कोरोना भाइरस सम्बन्धमा गण्डकी प्रदेशको अवस्था विश्लेषण

  ०७६ चैत २४ गते

गण्डकी प्रदेश सरकारले खोलेको कोरोना भाइरस रोकथाम आपतकालिन कोषमा सोमबारसम्म २५ वटा संस्थाबाट रकम जम्मा भएको मुख्य मन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार कोषमा हालसम्म करिब ९० लाख रुपियाँ जम्मा भएको छ ।

गोरखा जिल्ला प्रतिनिधि हरिराम उप्रेतीका अनुसार गोरखा अस्पतालकोे फिभर क्लिनिकमा एक जनाको उपचार भएको र एक जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ ।

अस्पतालकोे आइसोलेशन वार्डमा एक जना पनि बिरामी नरहेको अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभएको छ । त्यस्तै गोरखाका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई बिदामा नबस्न प्रमुख जिल्ला अधिकारी नेतृत्वको कमाण्ड पोष्टले आग्रह गरेको छ ।

स्वास्थ्यकर्मी, प्रशासनीय र प्राविधिक तथा अन्य कर्मचारीलाई सुत्केरी र किरीया बाहेकका बिदा नलिन भनिएको प्रशासनका अधिकृत हर्क रोकाले बताउनुभयो । कसैको बिदा स्वीकृत भएको छ भने पनि रद्घ हुने उहाँको भनाइ छ । जिल्लामा डब्लुएचओबाट मान्यताप्राप्त २३ थान पिपिइ र पाचँ सय १८ होम मेड पिपिइ रहेको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

शहिद लखन गाउँपालिकामा ३० बेडको मास क्वारेन्टाइन स्थल तयार भएको छ । वडा नम्बर ७ को शहिद स्मृति मावि, वडा नम्वर  ६ को हिमालय मावि घैरुङ, वडा नम्बर २ को मनकामना माविमा ९ बेड तथा बालज्योति प्राविमा तीन बेडको क्वारेन्टाइन स्थल तयार भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आले मगरले क्वारेन्टाइनमा बस्नेलाई खानपान, स्वास्थ्य हेरचाह तथा सुरक्षा व्यवस्थापन पनि गरेको बताउनुभयो ।

विदेशबाट फागुनमा घर फर्किएका धार्चे गाउँपालिकाका २४ जनामा कुनै स्वास्थ्य समस्या नदेखिएको गाउँपालिकाले जनाएको छ । धार्चे गाउँपालिकाले हरेक टोलमा २० देखि ३० घरको एउटा समुह बनाइ उक्त समूह भित्रको पाचँ जनाको एक्सन टोलि बनाउने तयारी थालिएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताउनुभयो ।

कास्की जिल्ला प्रतिनिधि सुशन घिमिरेका अनुसार  कास्कीमा विदेशबाट आएका  ३ सय ८९ जना मध्य ४७ जनाको नमुना संकलन गरिएको छ । जसमा ४२ जनाको नेगेटिभ र ५ जनाको रिर्पोट आउन बाँकी रहेको छ । कास्कीमा १३ वटा क्वारेन्टाइनमा,  ३ सय ९ वटा बेड रहेका छन् ।

जसमा १६ जना क्वारेन्टाइनमा बसिरहेका छन् । भने २ सय १६ जना होम क्वारेन्टाइनमा रहेका छन् । १ सय ११ आइसोलेशन बेड रहेकोमा सबै खाली रहेका छन् ।

पोखरा महानगरपालिकाका विभिन्न वडाहरुमा राहत वितरणको प्रकृया अगाडी बढको छ । महानगरका वडा २६, २७, २८, २९, ३०, ३१, ३२, ३३, ११, १२, १३ र २० मा चैत्र २४ गते सर्वदलिय बैठक बसि भोली देखि राहत वितरण गर्ने तयारी भैरहेको प्रवक्ता धन बहादुर नेपालीलले जानकारी दिनुभयो ।

ति वडाहरुमा १ देखि ३ जना परिवार सँख्या र ४ वा सोभन्दा माथि भएकालाई दुई किसिमको प्याकेजको व्यवस्था गरिएको छ ।

यस्तै वडा नं ५,४ मा पनि राहत वितरण कार्य सुरु भएको छ । राहत वितरणको वडा अध्यक्षको संयोजकत्वमा रहेको सर्वदलिय सर्वपक्षिय अनुगमन टोलीले अनुगमन गर्नेछ । पोखरा महानगरपालिकाले विज्ञप्ती जारी गर्दै संघ, संस्था तथा व्यक्तिलाई आफूखुसी राहत वितरण नगर्न अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालका अनुसार जिन्सी नगद वा खाद्यन्न वितरणमा व्यक्ति फर्म , कम्पनि वा संस्थाले वितरणमा रोक लगाउन भनिएको छ ।

तर कास्कीमा एकद्धार प्रणालि अझै लागु हुन सकिरहेको छैन । संस्था वा युवाहरुले आफ्नै ढंगबाट राहत वितरण गरिरहेका छन् ।

वितरण गर्न चाहेमा स्थानीय तहको सिफारिस र जिल्ला प्रशासनको स्वीकृतलाई अनिवार्य गरिएको ढकालले जानकारी दिनुभएको छ ।

पर्वत जिल्ला प्रतिनिधि सन्तोष थापाका अनुसार पर्वतमा हालसम्म २३ जनाको स्वाब परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ । जसमध्ये १४ जनाको नेगेटिभ रिपोर्ट आएको छ भने ९ जनाको रिपोर्ट आउने क्रममा रहेको छ ।

त्यस्तै आइतबार स्वाब संकलन गरि पठाइएका आठ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल पर्वतमा निमित्त मेडिकल सुिप्रटेण्डेन्ट डाक्टर शिशिर देवकोटाले बताउनुभयो ।

विदेशबाट फर्कि होम क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको स्वाब परीक्षणका लागि पठाइएको र रिपोर्ट नेगेटिभ आएको उहाँले बताउनुभयो । पर्वतका सोमबार पनि जलजला गाउँपालिका क्षेत्रमा रहेका थप ९ जनाको स्वाब परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले आह्वान गरेको लकडाउनको समयमा बिनाकाम बाहिर निस्किने ११ जनालाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको छ ।

सोमबार पर्वत प्रहरीले सदरमुकाम कुश्माबजार लगायत अग्ला झोलुंगेपुलहरुबाट लकडाउन उल्लघंन गर्ने युवाहरुलाई नियन्त्रणमा लिएको हो ।

छिमेकी जिल्ला बागलुङमा दुई जनामा कोरोना संक्रमण देखिएसँगै थप सजगता अप्नाइएको पर्वतमा प्रहरीले समेत कारवाही गर्न सुरु गरेको हो ।

सर्वसाधारणकै सुरक्षार्थ लकडाउन गरिएपनि पर्वतमा सर्वसाधारणबाटै पटकपटक उल्लंघन हुने गरेपछि एक्सनमा जान बाध्य भएको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्सपेक्टर विकास थापाले बताउनुभयो ।

यता जिल्ला प्रशासन कार्यालय पर्वतले समेत पटक पटक सर्वसाधरणका लागि सूचित गरिरहेको छ ।

बागलङु जिल्ला प्रतिनिधि सृजना पन्तका अनुसार विभिन्न नगरपालिका तथा गाँउपालिकामा विभिन्न वडाहरुमा रहेका मजदुर, सिमान्तकृत वर्ग आदिलाई नियमित रुपमा राहत वितरण भैरहेको छ ।

विभिन्न नगरपालिका तथा गाँउपालिकामा मार्फत विभिन्न देशबाट आएका करीब ८२३ जनालाई नियमित फलोअप गरी होम क्वारेन्टाइनमा बसिरहन लगाएको र उनीहरुको अवस्था सामान्य रहेको छ ।

जैमिनी नगरपालिकाको आफ्नो नगरपालिका भरी ३६ वटा टोली स्वयंसेवक खटाइ दिन र रात समेत कुनै पनि मानिसलाई जैमिनी नगरपालिकामा आवत जावत गर्न निषेध गरेको र कुनै मानिस आएको थाहा पाएमा क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको छ । बडीगाड गाउँपालिकामा रहेको क्वारेन्टाइनमा भारत हुँदै रुपन्देहीबाट आएका ९ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

तमानखोलामा हेल्प डेस्क स्थापना गरी कोभिडको बारे जानकारी दिने र आवतजावत गर्ने मान्छेहरुको विवरण संकलन गर्ने कार्य सरु गरिएको छ ।

तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार तनहुँमा चैत २४ गते सम्म १ हजार २ सय ३० जना बाहिरी जिल्लाका कामदारहरुलाई आ–आफ्नो घरसम्म पुग्ने व्यवस्था गरिएको जिल्ला स्तरीय समन्वय समितिले जनाएको छ ।

त्यसैगरि जिल्लामा अलपत्र परेका फ्रान्सका एक जना र नेदरल्याण्डका एक जना नागरिकलाई चैत २४ गते काठमाडौं स्थित सम्बन्धित राजदुतावासमा पठाइएको कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला स्तरीय समन्वय समितिका सदस्य सचिव एवं स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबावु अधिकारीले जानकारी दिनुभयो ।

त्यसैगरि पछिल्लो समय विदेशबाट आएका सम्पूर्ण ७ सय १२ जना जिल्ला बासि तथा अन्य जिल्लामा जाने नागरिकहरुको विवरण राखिएको छ ।

गण्डकी प्रवेशकै प्रवेशद्वारको रुपमा रहेको तनहुँको मुग्लिङमा जिल्ला भित्रिने सम्पुर्णको स्वास्थ्य जाँच गरि सम्बन्धित जिल्ला तथा पालिकामा पठाइने व्यवस्था मिलाइएको छ ।

त्यस्तै शंकास्पद बिरामीको स्वाब नमुना संकलन गरी परीक्षणको लागि पोखरामा पठाउने टिम तयारी अवस्थामा राखिएको छ । यद्यपी जिल्लामा अहिलेसम्म कसैको पनि नमुना संकलको लागि पठाउनु नपरेको अधिकारीले बताउनुभयो ।

म्याग्दी जिल्ला प्रतिनिधि अमृत बास्कुनेका अनुसार कोरोना भाइरस रोकथामका लागि जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुले सोमबार बागलुङसँग सिमा जोडिएका क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ ।

सोमबार सम्म बेनी नगरपालिकामा ३ सय ३३, मंगला गाउँपालिकामा १ सय ५५, धवलागिरी गाउँपालिकामा एक सय, रघुगंगा गाउँपालिकामा १ सय ९८ गरी कुल ७ सय ८६ परिवारले राहत प्राप्त गरेका छन् ।

म्याग्दीका स्थानीय तह र बेनी अस्पतालसँग गरि कुल १ सय १८ थान पिपिइ रहेको छ ।

जिल्लामा आज सम्म १५ जना क्वारेनटाइनमा रहेका छन् भने १ सय ७३ बेडको क्वारेन्टाइन र ६ बेडको आइसोलेशन रहेको छ । आइसोलेशनमा कुनै बिरामी छैनन् भने सोमबार कसैको पनि स्याम्पल संकलन गरिएको छैन ।

लमजुङ जिल्ला प्रतिनिधि दलबहादुर मजाकोटीका अनुसार हिजो संकलन गरिएको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । लमजुङ जिल्लामा नेपाल सरकारले निर्देशन गरे अनुसारको लकडाउनको पुर्ण पालना भएको छ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काका अनुसार लमजुङबाट बाहिर जिल्ला र लमजुङमा आवातजावत गर्न पूर्णतया रोक लगाइएको बताउनुभयो ।

एक पालिकाबाट अर्को पालिकामा अत्यावश्यक काम बाहेक अन्यलाई आवातजावतमा पनि कडाइ गरिएको प्रमुख खडकाको भनाइ छ ।

लकडाउनको समयमा कालो बजारी गर्ने आर्थिक सहयोग गर्ने नाममा अनियमितता गर्नेलाई पनि कडा कारवाही गर्ने खड्काको चेतावनी छ ।

लमजुङमा ८ हजार १ सय ४२ मजदुर ज्यालादारीलाई राहत दिन नामावली संकलन गरिएता पनि ३ हजार ३ सय ८६ जनाले मात्र राहत प्राप्त गरेको सहायक प्रमुख जिल्ला अधिकारीले एवं क्विक रेसपोन्स टास्कका जिल्ला संयोजक अनिल शाहीले बताउनुभयो ।


गण्डकी प्रदेश कार्यालय