कोरोना भाइरस सङ्क्रमितको स्थायी तथा अस्थायी ठेगाना खुलाउः सूचना आयोग

   ०७७ जेठ ७ गते

राष्ट्रिय सूचना आयोगले कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित तथा मृत्यु भएकाको स्थायी र अस्थायी ठेगाना स्पष्ट हुनेगरी खुलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आदेश दिएको छ ।

कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित र मृतकको स्थायी, अस्थायी ठेगाना स्पष्ट उल्लेख नहुँदा नागरिकमा भ्रम सिर्जना भएको भन्दै खुल्ने गरी सार्वजनिक गर्न आयोगले जेठ ६ गते एक विज्ञप्ति प्रकाशन गरी सो आदेश दिएको हो ।

‘स्थायी ठेगाना र अहिले बसोबास गरिरहेको स्थान वा सङ्क्रमण हुँदाको स्थान फरक फरक हुन सक्दछ र एउटा मात्र स्थानका बारेमा उल्लेख गर्दा सर्वसाधारणमा भ्रम तथा अन्योलता भएको पाइएको छ,’ आयोगका प्रवक्ता कमला ओली थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै विज्ञप्तिमा भनिएको छ ‘सूचनामा थप स्पष्ट गराई सर्वसाधारणमा भएको अन्यौल हटाउन आवश्यक देखिन्छ ।’

आयोगले सूचनाको हकसम्बन्धी ऐनको दफा १९ को खण्ड (ङ) बमोजिम मन्त्रालयलको सचिवालयलाई आदेश दिएको हो । साथै व्यक्तिगत विवरण प्रशारण गर्दा सम्बन्धित व्यक्ति वा परिवारमा दुखदायी र दुरगामी असर हुन सक्ने बताएको छ ।

विज्ञप्तिमा उल्लेख छ, ‘यस सन्दर्भमा सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा २८ ले सार्वजनिक निकायले आफूसमक्ष रहेका व्यक्तिगत प्रकृतिका सूचनाहरू अनाधिकृत प्रकाशन र प्रसारण नहुने गरी संरक्षण गरिराख्नु पर्नेछ भन्ने व्यवस्था गरेको तर्फ ध्यानाकर्षण गराउदछौँ ।’


विमला पौडेल