कोरोना भाइरस सम्बन्धमा गण्डकी प्रदेशकाे अवस्था विश्लेषण

  ०७६ चैत २२ गते

गण्डकी प्रदेश सरकारको चैत्र २२ गतेको मन्त्रिपरिषद् बैठकले सरकारी निकाय वा निजी वा सामुदायिक क्षेत्रका वा विश्वविद्यालय वा अन्य शैक्षिक क्षेत्रका अस्पताल तथा स्वास्थ्य संस्थाहरुले आफूकहाँ आएका जुनसुकै बिरामीलाई अनिवार्य रुपमा उपचारको व्यवस्था मिलाउने र कुनै पनि बाहानामा तत्काल उपचार नगरी बिरामी फर्काउने जस्ता गैरजिम्मेवार कार्यमा रोक लगाउने व्यवस्था गर्न तथा त्यसरी तत्काल उपचारको व्यवस्था नमिलाएमा त्यस्तो अस्पताल वा संस्थाको प्रमुख तथा जिम्मेवार पदाधिकारीलाई संक्रमण रोग ऐन लगायतका प्रचलित कानून अन्तर्गत आवश्यक कारवाही गर्न स्थानीय प्रशासनलाई निर्देशन निर्णय गरेको छ ।

यस्तै विदेशबाट आई क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा आफूखुसी बस्दै आएका व्यक्तिहरुलाई आवश्यकता र प्राथमिकताका आधारमा अनिवार्य रुपमा स्वाब परिक्षण गर्ने व्यवस्था मिलाउन सामाजिक विकास मन्त्रालय अन्तर्गतका स्वास्थ्य संघसस्था, जिल्ला प्रशासन कार्यालय तथा सबै स्थानीयतहलाई निर्देशन दिएको छ ।

बागलङु जिल्ला प्रतिनिधि सृजना पन्तका अनुसार ०७६ चैत २० गते कोरोना सङ्क्रमण पुष्टि भएकी बृद्ध महिलाको परिवारका चार जना सदस्यको स्वाब परीक्षणंको लागि पठाइएको थियो र सबै जनाको रिपोर्ट नेगेटिभ आएको छ । बागलुङ जिल्लाका १० वटै स्थानीय तहले ‘कोरोना भाइरस रोकथाम तथा व्यवस्थापन कोष’ स्थापना गरेका छन् । नगरका स्वास्थ्य संस्थाको लागि आवश्यक स्वास्थ्य सामाग्री, औषधी, नगरका मजदुर, श्रमिकका लागि खाद्यन्न व्यवस्थापन लगाएत कोरोना संक्रमितलाई उद्दार र राहात यसै कोषबाट गरिने छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार आज पाँच जनाको स्वाब परीक्षणको रिर्पोट नेगेटिभ आएको छ । हालसम्म नवलपुरबाट १४ जनाको नमूना सङकलन गरिएर परीक्षणको लागि पठाइएको छ र सबैको रिर्पोट नेगेटिभ आएको छ ।

गोरखा जिल्ला प्रतिनिधि हरिराम उप्रेतीका अनुसार चैत २२ गते गोरखाको बजार क्षेत्रमा लकडाउनको पुर्ण रुपमा पालना भएको पाइएको छ । गोरखा अस्पतालमा आज कुनै पनि बिरामीलाई पठाइएको छैन ।

लकडाउन पूर्व विदेशबाट आएका तीन सय ९६ जना मध्ये जिल्लामा हाल सम्म ११ जना मास क्वारेन्टाइनमा रहेको जिल्ला प्रशासन कार्यालयका अधिकृत हर्क रोकाले बताउनुभएको छ ।

धार्चे गाउँपालिकाको माछाखोलामा रहेको पोटर हाउसको क्वारेन्टाइनमा पाचँ जना, धार्चे गाउँपालिकाकै पार्वती आधारभुत विद्यालयमा दुई जना, शहिद लखन गाउँपालिकामा दुई जना र  वारपाक सुलिकोट गाउँपालिकामा १ जना क्वारेन्टाइनमा रहेका छन् । विदेशबाट आएका अन्य भने सेल्फ क्वारेन्टाइनमा रहेको उहाँले बताउनुभएको छ ।

कास्की जिल्ला प्रतिनिधि सुशन घिमिरेका अनुसार  कास्कीमा शहरी क्षेत्रमा लकडाउनको पालना भएपनि ग्रामिण क्षेत्रमा पालना नभएको पाइयो । कास्कीमा आज ४ जनाको स्वाब परीक्षणका लागी नमुना लिइएको स्वास्थ्य निर्देशनालयका आपतकालीन कार्य सञ्चालन केन्द्रका सम्पर्क व्यक्ति नवराज शर्माले जानकारी दिनुभएको छ । हालसम्म ३१ जनाको नमुना परीक्षणमा २८ जनाको नेगेटिभ आएको छ भने ३ जनाको नतिजा आउन बाँकी रहेको छ ।

आजदेखी शंकास्पद संक्रमित तथा कोरोना पुष्टी भएका व्यक्तिहरुको ओसारपसारका लागी अनिवार्य पिपिइ व्यवस्थापन गरि नेपाल रेडक्रस सोसाइटी कास्की ,आर्मी अस्पताल फुलबारी ,हरियोखर्क अस्पताल नयाँगाउँ, बिजी अस्पताल माटेपानी, सिद्धार्थ क्लब वगाले टोल र फिस्टेल अस्पताल गैह्रापाटनका एम्बुलेन्स संचालनमा ल्याइएको छ ।

पोखरा महानगरपालिकाका वडागत रुपमा राहतका नाम संकलनलाई अन्तिम चरणमा पुगेको प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिनुभएको छ । उहाँका अनुसार नामावली संकलन गरेका वडाहरुले वडातहबाट राहत वितरण गर्न सक्नेछन् ।

पर्वत जिल्ला प्रतिनिधि सन्तोष थापाका अनुसार आज जिल्ला अस्पताल पर्वतमा ७ जनाले मात्रै फिबर जाँच गराएका छन् । जसमध्ये कुश्मा नपा—८ चुवाका दुई व्यक्तिलाई आइसोलेसनमा राखेर स्वाब परीक्षणका लागि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

उहाँले पर्वतका बजार क्षेत्रमा लकडाउनको पालना भएपनि ग्रामिण क्षेत्रमा प्रभावकारी रूपमा कार्यान्वयन नभएको बताउनुभएको छ ।

शहर केन्द्रित बनेर गाउँ छाडेका व्यक्तिहरूपनि गाउँमा फर्केको र यसरी गाउँमा आएका व्यक्तिहरूले कोरोना सङ्क्रमण प्रति सम्वेदनशिलता अप्नाएका छैनन् ।

तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार सरकारले गरेको लकडाउन यता तनहुँमा विदेशबाट आउनेको संख्या ७ सय ४ पुगेको छ । ति मध्ये अहिले १ जना मात्र देवघाट गाउँपालिकामा क्वारेन्टाइनमा बसेका छन् ।

यस अघि व्यास नपा—५ को क्वारेन्टाइनमा २ जना बसेपनि उनीहरु नेपाल आएको १४ दिन पुगिसकेको भन्दै चैत २२ गते घर फर्किएका छन् । तनहुँमा अहिलेसम्म कसैको पनि नमुना परीक्षण गरिएको छैन । स्थानीय प्रशासनले लकडाउनको पालना गर्न सर्वसाधरणलाई अनुरोध गरेको छ ।

कोरोनाबाट सिर्जित समस्याबाट पीडित भएका नागरिकलाई राहत दिन जिल्लाका सबै स्थानीय तहले विपद व्यवस्थापन कोष स्थापना गरेका छन् ।

यसैविच शुक्लागण्डकी नपा—१२ ले गाउँमा उत्पादित कृषि उपजहरु खरिद गरेर गाउँका जनतालाई निःशुल्क वितरण गर्न थालेको छ ।

लकडाउनका कारण सवारी साधन नचलेको र व्यवसाय बन्द भएपछि गाउँमा उत्पादित कृषि उपजहरु खेर जान थालेपछि वडा कार्यालयले नै खरिद गरेर हरेक साँझ संकलन गरि वडाका सबै टोलटोलमा पुर्याइ टोलवासीलाई वितरण गरिएको वडा अध्यक्ष मनराज गुरुङले बताउनुभएको छ ।

कृषि उपजको साथमा हरेक घरलाई हात धुनकोलागि डिटोल सावुन पनि वितरण गरिएको छ । ११ टोल रहेको सो वडामा अहिलेसम्म ६ वटा टोलमा कृषि उपजहरु नि :शुल्क वितरण गरिसकिएको र अब पाँच ओटा टोलमा वितरण गर्न बाँकी रहेको छ ।

कृषि उपजहरु टोलसम्म पुर्याउने ढुवानीको व्यवस्था पनि वडा कार्यालयले नै गर्दै आएको छ । लकडाउनको कारण खेर जाने अवस्थामा पुगेको कृषि उपजहरु वडाले नै खरिद गरेर नि :शुल्क वितरणको व्यवस्था मिलाएपछि कृषक तथा नागरिकहरु निकै खुसी भएको नगरपालिकाका कार्यपालिका सदस्य भरत लामगादेले बताउनुभयो ।

म्याग्दी जिल्ला प्रतिनिधि अमृत बास्कुनेका अनुसार आज कुनैपनि विरामीलाई रिफर गरिएको छैन । बेनी नगरपालिकामा क्वारेन्टाइनमा बसेका  १४ जना घर फर्किएका छन् ।

धौलागिरी गाउँपालिकामा विदेशबाट आएर क्वारेन्टाइनमा बसेका  सात जना घर फर्किए भने अरु जिल्लाबाट आएका १३ जना क्वारेन्टाइनमा बसेका छन् । रघुगंगा गाउँपालिकामा नौ जना र मंगला गाउँपालिकामा तीन जना क्वारेन्टाइनमा बसेका छन् ।

अहिले सम्म ३९२ परिवार राहत वितरणको लागि सुचिकृत भएका छन् । यसमा बेनी नगरपालिकामा १९७ परिवार, धौलागिरी गाउँपालिकामा ६० र रघुगंगा गाउँपालिकामा  १३५ परिवार रहेका छन् । अहिले पनि जिल्लाभरमा तथ्याङ्क सङकलन जारी रहेको छ ।

लमजुङ जिल्ला प्रतिनिधि दलबहादुर मजाकोटीका अनुसार लमजुङ जिल्लाबाट ०७६ चैत २० गते स्वाब परीक्षणको लागि पठाइएका ४ जनाको रिपोर्ट नेगेटिभ आएको बताउनुभएको छ ।

पालिकाहरु राहत वितरणको काममा लागेका छन । दोर्दी गाउँपालिकाले दुई सय ७ जना बाहिर जिल्लाका मजदुर र सात सय ९२ ज्यालादारीमा काम गर्ने दलित विपन्नहरुलाई खाद्यान्नका लागि नामावली तयार गरिएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताउनुभएको छ ।

गुरुङका अनुसार कोटेशनमा खाद्यान्न आपुर्ति गरिने र दुई स्थानमा राहत भन्डारण गरेर भोलिबाट राहत वितरण कार्य हुने बताउनुभयो । राइनास नगरपालिकामा एक सय ७ मजदुर एक हजार २ सय ३३ जना विपन्न परिवारलाई राहत दिने नगरप्रमुख सिंहबहादुर थापाले बताउनुभएको छ ।

सुन्दरबजार नगरपालिकामा ६ सय जना मजदुर र १ हजार १ सय जना विपन्न घरपरिवारले राहत प्राप्त गर्ने गरि नामावली तयार भएको नगर प्रमुख जनकराज मिश्रले बताउनुभएको छ ।

मिश्रका अनुसार अहिले बजारमा खाद्यान्नको अभाव भएकोले व्यवसायिले कोटेशन दिन नमानेको गुनासो गर्नुभयो ।


गण्डकी प्रदेश कार्यालय