कोरोना भाइरस सम्बन्धमा प्रदेश ५ को अवस्था विश्लेषण

  ०७६ चैत २३ गते

कोरोना भाइरस विश्वमा महामारीको रुपमा फैलिएको छ । नेपाललाई महामारीको जोखिमबाट बचाउन  सबैको सक्रियता आवश्यक छ । यस घडीमा सरकारले गरेका निर्णयहरूको कार्यान्वयन र पालना सबैको कर्तव्य हुन जान्छ । सङ्घीय, प्रादेशिक र स्थानीय तहले आवश्यक समन्वय सहकार्य गर्दै सम्भावित जोखिम न्यूनिकरणकालागि  लकडाउन पालना गर्न नागरिकलाई आग्रह गरेको छ ।

यसैगरी अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको समन्वय र सहकार्यमा नेपालगञ्ज उपमनपाद्वारा निर्माण गरिएको कोभिड–१९ राहत कोषमा दैनिक उपभोग्य खाद्यान्न उपलब्ध गराइएको छ ।

इन्सेकको समन्वयमा वेष्टन बिजनेश ग्रुप, दैलेखी समाज बाँके गुरूद्वारा लगायतका व्यक्ति तथा सङ्गठन लगायतले नेपाल भारत जमुनाहा  दशगजामा स्थापित क्वारेन्टाइनकालागि खाद्यान्न उपलब्ध गराइएको छ ।

रूपन्देही जिल्ला प्रतिनिधि रिमा बिसीका अनुसार प्रदेश सरकारले मोवाइल एप सुरू गरेको छ । एपको माध्यमबाट आफ्नो तथा अरूको बारेमा विवरण पठाउन सकिने, स्थानसहितको स्वास्थ्य विवरण सङ्कलन हुने भएकोले स्वास्थ संस्थाहरूलाई सम्बन्धित व्यक्ति बस्ने स्थानसम्म पुग्न मद्धत पुग्नेछ, कोरोना भाइरससँग  मिल्ने लक्षण देखिएका व्यक्तिहरूका विवरणको विवरण पठाई उपचार तथा व्यवस्थापनमा मद्दत गर्न  सकिने छ , भर्खरै विदेशबाट नेपाल आउनु भएका व्यक्तिहरू क्वारेनटाइनमा बसे नबसेको विवरण एप मार्फत पठाउन सकिने, कोभिड–१९ सम्बन्धमा राष्ट्रिय तथा अन्तराष्ट्रिय तथ्याङ्क एवं समाचारहरू समेत प्राप्त गर्न सकिनेछ । यसबाट प्रदेशको स्वास्थ्यको विश्लेषणात्मक योजनामा मद्धत मिल्ने छ ।  प्रदेश ५ का सम्पुर्ण बासिन्दाहरूमा यस मार्फत आफ्नो, परिवारको र छरछिमेकको कोरोना भाइरससँग सम्बन्धित विवरण पठाउन प्रदेश सरकारले आग्रह गरेको छ ।

गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालका अनुसार कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार लगायतका कामहरु प्रभावकारी रुपले सञ्चालन गर्न सङ्कट व्यावस्थापन केन्द्र स्थापना गरिएको छ । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको संयोजकत्वमा स्थापना गरिएको केन्द्रमा जिल्ला समन्वय अधिकारी, जिल्ला सुरक्षा समितिका पदाधिकारी रसरकारी अस्पताल प्रमुख लगायत रहेका छन् । केन्द्रको बैठकले स्वास्थ्य कार्यालयको समन्वयमा जिल्लामा रहेका एम्बुलेन्स चालकहरुलाई आवश्यक तालिम दिएर तयारी अवस्थामा राख्ने, सबै स्थानीय तहहरूलाई सङ्कट व्यावस्थापन केन्द्र गठन गर्न अनुरोध गर्ने र स्थानीय स्तरमा कोरोना सम्बन्धि गरेका काम र सूचनाहरू दैनिक ३ बजेभित्र जिल्ला स्तरिय सङ्कट व्यावस्थापन केन्द्रमा जानकारी गराउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी लक्ष्मण पाण्डेयले जानकारी दिनु भयो ।

रूकुम पुर्व जिल्ला प्रतिनिधि जयमान बुढा मगरका अनुसार कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि भूमे गाउँपालिकाले एक लाख ३३ हजार रुपैयाँको राहत कोष स्थापना गरेको छ । चैत २२ गते  बसेको गाउँ कार्यपालिका  बैठकले असहायकहरूका लागि राहत वितरण मापडण्द कार्यविधि २०७६ पारित गरेर राहत कोष स्थापना गरेको हो ।कोषको आरम्भमा गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाटको १ लाख रूपियाँ र गाउँ कार्यपालिका सदस्य र कर्मचारीबाट ३३ हजार रूपियाँ गरी १ लाख ३३ हजार रूपियाँ जम्मा भएको छ । उक्त कोषमा अन्य जनप्रतिनिधि, कर्मचारी, तथा सहयोग गर्न चाहनु हुने सहयोगीले समेत कोषमा स्वच्छिक रूपियाँ जम्मा गर्न सक्ने गाउँपालिकाले जनाएको छ ।

अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसाल का अनुसार  जिल्लाको सबै स्थाननिय तहका ६१ वडामा  बिदेशबाट आउने सबैको हेल्थ चेक, लकडाउनमा रहन र राहत बितरणको गर्ने सबै वडामा सूचना  गरिएको प्रमुख जिल्ला अधिकारी बिजय राज पौडेलले जानकारी दिनु भयो । संघीय सरकारको  निर्णय बमोजिम जिल्ला प्रशासन कार्यलयले एक प्रदेशबाट अर्को प्रदेश र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान रोक लगाउन लकडाउन व्यव्स्थित गरेको छ ।

प्यूठान जिल्ला प्रतिनिधि जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार  जिल्लाका स्थानिय तहले मापदण्ड निर्धारण  गरी राहत वितरण कार्यको सुरू गरेका छन् । लक डाउनको समयमा आफ्ना नागरिकहरूलाई दैनिक उपभोग्य सामाग्रीको अभाव हुन नदिनलागि ३ सय घर परिवारलाई चामल, नुन, तेल, दाल र साबुन गरेको छ ।माण्डवी गाँउपालिकाले  बजार क्षेत्रमा किटनासक औषधि छर्केको र कारोना भाइरस रोकथामकोलागि   स्वास्थ्यकर्मीको टोली परिचालन गरी तेस्रो मुलुक र भारतबाट आएका ६ सय ८८ जनालाई आधारभुत स्वाथ्य परीक्षण गरेको स्वाथ्य शाखा प्रमुख ध्रुवकुमार पोख्रेलले बताउनु भयो । झिमरुक गाँउपालिका– ८ ले गाँउमा भित्रने बाहिरिने  क्रम रोक्नकोलागि जनप्रतिनिधिको नेतृत्वमा युवा स्वयमसेवक परिचानल गरिएको छ ।

दाङ जिल्ला प्रतिनिधि जयनारायण पुनका अनुसार कोरोना भाइरसको सङ्क्रमण रोक्न तुलसीपुर उपमनपाले  क्लोरिन छर्किन सुरू गरेको छ । किटनाशक औषधि क्लोरिनलाई पहिलो चरणमा तरकारी मण्डी, मासु पसल तथा बजारका भीडभाड हुने स्थानमा औषधि छर्किएको र अर्को चरणमा बजारभरी छर्कने तयारी भइरहेको उपमहानगरले जनाएको छ । यसैगरी लमही नपा पनि औषधि छर्कने तयारी गरेको छ ।

दाङमा अहिले विपन्न वर्गकालागि  खाद्यान्न लगायत राहत सामग्री वितरण भइरहेको छ । राहत वितरण कार्य एकद्धार प्रणाली नभएको भन्दै जिल्ला विपद व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले राहत वितरणलाई एकद्धार प्रणालीबाट गर्न अपील गर्नुभएको छ ।

दाङमा बेलझुण्डी कोरोना विशेष अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका २० जनाको स्वाव रिपोर्ट नेगेटिभ आएको छ । स्वाव परीक्षण रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको र उनीहरूलाई  होम क्वारेन्टाइनमा रहन भनिएको छ ।

कपिलवस्तु जिल्ला प्रतिनिधि पार्वती आचार्यका अनुसार बिजयनगर गापाका एक जना ३० वर्षीय पुरुषलाई कोरोना भाइरसको लक्षण देखिएपछि  आइसोलेशनमा राखिएको छ । भारतबाट रातीको समयमा लुकेर नेपाल पवेश गर्नेहरूलाई नियन्त्रण गर्नकालागि १ सय जना थप सुरक्षाकर्मी खटाइएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिनु भयो ।

रोल्पा जिल्ला प्रतिनिधि हरिसरा घर्तीका अनुसार  जिल्ला अस्पताल रेउघाको आइसोलेशनमा राखिएका दुईजना र सुनिल स्मृति गापाको होम क्वारेन्टाइन मा राखिएका एकै घरका दुई जनाको स्वाब परीक्षणकोलागि बुटवल पठाइएको  छ । उनीहरू केही दिन अगाडि भारत र काठमाडौंंबाट आएका थिए ।

हाल रोल्पामा ८९ जना क्वारेन्टाइनमा र ९० जना होम क्वारेन्टाइन छन् । साथै रोल्पामा स्थानीय तहले कोरोना रोकथाम वा संक्रमण हुन नदिनकोलागि सुनिल स्मृति गापाले २५ लाख रूपियाँ वृद्धि गरेर ४० लाख रूपियाँको कोष स्थापना गरेको छ । रुन्टिगढी गापाले महामारीको समयमा खटिने स्वास्थ्यकर्मीकोलागि ५ लाख रूपियाँ अतिरिक्त जीवन बिमा र स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई प्रोत्साहन रकम दिने निर्णय गरेको छ ।

पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार लकडाउनको पुर्ण कार्यान्वयन भएको छ । जिल्लामा सुदुर पश्चिम प्रदेशको गौरी फन्टा नाका हुँदै आएका ३८ जना स्थानीय तहको सम्पर्कमा रहेका छन् । उनीहरू मध्ये पूर्वखोला गाउँपालिकाका २१ जना, रामपुर नगरपालिकाका नौ जना, रिब्दीकोट गाउँपालिकाका दुई र रैनादेवी छहरा गाउँपालिकाका ६ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बिश्वनाथ न्यौपानेले बताउनु भयो । उनीहरू सबै क्वारेन्टाइनमा बसेको सम्बन्धित स्थानीय तहले जनाएका छन् । जिल्लाका आठवटा स्थानीय तहले आफ्नो गाउँपालिकाभित्र रहेका गरिब तथा विपन्न परिवार र दैनिक ज्यालादारीबाट गुजारा चलाउँदै आएका परिवारहरूलाई राहत बितरण गरेका छन् ।

20200405press statment province 5


इन्सेक प्रदेश ५ कार्यालय, नेपालगञ्ज