कोरोना भाइरससम्बन्धी बागमती प्रदेशको अवस्था (वैशाख १ गते)

  ०७७ वैशाख १ गते

बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले कोरोनाबाट जोगिनको लागि विश्व स्वास्थ्य सङ्गठन, विषय विज्ञहरू, डाक्टरहरू तथा सरकारले आधिकारिक रूपमा जारी गरेका निर्देशनहरू मान्न तथा लकडाउनको पूर्ण रूपमा पालना गर्न आग्रह गर्नुभएको छ । अहिलेको अवस्थामा घरैमा परिवारसँग बस्नु नै सबैभन्दा उत्तम उपाय भएको उहाँले बताउनु भएको छ ।

‘अब यस महामारीको असर न्यून हुँदै जाने र अन्त्यमा नेपाललगायत समग्र विश्वले छिट्टै मुक्ति पाउने छ ।’–उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ ।

उहाँले कोरोनाविरूद्धको महाअभियानमा अहोरात्र खटिनुहुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, तीनै तहका सरकारका अङ्गहरू, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, निजी क्षेत्र, सामाजिक सङ्घसंस्था, उद्योगी व्यवसायीलगायत सबैको प्रयास तथा कार्यसम्पादनको प्रशंसा गर्नुभयो ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले कोरोनाविरूद्ध विजय प्राप्त गर्न मनोबल र उच्च सतकर्ता मिलोस भन्दै नयाँ वर्षको अवसरमा शुभकामना दिनु भएको छ । सबैको जीवनशैली, व्यवहार, आहारविहार, आनीबानीमा थुप्रै सुधार आएको र चाँडै कोरोनासँग विश्वले जित हासिल गर्ने मुख्यमन्त्री पौडेलले आशा व्यक्त गर्नु भएको छ ।

‘हाम्रा स्वास्थ्य संस्थाहरू हरेक स्वास्थ्य समस्याहरूको सामना गर्न सक्षम हुदै गएका छन्, देशका आमनागरिक, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलगायत तमाम राष्ट्रसेवकहरूले महसुस गरेको कर्तव्यबोध र सबै क्षेत्रबाट प्रस्तुत ऐक्यवद्धताका कारण नै अन्य राष्ट्रले झैँ हामीले कहर भोग्नु परेको छैन ।’–मुख्यमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ ।

इन्सेक भक्तपुर जिल्ला प्रतिनिधि रमेश गिरीका अनुसार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको भन्दै सबैलाई सतर्क रहन आग्रह गर्नुभएको छ । वैशाख १ गते थप दुई जनामा सङ्कक्रमण देखिएपछि सम्बोधन गर्दै ढकालले सबैलाई लकडाउनको पालना गर्न आग्रह गर्नुभयो । सानो गल्तीले सङ्क्रमण फैलिन सक्ने भन्दै उहाँले राज्यले जनताको सुरक्षाको लागि अवलम्बन गरेको नीति पालना गर्न आग्रह गर्नुभयो ।

पर्साको वीरगञ्जस्थित छप्कैयामा रहेको एक मस्जिदमा बस्दै आएका तीन जनामा कोरोना भाइरसको सङ्क्रमण रहेको पुष्टि भएसँगै मस्जिदमा रहेका २८ जनालाई क्वारेण्टाइनमा राखेर कोरोना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मस्जिद रहेको छप्कैयामा ५९ जनाको र्‍यापीड टेष्ट गरिएकोमा उनीहरूको नतिजा नेगेटिभ आएको छ ।

मन्त्रालयका अनुसार हाल क्वारेण्टाइनमा ७ हजार १ सय ६६ जना र आइसोलेशनमा १ सय ३ जना रहेका छन् । मन्त्रालयले कोभिड–१९ को बिरामी र नन् कोभिड बिरामीको उपचारमा अस्पतालहरूमा उल्झनको स्थिति देखिएकाले यसबारे स्पष्ट पार्न निर्देशिका स्वीकृत गरिएको पनि डा. देवकोटाले जानकारी दिनु भयो ।

मन्त्री ढकालले कोरोना रोक्न मन्त्रालयले रणनीतिहरूलाई परिस्कृत र परिमार्जन गरिरहेको बताउँदै परीक्षणको दायर बढाइएको, स्थानीय, प्रदेश र केन्द्र सरकारले व्यवस्था गरेको क्वारेण्टाइनका साथै होम क्वारेण्टाइनमा रहेकाहरूको स्वाब परीक्षण चिकित्सकहरूको सल्लाह अनुसार भइरहेको र आउने दिनमा जाँच गर्ने कामलाई फराकिलो बढाउँदै जाने उल्लेख गर्नुभयो  ।

नेपालमा कोभिड–१९ को सङ्क्रमण थप दुई जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलालीको लम्की र रौतहटमा एक/एक जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको वैशाख १ गते मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो । यससँगै नेपालमा १४ जना कोरोना सङक्रमित भएको पाइएको छ । उनीहरू दुवै भारतबाट आएको जनाइएको छ । उहाँले केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा उनीहरूलाई सङ्क्रमण देखिएको जानकारी दिनुभयो । सङ्क्रमितमध्ये रौतहटका १९ वर्षीय पुरुष तथा लम्कीकी ६५ वर्षीया महिला हुन् । ती महिला भने लम्की बहुमुखी क्याम्पसको क्वारेण्टाइनमा बसेकी छन् । अहिलेसम्म कैलालीमा ६, बागलुङ र  काठमाडौँमा दुई/दुई तथा रौतहटमा एक र पर्सामा तीन जनामा कोरोना सङ्क्रमण फेला परेको हो ।

लकडाउनको समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि इ–पासको व्यवस्था गरिने भएको छ । गृह मन्त्रालयले वैशाख १ गते मन्त्रालयमा पत्रकार सम्मेलन गरी खाद्यान्न ढुवानी, बिरामी ओसारपसार, शव वाहन र अन्य अति आवश्यक परेको खण्डमा अनलाइनमार्फत फाराम भरेर सवारी पास लिन सकिने जानकारी दिएको हो ।

इ–पास लिनका लागि epass.moha.gov.np मा गएर विवरण भर्नुपर्ने हुन्छ । जिल्ला प्रशासन कार्यालयले आवश्यकताको आधारमा मात्रै इ–पास वितरण गर्नेछ । गृहमन्त्री रामबहादुर थापाले जनताको अतिआवश्यक कामको सुविधाका लागि सरकारले सवारी पास वितरण प्रक्रियालाई नयाँ प्रणालीबाट सुरू गरेको जानकारी दिनुभयो ।

इन्सेक रामेछाप जिल्ला प्रतिनिधि नवराज घिमिरेका अनुसार रामेछाप जिल्लामा क्वारेण्टाइनमा राखिएकाहरूको र्‍यापीड टेष्ट गरिने भएको छ । जिल्लाको आठ ओटा स्थानीय तहमा वैशाख २ गतेबाट र्‍यापीड टेष्ट गर्न लागिएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रुद्रादेवी शर्माले जानकारी दिनुभयो ।

शर्माका अनुसार क्वारेण्टाइनमा राखिएका १४ देखि २१ दिन भित्रका व्यक्तिहरूमा यो परीक्षण गर्न लागिएको हो । मन्थली नगरपालिकामा वैशाख ७ गतेसम्म परीक्षण गरिने छ । त्यसैगरी रामेछाप नगरपालिकामा वैशाख २ र ३ गते, खाँडादेवी गाउँपालिकामा वैशाख ५ गते, सुनापति गाउँपालिका वैशाख ६ गते, दोरम्बा गाउँपालिकामा वैशाख ७ र ८ गते, लिखु तामाकोशी गाउँपालिकामा वैशाख २ गते, गोकुलगङ्गा गाउँपालिकामा वैशाख ४ र ५ गते परीक्षण शर्माले बताउनु भयो । उमाकुण्ड गाउँपालिकामा भने अहिले र्‍यापीड टेष्ट गरिने छैन ।

जिल्लामा हाल १ सय ८४ ओटा पीपीई उपलब्ध भएको उहाँले बताउनु भयो । यसैगरी ५८ ओटा आइसोलेशन कक्ष र २ सय ९१ ओटा क्वारेण्टाइन कक्षहरू स्थापना गरिएका छन् । जिल्लामा हाल विभिन्न स्थानीय तहमा ६७ जना होम क्वारेण्टाइनमा बसेका छन् । मापदण्ड अनुसारका क्वारेण्टाइन स्थापना गरी देश बाहिबाट आएकाहरूलाई अनिवार्य रूपमा क्वारेण्टाइनमा राख्न लगाउने, एम्बुलेन्सहरू तयारी हालतमा राख्ने लगायतका निर्णय भएको प्रजिअ शर्माले जानकारी दिनु भयो । लकडाउन घोषणा भएको भएपनि अहिलेसम्म जिल्ला बाहिरी जिल्लाबाट मानिसहरू आउने क्रम नरोकिएकोले सङ्क्रमण फैलने खतरा अझ बढेको भन्दै स्थानीयवासीले जिल्ला बाहिरबाट आउनेलाई प्रतिवन्ध लगाई र्‍यापीड टेष्टलाई अझ बढाउन माग गरेका छन् ।

इन्सेक रसुवा जिल्ला प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार बेत्रावती–मैलुङ्ग–रसुवागढी नाका सडकको उत्तरगया गाउँपालिका–५ को खाल्टेमा २४ घण्टा खुला रहने थप एक क्वारेण्टाइन खोलिएको छ । अत्यावश्यक सामग्री ल्याउने गाडी रोकेर परीक्षण गरी २४ घण्टा राखेर मात्र छाड्ने गरिन्छ ।  आमाछोदिङमो गाउँपालिकामा हालसम्म तीन जनालाई क्वारेण्टाइनमा राखिएको छ । स्थानीय तहले लकडाउन अझ प्रभावकारी गराउन पहल गरेको छ भने गाउँमा सुरक्षा सतर्कता बढाइएको छ । गोसाइकुण्ड गाउँपालिकामा पाँच जना बाहिरबाट आएका मध्ये दुई जनाको र्‍यापीड टेष्ट गरिएको छ । गोसाँइकुण्ड गाउँपालिकामा लाङटाङ र थुमनको केही भागमा औषधि छर्किने कामका लागि त्यहाँ औषधि पठाइएको छ भने हेल्प डेस्क र सडकमा चल्ने अत्यावश्यक सेवाका गाडीहरूमा औषधि छर्कने काम सुरू गरिएको गोसाइकुण्ड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिमल घिमिरेले बताउनु भयो ।

इन्सेक सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि नातिबाबु धितालका अनुसार चौतारा सागाचोकगढी नगरपालिकामा रहेको क्षेत्रीय स्तरको क्वारेण्टाइनमा राखिएका पाँच जनालाई वैशाख १ गते घर पठाइएको छ । उनीहरूमा र्‍यापीड टेष्ट गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको जिल्लास्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईंले बताउनु भयो । अब सिन्धुपाल्चोक जिल्लाको विभिन्न ठाउँको क्वारेण्टाइनमा १० जना रहेको प्रमुख चापागाईंले बताउनु भयो । जिल्ला स्वास्थ्य कार्यालयले मेलचौर स्थित क्षेत्रीय स्तरको क्वारेटाइन केन्द्रमा राखिएका पाँच जना र चौतारा सागाचोकगढी नगरपालिका–६ का ११ जनाको र्‍यापीड टेष्ट गरेको छ । विदेशबाट फर्किएका उनीहरूको परीक्षण रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख चापागाईंले बताउनु भयो । चापागाईंका अनुसार जिल्लाका सबै गाउँपालिकाहरूमा र्‍यापीड टेष्ट सुरू भएको छ ।

इन्सेक सिन्धुली जिल्ला प्रतिनिधि बिमला पाण्डेका अनुसार पर्साबाट सिन्धुली आएका तीन जनाको र्‍यापीड टेष्टमार्फत कोरोना जाँच गरिएको छ । तीनै जनाको रिपोर्ट नेगेटिभ आएको छ । चैत ३० गते दुधौलीमा १८ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा सबैको प्रतिवेदन नेगेटिभ आएको छ । सिन्धुलीका इन्जिनियरहरूले सिन्धुली अस्पताललाई वैशाख १ गते ‘कोरोना टेष्ट बुथ’ बनाई सहयोग गरेका छन् । कोरोना सङ्क्रमणबाट स्वास्थ्यकर्मीलाई सुरक्षित गरी बिरामीको कोरोना परीक्षण गर्नका लागि उक्त बुथ उपलब्ध गराएका हुन् । इन्जिनियर फोरम सिन्धुलीले स्वास्थ्यकर्मीको सुरक्षाका लागि उक्त बुथ निर्माण गरी हस्तान्तरण गरेको हो । यस्तै फोरमले कमलामाई नगरपालिका भित्र सञ्चालनमा रहेका एम्बुलेन्स चालकका लागि १२ सेट पीपीई हस्तान्तरण गरेको छ ।

महावीर पुनले नेपालमै बनाएको पीपीई सेट हस्तान्तरण गरिएको इन्जिनियर फोरम सिन्धुलीले जनाएको छ । कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेललाई बुथबुथमा प्रयोग गर्न मिल्ने पाँच थान ग्लोब्स तथा पीपीई हस्तान्तरण गर्नु भएको थियो । बुथमा वैशाख १ गते नै तीन जनाको कोरोना परीक्षण गरिएको अस्पतालका डाक्टर प्रसन्न राजभण्डारीले बताउनु भयो । परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

इन्सेक चितवन जिल्ला प्रतिनिधि दीपेन्द्र अधिकारीका अनुसार लकडाउन उल्लङ्घन गरेको आरोपमा वैशाख १ गते चितवन प्रहरीले तीन जनालाई गिरफ्तार तथा ४१ ओटा मोटरसाइकल र नौ ओटा स्कुटर नियन्त्रणमा लिएर छाडिएको छ । भरतपुर अस्पतालमा आइसोलेशनमा चार जना र कोरोना विशेष अस्पतालमा आठ जनाको उपचार भइरहेको छ ।

कोरोना नियन्त्रण कार्यदल भरतपुरले कोरोना विशेष अस्पताल र कोरोना परीक्षण प्रयोगशाला स्थापनार्थ गठन गरेका उपसमितिहरूलाई भङ्ग गरेको छ । कार्यदलको चैत ३० गते भरतपुर महानगरपालिकामा भएको बैठकले प्रयोगशाला, व्यवस्थापन, खरिद, प्राविधिक, कर्मचारी भर्ना र क्वारेण्टाइन उपसमितिहरू भङ्ग गरेको हो । कोरोना अस्पतालको सम्पूर्ण व्यवस्थापन भरतपुर अस्पतालले गर्ने गरी भरतपुर महानगरपालिका र भरतपुर अस्पतालबीच यसअघि गरिएको सम्झौताको समेत कार्यदलको बैठकले अनुमोदन गरेको छ । यससँगै भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल भरतपुर महानगरपालिकाबाट स्थापित र भरतपुर अस्पतालबाट सञ्चालित हुने भएको छ । वैशाख १ गतेबाट कोरोना अस्पतालको सम्पूर्ण व्यवस्थापन भरतपुर अस्पतालले नै गर्ने भएको छ ।

कार्यदलका सदस्य सचिव डा. भोजराज अधिकारीले कोरोना अस्पतालको सम्पूर्ण व्यवस्थापन भरतपुर अस्पतालले गर्ने भएसँगै उपसमितिहरू तत्कालका लागि आवश्यक नभएकाले भङ्ग गरिएको जानकारी दिनुभयो । जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिएमा के कसरी नियन्त्रण र उपचार गर्न सकिन्छ भन्ने विषयमा प्राविधिक एवम् चिकित्सकहरूलाई योजना बनाउन बैठकले निर्देशन गरेको छ । जिल्लाका सबै स्थानीय तहहरूले गरिब, विपन्न नागरिकका लागि राहत वितरण कार्यलाई जारी राखेका छन् ।

इन्सेक मकवानपुर जिल्ला प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार मकवानपुरका सबै पसलहरू वैशाख २ गतेदेखि बिहान ६ बजेदेखि नौ बजेसम्म मात्र खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा वैशाख १ गते भएको कमाण्ड पोष्टको निर्णय अनुसार दिउँसो बढी भीडभाड भएकाले बिहान नौ बजेसम्म मात्र सबै खालका पसलहरू सञ्चालन गर्ने निर्णय गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीकराज नेपालले जानकारी दिनुभयो । दिउँसोको लकडाउनको समयमा बढी सवारीका साधनहरू ओहोर दोहोर गर्ने र भीडभाड बढ्न थालेपछि अत्यावश्यक औषधि पसलभन्दा बाहेक दैनिक उपभोग्य सामान खरिदका लागि बिहान नौ बजेसम्म मात्र पसल खोल्न दिने निर्णय भएको हो ।

यसअघि कमाण्ड पोष्टको बैठकबाट दुध तथा दूग्धजन्य पदार्थ मात्र विक्री वितरण गर्ने डेरी पसल बिहान नौ बजेसम्म र खाद्यान्न, तरकारीलगायतका पसलहरू बिहान १० बजेदेखि दिनको १ बजेसम्म मात्र खुल्ला राख्ने निर्णय गरिएको थियो । मकवानपुर उद्योग वाणिज्य सङ्घले टोल–टोलमा खाद्यान्न तथा तरकारी विक्री वितरणको आवश्यक व्यवस्था मिलाउने भएको छ । तराईका जिल्लाबाट मकवानपुर जिल्लाको लागि अत्यावश्यक सामग्री ढुवानी गरी प्रवेश हुने सवारी साधनहरूलाई कीटनासक विषादी स्प्रे गरेर मात्र भित्रन दिने निर्णय भएको छ ।

इन्सेक ललितपुर जिल्ला प्रतिनिधि दीपकप्रसाद घिमिरेका अनुसार लकडाउनको नियम उलङ्घन गरेको आरोपमा वैशाख १ गते ८ सय ३ जनालाई महानगरीय प्रहरी परिसर ललितपुरले कारवाही स्वरूप दुई घण्टे कक्षामा राखेर कोरोना बारेमा जानकारी गराएपछि  घर पठाएको छ । विदेशबाट फर्किएका र गोदावरी नगरपालिकामा बसोबास गर्दै आएका ५० जनाको र्‍यापीड टेष्ट विधिबाट स्वाब परीक्षण गरिएको छ । महालक्ष्मी नगरपालिकाबाट स्वाब परीक्षणका लागि चैत २८ गते टेकु पठाइएको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिनुभयो ।

कोरोनाको आशङ्का लागेका तीन जना बिरामीलाई आइसोलेशनमा र तीनजनालाई आइसियूमा भर्ना गरिएको छ । वैशाख १ गते एक जना बिरामी निको भएर घर फर्किएको पाटन अस्पतालका निर्देशक डा. विष्णु शर्माले जानकारी दिनुभयो । उपत्यका बाहिर जानका लागि सवारी पास माग्नेहरूको सङ्ख्या धेरै रहेको छ तर पासको व्यवस्था बन्द गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले जानकारी दिनुभयो ।

मानिसलाई होम क्वारेण्टाइनमा बस्नु पर्ने अवस्था आएपछि पशुपंक्षीको स्वास्थ्य र खाद्यान्नमा अभाव देखिएको छ । गाईभैँसीलाई प्रजनन् क्रियाका लागि एआई बन्द हुँदा ललितपुरका गाईभैँसी पालक कृषक मर्कामा परेको ललितपुर गाईभैँसी पालक सङ्घका अध्यक्ष रामप्रसाद घिमिरेले बताउनु भयो । गाईभैँसीलाई पिठो, चोकर, दाना, ढुटो र भुसाको अभाव भएको छ । कुखुरा र बङगुरलाई समेत स्वास्थ्य उपचार र दानाको अभाव भएको कुखुरा पालक कृषक बालकृष्ण थापाले बताउनु भयाो ।

इन्सेक नुवाकोट जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार वैशाख १ गतेसम्म नुवाकोटमा होम क्वारेण्टाइनमा १ सय ५२ जना रहेका छन् । स्थानीय तहको क्वारेण्टाइनमा कोही छैनन् । १२ स्थानीय तहमा २ सय ७२ बेड सङ्ख्या बनाइएको छ । वैशाख १ गते तादी गाउँपालकिामा १३ जना, दुप्चेश्वर गाउँपालिकामा १० जना र किस्पाङ गाउँपालिकामा १५ जनाको र्‍यापीड टेष्ट गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिनुभयो । अन्य स्थानीय तहहरूमा क्रमशः विदेशबाट आएकाहरू सबै र आशङ्का लागेकाहरूको परीक्षण कार्यलाई तिव्र बनाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

इन्सेक धादिङ जिल्ला प्रतिनिधि सिताराम अधिकारीका अनुसार कोरोना भाइरसको सङ्क्रमण पत्ता लगाउन धादिङ जिल्लामा पनि र्‍यापीड टेष्ट भएको छ । वैदेशिक रोजगारीबाट घर फर्केर क्वारेण्टाइनमा बसेकाहरूको र्‍यापीड टेष्ट सुरू गरिएको हो । धुनीबेसी नगरपालिकामा १४ जनाको, गल्छी गाउँपालिकामा १४ जनाको, निलकण्ठ नगरपालिकामा १३ जनाको, त्रिपुरासुन्दरी गाउँपाकिामा पाँच जनाको र गङ्गाजमुना गाउँपालिकामा ११ जनाको र्‍यापीड टेष्ट गरिएको छ । परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । स्थानीय तहहरूले कोरोना भाइरसको र्‍यापीड टेष्ट गरिरहेकाले विदेशबाट फर्किएकाहरूको परीक्षण गर्न किट अपुग भएको स्वास्थ्य संयोजकहरूले बताउनु भएको छ ।

कोरोना भाइरसको महामारी फैलन नदिन गरिएको लकडाउनका कारण किसानले उत्पादन गरेको तरकारी बारीमा नै नष्ट गरिएको छ । थाक्रे गाउँपालिका–११ बालुवाफाँटमा रहेको आग्रा महेश संयुक्त कृषि फर्ममा उत्पादन सुरू भएको ५ हजार केजी फर्सी नष्ट गरिएको हो । १० रोपनी क्षेत्रफलमा लगाइएको फर्सी एकदिन बिराएर टिप्नुपर्नेमा बजार व्यवस्थापन नभएपछि बारीमा नै नष्ट गर्नुपरेको कृषक केशव रूपाखेतीले जानकारी दिनुभयो ।

इन्सेक काभ्रे जिल्ला प्रतिनिधि हिरामान तामाङका अनुसार काभ्रेमा धुलिखेल नगरपालिकाले चैत ३० र वैशाख १ गते गरी १८ जनामा र्‍यापीड टेष्ट गरेको छ । पाँचखाल नगरपालिकाले २७ जनामा कोरोना भाइरस परीक्षण गरेकोे छ । पनौती नगरपालिमा १७ जनाको परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले जानकारी दिनुभयो । डाँडापारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिकामा पाँच जनाको परीक्षण गरिएको छ । उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्रकुमार झाले बताउनुभयो । हालसम्म जिल्लाभर ९० जनाको परीक्षण भइसकेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.झाले बताउनु भयो । चैत १ गतेदेखि यता जिल्लामा २ सय ७१ जना विभिन्न देशबाट फर्किएका नागरिक सम्पर्कमा आएका छन् । उनीहरू सबैको परीक्षण हुने बताइएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले काभ्रे जिल्लालाई र्‍यापीड टेष्टका लागि ३ सय थान किट पठाएको थियो ।

धुलिखेल नगरपालिकाकी उपमेयर विमला शर्माले नगरभित्रका सुत्केरी महिलालाई अण्डा र घ्यू सहयोग गर्नुभएको छ । आफ्नो व्यक्तिगत खर्चबाट ४२ दिन भित्रका सुत्केरी महिलालाई अण्डा र घ्यू दिने गरेको उपप्रमुख शर्माले बताउनु भयो । उपप्रमुख शर्माले नगरभित्रका ३२ जना सुत्केरी महिलाई एक क्रेट अण्डा, एक माना घ्यू उपलब्ध गराउनुभएको हो । नगरपालिकाको स्वास्थ्य शाखाले उपलब्ध गराएको तथ्याङ्कको आधारमा ४२ दिनभित्रका सुत्केरी महिलालाई राहत दिएको उपप्रमुख शर्माले बताउनुभयो । धुलिखेल नगरपालिकाभित्र १२ ओटा वडा रहेका छन् । उपप्रमुखले उपलब्ध गराएको अण्डा र घ्यूसँगै नगरपालिकाले एक जोर कपडा सुत्केरी महिलाहरूका लागि सहयोग गरेको स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले बताउनुभयो ।

इन्सेक भक्तपुर जिल्ला प्रतिनिधि रमेश गिरीका अनुसार स्वास्थ्य कार्यालय भक्तपुरले कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै भक्तपुर जिल्लामा रहेका अस्पतालको अवस्था र तयारी बारेमा बुझ्न अनुगमन थालेको छ । स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजार नेतृत्वको टोलीले पहिलो दिन कारोना सङ्क्रमणको हव अस्पतालको रूपमा रहेको भक्तपुर अस्पताल दुधपाटी, डा.ईवामुरा अस्पताल सल्लाघारी, सिद्धीस्मृति अस्पताल जगाती र केएमसी अस्पताल दुवाकोटको स्थलगत अनुगमन गरेको छ । आइसोलेशन र आसियू सञ्चालन तथा तयारीको अवस्था र मापदण्ड तथा अस्पतालको दैनिक सेवाका बारेमा बुझ्न र सहजीकरण गर्न अनुगमन थालिएको मिजारले बताउनु भयो ।

भक्तपुरका आठ ओटा अस्पतालमा ९८ बेडको आइसोलेशन तयार गरिएको छ । अस्पतालहरूको समन्वयमा थप २७ बेडको आइसोलेशन विस्तार गर्न सकिने अवस्था रहेको छ । जिल्लाको हव अस्पतालको रूपमा रहेको भक्तपुर अस्पतालकी प्रमुख डा. सुमित्रा गौतमले आवश्यकता परे सबै अस्पतालले आइसोलेशन बेड बढाउन सकिने गरी तयारी अघि बढाइएको जानकारी दिनुभयो । भक्तपुर अस्पतालले १९ बेडको सिङ्गो मेडिकल वार्डलाई आइसोलेशन वार्डमा परिणत गर्ने गरी कार्य अघि बढाएको डा.गौतमले बताउनु भयो । डा. गौतमले आवश्यक परे त्यहींबाट सङ्क्रमितको सम्पूर्ण स्वास्थ्य परीक्षणको व्यवस्था समेत गर्ने जानकारी दिनुभयो । लकडाउन अवधिमा अधिकांश मठमन्दिर एवम् जात्रा पर्व बन्द भएपनि भक्तपुरका ग्रामीण क्षेत्रहरूका मन्दिर भने खुलेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित गुप्तेश्वर महादेव मन्दिर, चरखण्डी महादेव मन्दिरलगायतमा मेला लागेको छ ।

इन्सेक दोलखा जिल्ला प्रतिनिधि उद्धव पोखरेलका अनुसार दोलखाबाट परीक्षणका लागि काठमाडौँमा पठाइएको एक जनामा कोरोना भाइरस नभएको पुष्टि भएको छ । कालिञ्चोक गाउँपालिका–३ को क्वारेण्टाइमा रहेका एक जनाको परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँमा स्वाब पठाइएकोमा स्वाब परीक्षण पश्चात कोरोना भाइरस नभएको पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिनु भयो । उहाँका अनुसार भारतबाट आउनु भएका उहाँको स्वाब परीक्षणका लागि चैत २८ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँमा पठाइएको थियो ।

निता राउत फाउण्डेशन दोलखाले भीमेश्वर नगरपालिका–५ का अभिभावकविहीन बालबालिकालाई खाद्यान्न सामग्री सहयोग गरेको छ । मुलुकमा लकडाउन भइरहेको समयमा खाद्यान्नको समस्या भोगिरहेका अभिभावक विहीन एवम् विपन्न परिवारलाई एक/एक बोरा चामल, चिउरा, तेल, चिनी, नुन, साबुन लगायतका सामग्री वितरण गरेको निता राउत फाउण्डेशन दोलखाले जनाएको छ ।


इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा