कोरोना भाइरस नियन्त्रणमा ध्यान नदिएको भन्दै गरिएको प्रदर्शनमा लाठीचार्ज

  ०७७ जेठ १८ गते

कोरोना भाइरस नियन्त्रणमा ध्यान नदिएको भन्दै तरुण दल धनुषाले जेठ १८ गते साँझ जनकपुरधाममा निकालेको मशाल जुलुस तथा विरोध प्रदर्शनमा प्रहरीले रामचौकमा लाठीचार्ज गरेको छ ।

प्रहरीको लाठी चार्जबाट जनकपुरधाम उपमहानगरपालिका-४ निवासी तरुण दल धनुषाका उपाध्यक्ष ३० वर्षीय राकेश विक्रम साह, तरुण दलका सदस्यहरू जनकपुरधामकै २९ वर्षीय रमेश कुमार यादव, ३५ वर्षीय राहुल मिश्र, २९ वर्षीय आशुतोष नविन झा, २७ वर्षीय विजय यादव र २९ वर्षीय भरत साह घाइते भएका छन् । घाइते उनीहरूलाई प्रादेशिक अस्पताल जनकपुरमा उपचारको लागि भर्ना गरिएको छ ।

तरुण दल धनुषाका उपाध्यक्ष राकेश विक्रम साहले तिनै तहको सरकार कोरोना महामारी नियन्त्रणमा क्वारेण्टाइन, आइसोलेशनको व्यवस्थापन गर्न नसकेको र तिनै तहको सरकारको लापरवाहीले भारतबाट आउने युवाहरू सीमामै ज्यान गुमाउनु परेको भन्दै जनकपुरधाममा मशाल जुलुस र विरोध प्रदर्शन गरेका थिए ।


दीपेन्द्रप्रसाद सिंह