श्रमिकवर्ग तथा असहायलाई उपलब्ध गराउने राहत सम्बन्धी मापदण्ड अनुरुप लगत लिने काम भएको छ ।

कालिका गाउँपालिकाले लगत लिने काम सकेको छ । जसअनुासर वडा–१ मा १६ जना, वडा–२ मा ९१ जना, वडा–३ मा ६० जना, वडा–४ मा ३७ जना, वडा–५ मा ६३ गरी २ सय ६७ जनालाई राहत दिन सुरु गरिएको कालिका गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले बताउनु भयो । कालिका गाउँपालिकाले वडा–५ जिवजिवे बजारमा अनुगमन गरेको छ । ०७६ चैत २४ गते बिहान गरेको अनुगमन अनुसार अधिकांश पसलबाट मिति गुज्रेको चिसो पेय पदार्थ भेटिएको छ । गाउँपालिकाले मिति गुज्रिएको खाद्यान्न विक्री गरे कानुनी कारवाही गर्ने चेतावनी दिएर मूल्य सूचि नदेखिएका केही पसलमा तत्काल देखिने ठाउँमा मूल्य सूचि राख्न निर्देशन समेत दिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत बाचस्पत्ती सुनारले बताउनु भयो ।

तरकारी तथा फलफुलको मूल्य बृद्धि भएको गुनासो आएकोले जिल्लाको रसुवागढी, स्याफ्रु र धुन्चेमा पनि बजार अनुगमन गर्न आवश्यक देखिएको छ । केही पसलमा खाद्यान्नको पनि फरक फरक मूल्य देखिएकोले एकरुपता गर्न पहल गर्नुपर्ने देखिन्छ । एम्बुलेन्सको बिरामी र चालक कक्षबीच सिसा वा आल्मुनियमको छेकबार अनिवार्य गर्ने र चालकलाई न्युनतम व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री व्यवस्था र सेवा प्रवाहमा सहजताका लागि एम्बुेन्स सञ्चालकहरूले चालकलाई छुट्टै बास बस्ने व्यवस्था गर्ने समेत अनुरोध गर्ने निर्णय भयो ।

बस रोकियो

०७६ चैत २३ गते साँझ नौकुण्ड गाउँपालिका –५ भोर्लेबाट स्थानीय श्याम मगर सहित ३ जना अनुमति बेगर बा ५ ख ५२९४ नम्बरको लोकल बस चढेर कालिका गाउँपालि –५ को जिवजिवे जान लागेको अवस्थामा प्रहरीले रोकेको छ । बसलाई नियन्त्रणमा लिएर चालक तथा अन्यलाई तत्कालै छाडेको कालिकास्थान प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि नातिबावु धितालका अनुसार जिल्लामामा चैत २४ गते आइसोलेशनमा चारजना र क्वाराइन्टाइनमा ६ जना राखिएको छ । बलेफी गाउपालिका १ स्थित जलवीरे क्वारान्टाइन केन्द्रमा राखिएका पाँच जनालाइ चैत २३ गते साझ आफ्नो घर पठाइएको छ  ।

चौतारा साँगाचोकगढी नगरपालिका–७ स्थित मेल्चौरको क्वाराइन्टाइन केन्द्रमा राखिएका ६ जनालाई स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानी र जनपथ प्रहरीले सुरक्षा दिइरहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दुर्गादत्त चापागाईंले बताउनु भयो । ओमानबाट चैत १ गते घर फर्कनुभएको एक महिलालाई ०७६ चैत २३ गते साँझ चौतारा अस्पतालको आइसोलेशनमा राखिएको छ । उहाँको श्वाब परीक्षण गर्न चैत २४ गते काठमाण्डौ लगिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाकारी दिएको छ ।

चितवन जिल्ला प्रतिनिधि दीपेन्द्र अधिकारीका अनुसार चैत २४ गते लकडाउन उल्लङ्घन गरेको आरोपमा १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कारोना विशेष अस्पतालमा ०७६ चैत २४ गते १८ जनाकोे उपचार भइरहेकोे छ । भरतपुर अस्पतालको आइसीयू र आइसालेसनमा कोही पनि बिरामी नरहेको अस्पतालले जनाएको छ । स्थानीय पालिकाले स्थानीय विपन्न समुदायको पहिचान गरेर खाद्यान्नको व्यवस्था गर्न थालेको छ ।

भक्तपुर जिल्ला अस्पतालमा कोरोना आशङ्कामा दुई जना बिरामी आइसोलेशनमा भर्ना भएका छन् । उनीहरू सहित विदेशबाट फर्किएकाहरू चैत २४ गतेसम्म ६१ जनाको नमूना सङ्कलन गरीएको छ । ४६ जनाको रिपोर्ट नेगेटिभ आएको छ, अरुको रिपोर्ट आउन बाँकी भक्तपुर जिल्ला प्रतिनिधि रमेश गिरीले बताउनु भयो ।

भक्तपुर अस्पताललाई सरकारले कोरोना हव अस्पतालको रुपमा घोषणा गरेपनि अस्पतालमा कोरोना उपचारका लागि अत्यावश्यक मानिने आईसियू र भेन्टिेलेटर नभएको अस्पतालका मेडिकल सुपरिटेण्डन डा.सुमित्रा गौतमले बताउनु भयो । मध्यपुरथिमिको नेपाल कोरिया मैत्री अस्पतालमा पनि कोरोना आशङ्कामा चैत २४ गते चार जनाको नमूना सङ्कलन भएको छ । आइसोलेशनमा दुई भर्ना भएका मध्यपुरथिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै चाँगुनारायण नगरपालिकाले विदेशबाट फर्किएकाहरूको नमूना सङ्कलन गरी टेकु पठाउने कामसुरु गरेको  पहिलो दिन तीनजनाको पठाएको मेयर सोमप्रसाद मिश्रले जानकारी दिनुभयो । भक्तपुर जिल्लामा लकडाउनको व्यापक उल्लङ्घन भएको छ ।

सूर्यविनायक नगरपालिकाको चैत २४ गतेबाट सबै वडामा राहत वितरण सम्पन्न गरेको छ । नगरपालिकाले कूल ५ हजार १ सय ६१ नागरिकलाई राहत वितरण गरेको नगरपालिकाका प्रशासकीय प्रमुख कमल ज्ञवालीले जानकारी दिनुभयो । चाँगुनारायण नगरपालिकाले राहत वितरण सुरु गरेको छ भने भक्तपुर नगरपालिकाले पनि राहत वितरण सुरु गर्ने तयारी गरेको जानकारी दिएको
छ ।

त्यसैगरी खरिपाटीको क्वारेन्टाइनमा रहेका उपत्यका भित्रका २६ जना सहित कुल ७३ जनालाई चैत २४ गते घर फर्काईएको छ । घर फर्काउन नेपाली सेनाको दुई र सार्वजनिक यातायात दुई गरी चार ओटा बसमा प्रयोग गरीएको थियो ।

भक्तपुर जिल्ला प्रतिनिधि गिरीकै अनुसार सङ्घीय राजधानी रहेको काठमाडौँ जिल्लामा पनि लकडाउनलाइ कडाई गरीएको छ । मन्त्रीपरिषद् बैठकले लक डाउनको अवधी तेस्रो पटक थप आठ दिन बढाएसँगै कडाई गरिएकाे हाे । त्यसैगरी सरकारद्वारा स्थापना गरीएको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष’मा चैत २४ गतेसम्म १ अर्ब ३२ करोड १२ लाख २२ हजार ६ सय ३७ सङ्ंकलन भएको छ ।

कोरोना भाइरसको सङ्कमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सहयोग गर्न सरकारले स्थापना गरेको उक्त कोषमा १३ करोड १७ लाख ११ हजार ७ सय ५० जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्र पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै नेपाल सरकारले लकडाउनका बेला विपन्न तथा मजदुरहरूलाई वितरण गर्न लागेको राहत प्याकेजमा नागरिता प्रतिलिपिलाई अनिवार्य पूर्वसर्त नराख्न अधिकारवादी संस्थाले माग गरेका छन् ।

त्यस्तै गृह मन्त्रालयले क्वारेन्टाइनमा बसेका व्यक्तिको अनुगमनका लागि कोबडी (COBUDDY) एप्स सञ्चालनमा ल्याएको छ । यसअघि क्वारेन्टाइनबाट मानिस भागिरहेका बेला अब एप्सले त्यसको निगरानी गर्नेछ । उक्त एप्स जसले पनि प्रयोग गर्न सक्दैन । राज्यको निकायले जो–जो क्वारेन्टाइनमा बस्नुपर्छ भनेर तोकेको हुन्छ, ती व्यक्तिका लागि एप्स प्रयोग गरीन्छ । त्यसलाई एक्टिभेट गर्न विशेष कोड हुन्छ । एप्स चैत २४ गते काठमाडौं, भक्तपुरमा, बाग्लुङ्, कञ्चनपुर र कैलालीबाट उक्त एप्स प्रयोग सुरु गरीएकोछ । त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई नर्भिक अस्पतालले ६० लाख रुपियाँ बराबरको मेडिकल सामग्री हस्तान्तरण गरेको छ ।

जिसस प्रमुख आफै बिरामी बोकेर आइसोलेशन केन्द्रमा

कोरोना भाइरस सङ्क्रमण भएको आशङकामा एम्बुलेन्सले बिरामी बोक्न नमानेपछि जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका सभापति कृष्णगोपाल तामाङले आफैं बिरामी बोकेर अस्पताल लैजानु भएको छ ।

सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि नातिबावु धितालका अनुसार ओमानबाट घर फर्कीनु भएको लिशङ्खुपाखरकी २४ वर्षीया महिला रुघाखोकी र ज्वरो आएको भन्दै स्थानिय स्वास्थ्य चौकीमा चैत १७ गते पुग्नु भएको थियो । स्वास्थ्य चौकीले दिएको औषधिले निको नभएपछि चैत २२ गते खाडिचौर स्थित सदाबहार अस्पतालमा जानुभएको थियो । सदावहार अस्पतालले कोरोना भाइरससँग मिल्दोजुल्दो रोग भएकाले भर्ना गरेर उपचार गर्न मानेन । जिल्ला स्वास्थ्य कार्यालयले जिल्लामा भएका सबै एम्बुलेन्सहरूलाई उक्त बिरामी चौतारा ल्याउन अनुरोध गर्दा जिल्लाका सबै एम्बुलेन्सहरूले नमानेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले बताउनु भयो ।

जिल्लामा कोरोना भाइरस सङ्क्रमितलाई सुरक्षित रुपले बोक्न सक्ने १४ वटा एम्बुलेन्सहरू रहेका छन्, ती सबै एम्बुलेन्सले बिरामी चौतारा सदरमुकाम ल्याउन नमानेपछि जिल्ला समन्वय समितीका प्रमुख तामाङ आफै खाडिचौर पुगेर चैत २३ गते साँझ चौतारा ल्याउनु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले बताउनु भयो ।

सवारी साधनलाई कारवाही

धादिङमा लकडाउन उल्लङ्घन गर्ने २४ सवारी साधनलाई धादिङ प्रहरीले कारवाही गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड(१९) को सङ्क्रमणबाट बच्न सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने सवारी साधनलाई धादिङ प्रहरीले कारवाही गरेको जिल्ला प्रतिनिधि सिताराम अधिकारीले बताउनु भयो ।

फूड बैँक स्थापना

गरीब तथा विपन्न नागरीकहरूलाई खाद्यान्नको अभाव हुन नदिन धादिङको गजुरीमा फूड बैंक स्थापना गरिएको छ । गजुरी गाउँपालिकाका गरीब तथा विपन्न परिवारलाई समस्या आएको भन्दै ति परिवारलाई खाद्यान्न बैंकबाट खानेकुराको प्रदान गर्ने उद्देश्यले फूड बैंक स्थापना गरिएको गाउँपालिकाका उपाध्यक्ष सिता ढुङ्गानाले बताउनु भयो । कोरोनाका कारण लम्बिदै गरेको लकडाउनले प्रभावित हुने परिवारलाई खाद्यान्न सहयोग गर्ने गरी यस्तो अवधारणा ल्याइएको उपाध्यक्ष ढुङ्गानाले बताउनु भयो ।

दोलखा जिल्ला प्रतिनिधि उद्धव पोखरेलका अनुसार ०७६ चैत २४ गते जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारीको नेतृतवमा सुरक्षाकर्मीहरू, स्वास्थ्यकर्मीको समेत सहभागितामा शैलुङ र मेलुङ गाउपालिकाका स्थानीय सरकारबाट तयार गरिएका क्वारेन्टाईनको अवस्था, बजार अनुगमनलगायतका कार्यलाई निरन्तरता दिईएको छ ।

जिल्लाको मेलुङ गाउँपालिका–१ ले आगामी खाद्यान्न अभाव हुन नदिन वडा भित्र उत्पादित विक्रि वितरण नगर्ने सर्वदलिय भेलाबाट निर्णय गरेको वडा अध्यक्ष इश्वर कोईरालाले बताउनु भयो । मेलुङ गाउपालिका–७ का वडा अध्यक्ष नवराज खड्काले लकडाउनका कारण खाद्यान्न ढुवानी हुन नसक्दा सो वडाका २ सय ६० घरधुरीका जोगी, थामी र दलित समुदायका दैनिक ज्यालादारी गर्ने परिवारलाई खाद्यान्न शङ्कट हुने बताउनु भयो ।

सिन्धुली जिल्ला प्रतिनिधि बिमला पाण्डेका अनुसार कमलामाई नगरपालिकाले सामाजिक सुरक्षा भत्ता घर घरमा पुगेर विवरण सुरु गरेको छ । कमलामाई नगरपालिकाका मेयर खड्ग खत्री, वडा–६ का अध्यक्ष उज्जल थापा, वडा ७ का अध्यक्ष कर्ण घिसिङ घरघर भत्ता वितरण गरिरहेका हुन् ।

कमलामाई नगरपालिकाले चैत र बैशाख महिनाको भत्ता वितरण गरिरहेकोे छ । कोभिड–१९ ले निम्त्याएको अहिलेको सङ्कटको अवस्थालाई मध्यनजर गर्दै कमलामाई नगरपालिकाले आर्थिक वर्ष ०७६÷७७ को तेस्रो चौमासिक अन्तर्गत चैत्र र बैशाख महिनाको सामाजिक सुरक्षा भत्ता बापतको रकम सम्बन्धित वडा कार्यालयमा पठाएको नगरपालिकाले जनाएको छ ।

सिन्धुलीमा आठ जना क्वारेन्टाईनमा

सिन्धुलीमा आठ जनालाई क्वारेन्टाईनमा राखिएको छ । दुधौलीमा रहेको क्वारेन्टाईनमा पाँच जना र कमलामाई नगरपालिकामा रहेको क्वारेन्टाईनमा ३ जनालाई राखिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।

आइतबारसम्म आठजना क्वारेन्टाईनमा राखिएको जिल्ला क्वारेन्टाईन व्यवस्थापन समितिका संयोजक एवम सहायक प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले बताइन । काठमान्डौबाट मजदुरी गरी घर आएका पाँच जनालाई दुधौलीका स्थानीयले गाउँमा बस्न दिन अस्वीकार गरेपछि नगरपालिकाले क्वारेन्टाईनमा राखेको हो ।

यसअघि आइसोलेशनमा भर्ना भएका भारतको उत्तराखण्डबाट आएका कमलामाई नगरपालिका वडा नं. ५ का २६ वर्षिय युवाका परिवारलाई सिन्धुलीमाढीमा रहेको क्वारेन्टाईनमा राखिएको हो । ती युवाको रिपोर्ट भने आएको छैन ।

१ सय ३१ जनाको ज्वरो जाँच

सिन्धुलीमा १ सय ३१ जनालाई ज्वरो जाँच गरीएको छ । सिन्धुली अस्पतालको फिवर इमर्जेन्सीमा उनीहरूको ज्वरो जाँच गरीएको हो । स्वास्थ्यकर्मीहरूको सुरक्षाका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्री १ सय ३५ थान रहेको छ । सिन्धुली अस्पताललाई बागमती प्रदेशका २ जिल्ला अस्पताल मध्ये कोरोना उपचार अस्पतालका रुपमा विकास गरिरहदा उक्त अस्पतालमा पिपिइको अभाव भएको यो तथ्यांकले देखाएको छ । अस्पतालमा सङ्घ संस्था तथा सरकारी निकायको सहयोगमा उक्त पिपिइ सङ्कलन भएको हो ।

विदेशबाट आउनेको संख्या खोज्दै स्थानीय तह

सिन्धुलीका स्थानीय तहले विदेशबाट आउनेको तथ्याङ्क सङकलन गरिरहेका छन । जिल्लामा विदेशबाट आउने २ सय चारजनाको पहिचान भएको छ । भारतबाट आउने १ सय चारजना र तेस्रो मुलुकबाट आउने १ सय जना गरी २ सय ४ जनाको पहिचान भएको प्रसाईले बताउनु भयो । विदेशबाट आउनेमा १६ जना महिला रहेका छन ।

जिल्लामा नौ आटै स्थानीय तहले तथ्याङक सङ्कलन गरिरहेका छन । स्थानीय तहले सङ्कलन गरेको तथ्याङकमा हालसम्म कमलामाई नगरपालिकामा ४०, मरिण गाउँपालिकामा ३४, सुनकोशी गाउँपालिकामा १६, तिनपाटन गाउँपालिकामा ३५, फिक्कल गाउँपालिकामा १६, दुधौली नगरपालिकामा ४२, घ्याङ्लेख गाउँपालिकामा नौ, गोलञ्जोर गाउँपालिकामा आठ, हरिहरपुरगढी गाउँपालिकामा २९ जना विदेशबाट आएको पाईएको छ ।

रामेछाप जिल्लामा क्वारेन्टाइनमा राखिएको ६५ जनालाई मध्ये १६ जना दुई हप्ता क्वारेन्टाइनमा बसेर चैत २४ गते छुटेको जिल्ला प्रतिनिधि नबराज पथिकले जानकारी दिनुभयो । हालसम्म मन्थली नगरपालिकाबाट एक जना खाँडादेवी गाउँपालिकामा ११ जना र गोकुलगङ्गा गाउँपालिकाबाट चार जनालाई दुइ हप्ता क्वारेन्टाइन राखी निगरानीबाट छुटाइएको  छ ।

गोकुलगङ्गा गाउँपालिकामा तीन जना, मन्थली नगरपालिकामा नौ जना, रामेछाप नगरपालिकामा २७ जना, सुनापति गाउँपालिकामा १५ जना, खाँडादेवी गाउँपालिकामा ६ जना, लिखुतामाकोशी गाउँपालिकामा पाँच जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिनुभयो । यसमध्य ५७ जना होम क्वारेन्टाइनमा बसेका छन् ।

जिल्लाका आठ ओटै स्थानीय तहले स्थानीय सरकारको अनुमति बिना कुनै पनि स्वास्थ्य सामाग्री र राहत वितरण गर्न नदिने निर्णय गरेका छन् । सङ्घ संस्था र व्यक्तिहरूले आफूखुसी स्वास्थ्य सामाग्री वितरण गर्दा कोरोना भाइरसको जोखिम हुने भएकाले यस्तो निर्णय गरेको अधिकारीहरूले बताएका छन् ।

मन्थली नगरपालिकाका नगरप्रमुख रमेश बस्नेतले नगरपालिकाभित्र सम्भावित कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सुरक्षा सतर्कता अपनाउँदै घनावस्ती भएको क्षेत्रमा किटनासक औषधि छिट्ने काम भई रहेको जानकारी दिनुभयो ।

ललितपुर जिल्ला प्रतिनिधि दीपकप्रसाद घिमिरेका अनुसार चैत २४ गते कोभिड–१९ को शङ्काका दुई जना बिरामीलाई पाटन अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरीएको छ । चैत २३ देखि पाटन र बज्रबाराही चापागाउँ अस्पतालमा कोभिड–१९ को शङ्कामा स्वास्थ्य परीक्षणको दैनिक रिपोर्ट सार्वजनिक गर्ने थालनी भएसँगै स्वास्थ्यको जानकारीमा सहजता आउने भएको छ । ४१ जना शङ्काष्पद बिरामीको स्वाब परीक्षण गर्दा ३९ जनाको नेगेटिभ नतिजा आएको छ भने दुई जनाको नतिजा आउन बाँकी रहेको छ ।

दक्षिण ललितपुर लक गरीएको छ । कोन्ज्योसोम गाउँपालिका–४, नल्लुबाट ओहोर दोहोर गर्न नदिने गरी लक गरीएको महानगरीय प्रहरी बृत्त चापागाउँका डिएसपी कृष्णराज ओझाले बताउनु भयो । एउटा गाउँपालिकाबाट अर्को स्थानीय तह आवात जावतमा रोक लगाउने सङ्घीय सरकारको नीति कार्यान्वयनसँगै कान्ति लोकपथबाट ललितपुर–मकवानपुर आवत जावत पनि रोकिएको डिएसपी ओझाले बताउनु भयो । सरकारी पास लिएका सवारीहरू, एम्बुलेन्स, प्रेस, दूध, तरकारी ढुवानीका साधन भने रोकिएको छैन । कोन्ज्योसोम गाउँपालिका भित्रका ५ ओटै स्वास्थ्य चौकीहरूमा दुई/दुई ओटा पिपिइको व्यवस्था गरीएको छ । प्रत्येक स्वास्थ्यचौकीहरूमा एक÷एक ज्वरो नाप्ने इन्फ्रारेड थर्मोमिटर खरिद गरीएको छ ।

काभ्रे जिल्ला प्रतिनिधि हिरामान तामाङका अनुसार खानीखोला गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । लकडाउन पछि ज्यालादारी गर्न जान नपाएपछि विकट डाडाँपारी क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । गाउँपालिकाको विपद व्यवस्थापन समितिले चैत २४ बसेको बैठकले खाद्यान्न अभाव भएको निर्णय गरेको उपाध्यक्ष रुकमणि गुरुङले बताउनु भयो । बैठकले खाद्यान्न अभाव पुरा गर्न चामल, दाल, नुन, तेल, पिठोलगायतका सामग्री ढुवानी गर्ने सवारी साधनलाई पालिका आफैले पास दिने समेत निर्णय गरेको छ ।

धुलिखेल अस्पतालमा ११ जनाको कोरोना परिक्षण ६ जना  आइसोलेशनमा राखिएको छ । काभ्रेको अति विकट क्षेत्रमा पर्ने महाभारत गाउँपालिकामा ३५ बेडको क्वारेन्टाइन तयार भएको छ । गाउँपालिकाले कोरोना भाईरस (कोभिड–१९) रोकथामका लागि उच्च जोखिम र शङकाष्काद व्यक्तिहरूलाई सुरक्षित राख्न ३५ बेड क्षमताको क्वारेन्टाइन तयार परेको पालिका अध्यक्ष कान्छामान जिम्बाले जानकारी दिनुभयो ।

कोरोनाका कारण जिल्ला कारागारबाट कैदीबन्दी रिहा
काभ्रे जिल्ला कारागारबाट एक जना कैदीबन्दी रिहा भएका छन् । रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं १३ वर्ष २६ का सुमन तामाङ २०७६ चैत २० रिहा भएका छन् ।
जिल्ला अदालत काभ्रेका न्यायाधीश पुरुषोतम ढकालको एकल इजालसले २०७६ चैत १९ गते रिहा गर्न आदेश दिएको थियो । तामाङले कोरोना भाईरस संक्रमणको त्रास देखाउदै २०७६ चैत १८ गते जिल्ला अदालत काभ्रेमा रिहाईका लागि निबेदन दिनुभएको थियो ।
सर्वोच्च अदालतले दिएको आदेश अनुसार छाड्न मिल्ने तामाङ सवारी ज्यान मुद्दामा २०७६ भदौ १७ गते जिल्ला अदालतको फैसलाले १० महिना थुना आदेश दिएको थियो ।
जिल्ला कारागार कार्यालय काभ्रेबाट पाँच जना र बाल सुधार गृहमा रहेका मध्ये चार जनाले कोरोना संक्रमणको त्रासमा घर जाने गरी निवेदन दिएको जिल्ला अदालत काभ्रेका श्रेस्तेदार ठाकुरनाथ त्रितालले बताउनुभयो ।
जिल्ला कारागार कार्यालय काभ्रेपलाञ्चोकले सर्वोच्च अदालतको आदेश अनुसार मुलुकी संहिताको दफा ५१ अनुसार पहिलो पटक कसुर गरी एक वर्ष वा सो भन्दा कम सजाँय पाई कारागार रहेका कैदी बन्दीहरुको हकमा कैद भुक्तान बाँकी अवधीको जरिवना राजश्व असुल गरी जिल्ला अदालतको इजलासमा पेश गरेको कारगार प्रमुख जंङ्गबहादुर राईले बताउनुभयो ।
तामाङबाट कैद भुक्तान हुन बाँकी ३२ दिनको कैद भुक्तान बाँकी अवधीको जरिवना राजश्व ९ हजार ६ सय रुपैया असुल गरेका थिए । तर, अन्य निवेदन दिएका कैदीबन्दीले प्रकृया पुगे पनि आफूहरूले सो सुविदाबाट वन्चित हुनु परेको गुनोसो गरेका छन् ।

मकवानपुर जिल्ला प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार पछिल्लो समय लकडाउन फितलो बनेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले लकडाउनका बेला कडाई गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको अध्यक्षतामा चैत २४ गते बसेको कमाण्ड पोष्टको बैठकले लकडाउन प्रभावकारी बनाउन कडाई गर्ने निर्णय गरेको हो । जथाभावी मोटरसाइकल चलाउने क्रम बढेपछि अस्पताल जाने बाहेक मोटरसाइकलमा दुई जना बस्न नपाईने भएको छ । त्यस्तै, बसपार्क र खोपेगल्ली तरकारी पसलबाट थोकमा मात्रै विक्रि वितरण हुने भएको छ ।

खुद्रा खरिदकर्ताले आफ्नो घर नजिकको पसलबाट मात्रै सामान खरिद गर्नु पर्ने निर्णय गरिएको छ । कमाण्ड पोष्टको बैठकले अनाश्वयक कामभन्दा बाहेक घरबाट निस्कने र सामान्य कामलाई पनि अत्यावश्यक भन्दै निस्कनेलाई नियन्त्रणमा लिने निर्णय गरेको मकवानपुर उद्योग वाणिज्य सङ्घका बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले जानकारी दिनुभयो । प्रशासनले तरकारी र खाद्यान्न किनमेलको समय विहान १० बजेदेखि ३ बजेसम्म तोकेपछि लकडाउनको प्रभाव न्यून हुँदै सवारी सञ्चालनको क्रम बढेको थियो ।

यसैबीच मकवानपुरमा विदेशबाट फर्किएका ४ सय २४ जनाको पहिचान भएको छ । कोरोना सङ्क्रमण बढेसङ्गै विदेशबाट फर्किएका पहिचानमा जिल्लाका १० ओटै स्थानीय तह सक्रिय भएका छन् ।


इन्सेक बागमती प्रदेश कार्यालय,हेटाैँडा