कोरोना भाइरस सम्बन्धमा प्रदेश १ को अवस्था विश्लेषण

  ०७६ चैत १९ गते

गत डिसेम्बरबाट सङ्क्रमण फैलिएको भएपनि जनवरी १० मा चीनमा सबैभन्दा पहिलो घटना अभिलेखित कोरोना भाइरसको महामारी विश्वभर फैलँदो छ । नेपालमा अहिलेसम्म पाँच जनामा यो सङ्क्रमण देखिएको छ । सरकारले कोरोना विरूद्ध उच्च सर्तकताका लागि ०७६ चैत ११ गतेबाट चैत १८ गते बिहान ६ बजेसम्म लगाएको लकडाउन पुरा भएको छ । सरकारले पुन चैत १८ गतेदेखि चैत २५ गतेको समयावधि थप गरी चैत २५ गतेसम्म पुर्याइएको छ ।

यो प्रतिवेदनमा विद्यमान मानव अधिकार तथा स्वास्थ्यसँग सम्बन्धित ऐन कानुन तथा कोरोना भाइरससम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ सँग सम्बन्धित विषयको पालना र कार्यान्वयनलाई थप मजबुद बनाउन नागरिक सङ्गठनका तर्फबाट थप सहयोग पुगोस् भनी तथ्य र तथ्याङ्क समावेश गरिएको छ । कोरोना भाइरससम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ मा शङ्कास्पद व्यक्तिलाई कम्तीमा १४ देखि १७ दिनसम्म सुरक्षित तरिकाले राख्नुपर्ने उल्लेख गरिएको छ ।

 प्रदेश १ को अवस्था

कोरोना भाइरस विरूद्धको अभियानमा सङ्घीय सरकारसँगै प्रदेश सरकार र स्थानीय तह एकजुट भई कार्य गरीरहेको अवस्था छ । प्रदेश १ का १ सय ३७ वटै स्थानीय तहमा कोभिड–१९ विरूद्ध अभियानहरू सञ्चालन गरिएको छ । प्रदेश १ का १४ जिल्लामध्ये ८ ओटा छिमेकी मुलुकसँग सिमाना जोडिएका जिल्लाहरूलाई प्राथमिकतामा राखी कोरोनासँग जुध्ने कार्य भईरहेको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार ०७६ चैत १९ गतेसम्ममा कोरोना भाइरससँग लड्न ३ हजार १ सय ९५ जना बस्न मिल्ने क्वारेन्टाइनको निर्माण गरिएको छ । प्रदेशभरी ३ सय ८५ वटा आइसोलेसन वेडको व्यवस्था गरिएको छ। प्रदेश भरी चैत १९ गतेसम्ममा ५ सय ७ थान पीपीई (प्रर्सनल प्रोटेक्सन एक्युप्मेण्ट) व्यक्तिगत सुरक्षा उपकरण वितरण गरिएको छ । प्रदेश १ मा यस अवधिमा ५४ जनाको स्वाब परीक्षण गरिएको छ । जसमा ४२ जनाको रिपोर्ट नेगेटिभ र १२ जनाको रिपोर्ट आउन बाँकी छ । प्रदेश १ का चैत १९ गतेसम्मको अवधिमा प्रदेश १ का ८ ओटा जिल्लामा पीपीइ वितरण भएको छ । जसमा झापामा १ सय ओटा,सुनसरीमा १ सय ६३ वटा,संखुवासभामा ४४ वटा,भोजपुरमा १ ओटा,खोटाङमा ३२ ओटा,इलाममा १३ ओटा,सोलुखुम्बुमा १ सय ४६ ओटा र पाँचथरमा ८ ओटा वितरण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा ४१ जना पुरुष र ७१ जना महिला गरी १ सय १२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । होम क्वारेन्टाइनमा १ हजार ८ सय ३३ जना पुरुष र ४ सय ५८ जना महिला गरी २ हजार २ सय ९१ जनालाई राखिएको छ । प्रदेश १ मा झापामा ३ सय ७६ जना,मोरङमा ६ सय ३५ जना,सुनसरीमा २ सय ३ जना,धनकुटामा ९२ जना,तेहृथुममा १ सय २० जना,संखुवासभामा १ सय ६ जना,भोजपुरमा २ सय ६८ जना,खोटाङमा १ सय ९४ जना,इलाममा २ सय ७७ जना,ओखलढुङ्गामा १ सय ८० जना,सोलुखुम्बुमा ४ सय ४१ जना र पाँचथरमा २ सय ३ जना क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । प्रदेश १ मा ३ सय ८५ वटा आइसोलेसन वेडको निर्माण गरिएको छ । झापामा २७ ओटा,मोरङमा १ सय ६ ओटा,सुनसरीमा १ सय ४ ओटा,तेहृथुममा १४ ओटा,संखुवासभामा १६ ओटा,भोजपुरमा ६ ओटा,खोटाङमा ५ ओटा,इलाममा २ ओटा,ओखलढुङ्गामा ११ ओटा,सोलखुम्बुमा ११ ओटा,उदयपुरमा ४२ ओटा,पाँचथरमा १० ओटा र ताप्लेजुङमा ११ ओटा आइसोलेसन वेड तयार गरिएको छ।

मोरङ जिल्ला प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार चैत १९ गते सम्म मोरङमा ९० जना पुरुष र २ जना महिला गरी ९२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । त्यसैगरी ७ सय २४ जना पुरुष र १ सय ७७ जना महिला गरी ९ सय १ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । मोरङमा ६३ ओटा फिवर क्लिीनिक मार्फत् चैत १९ गतेसम्म १ सय ५३ जना महिला र २ सय ५ जना पुरुष गरी  ३ सय ५८ जनाको ज्वरो मापन गरिएको छ । मोरङमा ९ जनाको स्बाब परीक्षण गरिएकोमा ७ जनाको रिपोर्ट नगेटिभ र २ जनाको रिपोर्ट आउन बाँकी छ ।

सकारात्मक प्रयास– नेपाल सरकारले चैत ११ गते लक डाउनको घोषणा गरेपछि विराटनगर बसपार्कमा रोकिएका सार्वजनिक यातायातका चालक,सहचालक,रिक्सा मजदूर लगायत २ सय जनालाई विराटनगर महानगरपालिकाले चैत १९ गते खाना खुवाएको छ । त्यसैगरी बेलवारी नगरपालिकाले चैत १९ गते वेलवारी नगरपालिका–१ मा रहेका २५ मुसहर परिवारलाई खाद्यान वितरण गरेको छ । दैनिक मजदूरी गरेर जीवीकोपार्जन गर्दै आएका २५ परिवारलाई २० केजी चामल,५ केजी दाल,१ केजी नुन,१ लिटर तेल र एक ओटा नुहाउने र एक ओटा धुलाईको साबुन वितरण गरेको छ ।

झापा जिल्ला प्रतिनिधि नरेश खातीका अनुसार चैत १९ गतेसम्म झापामा ६२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारतलगायतका विदेशबाट फर्किएका ४ सय ६८ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । झापामा तीन जनालाई आइसोलेसनमा राखिएको छ । हालसम्मको अवधिमा झापामा ५ जनाको स्वाब परीक्षण गरिएको छ । जसमा तीन जनाको रिपोर्ट नेगेटिभ र २ जनाको रिपोर्ट आउन बाँकी छ ।

सकारात्मक प्रयास बाहृदशी गाँउपालिका–७ का लोकनाथ चम्लागाईले चैत १९ गते चार सय परिवारलाई पुग्ने गरी ३५ क्विन्टल चामल र १० बोरा नुन सहयोग गर्नुभएको छ । विपद्को समयमा गाँउपालिकाभित्र रहेका विपन्नहरू सहयोग गरेको उहाँको भनाइ छ । त्यसैगरी मेचीनगर नगरपालिका–६मा स्थानीय पत्रकार,अधिकारकर्मी,राजनीतिक दलका प्रतिनिधि,समाजसेवी लगायतको सक्रियतामा चैत १९ गते फुड बैङ्क स्थापना गरिएको छ । फुड बैङ्कमा जम्मा भएको खाद्यान्न दैनिक रूपमा विपन्न,मजदूरी गरेर जीवीकोपार्जन गर्नेहरूलाई वितरण गरिने भएको छ ।

सङ्खुवासभा जिल्ला प्रतिनिधि भविन कार्कीका अनुसार चैत १९ गतेसम्मको अवधिमा सङ्खुवासभामा ७३ जना पुरुष र ७ जना महिला गरी ८० जनालाई क्वारेन्टाइनमा राखिएको छ । एक जनाको स्वाब परीक्षण भएकोमा नेगेटिभ रिपोर्ट आएको छ ।

सकारात्मक प्रयास चैत १९ गते मकालु हिमाल ट्रेकिङमा आएका २ जना अष्ट्रेयाली,२ जना क्यानडेली र १ जना फ्रान्सेली नागरिकलाई कैलास एयरले सभापोखरी गाँउपालिका–२बाट उद्धार गरी काठमाण्डौँ पुर्याएको छ । त्यसैगरी कोरोना विरूद्धको अभियानमा सहयोग गर्दै अरुण तेस्रो जलविद्युत आयोजनाले चैत १९ गते जिल्ला अस्पताल खाँदबारीलाई १ करोड ५ लाख मूल्य बराबरको भेण्टीलेटरसहितको तीन वटा आईसियु वेड उपलब्ध गराएको छ । १ लाख मूल्य बराबरको पीपीइ आयोजनाले उपलब्ध गराएको जिल्ला अस्पतालले जनाएको छ ।

इलाम जिल्ला प्रतिनिधि कोकिला ढकालका अनुसार चैत १९ गतेसम्म इलाममा ७३ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारतलगायत अन्य मुलुकबाट आएका ३ सय २२ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ ।

सकारात्मक प्रयास –फाक्फोकथुम गाँउपालिका–७ का वडाध्यक्ष लोकबहादुर थापाले व्यक्तिगत रुपमा चैत १९ गते वडा–७ का १३ विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्नुभएको छ । एक सातालाई पुग्ने गरी चामल,दाल,नुन र तेल सहयोग गरेको थापाले बताउनुभएको छ । त्यसैगरी चैत १९ गते सूर्योदय नगरपालिकाले मानेभञ्याङ्ग नाकाबाट तेहृथुम जिल्ला फेदाप गाँउपालिका–२ का ९ जनालाई उद्धार गरी जिल्ला पठाएको छ ।

नेपाल प्रहरीको सहयोगमा नगरपालिकाले भारतको दार्जिलिङ्गमा काम गर्दै आएका फेदाप गाँउपालिका–२ का ३० वर्षीय दिलबहादुर भुजेल,२२ वर्षीय गंगा भुजेल,४१ वर्षीय राजकुमार भुजेल,१८ वर्षीय टेकेन्द्र भुजेल,१८ वर्षीय सुमन भुजेल,२२ वर्षीय धनबहादुर भुजेल,२० वर्षीय संगम भुजेल,३३ वर्षीय सलबहादुर भुजेल र ३४ वर्षीय गञ्ज भुजेललाई सीमा नाकाबाट उद्दार गरी स्वास्थ्य परीक्षण पश्चात नगरपालिकाले गाडी रिजर्भ गरी घर सम्म पुर्याईदिएको छ ।

त्यसैगरी सूर्योदय नगरपालिकाले ३ मिटरको दूरीमा रहेर काम गर्ने,प्रत्येक घण्टामा साबुन पानीले हात धुने व्यवस्था गर्दै चैत २० गतेदेखि सूर्योदय नगरपालिका भित्रका चिया बगान खोल्ने निर्णय गरेको छ । दैनिक मजदूरी गरेर जीवीकोपार्जन गर्नेहरूलाई मध्यनजर गरी बगान खोल्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

उदयपुर जिल्ला प्रतिनिधि भरत खड्काका अनुसार चैत १९ गतेसम्म उदयपुरमा ४ जना महिला र ३७ जना पुरुष गरी ४१ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।  एक जनाको स्वाब परीक्षण भएको र रिपोर्ट आउन बाँकी छ ।

तेहृथुम जिल्ला प्रतिनिधि भगिश्वर लिम्बूका अनुसार चैत १९ गतेसम्म जिल्लामा ४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । २९ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । २ जनालाई आइसोलेसन वेडमा राखिएको छ । २ जनाको स्वाब परीक्षण गरिए पनि रिपोर्ट आउन बाँकी छ ।

सकारात्मक प्रयास– म्याङलुङ नगरपालिकाले चैत १९ गते वडा न.२,४ र ५ का विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । वडा न. ४ का ५३,२ का ७४ र ५ का ३४ परिवारलाई १० केजी चामल,१ केजी दाल,आधा लिटर तेल,१ केजी नुन वितरण गरेको छ ।

ओखलढुङ्गा जिल्ला प्रतिनिधि शिवप्रसाद ढुङ्गानाका अनुसार चैत १९ गतेसम्म जिल्लामा ११ जनालाई क्वारेन्टाइनमा राखिएको छ । १ सय २० जना विदेशबाट फर्किएकालाई होम क्वारेन्टाइनमा राखिएको छ । २ जनालाई आइसोलेसन वेडमा राखिएको छ । २ जनाको स्वाब परीक्षण गर्नका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाईएको छ ।

ताप्लेजुङ जिल्ला प्रतिनिधि देवराज गुरुङका अनुसार चैत १९ गतेसम्म जिल्लामा ३ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने कोही कसैलाई आइसोलेसनमा राखिएको छैन ।

पाँचथर जिल्ला प्रतिनिधि मङ्गल बेघाका अनुसार चैत १९ गते सम्म जिल्लामा ५६ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।३ जनाको स्वाब परीक्षण गरिएकोमा रिपोर्ट आउन बाँकी छ ।

सकारात्मक प्रयास –हिलिहाङ गाँउपालिकाले चैत १९ गते वडा न.३ का १२ परिवारका ५५ जनालाई पुग्ने गरी १५ केजी चामल,१ लिटर तेल र २ केजी नुन सहयोग गरेको छ । त्यसैगरी फिदिम नगरपालिकाले चैत १९ गते फिदिम बजारमा सागसब्जी वितरण गरेको छ ।

सोलुखुम्बु जिल्ला प्रतिनिधि भोजराज कार्कीका अनुसार चैत १९ गतेसम्म जिल्लामा २ जना लाई क्वारेन्टाइनमा राखिएको छ । १४ जना विदेशबाट आएकालाई होम क्वारेन्टाइनमा राखिएको छ । २ जनाको स्वाब परीक्षण भएकोमा दुवै जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

सुनसरी जिल्ला प्रतिनिधि जयकृष्ण यादवका अनुसार चैत १९ गतेसम्म जिल्लामा २ सय ४१ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारतलगायत अन्य मुलुकबाट आएका अनुमानित ७ सय जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । १९ जनालाई आइसोलेसन वेडमा राखिएको छ । १ सय १३ जनाको स्वाब परीक्षण भएकोमा ५१ ओटा रिपोर्ट नेगेटिभ आएको छ । बाँकी रिपोर्ट आउन बाँकी छ ।

सकारात्मक प्रयास–इटहरी उपमहानगरपालिकाले चैत १९ गते वडा न. १७ र १९ का ५४ परिवारका ६ जना सदस्यलाई २० केजी चामल,२ केजी दाल,१ लिटर तेल र १ केजी नुन वितरण गरेको छ ।

भोजपुर जिल्ला प्रतिनिधि गणेश विष्टका अनुसार चैत १९ गतेसम्म जिल्लामा ३ जनालाई क्वारेन्टाइनमा राखिएको छ । अरु समस्या जिल्लामा देखिएको छैन ।

धनकुटा जिल्ला प्रतिनिधि ईश्वर थापाका अनुसार चैत १९ गतेसम्म जिल्लामा ३८ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । १ जनालाई आइसोलेसनमा राखिएको छ । १ जनाको स्वाब परीक्षण भएकोमा नेगेटिभ रिपोर्ट आएको छ ।

सकारात्मक प्रयास–तमोर औद्योगिक क्षेत्रमा कार्यरत ४५ जना मजदूरलाई घर फर्किन दिनका लागि जिल्ला प्रशासन कार्यालयले चैत १९ गते कागजात तयार गरी चैत २० गते मजदूरलाई घर पठाउने तयारी गरेको छ । त्यसैगरी धनकुटा नगरपालिका–९ ले चैत १९ गते ९२ घरधुरीलाई २५ केजी चामल,१ केजी नुन,१ केजी दाल र एक ओटा नुहाउने साबुन वितरण गरेको छ ।

 

सुझाव – प्रदेश १ मा सङ्घीय सरकार,प्रदेश सरकार र स्थानीय सरकारले कोरोना विरूद्धको अभियान सञ्चालन प्रभावकारी ढङ्गमा सञ्चालन गरेपनि लक डाउनको समयमा अधिकांश निजी अस्पतालले बिरामीलाई भर्ना नलिँदा स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेको छ । प्रदेश १ का केही जिल्लामा रिजार्ज,ग्यास लगायतका सामग्री अभाव हुँदा दैनिक जीवन कष्टकर हुँदै गएको छ । लक डाउनका समयमा सङ्घीय सरकार,प्रदेश सरकार र स्थानीय सरकारले समस्यामा परेकाहरूलाई उद्दार गरी दैनिक जीवनयापन सञ्चालन हुने गरी व्यवस्था गर्न आवश्यक देखिन्छ ।


प्रदेश १,कार्यालय विराटनगर