कोरोना भाइरस सम्बन्धमा कर्णाली प्रदेशको अवस्था

  ०७६ चैत २२ गते

नेपाल सरकारले कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि चैत ११ गतेदेखि लकडाउन सुरु गरी प्रकोप न्यूनीकरणका लागि विभिन्न कार्यक्रम गर्दै आएकाे छ । कोरोना भाइरसको अवस्था सम्बन्धमा इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले चैत २२ गते तयार गरेको जिल्लागत अवस्था प्रतिवेदन यस प्रकार रहेको छ ।

जुम्ला जिल्ला प्रतिनिधि मानदत्त रावलका अनुसार दैनिक उपभोग्य बस्तु बिक्री वितरणका लागि प्रशासनले दैनिक बिहान साँझ दुई/दुई घण्टा बजार खुलाउने व्यवस्था गरेको छ ।
एक नगरपालिका र सात गाउँपालिकाले १० देखि १५ लाख रुपियाँको कोरोना विपद कोष स्थापना गरेका छन् ।

तिला गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको एक दिनको तलब भत्ताबाट १० लाख रुपियाँको कोष स्थापना गरिएको छ । चैत २१ गते गाउँ कार्यपालिका सदस्य ४७ जना, शिक्षक १ सय २० जना, स्वास्थ्यकर्मी र अरु कर्मचारी गरी ७२ जनाको एक÷एक दिनको तलब भत्ता कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

साथै गाउँपालिका भित्र रहेका २ हजार ७ सय ७१ घर धुरीमा सावुन, माक्स, स्यनिटाइजर वितरण कार्य थालिएको छ ।

अतिविपन्न परिवारको लगत सङ्कलन गरी प्रति परिवार ३० केजी चामल, तीन केजी दाल, दुई केजी नुन, दुई प्याकेट तेल र चार चक्की साबुन उपलव्ध गराउने निर्णय गरेको प्रबत्ता सन्तविर रावतले बताउनुभयो ।

त्यसैगरी हिमा गाउँपालिकाले प्रत्येक घरधुरीमा ३० केजी चामल र ५० केजी नुन वितरण गर्ने योजना बनाएको प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले जानकारी दिनुभयो । गुठीचौर गाउँपालिका र अन्य गाउँपालिकाले पनि दैनिक उपभोग्य बस्तु वितरण गर्ने योजना तय गरेका छन् ।

यसैबीच भाइरस परीक्षण गर्ने मेसिन ‘पीपीई’ आए जुम्लामै कोरोनाको परीक्षण गर्न सकिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । जुम्लास्थित शिक्षण अस्पतालमा ‘विएसएल–२’ ल्याब यसअघि नै स्थापना भएकाले कोरोना भाइरस परीक्षणमा समस्या नहुने प्रतिष्ठानले जनाएको छ ।

जुम्लाबाट संकलन गरेर सुर्खेत पठाउन कम्तीमा १४ घण्टा लाग्ने भएकाले परीक्षणका लागि सरकारसँग मेसिन माग गरेको प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलले बताउनुभयो ।
जुम्लाका सबै स्थानीय तहका स्वास्थ्य चौकीमा अझै पनि स्वाब सङ्कलन गर्ने किट पुगेका छैनन् । लकडाउनको अवस्थामा एक÷दुई जनाको स्वाब सङ्कलन गर्न गाउँ जान पनि सम्भव नभएको चिकित्सकको भनाई छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १ सय २० बेडको आइसोलेसन बनाएको छ । आईसोलेसनमा बसेका दुई जनाको रिपोट नेगेटिभ आएपछि उनीहरूलाई घर पठाइएको छ ।

एक नगरपालिका र सात गाउँपालिकामा २ सय ८९ बेड क्षमताको क्वारेन्टाइनमा ९६ जना बसेका छन् । क्वारेन्टाइनमा बसेका ३७ जना १४ दिन क्वारेन्टाइनमा बसेर घर फिर्ता भएका छन् । १५ जना पर्यटकलाई जिल्ला बाहिर पठाइएको छ भने जुम्लाको प्रवेशद्वार नाग्म हेल्थ डेक्समा ४ हजार ३ सय ३० जनाको चेकजाँच गरिएको प्रशासनको तथ्यांकमा उल्लेख गरिएको छ ।

मुगु जिल्ला प्रतिनिधि जीवन सेजुवालका अनुसार कोराना संक्रमण फैलिन नदिन सोरु गाँउपालिकाले आफनो पालिका भित्रिने सीमा नाका र पालिका केन्द्रसहित सात ठाउँमा हेल्थ डेक्स र तीन ठाँउमा क्वारेन्टाइन स्थापना गरेको छ ।

चार स्थानीय तहमध्ये छाँयानाथ रारा नपा, खत्याड र मुगुम कार्मारोङ गाँउपालिकाले आ–आफना स्थानमा राखिएका हेल्प डेक्स र क्वारेन्टाइनमा कार्यरत स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा सामग्री र अन्य उपकरण उपल्ब्ध गराएका छन् ।

सोरु गाउँपालिकाले भने हालसम्म आफना पालिकामा स्थापना गरिएका हेल्प डेक्स र क्वारेन्टाइनमा पिपिइ, थर्मगन सेप्टी मास्क उपलब्ध नगराउँदा त्यहाँ कार्यरत स्वास्थ्यकर्मी जोखिम मोलेर सेवा दिने गरेको दुःखेसो पोखेका छन्् ।

सोरु गाँउपालिका—७ सिपमा रहेको आधारभुत प्राथमिक विद्यालयमा दुबईबाट आएका दुई जना र भारतबाट आएका आठ जनालाई क्वारेन्टाइनमा राखिएको छ । १४ दिनसम्म उनीहरूको हेरचाह चेक जाँच र सुरक्षाको लागि सीप स्वास्थ्य चौकीका इन्चार्ज र कालै प्रहरी चौकीका असईको कमाण्डमा अन्य चार जना प्रहरी छन् ।

सल्यान जिल्ला प्रतिनिधि मिना बुढाथोकीका अनुसार बनगाड कुपिण्डे नगरपालिकाले देवस्थल, सल्लीबजार, च्युरा, नाथेखोला, सुनौलीबजार, बालुवा सङ्ग्रही, ढोरपिपिल, रैकर बजार लगायतका क्षेत्रमा १८ हजार लिटर क्लोरिन पाउडर छर्केको छ ।

लकडाउनका कारण दैनिक मजदूरीबाट जीवन निर्वाह गर्ने वर्गलाई दैनिकी चलाउन मुस्किल परेको छ ।

जिल्लाको बन्गाड कुपिण्डे नपा–५ निवासी विपन्न माघे बादीले लकडाउनका कारण मजदूरी गर्न नपाएपछि परिवार पाल्न समस्या भएको बताउनुभयो ।

स्थानीय तहले विपन्नलाई खाद्यान्न उपलब्ध गराउने भनेपनि लगत संकलनमा ढिलाइ हुँदा अति विपन्न परिवारलाई समस्या परेको हो ।

नगर प्रमुख गोविन्दकुमार पुनले लगत संकलनमा भएको ढिलाइले विपन्नलाई समयमै खाद्यान्न उपलब्ध गराउन नसकिएको बताउनुभयो । उहाँले प्रतिघर परिवारको संख्या हेरेर दुईदेखि चार हजार रुपियाँ बराबरको खाद्य सामग्री उपलब्ध गराउने जानकारी दिनुभयो ।

कालीमाटी र छत्रेश्वरी गाउँपालिकाले वास्तविक विपन्न छुट्याउन कठिनाइ भएकाले खाद्य सामग्री समयमै उपलब्ध गराउन नसकिएको बताएका छन् ।
शारदा नगरपालिकाले भने लगत संकलन गरी प्रतिव्यक्ति दुई हजार बराबरका खाद्य सामग्री वितरण गर्न थालेको नगर प्रमुख सुरेश अधिकारीको भनाई छ ।

कोरोना हटाउन हेलिकप्टर
कर्णाली प्रदेश सरकारका सामाजिक बिकास मन्त्री दल रावलले कर्णालीलाई कोरोनामुक्त बनाउनका लागि हेलिकप्टरको व्यवस्था गर्न लागेको जानकारी दिनुभएको छ ।

जिल्ला दैवी प्रकोप उद्दार समितिको बैठकमा चैत २२ गते बोल्दै मन्त्री रावलले कोरोनाको संक्रमण देखिना साथ एम्वुलेन्स जान नसक्ने ठाउँमा हेलिकप्टरमार्फत बिशेषज्ञसहितको टोली पठाएर उपचार गर्ने व्यवस्था मिलाएको बताउनुभयो ।

कोरोना नियन्त्रणका लागि कर्णाली सरकारले १० ओटै जिल्लाका अस्पतालको स्तरोन्नतीको लागि ५०/५० लाख रुपियाँ र आवश्यक स्वास्थ्य सामग्री उपलव्ध गराएको पनि उहाँको भनाई थियो ।

हुम्ला जिल्ला प्रतिनिधि नन्द सिंहका अनुसार हुम्लाका सातवटै गाउँपालिकामा कोरोना भाइरसबाट जोगिन विपद कोष खडा गर्ने कार्य अघि बढेको छ ।

अदानचुली गाउँपालिकाले २० लाख, सिमकोट गाउँपालिकाले १० लाख, खार्पुनाथ गाउँपालिकाले १० लाख, नाम्खा गाउँपालिकाले ५ लाख, ताँजाकोट गाउँपालिकाले ५ लाख, सर्केगार्ड गाउँपालिकाले ५ लाख र चंखिली गाउँपालिकाले १५ लाखको कोष खडा गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी बिनीता भट्टराईका अनुसार जिल्लामा हालसम्म विपद कोषमा ५२ लाख ३४ हजार नगद तथा आवश्यक सामान कोषमा जम्मा हुने प्रतिबद्धता आएको छ । त्यसमा कर्णाली प्रदेश सरकारले ५० लाख कोषमा पठाउने सरकारको निर्णय आएको तर उक्त रुपियाँ नआएपनि आबश्यक सामान खरिद गर्न सुरु गरिएको बताउनु भयो ।

त्यसै गरी उद्योग बाणिज्य संघले ७३ हजार २ सय ५० रुपियाँ बराबरका सामान उपलब्ध गराएको छ । सो सामानहरू हाल स्थापना भएका क्वारेन्टाइन व्यबस्थापनमा प्रयोग भएका छन् । क्वारेन्टाइनमा २८ जना रहेकाले उहाँहरूको खानाको समेत व्यबस्था भइरहेको छ ।

त्यस्तै मानसरोवर माविमा अध्ययन गर्ने विद्यार्थी खडानन्द न्यौपानेले ११ हजार १ सय ११ रुपियाँ जम्मा गर्नु भएको छ । क्वारेन्टाइन र आइसोलेसनमा कोरोना संक्रमणका लागि चेकजाँच गर्ने उपकरणको अभावले चुनौती कायमै छ ।

सूचनाको जानकारी लिन र मनोरन्जन प्राप्त गर्न सहज होस भनी सिमकोट गाउँपालिकाले क्वारेन्टाइनमा इन्टरनेट जडान गरी दिएको छ ।

रोग भन्दा भोकको चिन्ता

नेपाल खाद्य संस्थान शाखा कार्यालय हुम्लाले विमानस्थलबाट कार्यालयसम्म चामल ओसार्ने काम दिएपछि मजदूरहरूको चुलो बलेको छ । लकडाउनको कारण अन्य काम गर्न नपाएका मजदूरलाई नेपालगञ्ज र सुर्खेतबाट आएको चामल ओसार्ने काम दिएपछि करिव ७५ जना भारी बोक्ने महिलाले बिहान र बेलुकाको गर्जो टारेका छन् । २५ जना भन्दा बढी मानिस भेला हुन नपाउने भनेपनि हुम्लामा यो नियम लागु हुन सकेको छैन ।

लकडाउनबारे लिमीबासी बेखबर
कोरोनाको कारण देश लकडाउन भएको कुरा काठमाण्डौं बस्ने आफन्तले जानकारी दिएपछि नाम्खा गाउँपालिका–६ लिमीका जनताले गाउँ आउने सबै नाकाबन्द गरेका छन् ।

लिमीबाट भारतमा व्यापार गर्न गएका, काठमाण्डांैमा रहेका र चीनको ताक्लाकोटमा काम गर्न गएका मानिस भित्रिन सक्ने भन्दै नाकाबन्द गरेको गाउँपालिका–६ का अध्यक्ष पाल्जोर तामाङले बताउनुभयो ।

वल्र्डलिङ्क इन्टरनेट सेवाले काम गर्दा देश विदेशका खबर सहजै थाहा पाउने लिमीका जनता सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमको लाइन भिस्याटबाट फोनमा सम्पर्क गर्ने गरेका छन् ।

मङ्सिरबाट चैत महिनासम्म लिमीका बासिन्दा हिमपातको कारण स्तह लकडाउनमा हुन्छन । यो अवधिमा कोही आवतजावत गर्न नसक्ने भएकोले प्रहरी चौकी पनि कात्तिक महिनाबाट सिमकोट फर्केको छ । हाल हेलिकोप्टर रिजर्भ गरेर मात्र लिमी जान सकिन्छ ।

हेल्थ डेस्क, स्वास्थ्यकर्मी कोही नभएको यो ठाउँमा कोही बिरामी भए लामा बसाल्नुको विकल्प नभएको स्थानीयको गुनासो छ ।

रुकुम पश्चिम जिल्ला प्रतिनिधि मनिषा केसीका अनुसार दक्ष स्वास्थ्यकर्मी र उपकरण नहुँदा क्वारेन्टाइनमा बसेका व्यक्तिको नमूना संकलन गर्न समस्या भएको छ ।

मुसिकोट नगरपालिकाको क्वारेन्टाइनमा बसेका दुईजना व्यक्तिको स्वाब परीक्षण गरिएकोमा नेगेटिभ रिपोर्ट देखिएको जिल्ला अस्पतालका प्रमुख डा. महेश चौलागाइँले बताउनुभयो । अन्य पाँच जनाको जाँच गरिएको छैन ।

जिल्लाका सबै क्वारेन्टाइनमा व्यक्तिगत सुरक्षा समाग्री, अत्यावश्यक औषधी, मेडिकल किट र पर्याप्त उपकरण नहुँदा क्वारेन्टाइनमा बसेका सवैको स्वास्थ्य परीक्षण गर्न नसकिएको स्वास्थ्यकर्मीको गुनासो छ ।

स्थानीय तहले भने क्वारेन्टाइनमा बसेका सबैको स्वास्थ्य अवस्था सामान्य रहेकाले नमूना संकलन नगरेको बताएका छन् ।

त्यसैगरी त्रिवेणी गाउँपालिकाको क्वारेन्टाइनका १९ र चौरजहारी नगरपालिकाको क्वारेन्टाइनमा रहेका १३ जनाको पनि स्वाब परीक्षण गरिएको छैन ।

बाँफीकोट गाउँपालिकाले विपन्न परिवारको पहिचान गरी खाद्यान्न वितरण गरिसकेको छ भने चौरजहारी नगरपालिकाले पनि वडा नं १, २, ५, ६, १०, ११, १२, १३ र १४ का विपन्न परिवारको पहिचान गरी चैत २१ गते खाद्यान्न वितरण गरेको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताउनुभयो ।

सुर्खेत जिल्ला प्रतिनिधि दुर्गा थापाका अनुसार वीरेन्द्रनगर नगरपालिकाले वडा नं ११ झुप्राखोलाका विपन्न नागरिकलाई खाद्यान्न वितरण गरेको छ ।

झुप्राखोलामा बालुवा चालेर जिवनयापन गरिरहेका स्थाई ४१ घरधुरी र अन्य विभिन्न स्थानबाट बालुवा चाल्न बसेका ६५ घरधुरी गरी १ सय ६ घरधुरीलाई खाद्यान्न वितरण गरिएको वीरेन्द्रनगर नपा ११ का अध्यक्ष नन्दलाल शर्माले जानकारी दिनुभयो ।

झुप्राको वादी समुदायका लागि मध्यपश्चिमाञ्चल ट्रक तथा ट्रेक्टर संघ र डि.जि कन्सट्रक्सनका केदार शर्माले ५१ बोरा चामल, ५० केजी दाल र ५० केजी नुन सहयोग गर्नुभएको थियो । साथै नगरपालिकाले २६ बोरा चामल, २ बोरा दाल र प्रतिपरिवार एक पोका नुन वितरण गरेको छ ।

नगरपालिकाले १६ वडाका करिव आठ हजार विपन्न नागरिकलाई खाद्य सामाग्री उपलब्ध गराउने उपप्रमुख मोहनमाया ढकालले जानकारी दिनुभयो ।

यसैगरी वीरेन्द्रनगर नपा १२ का विपन्न नागरिकलाई चैत २१ गते र चैत २२ गते खाद्यान्न वितरण गरिएको छ । वडाका ५ सय ३२ परिवारलाई चामल, दाल, तेल र नुन वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिनुभयो ।

जाजरकोट जिल्ला प्रतिनिधि दिनेश श्रेष्ठका अनुसार भारत लगायतका अन्य देश र शहरी क्षेत्रबाट जिल्लामा भित्रिनेहको संख्या बढिरहदा संक्रमण फैलन सक्नेमा जिल्लामा पूर्व तयारी कमजोर छ भने जनशक्ति, पूर्वाधार र जनचेतनाको अभाव कायमै छ ।

भाइरल ट्रान्सपोर्ट मिडिया (भिटिएम) नहुँदा संक्रमितको आशंका भएका व्यक्तिको स्वाब संकलन गर्न र पठाउन नसकिने जिल्ला अस्पताल जाजरकोटका मेडिकल अधिकृत डा.भुपेन्द्र प्रकाश मल्लले बताउनु भएको छ ।

‘भिटिएममा संकलन गरिएको नमुना ट्रिपल प्याक गरी कोल्ड चेन मेन्टेन (२ देखि ८ डिग्री सेल्सियस) गरी कोरोना परीक्षण प्रयोगशालामा पठाउनु पर्छ तर हामी सँग भिटिएम र तापक्रम मेन्टेन गर्ने साधन नहुँदा जाजरकोटबाट नमूना संकलन गरी पठाउन सक्ने अवस्थामा छैनौ’ डा. मल्लले भन्नुभयोे—‘शंकास्पद केस आयो भने स्वास्थ्य सेवा निर्देशनालयमा खवर गर्ने बाहेक अरु केही गर्न सक्ने अवस्था छैन ।’

डाक्टर मल्लका अनुसार दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा करारका स्वास्थ्यकर्मीको भरमा काम गर्न निकै कठिनाई छ । ५० शैयाको जिल्ला अस्पतालमा सात जना विशेषज्ञ चिकित्सकसहित ६५ जना स्वास्थ्यकर्मीको दरबन्दी भएपनि रिक्त दरबन्दीको पदपूर्ति नहुँदा हाल अस्पतालमा १८ जना दरबन्दीका र केही करारका स्वास्थ्यकर्मी मात्र कार्यरत छन् ।

पर्याप्त स्वास्थ्यकर्मी नभएको र कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै अस्पतालले अत्यावश्यक बाहेक अस्पताल नआउन सर्वसाधारणलाई विज्ञप्तीमार्फत आग्रह समेत गरेको छ ।

गर्खाकोट र दल्ली प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी भएपनि पदपूर्ति नहुँदा समस्या भएको छ । जिल्लाका ३१ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा सामग्री नपाएको गुनासो गरेका छन् ।

छेडागाड नगरपालिकामा ३५ लाखको कोष

छेडागाड नगरपालिकाले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा औषधोपचारका लागि ३५ लाखको कोष स्थापना गर्ने निर्णय गरेको नगर प्रमुख लालबहादुर महतराले जानकारी दिनुभयो ।

नगरपालिका भित्रका सबै स्वास्थ्य संस्था, सामुदायिक स्वास्थ्य केन्द्र र नगरपालिकाका मुख्य नाकासमेत जम्मा १८ वटा स्थानमा स्वास्थ्य सहायता कक्ष स्थापना गरी एउटा स्वास्थ्य सहायता कक्षमा एक जना स्वास्थ्यकर्मी र दुई जना अन्य कर्मचारीलाई नियमित रुपमा परिचालन गर्ने बैठकले निर्णय गरेको छ ।

एक वडामा एउटा क्वारेन्टाइन रहनेगरी नगरपालिकाका सबै वडा तथा स्वास्थ्य संस्थाको पायकपर्ने गरी ५ देखि १० वेडका क्वारेन्टाइन निर्माण गर्ने बैठकले निर्णय गरेको छ ।

कुशेलाई प्रतिकार्य सामग्री

पहाडी क्षेत्र विकास अभियान जाजरकोटले कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतलाई चैत २१ गते कोरोना भाइरस प्रतिकार्य सामग्री हस्तान्तरण गरेको छ ।

२ हजार १ सय ६० पिस साबुन, २ सय पिस सेनिटाइजर, २ हजार मास्क, २० हजार पिस पोष्टर तथा पम्पलेट र ६० वटा फ्ल्यास चार्ट हस्तान्तरण गरिएको पहाडी क्षेत्र विकास अभियान, जाजरकोटका अध्यक्ष प्रदिप जंग शाहले जानकारी दिनु भयो ।

भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सेभ द चिल्ड्रेन र पहाडी क्षेत्र विकास अभियानले गाउँपालिकालाई हस्तान्तरण गरेको प्रतिकार्य सामग्रीलाई सन्तुलित रुपमा गाउँपालिकाका सबै वडा र स्वास्थ्य संस्थामा वितरण गरिने गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनु भयो ।


इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत