कोरोना भाइरस फैलन नदिन सरोकारवाला निकायबाट पूर्व तयारी

  ०७६ चैत ११ गते

कोरोना भाइरस फैलन नदिन कर्णाली प्रदेश सरकार, स्थानीय तह र अन्य सरोकारवाला निकायबाट जिल्ला जिल्लामा पूर्व तयारी भइरहेका समाचार इन्सेक जिल्ला प्रतिनिधिबाट प्राप्त भएका छन् । जिल्ला जिल्लामा क्वारेन्टाइन, आइसुलेशन, हेल्थ डेक्सको स्थापना गरिएका छन् भने विपत व्यवस्थापनका लागि कोषको स्थापना समेत गरिएका छन् । कर्णाली प्रदेशका जिल्ला प्रतिनिधिबाट प्राप्त समाचार यस प्रकार रहेका छन् ।

सुर्खेत जिल्ला प्रतिनिधि दुर्गा थापाका अनुसार सुर्खेतमा चैत १० गतेदेखि अत्यावश्यक पसल बाहेक अरु पसल बन्द भएका छन् । अर्को निर्णय नहुँदासम्म बजार पूर्ण रुपमा बन्द गरिएको हो । खाद्य, खुद्रा तथा किराना पसल, मेडिकल, तरकारी, नास्ता पसल, इन्धन तथा पेट्रोलियम पदार्थ बाहेकका पसल बन्द भएका हुन । कर्णाली प्रदेश सरकारले एक हप्ताभित्र एक हजार बेडको क्वारेन्टाइन निर्माण गर्ने तयारी गरेको छ । जस अनुसार मध्य पश्चिमाञ्चल विश्वविद्यालय वीरेन्द्रनगरमा ६ सय र रेडियो नेपाल क्षेत्रीय प्रसारणको खाली जग्गामा ४ सय बेडको क्वारेन्टाइन बनाइरहेको छ । निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ । भारतमा रहेका कर्णालीवासीलाई १० दिनभित्र घर फर्कन प्रदेश सरकारले आह््वान गरेको छ । भारतबाट घर फर्केका कर्णालीबासीलाई १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने प्रदेश सरकारले बताएको छ । तत्काल विपत व्यवस्थापनका लागि ५० करोडको कोष बनाई सोही कोषबाट नियामानुसार खर्चको व्यवस्था मिलाइएको कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिनु भयो ।

जुम्ला जिल्ला प्रतिनिधि मानदत्त रावलका अनुसार विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोकथामको पूर्व तयारीका लागि जुम्लामा एक हप्तासम्म ‘लक डाउन’ गरिएको छ । जिल्ला प्रशासन कार्यालय, जुम्लामा चैत ९ गते बसेको विपत व्यवस्थापन समितिले चैत १० गतेदेखि एक हप्तासम्म ‘लकडाउन’ गर्ने निर्णय गरेको हो । कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिम भएको भन्दै जुम्लालाई चैत १० देखि १६ गतेसम्म लकडाउन गरिएको हो ।

रोजगारी र हिउँदे व्यापारमा भारत गएका जुम्लाबासी धमाधम घरफर्किन थालेपछि जुम्लामा कोरोना भइरसको उच्च जोखिम बढेको हो । जुम्लामा मानिसको चाप बढ्न थालेपछि कोरोनाको जोखिमबाट बचाउन लकडाउन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताउनुभयो । ‘अत्यावश्यक सामाग्री व्यवस्थापन गर्न र क्वारेन्टाइन र आइशोलेसन सेन्टर सञ्चालन गर्न पनि समिति गठन गरेका छौं’, उहाँले भन्नुभयो, ‘जिल्लामा भिडभाड नगरिदिन नागरिकलाई समेत अपील गरेका छौ ं।’

उहाँका अनुसार मानिसको भिडभाड कम गर्न तथा कोरोनाको प्रतिकार्य गर्नका लागि पनि ‘लकडाउन’ नीति आवश्यक रहेको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक मंगल रावलले कोरोना संक्रमणको जोखिम र सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै ‘लकडाउन’ निर्णय स्वागत योग्य भएको बताउनुभयो ।

हेल्थ डेक्स स्थापना
जुम्ला विमानस्थल तथा कालीकोट र जुम्लाको सिमाना नाग्ममा चैत ९ गते हेल्थ डेक्स स्थापना गरिएको छ । त्यसका साथै जुम्ला बहुमुखी क्याम्पसमा क्वारेन्टाइन राख्ने निर्णय गरिएको छ ।

गाउँमा भोज भतेर, सभा र सम्मेलन गर्न रोक लगाइएको छ । अत्याआवश्यक काम बाहेक सडकमा ननिस्कन सूचना दिइएको छ । खाद्य संस्थानसँग समन्वय गरी सबै स्थानीय तहमा खाद्यान्न पठाउने तयारी भइरहेको प्रशासनले बताएको छ ।

स्थानीयलाई माहामारीबाट सुरक्षित गर्न कर्णालीमै पहिलो ‘लक डाउन’ को निर्णय जुम्लामा गरिएको हो । त्यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा १५ बेडको आइसोलेसन स्थापना गरिएको छ । यसैगरी सो सेन्टर स्थापना गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. धिरज गुरुङको संयोजकत्वमा आठ जनाको स्वास्थ्यकर्मीको टोली खटाइएको छ । हिमा गाउँपालिकाले यस अघि हेल्थ डेक्स स्थापना गरीसकेको छ । गाउँपालिकाले कार्यालय परिसरमा हेल्थ डेक्स स्थापना गरेको हो ।

स्थानीय तहमा पनि क्वारेनटाइन राखिने
कोरोनाको रोकथामका लागि जिल्लाका स्थानीय तहले उच्च सर्तकता अपनाएको छ । स्थानीय तहमा क्वारेनटाइनसहितको हेल्थ डेक्स स्थापना गर्ने निर्णय गरिएको छ जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीको उपस्थितिमा बसेको स्थानीय तहको बैठकले स्थानीय तहमा आवश्यकताका आधारमा एक भन्दा माथि क्वारेनटाइन वा आईसुलेसन क्षेत्र छनौट गरी कोरोना रोगथामका लागि क्षेत्र चयन गरी व्यवस्थापन गर्ने निर्णय भएको जिल्ला समन्वय समितिले जनाएको छ ।

जुम्लाको तातोपानी, पातारासी, हिमा, गुठिचौर र चन्दननाथ नपाले भइरहेको क्वारेनटाईन व्यवस्थापन गरिने भएको छ । पातारासी गाउँपालिका अध्यक्ष लक्षिमन बोहराले तत्कालिन समाजशास्त्री डोरबहादुर बिष्टले निर्माण गरेको कर्णाली इन्ष्टिच्यूटमा क्वारेनटाईन स्थापना भईसकेको जानकारी दिनुभयो । यसका साथै हिमा गाउँपालिकाले हेल्थ डेक्स स्थापना, तातोपानी गाउँपालिकाले व्यवस्थापन समितिसहित आवश्यक तयारी गरेको जानकारी दिएको छ । यसैगरी गुठिचौर गाउँपालिकाले मणिसाँघुमा हेल्थ डेक्स राख्ने तयारी भएको जानकारी दिएको छ ।

जुम्लामा कर्णाली प्राविधिक शिक्षालयमा एक सय वेडको क्वारेन्टाइन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५ वेडको आइसुलेशन र ८५ लाखको विपत कोष बनाइएको छ ।

मुगु जिल्ला प्रतिनिधि जीवन सेजुवालका अनुसार जिल्लाका १२ स्थानमा हेल्थ डेक्स स्थापना गरिएको छ । जिल्लामा (कोभिड १९) कोराना भाईरस भित्रिन नदिन चारै स्थानीय तह र अन्य सरोकारवाला निकायद्वारा १२ स्थानमा हेल्थ डेक्स स्थापना गरिएको हो ।

कोराना नेपालमा फैलन सक्ने भन्दै उच्च सर्तकताका लागि अन्य जिल्लाबाट जिल्ला भित्र प्रवेश गर्ने सीमा तथा अन्य सार्वजनिक स्थानमा भाईरस संक्रमण भए नभएको चेकजाँच गर्न १२ स्थानमा हेल्थ डेक्सको स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले जानकारी दिनु भएको हो । प्रजिअ निरौलाका अनुसार जिल्लाका चारओटै स्थानीय तहले पनि अन्य जिल्ला तथा छिमेकी स्थानीय तहबाट आफ्नो क्षेत्रमा प्रवेश गर्ने प्रवेशद्वारमा हेल्थ डेक्स स्थापना गरेका छन् ।

हवाई सेवाबाट आवतजावत गर्नेका लागि रारा विमानस्थल ताल्चामा जिल्ला स्वास्थ्य सेवा कार्यालयले एक हप्ता अगाडि देखि नै हेल्थ डेक्स सञ्चालनमा ल्याएको छ भने हुम्लाबाट भित्रिने नाका छाँयानाथ रारा नपा १४ बामगाँउमा फेज नेपालले हेल्थ डेक्स स्थापना गरेको छ । यसैगरी छाँयानाथ रारा नपाले आफनो नगरपालिका भित्र जुम्लाबाट भित्रिनेकालागि वडा नम्बर ७ राताचौरमा, मुगुम कार्मारोङबाट नगरपालिका भित्र प्रवेशगर्नेलाई सोही नपा–१२ लुम्स र नगर भित्रकाकालागि नगरपालिका कार्यालयमै हेल्थ डेक्सको स्थापना गरिएको छाँयानाथ रारा नगरपालिकाले बताएको छ ।

बाजुरा तथा कालिकोटको पश्चिम क्षेत्रबाट भित्रिने प्रमुख नाका बाजुरा र मुगुको सीमामा रहेको खत्याड गाँउपालिका—१० झुगाला, सोही गाउँपालिकाको—४ मसाने र जुम्लासँग जोडिएको सोही गाउँपालिका-५ छोटयामा खत्याड गाउँपालिकाले हेल्थ डेक्स स्थापाना गरी सञ्चालनमा ल्याएको छ ।

सोरु गाउँपालिकाको हुम्लासँग सिमाना जोडिएको दोमुख र सोरुकोट तथा मुगुमर्कामारोङ गाउँपालिकाको चीनसँग जोडिएको सिमा मुगुम, छायल र पुलुमा हेल्थ डेक्स स्थापना गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

यसैगरी कोरोनाको संक्रमण फैलिन नदिन चैत ९ गते रातिदेखि लागु हुने गरी लामो दुरीका भाडाका सवारी साधनलाई जिल्ला प्रशासन कार्यालयले ‘लगडाउन’ गरेको छ ।

भाइरसको संक्रमण भएका कुनै व्यक्ति पहिचान भए उनीहरूलाई राख्नकालागि जिल्ला स्वास्थ्य सेवा कार्यालयले निर्माणाधिन जिल्ला अस्पतालमा ६० बेडको आइसुलेशन कक्ष तयार गरेको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ ।

हुम्ला जिल्ला प्रतिनिधि नन्द सिंहका अनुसार हुम्लामा दुई ठाउँमा हेल्थ डेक्स स्थापना गरिएको छ । चीनसँग सिमाना जोडिएको नाम्खा गाउँपालिकाको–४ स्थित यालवाङ इलाका स्वास्थ्य चौकी र सदरमुकाम सिमकोटको विमानस्थलमा हेल्थ डेक्स स्थापना गरी सञ्चालनमा ल्याइएको जिल्ला अस्पताल हुम्लाले जनाएको छ ।

अस्पतालका अनुसार हालसम्म विमानस्थलमा ९ सय जनाको चेक जाँच गरिएको छ भने यालवाङ हेल्थ डेक्समा करीव ४ सय जनाको चेकजाँच भएको नाम्खा गाउँपालिका स्वास्थ्य संयोजक नरबहादुर भण्डारीले बताउनु भयो ।

जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहरा र नाम्खा गाउँपालिका स्वास्थ्य संयोजक भण्डारीका अनुसार हुम्लामा हालसम्म कुनै पनि व्यक्ति कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमित भेटिएका छैनन् ।

जोखिम नियन्त्रणका लागि नाम्खा गाउँपालिका–४ को याल्वाङ स्वास्थ्य चौकीमा चैत ३ गते हेल्थ डेक्स र चैत ८ गते आइसोलेसन कक्ष स्थापना गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पठाएको चिकित्सकको टोली हुम्ला पुगेपछि चीनसँग सिमा जोडिएको हिल्सा नाका नजिक रहेको याल्वाङमा हेल्थ डेक्स स्थापना गरिएको हो । जुम्ला प्रतिष्ठानबाट आएका डाक्टर अशोक कुमार गौतम, सिनियर अहेब कमेन्द्र न्यौपाने, ल्याब टेक्निसियन गोविन्द न्यौपाने लगायत हुम्लाका कान्छो लामा र टोमा लामा गरी पाँचजनाको टोलीद्वारा नियमित चेकजाँच गरिएको छ ।

हिल्सा नाकामै हेल्थ डेक्स राख्ने भनिएपनि बाक्लो हिउ जमेका कारण जान कठिन भएकाले सिमानामै पर्ने यल्वाङ्गमा हेल्थ डेक्स स्थापना गरिएको हो । हुम्लाको छिमेकी चीनसँग सिमाना जोडिएको र कोरोना भाइरसको सङ्क्रमण हुनसक्ने भएका कारण पूर्व तयारी गरेको नाम्खा गाउँपालिका अध्यक्ष बिष्णुबहादुर लामाको भनाई छ ।

जिल्लामा ५० सैयाको क्वारेनटाइन र जिल्ला स्वास्थ्य सेवा कार्यालयमा तीन ओटा आइसोलेशन वार्ड स्थापना भएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका डा. अमित विष्टको संयोजकत्वमा जिल्ला स्वास्थ्य आपतकालिन निर्देशन समिति र प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईको संयोजकत्वमा क्वारेनटाइन व्यवस्थापनका लागि दुई ओटा समिति गठन गरिएको छ । जसमा आठ ओटा कार्यालय समेटिएका छन् । हुम्लाका हेल्थ डेक्समा र जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा हालसम्म कुनै पनि व्यक्तिलाई संक्रमित नदेखिएको जिल्ला अस्पतालले जनाएको छ ।

दैलेख जिल्ला प्रतिनिधि अमर सुनारका अनुसार रोजगारीका लागि भारत गएकाहरू धमाधम घर फर्किन थालेपछि दैलेखमा कोरोना भाइरसको जोखिम बढेको भन्दै क्वारेनटाइनको प्रवन्ध गरिएको छ ।

भैरबी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाको अध्यक्षतामा चैत १० गते बसेको विपत व्यवस्थापन समितिको बैठकले भारतबाट फर्कने मध्ये कोरोना भाइरसको जोखिममा भएकालाई भैरबी गाउँपालिकाले १४ दिन क्वारेन्टाइनमा राख्ने योजनासहित क्वारेनटाइनको प्रवन्ध मिलाएको हो ।

भारतबाट आउनेलाई स्वास्थ्य जाँचपछि मात्रै घर जान दिइने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हीरासिंह थापाले बताउनुभयो । थापाका अनुसार संक्रमणबाट बच्न व्यक्तिगत सरसफाई, आहारविहार तथा व्यायमका विषयमा चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने निणर्य गरिएको छ ।

पञ्चदेवल मावि रावतकोट र गौरी मावि बाँलेकाडामा क्वारेन्टाइन निर्माण गर्ने र भारत तथा तेस्रो मुलुकबाट गाउँपालिका भित्रिने नागरिकको स्वास्थ्य चेकजाँचका लागि भैरबी गाउँपालिका अन्तरगत भिरखेत र चगत्रा बजारमा हेल्थ डेक्स सञ्चालन गरिएको छ ।

यसैगरी गाउँपालिकाले गाउँपालिका भित्र सामाजिक परम्परा अनुसार गरिने विवाह, ब्रतबन्ध, पास्नी, जन्मोत्सव जस्ता कार्य गरी भेला तथा जमघट गर्न बन्देज लगाएको छ ।

नारायण नपाले फिवर–गन पाएन
दैलेख सदरमुकामस्थित नारायण नगरपालिकाले संक्रमण भित्रिन नदिन चेकजाँचको लागि आवश्यक पर्ने फिवर–गन किन्न सकेको छैन ।

विकट गाउँ मानिने नौमूले गाउँपालिका, आठबीस नगरपालिका र गुराँस गाउँपालिका समेतले फिवर–गन प्रयोग गरेको सामाजिक सञ्जालमा फोटो देखेपछि त्यस्तो गन खोज्न काठमाण्डौंमा भएकालाई प्रयोग गर्दा नपाएको नगरप्रमुख रत्नबहादुर खड्काले बताउनुभयो ।

‘३ हजार ५ सय रुपियाँमा पाइने फिवर–गन व्यापारीले १२ हजार भन्छन्’ नगरप्रमुख खड्काले भन्नुभयो ‘हामीलाई बिल चाहिने व्यापारीले बिल माग्दा भएकै सामान पनि दिएनन् ।’

करिव ३ फिट टाढैबाट हरेक व्यक्तिको पाँच सेकेण्डमा ज्वरो अंकमा देखिने भएकोले क्वारेनटाइन चेकपोष्टमा बस्ने स्वास्थ्यकर्मीका लागि उक्त सामान सुरक्षित मानिन्छ ।

रुकुम पश्चिमकी जिल्ला प्रतिनिधि मनिषा केसीका अनुसार रुकुम पश्चिमका सबै कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय, रुकुम पश्चिमले चैत ९ गते एक सूचना जारी गर्दै कोभिड १९ संभावित जोखिम, रोकथाम तथा नियन्त्रणका लागि कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको बताएको छ ।

प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलद्वारा जारी गरिएको सूचनामा जिल्लाका सबै कर्मचारीलाई कार्यालयमा उपस्थित हुन जानकारी गराउनु भएको छ । त्यस्तै जिल्लाका सबै स्थानीय तहले पनि विज्ञप्ति जारीगर्दै कार्यालयबाट अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरेको जानकारी दिएका छन् । प्रत्येक स्थानीय तहले आ–आफ्नो ठाउँमा हेल्थ डेक्स निर्माण गरी सेवा सुचारु गरेका छन् ।

जसमा मुसीकोटमा दुई ठाउँमा, त्रिवेणीमा एक ठाँउमा, बाँफीकोटमा तीन ठाँउमा, सानी भेरीमा दुई ठाँउमा, आठबिसकोटमा दुई ठाँउमा र चौरजहारीमा चार ठाँउमा हेल्थडेक्स निर्माण गरी सेवा थालिएको हो ।

त्यस्तै विपत व्यवस्थापन समिति रुकुम पश्चिमको बैठकले विश्वव्यापी समस्या बनिरहेको कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि महत्वपूर्ण निर्णय गरेको छ ।

जसमा जिल्ला भित्रिने सिमा नाकामा चेकजाचमा कडाई, बजारमा हुनसक्ने कालोबजारी र कृतिम अभाव हुन नदिन अनुगमन गर्ने र जिल्लामा नपाइने १३ प्रकारका औषधि, जिल्लामा अभाव भएका स्वास्थ्य सामाग्री केन्द्रबाट मागगर्ने लगायतका निर्णय गरेको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल प्रहरीले चार ओटा, नेपाली सेनाले २० ओटा, सशस्त्र प्रहरीले चार र शिशिर बसन्त भ्यू होटलमा १५ गरी जम्मा ४३ ओटा क्वारेन्टाइन तयारी अवस्थामा राखिएको छ ।

डोल्पा जिल्ला प्रतिनिधि विष्णु देवकोटाका अनुसार महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का संक्रमित जिल्ला प्रवेश गर्न नपाउन भनेर हिमाली जिल्ला डोल्पाको खदाङ्गमा हेल्थ डेक्स स्थापना गरिएको छ । त्रिपुरासुन्दरी नपाले जाजरकोट र रुकुम जिल्लाबाट डोल्पा प्रवेश गर्ने नाकाको रुपमा रहेको खदाङ्गमा बाहिरी जिल्लाबाट डोल्पामा भित्रने पैदल यात्रुको स्वास्थ्य परीक्षणका लागि हेल्थ डेक्स स्थापना गरेको हो ।

कोभिड १९ को त्राससँगै काठमाण्डौ नेपालगञ्ज लगायतका शहरमा विभिन्न कामले छरिएर रहेका डोल्पाली र अन्यत्र जिल्लाका मानिसको डोल्पा भित्रने चाप बढेसँगै त्रिपुरासुन्दरी नपाले हेल्थ डेक्सको स्थापना गरेको हो । त्रिपुरासुन्दरी नपाका मेयर ओमबहादुर बुढा र प्रमुख प्रशासकीय अधिकृत प्रितिभक्त गिरीसहितको नपाको अनुगमन टोलीले स्थलगत अवलोकन गरी हेल्थ डेक्सको स्थापना गरिएको प्रमुख प्रशासकीय अधिकृत गिरीले बताए ।

कोरोना भाइरसको संक्रमण जिल्लामा भित्रन नपाओस भन्नका लागि पूर्व सतर्कता अपनाउन हेल्थ डेक्स स्थापना गरिएको बताउँदै स्वास्थ्य परीक्षणको क्रममा शंकास्पद भेटिएका मानिसलाई खदाङ्गबाटै जिल्ला प्रवेशमा निषेध गरिने नगरपालिकाले जनाएको छ ।

त्रिपुरासुन्दरी नपा–५ स्थित खदाङ्गमा दुई ओटा सिनियर अहेव, अनमीसहितको स्वास्थ्यकर्मीले बाहिर जिल्लाबाट डोल्पा भित्रने मानिसलाई थर्मोमिटर लगायतका उपकरणले स्वास्थ्य परीक्षण गर्ने गरिएको हेल्थ डेक्समा खटिएका अहेब तुलबहादुर श्रेष्ठले बताउनु भयो ।

अहेब श्रेष्ठका अनुसार चैत ९ गतेबाट औपचारिक रुपमा स्थापना गरिएको हेल्थ डेक्सबाट दुई दिनमा ४ सय ५० मानिसलाई परीक्षण गरिएको छ । यसैगरी जुफाल विमानस्थलमा पनि बाहिरी जिल्लाबाट आउने र जिल्लाबाट बाहिर जाने हवाई यात्रुको स्वास्थ्य परीक्षणका लागि जुफाल विमानस्थलको टर्मिनल भवनमा पनि हेल्थ डेक्स स्थापना गरी अनमी विष्णु बुढाले यात्रुको स्वास्थ्य परीक्षण गर्दै आउनु भएको छ ।

ठुलीभेरी नपा–८ र ९ मा रुघाखोकी ज्वरो र टाउको दुख्ने रिङ्गटा लाग्ने रोगका विमारी हुन थालेपछि गाउँघरमै अनमीसहितका स्वास्थ्यकर्मी पठाएर स्वास्थ्य परीक्षणका साथै उपचार गरिरहेको वडा नम्बर ९ का वडा अध्यक्ष विरमल भण्डारी बताउनु भयो । त्रिपुरासुन्दरी नपाले कोरोना भाइरसबाट बच्न सफा साबुन पानीले हात धुन, समूहमा नबस्न, अनिवार्य मास्क लगाउन, पशुवस्तुसँग घुलमिल नगर्न, माछा मासु पकाएर खान र लामो समय रुवाखोकी ज्वरो टाउँको दुख्ने र रिङ्गटा लाग्ने गरेमा तुरुन्त स्वास्थ्य केन्द्र तथा चिकित्सकसँग पुग्न सचेतना कार्यक्रमका साथै सूचना जारी गरेको छ ।

जाजरकोट जिल्ला प्रतिनिधि दिनेश श्रेष्ठका अनुसार जिल्ला प्रहरी कार्यालय जाजरकोटले पाँच ओटा अस्थायी क्वारेन्टाइन निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी किशोर कुमार श्रेष्ठले बताए । बिरामीको तत्काल उद्धार गरी उपचारमा सहयोग पु¥याउन चैत ९ गते जिल्ला प्रहरी कार्यालय भित्र अस्थायी क्वारेन्टाईन निर्माण गरेको डिएसपी श्रेष्ठले बताउनु भयो ।

कार्यालयमा हेल्थ डेक्स समेत स्थापना गरिएको छ । हेल्थ डेक्समार्फत जिल्लाभरको सूचना संकलन गरिने भएको छ । कार्यालयमा सेवा लिन प्रवेश गरेका सेवाग्राहीलाई सावुन पानीले हात धुनको लागि सहायता कक्ष नजिकै साबुन पानीको व्यवस्था गरेको प्रहरीले जनाएको छ । कोरोना भाइरस न्यूनीकरणका लागि इन्स्पेक्टर महेश कुमार आचार्यको संयोजकत्वमा २५ जनाको टोली तयारी अवस्थामा राखिएको छ । संक्रमण देखिए जिल्ला प्रहरी कार्यालय परिसरमा रहेका क्वारेन्टाइनमा राखेर संक्रमण रोकथाम गरिनेछ ।आवश्यक स्वास्थ्यकर्मीसहितको टोली त्यहाँ खटिनेछ ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि पूर्व तयारी स्वरुप अस्थायी क्वारेन्टाइन स्थापना गरेको इन्स्पेक्टर आचार्यले बताउनु भयो । संक्रमित व्यक्तिको पहिचान भए तत्काल उद्धार गरी उपचार गर्नको लागि अस्थायी क्वारेन्टाईन स्थापना गरेको उहाँको भनाई छ ।

यसैबीच जिल्ला स्वास्थ्य सेवा कार्यालय जाजरकोटले समेत जाजरकोट जिल्लाको प्रवेश गर्ने मुख्य नाकाको रुपमा रहेको छेडा बजारमा अस्थायी स्वास्थ्य सहायता कक्ष स्थापना गरेको छ ।

मुख्य गरी नेपालका विभिन्न जिल्लामा रहेका र भारतमा काम गर्न गएका व्यक्ति घर फर्कने क्रम बढ्दो संख्यामा रहेकाले कोरोना भाइरस सर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन चैत ९ गते मेडिकल अधिकृतसहित स्वास्थ्यकर्मी राखेर स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताउनु भयो ।

अध्यक्ष बस्नेतले भन्नु भयो नेपालका विभिन्न जिल्लामा कामको शिलशिलामा, पढाइको शिलशिलामा र व्यापारको शिलशिला तथा भारतमा विषेशत कमाइका लागि गएका मानिस जिल्ला फर्किरहेकाले उनीहरूबाट कोरोना सर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै छेडाचौरमा गाडी रोकेर प्यासेन्जरलाई लाइन लगाएर स्वास्थ्य परीक्षण गरिरहेका छौ ।


कर्णाली प्रदेश कार्यालय, सुर्खेत