कोरोना भाइरस सम्बन्धमा प्रदेश ५ को  अवस्था

  ०७६ चैत २४ गते

कोरोना भाइरस नियन्त्रणकालागि सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवत जावत बन्द गर्ने निर्णयको स्थानीय तहहरूले कार्यान्वयनमा ल्याएको छ ।  कपिलवस्तु जिल्ला अस्पतालले बिरामीको उपचारमा लापरवाही गरेका कारण बिरामीको मृत्यु भएको पीडित पक्षले आरोप लगाएका छन् । लकडाउनकै क्रममा रुकुम पुर्व जिल्लामा प्रसूति व्यथा लागेकी महिलाको नेपाली सेनाको हेलीकप्टरद्वारा उद्धार गरी कोहलपुर मेडिकल कलेज बाँकेमा पुरयाएको छ ।

रुकुम पुर्व जिल्ला प्रतिनिधि जयमान बुढा मगरका अनुसार कोरोना भाइरसको सन्त्रासमा लकडाउन  भइरहेको बेला प्रसूति व्यथाबाट पीडित महिलालाई चैत २४गते नेपाली सेनाको हेलीकप्टरबाट कोहलपुर शिक्षण अस्पताल पुरयाइएको छ । पुथाउत्तरगङ्गा गाउँपालिका–२ हिमगुइबाङकी ३१ वर्षीया रमिता झाँक्री मगरलाई २४ गते जिल्ला प्रशासन कार्यालय र प्रतिनिधिसभाका सांसद् कमला रोकाको पहलमा नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्वार गरिएको हो ।

यसैगरी जिल्लाको एक स्थानीय तहबाट अर्को स्थानीय तह जान रोक लगाइएको छ । नेपालमा कोरोना सङ्क्रमण संख्या बढ्दै गएपछि स्थानीयले लकडाउनको पूर्णपालना गर्दै गएका छन् । छिमेकी जिल्ला बाग्लुङमा दुई जनामा कोरोना सङ्क्रमण देखिएपछि रुकुमपूर्वले जिल्लाको नाकामा सुरक्षा व्यवस्था कडा बनाइएको प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले जानकारी दिनु भयो । यस अघि लकडाउन भएता पनि मानिसहरू आवत जावत गर्दै आएका थिए ।

रुपन्देही  जिल्ला प्रतिनिधि रिमा बिसीका अनुसार कोरोना भाइरसको जोखिम न्यूनिकरणकालागि बुटवल उपमनपाले नगर क्षेत्रमा क्लोरिन र ब्लीचिङ नामक किटनाशक औषधि  छर्केको छ । उपमनपाले लकडाउनको पालना गर्न नगरबासीहरूलाई सार्वजनिक रुपमा अपिल जारी गर्नुका साथै नगरभित्र डिसइन्फेक्सन बनाउन लागेको उपमनपाले जनाएको छ ।

यसैगरी कोरोना भाइरसको रोकथामकालागि सरकारले लकडाउन लगाएको अवस्थामा नियमित औषधि सेवन गर्ने एचआईभी सङ्क्रमितहरूको घरमै औषधि पुरयाउने व्यवस्था गरेको छ । उक्त रोगका बिरामीहरूले प्रयोग गर्ने एन्टी रेट्रो भाइरल थेरापी (एआरटी) दिइने औषधि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भीम अस्पताल भैरहवाले आफ्ना सेवाग्राहीलाई घरमै पुरयाउने व्यवस्था गरेको हो ।  एचआईभी फोकल पर्सन टिकाराम अधिकारीका अनुसार हाल रुपन्देहीमा हाल १ हजार २ सय ७९ जनाले नियमित एआरटी औषधि सेवन गरिरहेको र लकडाउनको समयमा अस्पताल आएर औषधि लिन नसक्नेका लागि घरमै पठाउने व्यवस्था गरेको बताउनु भयो ।

गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालका अनुसार सुदुरपश्चिम प्रदेश र छिमेकी जिल्ला बाग्लुङ्गमा समेत कोरोना सङ्क्रमित भेटिएपछि जिल्लाका नाकाहरूमा थप कडाई गरिएको छ । गुल्मी–पाल्पा नाका, गुल्मी–अर्घाखाँची नाका, गुल्मी–प्युठान नाका र गुल्मी–बाग्लुङ्ग नाकाहरू जिल्ला प्रशासन र सम्बन्धित स्थानीय तहहरूको समन्वयमा कडाई गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताउनु भयो । अहिले पनि पैदल वा मोटरसाइकलमा केहि व्यक्तिहरू लुकेर आवात जावत गरिरहेको सूचना आइरहेकाले सार्वजनिक सूचना मार्फत सचेत रहन आग्रह गर्दै नाकामा कडाई गरिएको शर्माले बताउनु भयो । सार्वजनिक सूचनामा भारत वा अन्य मुलुकबाट आएर घर वा क्वारेन्टाइनमा नबसेर बाहिर हिडेका व्यक्ति देख्ना साथ प्रहरीलाई खबर गर्न अनुरोध समेत गरिएको छ । नाका रहेका मुसिकोट नगरपालिका, रेसुङ्गा नगरपालिका, धुर्कोट, मदाने, मालिका लगायतका स्थानीय तहहरूले भित्रिन र बाहिरीन कडाई गरेको छ । धुर्कोट गाउँपालिकाले लकडाउनको कार्यान्वयनकालागि वडा स्तरमा स्वंय सेवक समेत परिचालन गरिएको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोख्रेलले बताउनु भयो ।

दाङ जिल्ला प्रतिनिधि जयनारायण पुनका अनुसार कोरोना भाइरसको सङ्क्रमण रोक्न एउटा स्थानीयतहबाट अर्को स्थानीय तह आवत जावतमा कडाइ गरिएको छ । स्थानीय तहका नाकाहरूमा  प्रहरी गस्ती बढाइएको छ भने स्थानीय टोलविकास संस्थाहरूले पनि आवत जावतमा निगरानी थालेका छन ।

भारतको मुम्वईबाट गौरीफन्टा नाकाहुदै नेपाल आएका कैलालीका एक युवामा कोरोना सङ्क्रमण देखिएपछि उनीसँगै आएका दाङका दशमध्ये सात जनालाई कोरोना विशेष अस्पताल बेलझुण्डीमा राखिएको छ । नेपाल प्रवेशका क्रममासँगै आन्दोलन गरेका कैलालीका युवामा र उनका परिवारका सदस्यमा समेत सङ्क्रमण देखिएपछि दाङका दशजनाको खोजी सुरु गरिएको हो । उनीहरुको स्वाव परीक्षणकालागि नमुना सङ्कलनको तयारी भएको छ ।

बर्दिया जिल्ला प्रतिनिधि मानबहादुर चौधरीका अनुसार जिल्लामा तीन जनाको स्वाव परीक्षण गर्न पठाएकोमा तीनै जनाको रिपोट नेगेटिभ आएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनु भयो । ठाकुरबाबा नपा स्थानीय तहले दिर्घ रोगी, वृद्ध लगायत बिरामीहरूले दैनिक रुपमा सेवन गर्ने औषधि जिल्ला र जिल्ला बाहिरबाट खरिद गरेर ल्यादिने ब्यवस्था मिलाएको छ ।  बारबर्दिया नपाले दैनिक मज्दुरी गरी गर्ने ब्यक्ति र परिवारलाई १५ दिन पुग्ने खाद्यन्न वितरण गर्न थालेको छ । स्थानीय तहहरूले एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा आवत जावतमा रोक लगाएको छ । मधुवन नपाले नगरभित्र घरको आगनमा पाँच जना भन्दा बढी जम्मा हुन नपाइने निर्णय गरेको छ । पाँच  जना भन्दा बढी भेला भएको पाइएमा नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्न  प्रहरीलाई निर्देशन दिएको  मधुवन नपाका प्रमुख गणेश बहादुर क्षेत्रीले बताउनु भयो । बर्दियाका सबै स्थानीय तहहरूले भारत लगायत तेस्रो मुलुकबाट आएका  व्यक्तिहरुको खोजी गर्ने कार्यलाई तिब्र बनाएको छ ।  चैत १०,११ र १२ गते कैलाली जिल्लाको गौरिफन्टा नाका र अन्य नाकाबाट  आएका व्यक्तिलाई सम्पर्कमा आउन  आग्रह गरेको छ ।

बाँके जिल्ला प्रतिनिधि स्मृति देवकोटाका अनुसार सर्वोच्च अदालतको फुलकोट बैठकबाट निर्णय भए अनुसार  बाँके स्थित बालसुधार गृहमा रहेका ४१ जनालाई चैत २२ गते रिहा गरेको छ  भने ९९ जना अझै बाल सुधार गृहमा रहेका छन् । भिडभाडमा कोरोना सङ्क्रमण बढ्ने भन्दै बालसुधार गृह र कारागारमा रहेका १ वर्ष कैदसम्म कैद भुक्तान गर्नु पर्ने थुनुवालाई प्रक्रिया पुरयाएर छाड्ने भनी सर्वोच्च अदालतको फुलकोट बैठकबाट निर्णय भएकाले रिहा गरिएको बालगृह प्रमुख बिमला काउचा मगरले बताउनु भयो । रिहा भएका ४१ मध्ये ३९ जना अदालतको आदेशले र २ जनाले कैद अवधी पुरा गरि छुटेको मगरले बताउनु भयो ।

रोल्पा जिल्ला प्रतिनिधि हरिसरा घर्तीका अनुसार जिल्ला अस्पताल रेउघामा राखिएका दुई जनाको स्वाव परीक्षण नेगेटिभ आएको छ डाक्टर धनमाया घर्तीले बताउनु भयो ।  कोरोना भाइरस नियन्त्रणकालागि माडी गाँउपालिकाले ३५ लाख रूपियाँको विपद व्यवस्थापन कोषको स्थापना गरेको छ । यसैगरी जिल्लामा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवत जावत गर्न प्रतिबन्ध लगाएको छ ।

पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार लकडाउनको पालना पूर्ण रुपमा भएको छ । लकडाउन  कार्यान्वयन गराउन  प्रहरी प्रशासनको सक्रियता समेत बढेको छ । यसैबीच कोरोना सङ्क्रमणको आशङ्कामा पाल्पाबाट पठाइएको चार जनाको स्वाव परीक्षण नेगेटिभ आएको छ ।

लकडाउनको समयमा बनभोज  खाइरहेको स्थानमा प्रहरी पुगेपछि बनभोज खाने व्यक्तिहरू भागेका थिए । बनभोज भइरहेको सूचना प्राप्त भएपछि पुगेको प्रहरी टोलीले उक्त स्थानमा फेला परेका समान र एक थान मोटरसाइकल नियन्त्रण लिएको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्यूठान जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार गौमुखी गाउँपालिकाले गाँउपालिका भित्र  उपलब्ध  बस्तु सदुपयोग र उपभोग गर्न आग्रह गरेको छ ।  लक डाउनको अवस्थामा खाद्यान्न अभाव हुन सक्ने जोखिम भएकोले स्थानिय तहमा उत्पादन भएको खाद्यान्नको सही प्रयोग गर्न आग्रह गरेको हो । स्थानीय तहमा उत्पादन भएको कोदो ,मकै, जौ गहुलाई नागरिकले मदिरा उत्पादनको लागि प्रयोग गर्ने हुदा खाद्यान्न  अभाव हुन नदिन मदिरा उत्पादन पूर्ण रुपले बन्द गर्न गाँउपालिकाले अनुरोध गरेको छ ।

माण्डवी गाँउपालिकाले अध्यक्ष श्रीधर रोकाले आफना नागरिकहरुलाई सरकारले लक डाउनको अवधि बढाएपनि आफुहरुसँग आवश्यक पर्ने खाद्यान्न प्रयाप्त मात्रामा भण्डारण रहेकोले गाँउपालिका बासीलाई ढुक्क हुन र लकडाउनको  पूर्ण पालन गर्न अनुरोध गर्नु भएको छ ।

नवलपरासी सुस्ता पश्चिम  जिल्ला प्रतिनिधि नारायण पराजुलीका अनुसार कोरोना भाइरसको प्रकोपको असर जिल्लामा प्रत्यक्ष नदेखिएतापनि भारतसँगको खुला सिमानाका कारण भारतबाट रोजगारी गरेर फर्कनेहरू लुकिछिपि आउने नागरिक क्वारेन्टाइनमा नबस्ने भएका कारण कोरोना सङ्कक्रमणको जोखिम रहेको छ । जिल्लामा हालसम्म१ सय १५ जना क्वारेन्टाइनमा रहेका छन् भने ४९ जना १४ दिनपछि घर फर्केका छन् ।     हालसम्म १ सय ६४ जनाको स्वाव परीक्षण गरिएकोमा सबैको कोरोना नेगेटिभ पाइएको छ । जिल्लाका सबै स्थानीय तहहरूले मजदुर र अति विपन्न वर्गको पहिचान गरी राहत वितरण कार्य सुरू गरेको छ ।

कपिलवस्तु जिल्ला प्रतिनिधि पार्वती अचार्यका अनुसार जिल्लामा ७ सय ८९ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।  बिजयनगर गापाले १ करोड रूपियाँको  विपद व्यवस्थापन कोष स्थापना गरेको छ । दैनिक ज्यालादारी गरेर जिवन निर्वाह गर्ने  ८ सय ७४ जनाको विवरण सङ्कलन गरिएको गापा अध्यक्ष गोपाल वहादुर थापाले बताउनु भयो । कपिलबस्तु नपामा १ करोड रूपियाँको विपदे व्यवस्थापन कोष निर्माण गरेको छ । यसैगरी बुद्धभूमी नपा ७५ लाख, कृष्णनगर नपाले ७२ लाख , शिवराज नपाले ६३ लाख, महाराजगञ्ज नपाले ५५ लाख, शुद्धोधन गापाले १० लाख ,वाणगंगा नपाले १९ लाख, मायादेवि गापाले ४० लाख रूपियाँको कोष खडा गरेर राहत वितरण समेत सुरू गरेको छ । उक्त कोषबाट क्वारेन्टाईनमा बसेकाहरुलाई खान बस्ने लगायतका सुबिधाका र   विपन्न वर्गको खाद्यान्न र ,कोरोना सङ्क्रमित र सङ्मित परिवारलाई उपचार, गाडी लगायतमा खर्च गरिने स्जनाइएको छ ।

यसैगरी यसोधारा गाउँपालिका–७ की ३८ वर्षीया कलामुन निसाको उपचार हुन नसक्दा चैत २३ गते मृत्यु भएको छ । एक्कासी राती ज्वरो आएको र तौलीहवा जिल्ला अस्पताल पुरयाएकोमा अस्पतालले भैरहवा मेडिकल कलेज रिफर गरेको भैरहवा मेडिकल कलेजले घर लग्नभने पछि पुनः जिल्ला अस्पताल तौलीहवा पुरयाएको थियो । अस्पताल पुग्दा बाटोमा मृत्यु भएको चिकित्सक जनाएको मृतकका आफन्तले बताउनु भयो । घटनाका विषयमा प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले आफुलाई जानकारी नभएको बताउनु भयो । मृत्क पक्षका अनुसार अस्पतालको लापरवाहीका कारण उपचार हुन नसक्दा मृत्यु भएको आरोप लगाएका छन् ।

 


इन्सेक प्रदेश ५ कार्यालय, नेपालगञ्ज