कोरोना भाइरस सम्बन्धमा कर्णाली प्रदेशको अवस्था

  ०७६ चैत २३ गते

कोरोना भाइरस प्रकोपकाे सम्भावित जोखिमबाट नागरिकलाई बचाउन नेपाल सरकारले लकडाउन सुरु गरेको आज १३ दिन सम्पन्न भएको छ । यस परिवेशमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरस प्रकोप दोस्रो चरणमा प्रवेश गरेको बताउँदै यसको रोकथाम तथा नियन्त्रणको तयारीलाई तिव्रता दिन चैत २३ गते सुर्खेतमा आयोजित प्रदेश स्तरीय प्रकोप नियन्त्रण केन्द्रका सदस्यलाई निर्देशन दिनुभएको छ । कोरोना भाइरस प्रकोप न्यूनीकरणका सम्बन्धमा संघ, प्रदेश तथा स्थानीय तहबाट भएका गतिविधि तथा कर्णाली प्रदेशको अवस्था सम्बन्धमा जिल्लागत रुपमा चैत २३ गते तयार गरिएको प्रतिवेदन यस प्रकार रहेको छ ।

रुकुम पश्चिम जिल्ला प्रतिनिधि मनिषा केसीका अनुसार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि हालसम्म भएका पहल र गर्नुपर्ने कामको तयारीका लागि चैत २२ गते सदरमुकाम मुसिकोटमा विपद व्यवस्थापन समितिको बैठक बसेको छ ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसी, प्रदेश सभा सदस्य गोपाल शर्मा र देवी ओली लगायतको उपस्थितिमा बसेको बैठकले जिल्लामा भइरहेको पूर्व तयारीको समीक्षा गरिनुका साथै चौरजहारी अस्पताल र जिल्ला अस्पताल सल्लेमा आइसोलेसन बेड थप गर्ने निर्णय गरेको छ ।

बैठकमा बोल्दै स्थानीय तहका प्रमुख तथा अध्यक्षहरूले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आपूmहरूसँग सामान्य स्वास्थ्य सामग्री समेत नभएको गुनासो गरेका छन् । शंकास्पद बिरामी आएमा उनीहरूको ज्वरो नाप्ने उपकरण र जनशक्ति समेत नभएको स्थानीय तहका अध्यक्षहरूले प्रदेश सरकारसँग गुनासो गरे । स्थानीय तहमा खटिने स्वास्थ्यकर्मीका लागि आवश्यक तालिम र सामग्रीको व्यवस्था प्रदेश र संघीय सरकारले तत्कालै गर्नुपर्ने स्थानीय तहका अध्यक्षहरूको माग छ ।

साथै स्थानीय तहका प्रमुख तथा अध्यक्षले लकडाउनमा वितरण गरिने राहतको मापदण्ड तीन वटै तहका सरकारको एकै खालको हुनुपर्नेमा जोड दिदै राहतका लागि आर्थिक सहयोग गर्न प्रदेश र संघीय सरकारलाई आग्रह गरेका छन् ।

बैठकमा बोल्दै मन्त्री प्रकाश ज्वालाले प्रदेश सरकार कोरोना रोकथाम तथा नियन्त्रणका लागि गम्भिरताका साथ लागेको बताउँदै कोरोना लक्षित बजेट व्यवस्थापनमा सरकारले काम गरिरहेकोले नआत्तिएर काम गर्न स्थानीय तहलाई आग्रह गर्नुभयो ।

त्यस्तै सामाजिक विकास मन्त्री दल रावलले प्रदेश सरकारले स्वास्थ्य सामग्रीको व्यवस्थापन गरिरहेको भन्दै रुकुम पश्चिमको चौरजहारीमा कोरोना अस्थायी अस्पताल घोषणा गरेको र यसको व्यवस्थापनका लागि पनि सरकारको ध्यान गएको जिकिर गर्नुभयो ।

मन्त्री बिमला केसीले यो महामारीमा कर्णाली प्रदेशका कोही नागरिक भोकै मर्न नपरोस भनेर सरकार गम्भिरताका साथ लागेको जानकारी दिनुभयो ।

मन्त्रीसहित जिल्लास्थित सरोकारवालाको टोलीले चैत २३ गते चौरजहारीमा निर्माण हुन थालेको अस्थायी कोरोना अस्पतालको अनुगमन समेत गरेको छ ।

कालिकोट जिल्ला प्रतिनिधि कालिबहादुर मल्लका अनुसार कोरोना भाइरस फैलिन नदिन कालिकोटका नौ ओटा स्थानीय तहले चैत २३ गतेसम्म विभिन्न ७८ ठाउँलाई क्वारेन्टाइन स्थलको रुपमा छनोट गरेर जिल्लाभर ६ सय ९१ वटा बेड निर्माण गरेका छन् । जिल्लाको मान्म, रास्कोट, नरहरिनाथ र महाबैको ओदा गरी १५ वटा आइसोलेसन वार्ड बनाइएको छ ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटक महतका अनुसार जल्लाभरी ८१ जनालाई क्वारेन्टाइनमा राखिएको छ । जसमा तिलागुफा नगरपालिकामा २ महिलासहित १५, पलाता गाउँपालिकामा १२, सान्नी त्रिवेणी गाउँपालिकामा १०, शुभकालिका र महाबै गाउँपालिकामा ६÷६ र रास्कोट नगरपालिकामा दुई जना छन् । नरहरीनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टका अनुसार भारतबाट मजदूरी गरेर फर्किएका नन्दादेवी मावि कोटवाडामा १३, रमा मावि कुमालगाउँमा आठ, जनता मावि रुप्सामा पाँच, शान्ति मावि माल्कोटमा चार गरी ३० जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

कालिकोट जिल्लामा चैत २३ गतेसम्म ४ हजार ९ सय ४९ जनाको स्वास्थ्य जाँच भएको छ । जसमा भारतबाट आएका ४५, मलेसियाबाट एक र कतारबाट आएका एक जना थिए । १ सय ६७ जना क्वारेन्टाइनमा राखिएकोमा १ सय ४२ जना घर फर्केका छन् । ६ जना नयाँ भर्न भएका छन् । हाल व्वारेन्टाइनमा ४४ जना रहेका छन् । चेक गरिएका मध्ये सबैको स्वास्थ्य ठिक रहेको जिल्ला अस्पताल कालिकोटका प्रमुख डा. भिष्म पोखरेलले जानकारी दिनुभयो ।

पलाता गाउँपालिकाले ज्याला मजदूरी गरेर जिविकोपार्जन गर्नेलाई खाद्यान्न वितरण गरेको छ । यस्तै खाडाचक्र नपाका विभिन्न वडाले सावुन, मास्क वितरण गरिरहेको छ । सान्नीत्रिवेणी गाउँपालिकाले वडा नं १ लुसा सेरिज्यूलाका २५ घरधुरीका दलित तथा विपन्न परिवारलाई चैत २० गते प्रतिपरिवार ३० किलो चामल, पाँच किलो दाल, एक पाकेट तेल, चिनी वितरण गरेको छ । यस्तै शुभकालिका गाउँपालिका–५ मा पनि ११ विपन्न परिवारलाई चामल दाल, तेल वितरण गरिएको छ ।

दैलेख जिल्ला प्रतिनिधि अमर सुनारका अनुसार नारायण नपामा ९ सय ५४ परिवारलाई प्रति व्यक्ति साढे २५ केजी चामल, प्रति परिवार २ केजी दाल, एक लिटर तेल र २ वटा सावुनका दरले वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीले जानकारी दिनुभयो ।

नगरपालिकाले खडा गरेको ३० लाख ५० रुपियाँको विपद व्यवस्थापन कोषबाट करिव १२ लाख रुपियाँ खर्च गरेर लकडाउनका कारण खाद्यान्न संकट भोगिरहेका मजदूर र सीमान्तकृत परिवारलाई खाद्यान्न व्यवस्थापन गरिएको प्रमुख प्रशासकीय अधिकृत नेपालीले बताउनुभयो ।

चैत २२ गते नारायण नपा–१ को नमूना बस्ती बादी समुदाय र रातामाटेको दलित बस्तीलाई नगरप्रमुख रत्नबहादुर खड्का र उपपप्रमुख सावित्री मल्ल नेतृत्वको टोलीले राहत वितरण गरेको र अरु वडामा सम्वन्धित वडाका जनप्रतिनिधिले वितरण गर्ने व्यवस्था मिलाइएको जानकारी दिइएको छ ।

नारायण नपाकाले दिएको जानकारी अनुसार वडा नं. १ मा १ सय ५९ परिवार, २ मा ५०, ३ मा १ सय ८६, ४ मा ६४, ५ मा ४५, ६ मा १ सय ३७, ७ मा ६९, ८ मा ५६, ९ मा ७४, १० मा ६२ र वडा नं. ११ मा २५ परिवारलाई उक्त राहत दिइने भएको छ ।

हुम्ला जिल्ला प्रतिनिधि नन्द सिंहका अनुसार सिमकोट गाउँपालिकाले कोरोना संक्रमणविरुद्ध लड्न भन्दै औषधिसहित स्वास्थ्य उपकरण खरिद गरेको छ ।

गाउँपालिका भित्रका स्वास्थ्य संस्थाका लागि ३० सेट पिपिई, १६ वटा थर्मोगन, सर्जिकल मास्क, पन्जा लगायतका सामग्री खरिद गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले जानकारी दिनुभयो ।

नेपाल खाद्य संस्थानको चामल ट्याक्टरमा ढुवानी
देशभर लकडाउन भइरहेको अवस्थामा हुम्लाका ७५ जना मजदुरले चामल ओसार्ने कामगर्दै आएपछि कोरोनाको संक्रमण फैलने डरमा चैत २३ गतेबाट ट्याक्टरमा ढुवानी गर्न अनुमति दिइएको प्रमुख जिल्ला अधिकारी बिनीता भट्टराईले बताउनु भयो ।

यसअघि विमानस्थलबाट नेपाल खाद्य संस्थान शाखा कार्यालयसम्म ओसार्नका लागि मजदुरले ३० किलोको ५० रुपियाँ पाउने गरी काम गर्दै आएका थिए ।

सल्यान जिल्ला प्रतिनिधि मिना बुढाथोकीका अनुसार सल्यानको बागचौर नगरपालिकाको कोरोना सम्बन्धि उद्वार तथा राहत कोषमा नगर प्रमुख लोकमान बुढाथोकीले गत एक वर्षको सेवा सुविधाको रकम रु. ४ लाख ५० हजार जम्मा गर्नुभएको छ । यसअघि उहाँले कार्यकालमा आफूले प्राप्त गर्ने रुपियाँ सामाजिक कार्यमा खर्च गर्ने घोषणा गर्नुभएको थियो ।

यसैगरी सेवा सुविधा बापत पहिला प्राप्त गरेको रकम मध्येबाट उपप्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यहरुले १ महिनाको रकम र स्वास्थ्य कर्मचारी र चालकबाहेक अन्य सम्पूर्ण शिक्षकहरु र कर्मचारीहरूबाट पनि एक महिनाको तलब जम्मा गर्ने नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ ।

नेकपा सल्यानका तीन नेताले सवै स्थानीय तहलाई लक्षित गरी २ सय बोरा चामल, २ सय पोका नुन, २ सय बोतल खानेतेल सहयोग उपलब्ध गराइएको छ ।

प्रदेश सभा सदस्य गुलाबजंग शाह, नेकपाका नेताद्वय मनोजकुमार प्रधान र प्रमोद श्रेष्ठले चैत २३ गते बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख गोविन्दकुमार पुनलाई सो सामग्री उपलब्ध गराउनु भएको हो । सो सामग्री वडा विपद् व्यवस्थापन समितिको सिफारिसमा एकद्वार प्रणालीमार्फत विपन्नलाई उपलव्ध गराइने प्रमुख पुनले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस शारदा नगरपालिकाका नगर सभापति सचेत शाहले जिल्लाभरका प्रहरीलाई पुग्ने गरी मास्क र ग्लोभ्स सहयोग गर्नुभएको छ । लकडाउन भएको अवस्थामा ड्युटीमा खटिने सुरक्षाकर्मीलाई संक्रमणको जोखिम हुने भन्दै ३ सय ५० थान मास्क र एक हजार थान ग्लोभ्स प्रदान गर्नुभएको हो ।

यस्तै सल्यान जेसिसले शारदा नगरपालिका अन्र्तगत शान्तिनगर, दारिमचौर भगवती खोला, दोमटी लगायतका स्थानका १ सय ६२ घरधुरीलाई राहत वितरण गरेको छ । जिल्लाका विभिन्न ठाँउ तथा जाजारकोट र वीरगन्ज लगायतका स्थानमा घर भएर जिल्लामा बस्दै आएका उनीहरूलाई १ सय ३१ जनाले आर्थिक सहयोग र चार जनाले जिन्सी सामान सहयोग गरेका थिए । संकलित २ लाख ५० हजार ७ सय ७८ रुपियाँबाट खाद्यान्न सामाग्रीहरू खरिद गरेर वितरण गरिएको सल्यान जेसिसका कोषाध्यक्ष दिपक बोहराले जानकारी दिनुभयो ।

सिद्धकुमाख गाउँपालिकाको बैठकले पालिकाका श्रमिक वर्ग, असहाय र विपन्न घरपरिवारलाई उपलब्ध गराइने राहत सम्बन्धि मापदण्ड, २०७६ पारित गरेको छ । तीन दिनभित्र लगत संकलन गरी एक घर परिवारलाई २५ केजी चामल, २ केजी दाल, १ प्याकेट नुन र १ लिटर खाने तेल राहत स्वरुप प्रदान गरिने अध्यक्ष चित्र बहादुर चलाउनेले जानकारी दिनुभयो ।

गाउँपालिकाले कोरोना भाइरसबाट उत्पन्न त्रासले मानसिक स्वास्थ्यमा पर्नसक्ने असरलाई कम गर्न मनोसामाजिक परामर्श प्रदान गर्न र आवश्यकता अनुसार औषधि वितरण गर्न सीएमसी नेपाललाई अनुमति पनि दिएको छ ।

डोल्पा जिल्ला प्रतिनिधि विष्णुप्रसाद देवकोटाका अनुसार लकडाउनको कारण दैनिक उपभोग्य बस्तुको अभाव देखिएको छ । अभाव पूर्ति गर्न त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिकाले वास्तविकता बुझेर सहजीकरण गर्ने भएका छन् ।

त्रिपुरासुन्दरी नगरपालिकाले मेयर ओमबहादुर बुढाको नेतृत्वमा कोरोना सकर्तकताको नाममा फजुल खर्च भए नभएकोबारे अनुगमन सुरु गरेको छ । बनेको क्वारेन्टाइनको क्षमता वृद्धि गरी पालिका भित्रका हरेक क्वारेन्टाइन ३० बेडको अनिवार्य बनाउने निर्णय समेत गरेको छ ।

मुगु जिल्ला प्रतिनिधि जीवन सेजुवालका अनुसार खाद्यान्न ढुवानीको जिम्मा लिएको विजय निर्माण सेवाले समयमा काम नगर्दा सोरु गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । चालु आर्थिक वर्षमा सोरुको लागि छुट्याइएको २ हजार क्वीन्टल खाद्यान्न मध्ये एक हजार जिल्लाबाट ढुवानी भइसकेको र बाँकी १ हजार सुर्खेतबाट ढुवानी नगरिएपछि लकडाउनको समयमा अभाव देखिएको हो ।

लकडाउनको कारण ढुवानी गर्न नसकिएको बिजय सेवाका प्रतिनिधि लोकेन्द्र शाहीले बताए । यता खाद्य संस्थान मुगुका निमित्त प्रमुख पुष्कर भामले जिम्मेवारी पुरा नगर्ने बिजयको धरौटी जफत गरेर नयाँ ठेकेदारलाई जिम्मा दिइने ठोकुवा गरे ।

सुर्खेत जिल्ला प्रतिनिधि दुर्गा थापाका अनुसार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको तयारीलाई तिव्रता दिन निर्देशन दिनुभएको छ । चैत २३ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको प्रदेश स्तरीय संकट नियन्त्रण केन्द्रको बैठकलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले भाइरस संक्रमण दोश्रो चरणमा पुगेकाले वडास्तरमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयंसेवकको एकीकृत समूह तयार गरी कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेपालमै पहिलो पटक सीमा नाकामा हेल्थ डेक्स स्थापना गरी स्वास्थ्य जाँच तथा आवागमनलाई कडाई गरेका कारण अहिलेसम्म कर्णाली प्रदेशमा कोरोना भाइरसको संक्रमण नदेखिएको उहाँको जिकिर थियो ।

लकडाउनपछि लुिकछिपी बिदेशवाट गाउँमा पुगेका नागरिकबाट संक्रमणको जोखिम रहेको बताउँदै मुख्यमन्त्री शाहीले बाहिरी मुलुकबाट गाउँमा पुगेका नागरिकको स्याम्पल संकलन गरेर परीक्षण कार्यलाई तिव्रता दिन पनि निर्देशन गर्नुभयो ।

साथै प्रदेश सरकारले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई संक्रमणबाट जोगाउन व्यक्तिगत सुरक्षा सामग्रीको व्यवस्था गरिरहेको र अपुग सामग्री आपूर्तिको लागि सामाजिक विकास मन्त्रालयमार्फत काम भईरहेको मुख्यमन्त्री शाहीले जानकारी दिनुभयो ।


इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत