कोरोना भाइरस र कर्णाली प्रदेशको अवस्था

  ०७६ चैत २१ गते

कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिएको छ । त्यसबाट जोगिन राज्य, व्यक्ति र विभिन्न निकायहरू सचेततापूर्वक लागेका छन् । यस सम्बन्धमा जिल्ला जिल्लामा भएका पूर्व तयारी अन्तर्गत भएका काम, प्रगति तथा चाल्नु पर्ने कदमसहित इन्सेकका जिल्ला प्रतिनिधिबाट प्राप्त सूचनाका आधारमा चैत २१ गते तयार गरिएको कर्णाली प्रदेशको अवस्था विश्लेषण यस प्रकार रहेको छ ।

रुकुम पश्चिम जिल्ला प्रतिनिधि मनिषा केसीका अनुसार कोरोना भाइरस संक्रमित बिरामीलाई लक्षित गरी चौरजहारी नपा–२ स्थित शीतल माध्यमिक विद्यालयमा अस्थायी कोरोना अस्पताल निर्माण गरिएको छ ।

चौरजहारी अस्पताल र चौरजहारी नपाको निगरानीमा सञ्चालन हुने उक्त अस्पतालमा दैनिक २० जना बिरामीको उपचार गराउन सकिनेछ । त्यस्तै जटिल अवस्थाका बिरामीका लागि भने चौरजहारी अस्पतालमा ८० बेडको आइसोलेसन वार्ड तयार गरेको अस्पतालका प्रशासकीय अधिकृत डिलबहादुर गिरीले जानकारी दिनुभयो ।

त्यसैगरी बाँफीकोट गाँउपालिका–२ मा वडा कार्यालयले युनिट एक्सन टिममार्फत कोरोना भाइरस विरुद्ध विभिन्न काम गरिरहेको छ । २० देखि ३० घरपरिवारको एउटा एक्सन टिममार्फत वडामा कोरोना विरुद्ध विभिन्न काम गरिरहेको वडाध्यक्ष धनबहादुर खत्रीले बताउनुभयो ।

अध्यक्ष खत्रीका अनुसार टिमले साबुन र मास्क वितरणका साथै क्वारेन्टाइनमा बस्नुपर्ने कारण, कोरोनाबाट बच्ने उपाय, लकडाउनको पालना गर्ने गराउने, विवरण सङ्कलन गर्ने काम गरिरहेको छ ।

यसैगरी बाँफीकोट गाउँपालिकाको ३ नम्बर वडा कार्यालयले अति विपन्न ९३ घरपरिवारलाई चामल र तेल वितरण गरेको छ । वडाध्यक्ष चन्द्रबहादुर केसीले आफै विपन्न परिवारको घर घरमा पुगेर एक/एक बोरा चामल र एक/एक लिटर खाने तेल वितरण गर्नुभएको हो ।

दैलेख जिल्ला प्रतिनिधि अमर सुनारका अनुसार मजदूरीको भरमा जिविकोपार्जन गर्नेहरूको तथ्याङ्क अभावमा दैलेखका ११ ओटै स्थानीय तहले लकडाउनमा खाद्यान्न वितरण गर्न सकेका छैनन् ।

लकडाउनका कारण मजदूरी गर्न नपाएर खाद्यान्न संकट भोगेका परिवारलाई स्थानीय तहहरूले व्यवस्थापन गर्ने भनी चैत १६ गते संघीय सरकारले निर्णय गरेको पाँच दिनसम्म पनि दैलेखमा सो कुरा लागु हुन सकेको छैन ।

जिल्ला सदरमुकाम रहेको नारायण नपामा ९ सय परिवारलाई प्रति व्यक्ति साढे २ केजी चामल, प्रति परिवार २ केजी दाल, आधा लिटर तेल र १ केजीका दरले वितरण गर्ने योजना बनाएको प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीले जानकारी दिनुभयो ।

दुल्लू नगरपालिकामा मजदूरी गरेर मात्र छाकटार्ने ५ सय भन्दा बढी परिवारलाई खाद्यान्न सहयोग गर्ने तयारी गरेको नगरप्रमुख घनश्याम भण्डारीले बताउनुभयो ।

भैरबी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढा र डुंगेश्वर गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर मल्लले चैत २० गतेको विपद व्यवस्थापन समितिको बैठकले मजदूरीको भरमा जिविकोपार्जन गर्नेहरूको तथ्याङ्क लिने निर्णय गरेको र तथ्याङ्क लिने काम सुरु भएको जानकारी दिनुभयो ।

सरकारले घोषणा गरेको लकडाउन घोषणा पालना गरेकै कारण मजदूर र सीमान्तकृत परिवारले खाद्यान्न संकट भोग्न परेको अवस्थामा सरकारले भोक लागेको बेला खाद्यान्न दिन नसक्नु राज्यको कमजोरी रहेको प्रतिनिधिसभा सदस्य पार्वती बिशुन्केले टिप्पणी गर्नुभएको छ ।

सांसद बिशुन्केले भन्नु भयो– ‘मजदूर र सीमान्तकृत समुदायकै मत लिएर सत्ता प्राप्त गरेका स्थानीय सरकारले अप्ठ्यारोको बेला छाकटार्न प्रवन्ध गर्न नसक्नु स्थानीय सरकारको कमजोरी हो ।’

सल्यान जिल्ला प्रतिनिधि मिना बुढाथोकीका अनुसार लकडाउनको समयमा अनावश्यक हिडडुल नर्गन सचेत गराउदा उल्टै प्रहरीमाथि अभद्र ब्यवहार गरेको आरोपमा प्रहरीले चैत २० गते एकजनालाई गिरफ्तार गरेको छ । जिल्लाको बागचौर नपा–२ निवासी झक्कु बस्नेतलाई नियन्त्रणमा लिएर मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बागचौर बजारमा साँझ ५.३० बजे हिडडुल गरिरहेको अवस्थामा घर बाहिर निस्कन हुँदैन भनेर सम्झाउदा उल्टै प्रहरीलाई नै अभद्र व्यवहार गरेकाले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुबिधा र नैतिकता विरुद्ध कसुर मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयको प्रेस विज्ञप्तीमा भनिएको छ ।

निजलाई जिल्ला अदालत सल्यानबाट पाँच दिनको म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय थारमारेको प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच भारत र विभिन्न जिल्लाबाट आएका १६ जनालाई कालीमाटी गाउँपालिका ७ घुइयाबारीस्थित क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा बसेकाहरूलाई खाने बस्ने व्यवस्था गाउँपालिकाले गरेको वडाध्यक्ष नैनसिंह राणाले बताउनुभयो ।

गाउँपालिकाले गाउँगाउँमा गएर बाहिरबाट आएका व्यक्तिहरूको तथ्याङ्क सङ्कलन गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मार्शल कुमार वलीले जानकारी दिनुभयो ।

यस्तै चैत २० गते कपुरकोट गाउँपालिकाको वडा नम्बर २ मा १६ घरपरिवारलाई चामल, नुन, तेल लगायतका सामग्री वितरण गरिएको अध्यक्ष भिम बहादुर सेनले जानकारी दिनुभएको छ ।

कपुरकोट गाउँपालिका २ गर्पा स्थित वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रति परिवार २५ किलो चामल, एक÷एक किलो दाल, नुन, एक लिटर तेल र एउटा साबुन वितरण गरिएको हो ।
गाउँपालिकाको विपद व्यवस्थापन कोषमा १० लाख ८२ हजार रुपियाँ रहेको र यसबाटै राहत वितरण तथा कोरोना रोकथामका क्रियाकलाप संचालन गरिने अध्यक्ष सेनले बताउनुभयो ।

हुम्ला जिल्ला प्रतिनिधि नन्द सिंहका अनुसार लकडाउनको समयमा हवाई यातायातबाट खाद्यान्न ढुवानी गर्दा कोरोना भाइरसको संक्रमणको खतरा हुन सक्ने भन्दै हुम्लाका स्थानीय युवाले विरोध जनाएका छन् ।

सम्भावित संक्रमणबाट जोगिनका लागि लकडाउन अवधिभर हवाई यातायात तत्काल रोकेर जिल्लामा संक्रमण भित्रिन नदिनका लागि चैत २१ गते जिल्ला प्रशासन कार्यालय, हुम्लामा ज्ञापन पत्र पेश गरेको युवा रबिन कुमार बस्नेतले बताउनु भयो ।

जिल्लाबासी भोकले भन्दापनि रोगले मरिन्छ कि भन्ने त्रास पैदा भएको हुनाले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको स्थानीय प्रताप लामाको भनाई छ । ज्ञापन पत्रलाई केन्द्रको आपूर्ति मन्त्रालयसम्म पुराउने प्रमुख जिल्ला अधिकारी विनीता भट्टराईको भनाई छ ।

क्वारेन्टाइनमा बढ्यो सहयोग
क्वारेन्टाइनमा बस्नेहरूका लागि अत्यावश्यक तथा मनोरन्जनका सामानहरू सौजन्य प्राप्त भइरहेका छन् ।

नाम्खा गाउँपालिका–१ का छिटुप लामाले डिस होम जडान गरी दिएका छन् भने हाल क्वारेन्टाइन सञ्चालन भइरहेको होटलका प्रतिनिधि बिजय लामाले टिभिको व्यवस्था गरेका छन् ।

त्यसैगरी आधार विकास हुम्लाले साबुन तथा सेनिटाइजरको ब्यबस्था गरेर क्वारेन्टाइनमा बस्नेका लागि सहजता बनाई दिएको छ । हालसम्म उक्त क्वारेन्टाइनमा २० जना जिल्ला बाहिरबाट पैदल हिडेर आएका हुम्लाबासी रहेका छन् ।

क्वारेन्टाइनमा बस्नेहरूको माग अब इन्टरनेट जडान गर्नुपर्ने रहेको छ । त्यसका लागि पनि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी विनीता भट्टराईले बताउनु भयो ।

हुम्लामा १ सय क्वारेन्टाइन २० आइसोलेसन वार्ड
जिल्लाभर १ सय ३ क्वारेन्टाइन र २० वटा आइसोलेसन वार्ड तयार पारिएको छ । सातै गाउँपालिकामा क्वारेन्टाइन तयार गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका निमित्त प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी रामप्रसाद घर्तीमगरका अनुसार हालसम्म चंखेली नाकाबाट २ सय ३४ जना र कर्बाडी नाकाबाट ५ सय ७० जना गरी जम्मा ८ सय ४ जना हुम्ला प्रवेश गरेका छन् । जसमध्ये भारतबाट आएका २८ जना हुन ।

डोल्पा जिल्ला प्रतिनिधि विष्णुप्रसाद देवकोटाका अनुसार जिल्ला अस्पतालमा स्थापना गरिएको आइसोलेसनमा भर्ना भएका से–फोक्सुण्डो राष्ट्रिय निकुन्जका कर्मचारीको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल डोल्पाले जनाएको छ ।

दैनिक उपभोग्य सामानको किनबेचका लागि किराना पसलहरू विस्तारै खुल्न थालेका छन् ।

सुर्खेत जिल्ला प्रतिनिधि दुर्गा थापाका अनुसार कोरोनाको संत्रासले भारतका विभिन्न ठाउँबाट फर्किने क्रममा सुर्खेतका ३७ जनाको समूह बैतडीको पञ्चेश्वर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका छन् ।
यसैगरी सुर्खेतको गुर्भाकोट गाउँपालिकाले ५० भन्दा माथीको उमेरका व्यक्तिलाई मास्क र प्रत्येक घरलाई सावुन वितरण गरेको छ ।

वीरेन्द्रनगर नपाले मजदूर र अति विपन्न परिवारलाई राहत वितरण गरेको जनाएको छ । चैत २१ गते वडा नम्बर ८ र १२ मा १ सय ८९ मजदूर र अति विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । सबै वडामा रहेका मजदूरका लागि खाद्यान्न वितरण गर्न वीरेन्द्रनगर नपाले ८० लाख बजेट छुट्टाएको प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिनु भयो ।

जाजरकोट जिल्ला प्रतिनिधि दिनेश श्रेष्ठका अनुसार कोरोना भाइरसको संक्रमण फैलन सक्ने जोखिमलाई ध्यानमा राखेर जिल्लामा पहिलो पल्ट बारेकोट गाँउपालिका र भेरी नपाले क्वारेन्टाइन तयार गरेका छन् ।

जिल्ला सदरमुकामस्थित त्रिभुवन माविको भवनमा भेरी नपाले १० बेडको क्वारेन्टाइन तयार गरिएको र नेपाली सेनाले थप नौ ओटा वेड थप गरेपछि १९ वेडको क्वारेन्टाइन तयार गरिएको नगर प्रमुख चन्द्रप्रकाश घर्तीले बताउनु भयो ।

नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनका लागि स्वास्थ्य सेवा कार्यालयले १० ओटा बेड, उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीकालागि आवश्यक दुई सेट व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) र केही मास्क समेत उपलब्ध गराएको नगर प्रमुख घर्तीले जानकारी दिनु भयो ।

त्यस्तै क्वारेन्टाइनमा नेपाल रेडक्रस सोसाईटी जाजरकोट शाखाले १० थान ब्लाङ्केट र चार थान बाल्टी तथा सेभ द चिल्ड्रेन र पाँच तारा युवा संरक्षक मञ्चले भान्साका लागि आवश्यक सामग्री उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।

वारेकोट गाउँपालिकाले वीरेन्द्र ऐश्वर्य माविमा १० ओटा बेडको क्वारेन्टाइन बनाएको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनु भयो । गाउँपालिका प्रवेश गर्ने सवै नाकामा हेल्प डेक्स राखेर स्वास्थ्य जाँच गर्ने काम निरन्तर भइरहेको उहाँको भनाइ छ ।

जिल्लामा हालसम्म ५ हजार ५ सय ६३ जनाको स्वास्थ्य चेकजाँच गरिएकोमा कसैमा पनि कोरोनाको लक्षण नदेखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै जुनीचाँदे गाउँपालिकामा ४२ जना क्वारेन्टाइनमा छन् ।

जाजरकोट जिल्लाबाट मजदुरी गर्न नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर, काठमाण्डौं, तनहुँ, पर्सा लगायतका जिल्लामा गएका मजदुरहरू लकडाउनका कारण समस्यामा परेको सन्दर्भमा उद्दार तथा सहजताका लागि नेकपा केन्द्रिय सदस्य निरज आचार्यको पहलमा व्यवस्थापन भइरहेको छ ।


इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत