कोरोना भाइरस रोकथाम र नियन्त्रण सम्बन्धमा प्रदेश २ को अवस्था विश्लेषण

  ०७६ चैत १९ गते

प्रदेश नं. २ मा कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि उच्च सतर्कता अपनाउँदै प्रभावकारी बनाउने तयारी गरिएको छ । सतर्कताका लागि प्रदेश सरकार र स्थानीय सरकारले गरेका पूर्व तयारी र समस्याहरुको जिल्लागत अवस्था यस प्रकार रहेको छ ।

धनुषा जिल्ला प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार प्रदेश २ को आठ ओटै जिल्लामा ५ सय ४ जनालाई क्वारेन्टाइनमा राखिएक छन् । होम क्वारेन्टाइनमा १ सय ५१ जना छन् । आइसोलेशनमा १७ जना रोगी रहेको कोरोना भाइरस द्रुत प्रतिकार प्राविधिक समिति संयोजक बिजय झाले जानकारी दिनु भएको छ ।

झाका अनुसार हाल प्रदेश २ बाट परीक्षणका लागि टेकु प्रयोगशालामा पठाइएको आठ जनाकै स्वाबको रिर्पोट निगेटीव आएको छ । चैत १७ गते धनुषाबाट १५ जनाको स्वाब परीक्षणका लागि टेकु राष्ट्रिय प्रयोगशालामा पठाइएको छ ।

प्रदेशमा ९९ स्थानमा क्वारेन्टाइन स्थापना गरिएको छ, त्यसमा २ हजार ४६ बेड राखिएको छ । आइसोलेशनको ६९ ओटा बेड रहेको झाले बताउनु भएको छ ।

भारतको दिल्लीमा मुसलमानहरुको आयोजनामा सम्पन्न धार्मिक सम्मेलनमा सहभागी नेपाली मुसलमानहरुको व्यापक खोजी कार्य भइरहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी जयराज सापकोटाले जानकार दिनु भएको छ । दोस्रो चरणको लकडाउन चैत १९ गतेबाट प्रारम्भ हुँदैछ । पहिलो चरणको भन्दा बढी प्रभावकारी बनाउने तयारी गरिएको छ ।

सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार भारतको नयाँ दिल्लीस्थित निजामुद्दीनमा मुस्लिम धर्म प्रचारक संस्था तब्लिगी जमातद्वारा आयोजित धार्मिक सभा मरकजमा सहभागी भएर घर फर्किएकाहरुको सप्तरी प्रशासनले चैत १९ गतेदेखि तिब्र खोजी सुरु गरेको छ । भारतको विभिन्न राज्यमा आयोजित जमातबाट फर्किएकाहरु समेत ४५ जना थपिएपछि सप्तरीको क्वारेन्टाइनमा बस्नेको सङ्ख्या १ सय ८१ पुगेको छ ।

धार्मिक सभा मरकजमा सहभागी भएर नेपाल फर्किएको खबर पछि चैत १९ गते विहानैदेखि सुरक्षाकर्मीहरु घर–घर पुगेर उनीहरुको खोजी गर्न सुरु गरेका हुन् । भारतीय सञ्चार माध्यमहरुले तब्लिगी जमात मरकजका सहभागीहरुमा कोरोना भाइरस संक्रमण देखिएको र केहीको मृत्यु भएको समाचार सार्वजनिक गरेपछि सप्तरी जिल्लामा सन्त्रास छाएको छ ।

नेपाल–भारतको सीमा–नाका बन्द भएपनि चैत १८ गते मध्यराति भारतको फारबिसगञ्जबाट घर फर्किएका राजविराज नपा–१ का एक जना, वडा नम्बर ३ र ४ का दुई/दुई जना र वडा नम्बर ७ र ९ का एक/एक जना गरी सात जनालाई क्वारेन्टाइनमा पठाइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिनु भएको छ ।

उनीहरुको खोजीमा प्रमुख जिल्ला अधिकारी खनालसहित एसपी कृष्ण प्रसाई, सशस्त्र एसपी उद्धव न्यौपाने, कर्णेल गुप्त कुँवर, राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास स्वयम् घर–घर पुगेका थिए ।

भारतबाट लुकिछिपी आएका कतिपय भने स्वयम् क्वारेन्टाइनमा पुगेका छन् ।

स्वास्थ्य जाँच नगराई मध्यराति आई पुगेका उनीहरु घरमै एकान्तवासमा बसे पनि सुरक्षाका लागि राजविराज नपा–४ स्थित मो. ताहिरको घरमा छुट्टै क्वारेन्टाइन बनाई राखिएको राजविराज नपा–४ का वडा अध्यक्ष अख्तर अलीले बताए ।

सप्तरीको बोदे बर्साइन नपा–५ स्थित चन्द्र नमूना माविमा पाँच जना, कञ्चनरुप नपा–१ वैरवास्थित लक्ष्मीनारायण माविमा १७ जना, हनुमाननगर नपा–२ स्थित सकरदही माविमा आठ जना, रुपनी गाउँपालिका–५ बसविट्टीस्थित जनता आधारभूत माविमा चार जनालाई क्वारेन्टाइनमा थपिएको छ ।

यसैगरी बलान बिहुल गाउँपालिका–१ स्थित स्वास्थ्य चौकी मल्हनियामा पाँच जना, राजगढ गाउँपालिका–३ स्थित जसमावि नर्घो र महादेवा गाउँपालिका–३ स्थित मावि बथनाहामा दुई/दुई जना, सुरुङ्गा नपा–५ स्थित मसिलाल मावि र तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित लबनमाविमा एक/एक जना थप गरिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

यसरी थपिएकामा अधिकाँश इस्लाम धर्मालम्बीको जमात र मरकजबाट फर्किएकाहरु छन् ।

भारतको विभिन्न ठाउँबाट घर फर्किएकाहरुलाई जनप्रतिनिधीहरुको सहयोगमा क्वारेन्टाइनमा राख्ने काम भइरहेको छ’–एसपी कृष्ण प्रसाईले भने–‘कतिपय स्वयम् क्वारेन्टाइनमा आइरहेका छन् भने नआएकाहरुको खोजी भइरहेको छ ।’

सप्तरीबाट दुई दर्जन भन्दा बढी व्यक्ति दिल्ली गएर फर्केको आशंका गरिए पनि फेला परेकाहरुले दिल्ली नगई भारतको विभिन्न राज्यमा भएको जमातबाट फर्किएको बताउनु भएको छ ।

सप्तरीको बोदे बर्साइन नगरपालिकामा गत फागुन ३ देखि ५ गतेसम्म भएको इस्लामिक धार्मिक सभा इज्तिमा सकिएलगत्तै मुस्लिम समुदायका व्यक्तिहरु जमात र मरकजमा सहभागी हुन विभिन्न ठाउँ जान्छन् । दिल्लीको बैठकमा सहभागीहरु दिल्लीकै क्वारेन्टाइनमा रहेको उहाँहरुले बताउनु भएको छ ।

कोरोनाको संक्रमण रोकथामका लागि लकडाउन गरेका बेला मुस्लिम समुदायको भेला गराई कोरोना संक्रमण फैलाएको आरोपमा जमातका प्रमुख मौलाना सादविरुद्ध भारत सरकारले मुद्दा चलाएको छ । भारत दिल्लीको निजामुद्दीनस्थित जमातमा सहभागीहरुमा कोरोनो संक्रमण देखिएको र केहीको मृत्यु समेत भएको भारतीय सञ्चार माध्यमले जनाएपछि भारतबाट फर्किएका सबैमाथि प्रहरीले निगरानी बढाएको छ ।

दिल्लीको बैठकमा नपुगेको जनाउँदै क्वारेन्टाइनमा आएकाहरुले ४० दिनको जमातमा भारत बिहारको विभिन्न जिल्लाको मस्जिदहरुमा बसेको र ४३ औँ दिनमा चैत १८ गते राति घर फर्किएको बताए । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका प्रमुख मेसु डा. दासले जमातबाट राजविराज फर्केका सातै जनाको स्वास्थ्य अवस्था सामान्य रहे पनि क्वारेन्टाइनमा राख्नु आवश्यक रहेको बताउनु भयो ।

सप्तरीको १८ वटा स्थानीय तहमा रहेको २८ वटा क्वारेन्टाइनमा चैत १९ गते ४५ पुरुष थपिएकोमा दुई महिला र २८ पुरुषलाई घर डिस्चार्ज गरिएको छ ।

सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार विश्वभर देखिएको कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्न सिरहा जिल्लामा १७ ओटै स्थानीय तहको सहकार्यमा ४० बेडको आइसोलेसन अस्पताल र १७ ओटै स्थानीय तहमा रहने गरी १ सय ९१ बेडको क्वारेनटाइन तयार पारेको प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईले जानकारी दिनु भएको छ ।

प्रमुख जिल्ला अधिकारी गुरागाईका अनुसार सिरहा नगरपालिकास्थित बज्रमोहन झब्बुराम विद्यालयमा १३ बेड, लहान नगरपालिका पडरिया थारुटोल विधालयमा १५ बेड, धनगढीमाई नगरपालिकाको नैनपुर स्वास्थ्य चौकीमा पाँच बेड, गोलबजार नगरपालिकाको गोलबजार विधालयमा २० बेड, मिर्चैया नगरपालिकास्थित मारुती होटलमा १० बेड र होलिडे होटलमा १५ बेड, कर्जन्हा नगरपालिकास्थित जनसेवा उच्चमाविमा १० बेड, कल्याणपुर नगरपालिकास्थित स्वास्थ्य चौकी भवनमा १० बेड, सुखिपुर नगरपालिकाको सुखिपुर माविमा ६ बेड, भगवानपुर गाउँपालिकाको आधारभुत विधालय अभयनगरमा तीन बेड, सखुवानन्कारकट्टी गाउँपालिकाको महेश्वारी माविमा ६ बेड, नवराजपुर गाउँपालिकाको जनता माविमा ६ बेड, औरही गाउँपालिकाको सुन्दुर जनता माविमा सात बेड, बरियारपट्टी गाउँपालिकाको बरियारपट्टी विधालयमा १० बेड, अर्नमा गाउँपालिकाको कुबि श्रेष्ठ विधालयमा पाँच बेड, ब्रहमपुरी माविमा ६ बेड, लक्ष्मीपुर पतारी गाउँपालिकाको स्वास्थ्य चौकी भवनमा २५ बेड, विष्णुपुर गाउँपालिकाको जनता माविमा १२ बेड र नरहा गाउँपालिकाको हेल्थपोष्ट भवनमा सात बेड गरी १ सय ९१ बेडको क्वारेन्टाइन तयार गरिएको छ ।

क्वारेन्टाइनमा बस्ने विरामीहरुको लागि खाने सम्पुर्ण व्यवस्थाहरु स्थानीय तहलेनै गरेको र सुरक्षा तथा उपचारको लागि सुरक्षा निकाय र स्वास्थ्य कार्यालयले सहयोग गरेको प्रमुख जिल्ला अधिकारी गुरागाइले जानकारी दिनु भएको छ ।

यसैगरी सिरहा अस्पतालमा सात बेड, लहान अस्पपतालमा पाँच बेड, महेन्द्र गेनाई अस्पतालमा १८ बेड, आरके मेडिसिटि अस्पतालमा पाँच बेड र फुलकुमारी अस्पतालमा पाँच बेड गरी ४० बेडको आइसुलेसन बेडहरु तयार गरेको स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले बताउनु भएको छ ।

महेन्द्र गेनाइ अस्पताललाई हाल अस्थाइ रुपमा आजैदेखि संचालन हुने गरी कोरोना भाइरस विशेष अस्पताल संचालनमा ल्याइएको उनले बताउनु भयो । हालसम्म आइसोलेसन वार्डमा कोइ पनि उपचारको लागि नरहेको प्रमुख जिल्ला अधिकारीले बताउनु भएको छ ।

लहान अस्पतालका मेसु सुनिल कुशवाहाले कोरोना उपचारको लागि सबै तयारी पुरा भएको भएपनि प्रर्याप्त रुपमा पिपिइको व्यवस्था नभएको बताउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी बिनोद घिमिरेका अनुसार क्वारेनटाइनमा शंकास्पद विरामीहरुरुलाई निगरानीमा राख्ने क्रम जारी रहेको बताउनु भएको छ । उहाँका अनुसार केही व्यक्तिहरु क्वारेन्टाइनमा बसेर गइ सकेका छन् भने चैत १९ गते सम्म ३८ जना क्वारेन्टाइनमा रहेको जानकारी दिनु भयो ।

स्थानीय तहहरु, केही व्यक्ति तथा व्यापारीहरुले गरीव तथा विपन्न समुदायका व्यक्तिहरुलाई राहत सामाग्रीहरु बितरण गरिहेका छन् ।

महोत्तरी जिल्ला प्रतिनिधि अजय कुमार साहका अनुसार औरही नगरपालिकामा भारतबाट आएका तीन जना मजदुरलाई चैत १९ गते क्वारेन्टाइनमा राखिएको छ । चैत १८ गते राती नेपाल आएका तीनै जनालाई उपचारका लागि प्राथामिक स्वास्थ्य चौकी औरहीमा निर्माण गरिएको क्वारेन्टाइनमा राखि चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको औरही नगरपालिकाको कार्यालयले जनाएको छ ।

क्वारेन्टाइनमा राखिएको तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको नगरपालिकाका स्वास्थ्य सहसंयोजक रबिन्द्रकुमार यादवले जानकरी दिनु भएको छ ।

यद्यपी उनीहरुलाई निगरानीको लागि क्वारेन्टाइनमा १४ दिन राख्नुपर्ने भएकोले उनीहरुलाई गाँस, बासको प्रबन्ध मिलाइएको औरही नगरपालिकाका नगरप्रमुख सुनिल कुमार यादवले बताउनु भएको छ ।

बारा जिल्ला प्रतिनिधि भोलानाथ पौडेलका अनुसार कलैया अस्पतामा २० बेडको आइसुलेसनको व्यवस्था गरिएको छ । नौ जनालाई आइसुलेशनमा राखिएकोमा तीन जनालाई १४ दिन पुगेपछि डिस्चार्ज गरिएको कलैया अस्पतालका डा. प्रेम शंकर चौरसियाले बताउनु भएको छ । जिल्लामा २ सय ३० जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

मेडिकलकलेजले भर्ना भएका विरामी उपचार नगरि रिफर गरेकाले एक युवाको मृत्यु
नेपाल अधिराज्यको संविधान २०७२ ले प्रत्येक नागरिकलाई राज्यबट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित नगर्ने व्यवस्था गरेको छ । संविधानको भाग ३ को धारा ३५ मा नागरिकको स्वास्थ्य सम्बन्धी हक भएपनि कलैया उमनपा–२२ धोधाका २२ वर्षीय बिजय कुशवाहाको उपचारको अभावमा चैत १७ गते विहान पाँच ओटा अस्पतालले भर्ना नदिएकाले छैठौँ अस्पतालले मृत्य घोषणा गरेको छ ।

चैत १४ गते गहुँझार्ने मेसिनथ्रेसर चलाउँदा दुबै खुट्टाका पिडौला, दायाँ खुट्टाको पैताला र दायाँ हातको कुहिना र काधको बिचमा चोट लागेकाले स्वास्थ्य चौकी भोडामा ३३ बटा टाका लगाएर आवश्यक औषधी र सल्ला दिएर पठाएको जिल्ला प्रहरी कार्यालयका सिएमए द्वारिका शर्माले बताउनु भएको छ ।

बिरामीलाई चक्कर लागि बान्ता आएपछि नेशनल मेडिकल कलेज बीरगंजमा चैत १५ गते राति १० बजे भर्ना भइ उपचार गराएको पीडित परिवारका महेशप्रसाद कुशवाहाले बताउनु भएको छ । चैत १६ गते बिहान ६ बजे ९९ डिग्री ज्वरो आयो र सुक्का खोकीका साथमा ब्लड आएकाले चिकित्सकको सल्लाह अनुसार छातिको एक्सरे हेर्नु भयो ।

कोरोनाको शंका लागेको भनि दिउँसो दुई बजेसम्म विरामीलाई कुनै उपचार भएन, अक्सिजन निकाले, डिस्चार्ज पूर्जी दिए र नारायणी उपक्षेत्रीय अस्पतालमा जानु भनि पठाएको कुशवाहाले बताउनु भयो । नेशनल मेडिकल कलेजका निर्देशक बसरुदिन अंसारीले बिजयलाई नोवेल कोरोना भाइरसका लक्ष्यणहरु ज्वरो, स्वाश लिन समस्या, सुक्खा खोकी, रुघा र एक्सरे समेत अध्ययन गर्दा शंका लागेकाले अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र अन्य विरामीको स्वास्थ्यमा ध्यान दिएर नारायणी उपक्षेत्रिय अस्पतालमा पठाएको बताउनु भयो ।

नेशनल मेडिकलले कोरोना लक्षित गरेका हुनाले परीक्षण गरी बिरामीलाई बीरगंज हेल्थ केयरमा लगेर क्वारेन्टाइनमा राख्न सल्लाह दिएको नारायणी उपक्षेत्रिय अस्पताल बीरगंजका मेडिकल सुपरिटेण्डेन्ट मदन उपाध्यायले बताउनु भयो । बीरगंज हेल्थ केयर, गण्डक हस्पिटल र बौधामाई अस्पतालले मेडिकल कलेजले कोरोनाका लक्षण देखिएको भनेकाले नराखेको कुशवाहाले बताउनु भयो ।

उपचार गर्न एम्बुलेन्समा काठमाडौँ जाँदा बाटोमै फर्पिङ्गमा विरामीले सास नफेरेकाले मृत्यु भएको आशंका भएको कुशवाहाले बताउनु भयो । मृत्यु भएपनि फर्पिङ्गबाट वीर अस्पताल पुग्दा कोरोनका विरामी किन ल्याएको भनि अस्पताल प्रशासनले हकारेको कुशवाहाले बताउनु भयो ।

चैत १७ गते विहान ३ बजे विरामी मृत्य घोषणा गरि कोरोना परीक्षण गर्न मृतकको स्वाब पठाएको कुशवाहाले बताउनु भयो ।

चैत १८ गते टेकु अस्पतालले कोरोना परीक्षण प्रतिवेदन नेगेटिव भएको बताएपछि चैत १८ गते राति १० बजे नीजि निवासमा आएर हिन्दु परम्परा अनुसार मृतकको दाहसंस्कार गरेको कुशवाहाले बताउनु भयो ।

पर्सा जिल्ला प्रतिनिधि केसि लामिछानेका अनुसार कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचारका लागि बीरगंजको नारायणी अस्पतालमा २४ घण्टाभित्र २० बेडको आइसोलेसन वार्ड बनाइने भएको छ । स्थानीय स्तरमै सहयोग संकलन गरेर २० बेडको वार्ड बनाउन लागिएको हो । यसअघि नारायणी अस्पतालले पाँच बेडको आइसोलेसन वार्ड तयार गरेको थियो ।

पीपीई लगायतका अन्य सुरक्षा र उपचारका सामाग्री नभएको भन्दै नीजि अस्पतालले कोरोना भाइरस संक्रमणको शंकास्पद विरामीलाई समेत भर्ना लिन मानिरहेको छैन ।

आइसोलेसन वार्ड मात्रै बनाउन ६ लाख रुपियाँ लाग्ने र बेडसहितको व्यवस्थापन मिलाउन ९ लाख रुपियाँ लाग्ने अनुमान गरिएको छ । अस्पतालको आकस्मिक कक्षमाथि वार्ड बनाउने काम चैत १९ गतेबाटै सुरु गरिएको छ ।

आकस्मिक कक्षको माथिल्लो तल्लामा अहिले चार वेडको आइसीयू सञ्चालनमा छ भने अगाडी तर्फको भागमा पिलर उठाइएको भएपनि गाह्रो लगाइएको छैन । त्यही खाली ठाउँमा २४ घण्टाभित्र २० वेडको आइसोलेशन वार्ड तयार गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनु भएको छ । २० वेडको आइसोलेशन वार्ड बनाउन जगदम्बा सिमेन्ट, रुंगटा वेलफेयर लगायत दाताले सहयोग गरेका छन् ।

राहतका लागि नामावली संकलनका क्रममा झडप, सात जना घाइते, उपचार हुँदै
राहत वितरणका लागि नामावली संकलनको विषयमा विवाद हुँदा पर्साको बीरगंज महानगरपालिका–१९ बिन्दवासीनीको बरेवा टोलमा चैत १९ गते झडप हुँदा सात जना घाइते भएका छन् ।

घाइते हुनेमा ४७ वर्षीय प्रभू यादव, ३५ वर्षीय उदेश यादव ४३ वर्षीय गर्भु यादव, ५० वर्षीय शम्भु यादव, २८ वर्षीय बिनोद यादव, ५० वर्षीय उपेन्द्र यादव लगायत रहेका छन् । घाइते मध्य शम्भू र बिनोदको बीरगंजको हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइतेहरुको नारयाणी अस्पतालमा उपचार भइरहेको छ ।

समितिले लकडाउनका बेला समस्यामा परेका परिवारको पहिचान गरी बिवरण तयार गर्ने जिम्मेवारी पाएको टोलीले नामाबली संकलन गर्दै थियो । राहत बितरण समितिमा सदस्य रहेका नामावली संकलनमा आफ्ना नातेदार नाम संकलन गरेको भन्दै स्थानीय उपेन्द्र यादवले बिरोध गरेका थिए ।

राहतको सामाग्री सँगै पैसा पनि दिन पर्ने माग उपेन्द्र यादवले राखेकोले विवाद भएको वडा अध्यक्ष सन्तोष तिवारीले बताउनु भयो ।

महानगरपालिकाले ३२ ओटै वडामा राहत वितरणका लागि रकम पठाएको छ । वडा नम्बर १९ मा राहत सामाग्री बाड्न चैत १८ गते १ लाख २५ हजार रुपियाँ पठाएको थियो । उक्त रकमबाट राहत सामाग्री बाड्नका लागि वडा अध्यक्ष सन्तोष तिवारीको अध्यक्षतामा चैत १८ गते बसेको बैठकले सर्वदलीय राहत बितरण समिति गठन गरेको थियो ।

अस्पतालमा उपचार गराइरहेका समितिका सदस्य प्रभुले चैत १९ गते बिहान लगत संकलन गर्ने क्रममा समितिमा नै नरहेका उपेन्द्र र उनका परिवारका सदस्यहरुले विवाद गरी आफूमाथि हातपात गरेको बताउनु भयो ।

झडपमा घाइते भएर उपचार गराइरहेका उपेन्द्र यादवले लगत संकलनका क्रममा प्रभु यादवले पक्षपात गरेपछि आफुले विरोध गर्दा प्रभु र उनीसहितका व्यक्तिहरु आफुमाथि जाइ लागेर कुटपिट गरेको बताउनु भयो ।


प्रदेश २ कार्यालय