कोरोना भाइरस सम्बन्धमा कर्णाली प्रदेशको अवस्था

  ०७६ चैत २४ गते

कोरोना भाइरस प्रकोप न्यूनीकरणका लागि कर्णाली प्रदेश सरकारले दोस्रो चरणको संक्रमण भित्रिन नदिन विभिन्न निर्णय गरेको छ । प्रदेश स्तरीय विपद् व्यवस्थापन केन्द्रको चैत २३ गते बसेको बैठकले प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रीता भण्डारीको संयोजकत्वमा तत्काल प्रतिकार्य समूह गठन गरेको छ । उक्त समूहलाई प्रतिकार्य योजना तयार गरी पेश गर्ने जिम्मेवारी समेत दिएको छ ।

कर्णाली प्रदेशका प्रमुख सचिवको संयोजकत्वमा समन्वय तथा व्यवस्थापन कार्यका लागि विपद् व्यवस्थापन कार्यकारी समिति गठन भएको छ । उक्त समितिमा मन्त्रालयका सचिव, प्रदेश सुरक्षा निकायका प्रमुख सदस्य रहेका छन् । यसैगरी बैठकले सम्भावित मृत्युलाई दृष्टीगत गरी मृतकको शव व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी दिइएको छ ।

संघ, प्रदेश तथा स्थानीय तहबाट कोरोना भाइरस प्रकोप न्यूनीकरणका लागि जिल्ला जिल्लामा भएका प्रयास तथा लकडाउनका कारण जिल्लामा परेको प्रभाव सम्बन्धमा इन्सेक कर्णाली प्रदेशले चैत २४ गते तयार गरेको जिल्लागत प्रतिवेदन यस प्रकार रहेको छ ।

मुगु जिल्ला प्रतिनिधि जीवन सेजुवालका अनुसार छायाँनाथ बचत तथा क्रण सहकारी संस्थाले जिल्लाका चार स्थानीय तहलाई २ लाख रुपियाँ नगद सहयोग गरेको छ ।

लकडाउनका कारण खान नपुग्नेलाई राहतका लागि खाद्यान्न लगायत अन्य आवश्यक सामग्री दिन सहयोग होस भनी छायाँनाथ रारा नगरपालिका, खत्याड, सोरु र मुगुम कामारोङ्ग गाउँपालिकाको विपत कोषमा ५० हजार रुपियाँका दरले २ लाख रुपियाँ सहयोग गरेको संस्थाका उपाध्यक्ष कमलबहादुर बुढाले बताउनु भयो ।

जुम्ला जिल्ला प्रतिनिधि मानदत्त रावलका अनुसार तिला गाउँपालिका–१ रारागाउँका ४० बर्षीय जीतबहादुर दमाई बिरामीले थलिएको एक बर्ष भयो । गतवर्ष सुत्केरी भएको तीन दिनमा पत्नी गुमाएका जीतबहादुरलाई अहिले हिड्न र राम्ररी काम गर्न सकस पर्छ ।

‘रोग, शोक दुवैले छटपटिएको बेला कोरोना आए पनि आर्थिक जुटाउन सकिएको छैन । न निरोगी भएर बाँच्न सकियो न छोराछोरीलाई सहज रुपमा पोषण गर्न सकियो’ जीतबहादुरको दुःखेसो छ ।
जीतबहादुरका तीन जना सन्तान छन् । घर खर्चका लागि सामान्य मजदुर गर्ने उहाँको परिवार लकडाउनको कारण आर्थिक संकट व्यहोरी रहेको छ ।

तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले जीतबहादुर जस्ता अति विपन्न व्यक्तिको लगत संकलन गरिरहेको बताउनुभयो । तत्काल राहत स्वरुप ३० केजी चामल, तीन केजी दाल, दुई प्याकेट तेल, दुई केजी नुन र चार चक्की सावुन उपलव्ध गराउने पनि उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी तातोपानी गाउँपालिका–७ सर्मीका गोरीकला तिरुवा र मानबहादुर कुँवर दुवैजना दृष्टिविहीन हुनुहुन्छ । आफन्त र छिमेकीसँग सरसापटी गरेर जिविकोपार्जन गर्दै आएका यो दम्पतीका लागि लकडाउन झन् मुस्किल बनेको छ । मानबहादुरले भन्नुभयो ‘अहिले एक ठाउँबाट अर्काे ठाउँमा जान पाएका छैनौँ । भान्सामा खाद्यान्न र पकाउने दाउरा पनि छैन ।’

बस्तीबाट झण्डै दुई किलोमिटर टाढा बसेका उहाँहरूले गाउँलेको सहयोग नपाएपछि यतिबेला बिहान बेलुकाको छाक टार्न समस्या भएको छ । एक वर्षअघि अन्तरजातीय विवाह गरेकाले जातीय विभेद गरेर कतिपयले घृणा समेत गर्ने गरेको मानबहादुरले सुनाउनुभयो ।

अपाङ्ग पुर्नस्थापना तथा विकास केन्द्र, जुम्लाका अध्यक्ष नन्दराज धितालका अनुसार लकडाउनको प्रत्यक्ष मारमा अपाङ्गता भएका व्यक्ति परेका छन् । उहाँका अनुसार समाजका अतिविपन्न व्यक्ति अपाङ्गता भएका व्यक्तिहरू नै हुन् । सधै अरुको साहारामा बाँचेका व्यक्तिहरू लकडाउनले एक अर्काेसँग सहयोग र सरसापट लिन पनि नपाएको अवस्था छ । यस्तो समयमा स्थानीय सरकारले राहत उपलव्ध गराउनु पर्ने धितालको भनाई छ ।

तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले अतिविपन्न र दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिको लगत संकलन गरी दैनिक उपभोग्य बस्तु खाद्यान्न उपलव्ध गराउने प्रतिवद्वता व्यक्त गर्नु भयो ।

स्वास्थ्यकर्मीले सुरक्षा सामग्री पाएनन
जुम्लाको प्रवेशद्वार नाग्म हेल्थ डेक्समा चेकजाँच गर्दै आएका कुडारी स्वास्थ्य चौकीका इन्चार्ज हेल्थ असिस्टेन्ट विजय रावलले स्थानीय स्तरमा बनाइएका प्लाष्टिकको पीपीई बाहेक विश्व स्वास्थ्य संगठनले तोकेको पीपीई चैत २४ गतेसम्म प्राप्त नभएको बताउनुभयो ।

पातारासी गाउँपालिका अहेब कृष्ण बुढाका अनुसार स्वास्यकर्मीले थर्मल स्क्यानर र पीपीई नपाउँदा जोखिम मोलेर काम गर्नु परेको छ ।

डोल्पा जिल्ला प्रतिनिधि विष्णुप्रसाद देवकोटाका अनुसार लकडाउनको १४ औं दिन डोल्पामा सुरक्षा निकायले कडाई गरेको छ । अत्यावश्यक पसल बाहेक बजार ठप्प छन् । सडकमा मानिसको चहलपहल पनि सुनसान छ ।

दुई नगरपालिका र ६ गाउँपालिका रहेको डोल्पामा सबै स्थानीय तहले क्वारेन्टाइनको क्षमता वृद्धि गरि अनिवार्य ३० शैयाको बनाएका छन् ।

जिल्ला अस्पतालमा आवश्यक औषधिसहित उपकरण भएको भएपनि स्थानीय तहमा औषधि र उपकरण नहुँदा स्वास्थ्य परीक्षणमा समस्या भइरहेको गुनासो आएकोले समयमै व्यवस्थापन गर्न स्थानीय सरकारले पहल गर्नु आवश्यक देखिन्छ ।

कालिकोट जिल्ला प्रतिनिधि कालिबहादुर मल्लका अनुसार सदरमुकाम रहेको खाँडाचक्र नपा–१ मा रहेको बादी तथा दलित वस्तीमा खाद्यान्नको अभाव देखिएको छ । दैनिक ज्याला गरेर छाक टार्ने गरेकोमा १८ परिवार लकडाउनको कारण भौकै वस्ने अवस्था आएको कौशिला बादीले बताउनु भयो । विपन्नको लगत लिन ढिलाई भएकाले राहत नदिइएको खाँडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डेको प्रतिक्रिया छ ।

गाउँमा लकडाउनको उल्लङ्घन भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार गाउँमा कोरोना भगाउन देवि देवताको पुजा गर्ने नाममा अहिले पनि धेरैको संख्यामा भेला हुने गरेका छन् । हिडडुल गर्ने कार्य रोकिएको छैन ।

बाहिर देशबाट जिल्ला फर्कनेहरू स्वास्थ्य परीक्षण नगराई लुकेर घर गएका छन् । उनीहरू क्वारेन्टाइनमा बस्न डराएको सुचना प्राप्त भइरहेकाले ती व्यक्तिको खोजी गरेर क्वारेन्टाइनमा राख्न आवश्यक छ ।

दैलेख जिल्ला प्रतिनिधि अमर सुनारका अनुसार भगवतीमाई गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका स्वयम्् सेवकलाई सात ओटै वडामा चार÷चार जना गरी परिचालन गरेको छ ।
बेस्तडा प्रहरी चौकीका इन्चार्ज मनोज कँडेलले चैत २४ गते स्वयमसेवकलाई आवागमन रोक्ने सीप र आत्मसुरक्षा तालिम दिई कार्यस्थलमा खटाइएको गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले जानकारी दिनुभयो ।

इन्चार्ज कंडेलका अनुसार गाउँटोलमा भेला भई जाँड रक्सी खाने, जुवा तास खेल्नेलाई कारवाही गरिने छ । परिचालित ८१ जना स्वयमसेवक सबै महिला स्वास्थ्य स्वयम् सेविका हुन ।

हुम्ला जिल्ला प्रतिनिधि नन्द सिंहका अनुसार खार्पुनाथ गाउँपालिकाका पाँचवटै वडाले पालिकाको स्वास्थ्य शाखामा काम गर्ने स्वास्थ्यकर्मीलाई समेत गाउँमा प्रबेश निषेध गरेको गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले बताउनु भयो ।

गाउँमै प्रवेशमा रोक लगाएपछि ६ जना स्वास्थ्यकर्मी मध्ये तीन जना घर जाने र तीन जना पालिकामै बसेर काम गरी रहेको स्वास्थ्य शाखाका संयोजक बलीराज शाहीले जानकारी दिनुभयो ।
यसैबीच सिमकोट गाउँपालिकाले चैत २४ गते १४ लाख ५० हजार रुपियाँ बराबरको औषधि र उपकरण खरिद गरेको छ ।

गाउँपालिकाका आठ वटै वडामा रहेका स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र र सामाुदायिक स्वास्थ्य इकाई केन्द्र लगायतकालाई पुग्ने गरेर औषधि मगाइएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले जानकारी दिनुभयो । ।

सेनिटाईजर, सर्जिकल मास्क, ग्लोब लगायतका स्वास्थ्यकर्मीका लागि आवश्यक सामान आइपुगेको पिपिई र १५ थान थर्मोगन चैत २५ गते भित्र आई पुग्ने गाउँपालिकाले जनाएको छ । अन्य गाउँपालिकामा भने अभाव नै छ ।

यसैगरी सर्केगाड गाउँपालिकाले स्थानीय सिकर्मीमार्फत सिलाइएका मास्क आफ्नो क्षेत्रका नागरिकलाई वितरण गरेको छ । हरेक घरधुरीलाई १२ हजार मास्क र २१ हजार पिस हात धुने साबुन वितरण गरेको गाउँपालिकाका उपाध्यक्ष जोशी धामीले बताउनुभयो ।

जिल्ला प्रशासनले बजार क्षेत्रमा सामान किन्न निस्केका तर मास्क प्रयोग नगरेका सर्वसाधारण, व्यापारी र खेतपातीको काम गर्न बारीमा गएका व्यक्तिलाई २ सय २५ वटा कपडाको मास्क वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका सुब्बा भिम बहादुर रोकायाले जानकारी दिनुभएको छ ।

रुकुम पश्चिम जिल्ला प्रतिनिधि मनिषा केसीका अनुसार बाँफिकोट गाउँ कार्यपालिकाको चैत २३ गते बसेको बैठकले पालिकाका १६ सय विपन्न घर परिवारलाई राहत वितरण गर्ने भएको छ । यसैगरी बैठकमा वडा नम्बर ४ स्थित स्यार्पू बहुमुखी क्याम्पसमा क्वारेन्टाइन निर्माण गर्ने निर्णय समेत भएको प्रमुख प्रशासकीय अधिकृत महेश गुरुङले बताउनुभयो । वडा नं ३ मा भने यस अघि नै राहत वितरण भइसकेको छ ।

जाजरकोट जिल्ला प्रतिनिधि दिनेश श्रेष्ठका अनुसार चैत ९ र १० गते भारतबाट आएका जुनीचाँदेको २, ३ र ९ नम्बर वडाका २२ जनालाई सामान्य ज्वरो नापेर लक्षण केही नभएको भन्दै चैत २२ गते घर पठाइएको छ ।

स्वास्थ्यकर्मीले चेकजाँचगर्दा अवस्था सामान्य देखिएपछि क्वारेन्टाइनबाटै घर पठाइएको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोरकुमार श्रेष्ठले बताउनु भयो । प्रहरीका अनुसार लकडाउनकै अवधिमा भारतबाट ६४, कतारबाट दुई जना र मलेसियाबाट एक जना आएका छन् ।

यसैगरी शिवालय गाउँपालिकाले चैत २२ गते अतिविपन्नलाई २५ देखी ३० केजी सम्मको चामल, दुई केजी दाल, एक लिटर तेल, एक केजी नुन वितरण गरेको गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार शाहीले जानकारी दिनुभयो ।


इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत