कोरोना भाइरससम्बन्धी बागमती प्रदेशको अवस्था (चैत ३० गते)

  ०७६ चैत ३० गते

नेपालमा १२ जनालाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । चैत ३० गते वीरगंजमा तीन जनामा कोरोना देखिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या १२ पुगेको हो । तिमध्ये एक जनालाई निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेश सरकारले विशेषज्ञ चिकित्सकसहित १ सय ६६ चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी नियुक्त गर्ने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले विभिन्न ३६ पदमा स्वास्थ्यकर्मी नियुक्त गर्न लागेको हो । प्रदेश मातहतका अस्पताल तथा स्वास्थ्य संस्थामा व्यवस्थापन गर्ने गरी करारमा कर्मचारी भर्ना गर्न लागेको मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमण रोकथामको अभियानमा पनि सहयोग मिल्ने आशा गरिएको छ ।

इन्सेक भक्तपुर जिल्ला प्रतिनिधि रमेश गिरीका अनुसार भक्तपुर अस्पतालले कोरोना भाइरसको परीक्षण सुरू गरेको छ । विदेशबाट आएर घरमा एकान्तबास बेसेका र उनीहरूसँगको सम्पर्कमा रहेकाको र्‍यापिड टेष्ट सुरु गरेको हो । भक्तपुर अस्पतालमा र्‍यापिड कीट आएकाले कोरोना भाइरसको परीक्षण चैत ३० गतेबाट सुरू गरिएको अस्पतालका प्रमुख डा. सुमित्रा गौतमले जानकारी दिनुभयो ।

यसका लागि बागमती प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयले जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरमार्फत ३ सय थानकीट अस्पतालका लागि पठाएपछि परीक्षण सुरू गरिएको हो । विदेशबाट आएका र उनीहरूको सम्पर्कमा रहेर घरमा एकान्तबास बेसेका, निर्धारित क्वारेण्टाइनमा बसेकाहरूको १४ दिन र आवश्यकता पर्नेहरूका लागि २१ दिनसम्म रहेकाहरूको पनि र्‍यापिड कीटमार्फत परीक्षण गरिने भएको हो ।

परीक्षणमा रिपोर्ट पोजेटिभ आएमा आइसोलेशनमा राखेर उपचार गर्ने र थप परीक्षण एवम् उपचार आवश्यक परे काठमाडौँको सरुवा रोग नियन्त्रण अस्पताल टेकु पठाइने मेडिकल सुपरिटेण्डेण्ट डा. गौतमले जानकारी दिनुभयो । अस्पतालले अहिलेसम्म १ सय ५४ जनाको स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशाला टेकु पठाएकोमा ९० जनाको रिपोर्ट नेगेटिभ आएको र अन्यको रिपोर्ट आउनै बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

रुघाखोकी लागेर दैनिक २५ देखि ५० जनासम्म स्वास्थ्य परीक्षणका लागि आएको जानकारी दिँदै अस्पतालले चार बेडको आइसोलेशनलाई बढाएर १० बेडमा पुर्‍याएको जानकारी दिनुभयो । चैत ३० गते आठ जनाको आइसोलेशनमा उपचार भइरहेको जानकारी दिदै उहाँले आइसोलेशनमा दैनिक बिरामी बढिरहेको बताउनु भयो ।

जिल्लाका निजी अस्पतालहरू समेत ओपिडी सेवा लगायतको अन्य उपचार समेत बन्द गरिरहेको अवस्थामा भक्तपुर अस्पतालले भने ओपिडी सेवा र अन्य उपचार सेवा समेत सञ्चालन गरिरहेको छ ।

जिल्लाका चार नगरपालिकामध्ये मध्यपुरथिमी नगरपालिकाले विदेशबाट फर्किएका ६२ जनाको पहिचान गरी उनीहरूको नमूना सङ्कलन गरेर नियमित रूपमा परीक्षण गरिरहेका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । चाँगुनारायण नगरपालिकाले जनप्रतिनिधिमार्फत वडा वडामा पुगरे विदेशबाट फर्किएकाहरूको खोजी र पहिचान नगरपालिकाकै एम्बुलेन्स उपलब्ध गराई भक्तपुर अस्पताल लगेर नमूना परीक्षण गराइरहेको नगर प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो ।

यता सूर्यविनायक नगरपालिकाले पनि विदेशबाट फर्किएकाको पहिचान गर्दै नमूना सङ्कलन गर्न भक्तपुर अस्पताल पठाउँदै उनीहरूको एकान्तबासको अनुगमन गरिरहेको नगर प्रमुख बासुदेव थापाले जानकारी दिनुभयो । भक्तपुर अस्पतालले भने मोवाइल एप्समार्फत फाराम भराएर विदेशबाट फर्किएकालाई भक्तपुर अस्पताल जान सूचना जारी गरेको छ ।

जिल्लामा सञ्चालित निजी अस्पतालले बिरामी गेटबाटै फर्काउने गरेको र कुनै पनि रोगको उपचार नगरेको गुनासो व्यापक आएको छ । सरकारले उपचार नगर्ने निजी अस्पताललाई कारवाही गरी उपचारको व्यवस्था मिलाउन स्थानीयवासीले माग गरेका छन् ।

भक्तपुर नगरपालिकाकाले लकडाउनका कारण दैनिक ज्यालादारी, मजदुरी गरेर जीविकोपार्जन गर्ने र असहायहरूको लागि आवश्यक खाद्यान्न राहत वितरणको लागि २ हजार ६ सय ८८ परिवारको विवरण लगत सङ्कलन गरिएकोमा १० ओटै वडामा सम्बन्धित वडाको पायक पर्ने ठाउँबाट चैत ३० गते राहत वितरण सुरू गरेको छ ।

नगरपालिकाले असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरूलाई उपलब्ध गराइने राहतसम्बन्धी मापदण्ड, २०७६ पारित गरी वितरण गरेको छ ।

इन्सेक भक्तपुर जिल्ला प्रतिनिधि रमेश गिरीकै अनुसार नेपालमा थप तीन व्यक्तिमा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा चैत ३० गते आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले राष्ट्रिय प्रयोगशालामा चैत २९ गते राति भएको परीक्षणबाट तीन व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

पर्साको वीरगञ्ज स्थित नारायणी अस्पतालको आइसोलेशनमा रहेका तीन व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ३७, ५५ र ४४ वर्षीय तीन जना पुरुषहरूमा कोरोना सङ्क्रण भएको पुष्टि भएको हो ।

वीरगञ्ज महानगरपालिका-२ छपकैयास्थित मस्जिदमा शङ्कास्पदरूपमा रहेका २१ जनाको परीक्षण गर्दा कोभिडको शङ्का लागि नारायणी अस्पतालको आइसोलेशनमा राखिएको थियो । उनीहरूको समेत थ्रोट स्वाब कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौँडाको ल्याबमा परीक्षण गरिएकामा २१ मध्ये शङ्कास्पद तीनजनाको पोजिटिभ देखिएपछि पुनः एकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

मन्त्रालयले अहिलेसम्म पिसिआर प्रविधिबाट ५ हजार १ सय ८४ जनाको परीक्षण गरिसकेको छ । पछिल्लो चौबिस घण्टामा ७ सय ९५ जनाको परीक्षण गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट पहिल्लो २४ घण्टामा ६ सय २८ समेत अहिलेसम्म जम्मा ४ हजार २० जनाको परीक्षण भएको छ । काठमाडौँ उपत्यका बाहिरका प्रयोगशाला पछिल्लो २४ घण्टामा १ सय ६७ समेत १ हजार १ सय ६४ को परीक्षण भएको छ ।

देशभरमा अहिले आइसोलेशनमा ८५ र क्वारेइन्टाइनमा ७ हजार ९ सय ७३ रहेका छन् । आइसोलेशनमा काठमाडौँमा १५ र उपत्यकाबाहिर ७० जना छन् । र्‍यापिड टेष्ट कीट सबै जिल्लामा पुगेर काम सुरू भइसकेको मन्त्रालयले जनाएको छ । ३ हजार ३ सय २१ जना र्‍यापिड टेष्ट भएको  छ । मन्त्रालयले कल सेन्टर १११५ र ११३३ मा गरेर ३ हजार १ सय ३६ कल रिसिभ गरेको छ । मोबाइल एप्स र वेबसाइटबाट क्वारेइण्टाइन रहेकासँग सम्पर्क भइरहेको छ ।

उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोरखेल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललगायतको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिनुभएको जानकारी अनुसार मन्त्रिपरिषद्को निर्णय अनुसार कोभिड-१९ रोकथामका लागि आवश्यक पर्ने अत्यावश्यक सामग्री खरीदका लागि सेनाले जि-टु-जी र स्वास्थ्य सेवा विभागले बोलपत्रको प्रक्रिया अगाडि बढेको छ ।

सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन नेपाल-भारत सीमा क्षेत्रमा उल्लेख्य मात्रामा सशस्त्र प्रहरी बललाई परिचालन गरेको छ । भारतबाट लुकीछिपी भारतीय तथा नेपाली नागरिक समेत प्रवेश गर्ने गरेको पाइएपछि कोरोना सङ्क्रमणको त्रास बढेकाले सीमा क्षेत्रमा मात्रै ६ हजार जनशक्ति परिचालन गरेको छ ।

सीमा क्षेत्रमा अवैध रूपमा आवागमन नहोस् भन्ने ध्येयका साथ लकडाउनलाई प्रभावकारी बनाउन १ हजार ६८ स्थानमा पिकेट स्थापना गरी उक्त परिमाणमा जनशक्ति खटाइएको हो । केही स्थानमा भने सीमा पूर्ण रूपमा नै बन्द गरिएको छ भने आवतजावत गर्न प्रबन्ध गरिएको छ ।

देशभर लकडाउन जारी रहेकै अवस्थामा विभिन्न परिस्थितिले रोकिएका ४ हजार ४६ विदेशी नागरिक स्वदेश फर्किएका छन् । लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई सम्बन्धित मुलुकले जहाज चार्टर्ड गरी स्वदेश फिर्ता लगेका हुन् । अध्यागमन विभागका अनुसार चैत १४ देखि २९ गतेसम्म विभिन्न ११ देशले जहाज चार्टर्ड गरी आफ्ना नागरिक फिर्ता लगेका हुन् ।

अध्यागमन विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत सागर आचार्यले लकडाउनको अवधिमा विभिन्न मुलुकले आफ्ना ४ हजारबढी नागरिक उद्धार गरी घर फिर्ता लगेको जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी जर्मन सरकारले १ हजार २ सय ३ जना नागरिक फिर्ता लगेको छ ।

इन्सेक दोलखा जिल्ला प्रतिनिधि उद्धव पोखरेलका अनुसार मेलुङ गाउँपालिले पनि क्वारेण्टाइन निर्माण गरेको छ । स्थानीय बासिन्दाहरूको दबाबपछि दोलखाको मेलुङ गाउँपालिकाको पनि क्वारेण्टाइन बनाएको हो । क्वारेण्टाइन निर्माण गर्ने विषयमा फरक मत राख्दै आउनु भएका गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठ सहमतिमा आएपछि क्वारेण्टाइन निर्माण गरिएको हो । स्थानीयवासीको गुनासोपछि चैत २७ गते बसेको गाउँकार्यपालिको बैठकले क्वारेण्टाइन बनाउने निर्णय गरेको थियो । मेलुङ गाउँपालिका-७ स्थित श्यामटार आधारभुत विद्यालयमा क्वारेण्टाइन निर्माण गरिएको वडा अध्यक्ष नवराज खड्काले बताउनु भयो भयो । यसअघि जिल्लाका सबै नगर तथा गाउँपालिकाहरूले क्वारेण्टाइन निर्माण गरिसक्दा पनि मेलुङ गाउँपालिकाले भने क्वारेण्टाइन निर्माणमा चासो राखेको थिएन ।

यसैगरी गाउँपालिकाले कोरोना रोकथामका लागि २० लाख रुपियाँको कोष स्थापना गरेको छ भने सङ्क्रमण रोकथाम तथा उपचारसम्बन्धी सम्पुर्ण खर्चको व्यवस्थापन समेत गाउँपालिकाले गर्ने निर्णय भएको छ । गाउँपालिका भित्रका श्रमिक, विपन्न तथा असहाय परिवारको विवरण सङ्कलन गर्ने र लकडाउन अवधिभर गाउँपालिका भित्र रहेका सबै स्वास्थ्य चौकीका एम्बुलेन्सहरू निःशुल्क सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

इन्सेक मकवानपुर जिल्ला प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार चैत ३० गते बसेको कमाण्ड पोष्टको बैठकले हेटौँडामा किनमेलको समय घटाएको छ । किनमेलको समय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएकोमा बैठकले दुई घण्टा समय घटाएर बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म तोकिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताउनु भयो । गैरसरकारी संस्था दीगो विकासका लागि एकता नेपालले राक्सिराङ गाउँपालिकालाई फिभर गन उपलब्ध गराएको छ ।

लिसा हिमालय इभीसँगको साझेदारीमा राक्सिराङ गाउँपालिका-६, ७ र ८ मा शिक्षा तथा स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालन गरिरहेको दीगो विकासका लागि एकता नेपालका कार्यक्रम संयोजक अनिल पौडेलले गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला डिमडुङलाई फिभर गन हस्तान्तरण गर्नु भएको हो ।

इन्सेक सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि नातिबाबु धितालका अनुसार विदेशबाट घर फर्केका व्यक्तिहरूलाई कोरोना भाइरसको सङ्क्रमण भए नभएको पत्ता लगाउन जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले चैत ३० गतेबाट र्‍यापिड टेष्ट प्रयोगमा ल्याएको छ ।

चैत १ गतेबाट नेपाल प्रवेश गरी सिन्धुपाल्चोक जिल्लामा रहेका व्यक्तिहरू र उनीहरूको सम्पर्कमा रहेका व्यक्तिहरूको र्‍यापिड टेष्ट प्रविधिबाट कोरोना भाइरसको परीक्षण गर्ने व्यवस्था गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईंले बताउनु भयो ।

उहाँका अनुसार १४ दिन क्वारेण्टाइनमा बसेकाहरूलाई सो प्रविधिबाट परीक्षण गरिने छ । जिल्ला जनस्वास्थ्य कार्यालयमा प्राप्त तथ्याङ्क अनुसार सिन्धुपाल्चोकमा चैत १ गतेदेखि यता विदेशबाट फर्केका १ सय ४९ जना जिल्ला प्रवेश गरेका छन् । विदेशबाट फर्केकाहरू र उनीहरूको सम्पर्कमा रहेकाहरू गरी ३ सय ४० जनालाई र्‍यापिड टेष्ट विधिबाट परीक्षण गरिने जनस्वास्थ्य कार्यालयका प्रमुख चापागाईंले बताउनु भयो ।

सिन्धुपाल्चोक जिल्लामा रहेका विभिन्न क्वारेण्टाइनमा १५ जना राखिएको छ । जसमध्ये चौतारा सागाँचोकगढी नगारपालिका-७ स्थित मेलचौरमा रहेको क्वारेण्टाइन केन्द्रमा सात जना, हेलम्बु गाउँपालिकामा ६ जना, सुनकोशी गाउँपालिका र भोटेकोशी गाउँपालिकामा एक/एक जना राखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईंले बताउनु भयो । चापागाईंका अनुसार चैत ३० गते जिल्लाको आइसोलेशनमा बिरामी राखिएको छैन ।

इन्सेक रसुवा जिल्ला प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार कालिका गाउँपालिकाको जिवजिवे ग्रामीण अस्पतालमा सात जनामा गरिएको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

उत्तरगया, नौकुण्ड, र गोसाइकुण्डमा दुई/दुई जना विदेशबाट आएका छन् । उनीहरूको परीक्षण ०७७ वैशाख १ गते हुने जनस्वास्थ्य कार्यालयका प्रमुख किरण श्रेष्ठले बताउनु भयो । हालसम्म आमाछोदिङमो गाउँपालिकाको चिलिमे तीन जना क्वारेण्टाइनमा छन् । उनीहरू काठमाडौँबाट आएको बताइएको छ । रसुवा अस्पतालमा एकजना आइसोलेशनमा रहेका छन् । क्वारेण्टाइन

क्वारेण्टाइन गाउँ/गाउँमा रहेका सामुदायिक स्वास्थ्य इकाई, स्वास्थ्यचौकी, अस्पताल सहित ५५ स्थानबाट सेवा प्रवाह भएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत किरण श्रेष्ठले बताउनु भयो । जिवजिवे ग्रामीण अस्पताल सहित दुई ओटा अस्पताल, नौ ओटा हेल्थ डेस्क, २९ ओटा स्वास्थ्य संस्था आठ ओटा क्वारेण्टाइनबाट पाँच ओटै गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सक्रियताका साथ लागि परेका छन् ।

व्यक्तिगत सुरक्षा सामग्री, सर्जिकल माक्स, सेनिटाइजरलगायतका सामग्रीलगायत कतिपय गाउँपालिकाले खरिद गरेको र नपुग सामग्री जिल्ला विपद व्यवस्थापन समितिले प्रदान गरेपछि अहिले जिल्लाका सबै स्वास्थ्य संस्थामा पुगेका छन् ।

कालिका गाउँपालिका-३, इटपारे दलित बस्तीका दुई परिवारले गाउँपालिकाले उपलब्ध गराएको राहत फिर्ता गरेका छन् । आफूभन्दा बढी समस्यामा परेकालाई राहत दिन अनुरोध गर्दै मुरलीबहादुर नेपाली र झक्कबहादुर भुसालले राहत कुपन फिर्ता गर्नु भएको कालिका गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानले जानकारी दिनुभयो । गाउँपालिकाले पहिलो चरणमा २ सय ६७ परिवारलाई राहत उपलब्ध गराएको थियो ।

इन्सेक धादिङ जिल्ला प्रतिनिधि सिताराम अधिकारीका अनुसार कोरोना महामारी रोक्न गरिएको लकडाउनपछि गरिएको पूर्व तयारी तिव्र पारिएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाले १९ जनामा, नीलकण्ठ नगरपालिकामा ३७ जना, गजुरी गाउँपालिकामा सातजना, गङ्गाजमुना गाउँपालिकामा तीनजना, गल्छी गाउँपालिकामा २२ जनामा कोरोनाको द्रुत परीक्षण गरिएको छ । परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेश सरकारले नौ स्थानीय तहलाई द्रुत परीक्षण कीट उपलब्ध गराएपछि विदेशबाट घर आउनेहरूको परीक्षण गरिएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा बेनिघाट रोराङ गाउँपालिका-६ का असङ्गठित क्षेत्रका मजदुर र अति विपन्न परिवारका ज्याला मजदुरी गर्ने १ सय ४० परिवारलाई चैत ३० गते  राहत वितरण गरिएको छ ।

हालसम्म सिद्धलेक गाउँपालिकाका दुई परिवार, धुनीबेसी गाउँपालिकाका ६ सय ३४ परिवार, बेनिघाट रोराङ गाउँपालिकाका १ हजार १ सय ९७ परिवार र गङ्गाजमुना गाउँपालिकाका १ हजार २४ परिवारलाई राहत वितरण गरिएको गाउँपालिका अध्यक्षहरूले टेलिफोनबाट जानकारी दिनुभयो ।

सिद्धलेक गाउँपालिकाले ३६ लाख ४० हजारको राहत कोष निर्माण गरेको छ । यो रकम कोरोना भाइरसको महामारी आएमा खर्च गर्ने गरी बनाइएको गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालले बताउनु भयो ।

इन्सेक सिन्धुली जिल्ला प्रतिनिधि बिमला पाण्डेका अनुसार सिन्धुली जिल्लामा विदेशबाट फर्केकाहरूको र्‍यापिड टेष्ट सुरू गरिएको छ । सिन्धुलीमा क्वारेण्टाइन तथा होम क्वारेण्टाइनमा बसेकाहरूको कोरोना द्रुत परीक्षण  सुरू भएको हो । जिल्लामा भारत तथा तेस्रो मुलुकबाट आएर होम क्वारेण्टाइनमा रहेका र क्वारेण्टाइनमा बसेका सबैको र्‍यापिड टेष्ट थालिएको हो । दुधौली नगरपालिकाबाट उक्त कार्यको सुरुवात गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्रकुमार शाहले बताउनु भयो ।

उहाँका अनुसार दुधौलीमा चैत ३० गते १५ जनाको र्‍यापिड टेष्ट गरिएको छ । र्‍यापिड टेष्ट गरिएका सबैको रिपार्ट नेगेटिभ आएको छ । उहाँले स्थानीय तहले सङ्कलन गरेको तथ्याङ्क अनुसार सबैको टेष्ट गरिने र सबै स्थानीय तहमा पुगेर परीक्षण गरिने बताउनु भयो  ।

कमलामाई नगरपालिकाले जिल्ला बाहिरबाट तरकारी तथा फलफूल आयात नगर्न सबै व्यवसायीलाई अनुरोध गरेको छ । सार्वजनिक अनुरोध लिखित रूपमा जारी गर्दै नगरपालिकाले भाइरसको सङक्रमण बढ्न सक्ने भएकाले जिल्ला बाहिरबाट तरकारी तथा फलफूल खरिद नगर्न र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न व्यवसायीहरूलाई अनुरोध गरेको हो ।

कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्रीले जारी गरेको उक्त वक्तव्यमा उचित मुल्यमा तरकारी फलफूल तथा खाद्यान्न विक्री वितरण गर्न, मुल्य सूची टाँसेर राखी सोहि अनुरूप बेच्न, म्याद नाघेका सामान विक्री वितरण नगर्न र फलफूल तथा तरकारीको ग्रेडिङ गरेर विक्री वितरण गर्न अनुरोध गरिएको छ ।

गोलन्जोर गाउँपालिकाले नेपाल सरकार गृह मन्त्रालयको परिपत्र अनुसार असङ्गठित क्षेत्रमा काम गर्ने श्रमिक वर्ग तथा न्यून आय भएका समुदायका २ हजार २ सय ९९ परिवारलाई राहत वितरण गरेको छ । लकडाउनपछि दैनिक ज्याला मजदुरी गरी छाक टार्ने मजदुरलाई उक्त राहत दिइएको गाउँपालिकाका अध्यक्ष पुष्प कार्कीले बताउनु भयो  ।

लकडाउनका कारण खाद्य सङ्कटमा परेका मजदुर तथा विपन्न वर्गलाई कमलामाई नगरपालिकाले राहत वितरण गरेको छ । नगरप्रमुख राहत कार्यक्रम अन्तर्गत चैत ३० गते कमलामाई नगरपालिकाले चार ओटा वडामा रहेका मजदुर तथा गरिब असहायलाई खाद्यान्न वितरण गरेको हो ।

कमलामाई नगरपालिकाका-१, २, ८ र ९ का अतिविपन्न र दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने नागरिकलाई राहत वितरण गरिएको कमलामाई नगरपालिकाले जनाएको छ । वडा अध्यक्ष तथा वडा कार्यालयहरूको समन्वयमा उक्त राहत वितरण गरिएको हो । २ सय ८८ परिवारलाई राहत वितरण गरिएको कमलामाई नगरपालिकाले जनाएको छ । यसअघि नगरपालिकाले ७५ जना मजदुरलाई राहत वितरण गरेको थियो ।

सङ्घीय सरकारको कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा कमलामाई नगरपालिकाले ६ लाख २४ हजार ८ सय ६८ रुपियाँ जम्मा गरेको छ । नगरपालिकाका कर्मचारीको तलबबाट कट्टा गरी उक्त रकम जम्मा गरिएको कमलामाई नगरपालिकाले जनाएको छ ।

सरकारले घोषणा गरे अनुसारको मापदण्डमा कमलामाई नगरपालिका सिन्धुलीमा कार्यरत कर्मचारीहरूबाट चैत महिनाको तलबबाट उक्त रकम जम्मा गरिएको नगरप्रमुख खड्ग खत्रीले बताउनु भयो । उहाँका अनुसार अधिकृतस्तरका कर्मचारीबाट पाँच दिन बराबरको तलब र सहायक स्तर तथा श्रेणी विहिन कर्मचारीबाट तीनदिनको तबल जम्मा गरिएको हो ।

यस्तै नगरपालिकाले नगरपालिकाको प्रकोप व्यवस्थापन विशेष कोषमा सम्पूर्ण कर्मचारीहरूको एकदिनको तलब कट्टा गरी १ लाख ८६ हजार ६ सय ८ रुपियाँ जम्मा गरेको जनाएको छ ।

इन्सेक नुवाकोट जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार नुवाकोटमा होम क्वारेण्टाइनमा हालसम्म १ सय ४२ जना रहेका छन् । स्थानीय तहको क्वारेण्टाइनमा कोही छैनन् । १२ स्थानीय तहमा २ सय ७२ बेडको क्वारेण्टाइन तय गरिएको छ ।

विदेशबाट आएकाहरूको कोरोना भाइरसको परीक्षण नुवाकोटमा पनि सुरू भएको छ । चैत ३० गते बेलकोटगढी नगरपालिकामा ५४ जना, तारकेश्वर गाउँपालिकामा ७३ जना र विदुर नगरपालिकामा १४ जनाको र्‍यापिड टेष्ट गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको जनस्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिनुभयो । जिल्लामा अन्य स्थानीय तहहरूमा विदेशबाट आएकाहरू सबै र शङ्का लागेकाहरूको परीक्षण कार्यलाई तिव्र बनाएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

इन्सेक चितवन जिल्ला प्रतिनिधि दीपेन्द्र अधिकारीका अनुसार चैत ३० गते लकडाउन उल्लङ्घन गरेको आरोपमा ६ जनालाई चितवन प्रहरीले गिरफ्तार गरेको छ । भरतपुर अस्पतालमा कोरोना विशेष आइसीयूमा दुई जना बिरामी र आइसोलेशनमा पाँच जना बिरामी रहेका अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताउनु भयो ।

चैत ३० गते अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारी, नेपाल चिकित्सक सङ्घका केन्द्रीय उपाध्यक्ष एवम् वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका नाक, कान,घाँटी विशेषज्ञ डा.अनिल विक्रम कार्कीलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको थ्रोट स्वाब सङ्कलन गरी कोरोना परीक्षणका लागि भरतपुर कोभिड-१९ प्रयोगशालामा पठाइएको छ । चैत ३० गते चिकित्सक, स्वास्थ्यकर्मीसहित कुल ३० जनाको नमूना परीक्षण भइरहेको कोरोना अस्पतालले जनाएको छ ।

इन्सेक ललितपुर जिल्ला प्रतिनिधि दीपकप्रसाद घिमिरेका अनुसार जिल्ला भरमा ललितपुर महानगरपालिकामा रहेको पाटन अस्पताल, महालक्ष्मी नगरपालिकामा रहेको किष्ट अस्पताल र गोदावरी नगरपालिकामा रहेको बज्रबाराही चापागाउँ अस्पतालमा कोरोनाको लक्षण देखिएका बिरामीहरूको उपचार व्यवस्था गरिएको छ ।

जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालका अनुसार ललितपुरमा ४३ जनाको स्वाब परीक्षण गरिएकोमा सबै जनाको नेगेाटिभ रिपोर्ट आएको छ । चैत ३० गते ५ जनाको स्वाब परीक्षणका लागि शुक्रराज ट्रपिकल एवम् सरुवारोग अस्पताल टेकुमा पठाइएको छ । कोरोनाको शङ्का लागेका दुई जना बिरामीलाई आइसियूमा भर्ना गरिएको छ भने एक जना बिरामी निको भएर घर फर्किएको पाटन अस्पतालले जनाएको छ । कोरोनाको शङ्का लागेका दुईजना बिरामीलाई किष्ट अस्पतालमा भर्ना गरिएको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।

इन्सेक रामेछाप जिल्ला प्रतिनिधि नवराज घिमिरेका अनुसार रामेछाप जिल्लामा छिमेकी मुलुक भारत र अन्य विभिन्न देशबाट आएका ६७ जनालाई क्वारेण्टाइनमा राखिएको छ । कोरोना सङ्क्रमणको सम्भावित जोखिमतालाई ध्यानमा राखी हालसम्म जिल्लाको आठ ओटै स्थानीय तहमा जम्मा २ सय ९१ बेड क्वारेण्टाइन र ५८ बेड आइसोलेशन कक्ष स्थापना गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय रामेछापले चैत ३० गते एक सूचना जारी गरी नयाँ वर्षको अवसरमा जिल्ला स्थित स्थानीय तह, राजनीतिक दल, निजी क्षेत्र, सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाज, सञ्चारकर्मीलगायतलाई नयाँ वर्ष मनाउने सन्दर्भमा कुनै पनि किसिमका भेटघाट, जमघट, सामूहिक भेला तथा भोज जस्ता कार्य नगर्न अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माद्वारा जारी सूचनामा आफ्नै धर्म संस्कृति र परम्परा अनुसार घरभित्रै बसी कोरोना विरूद्धको सन्देशमुलक शुभकामना आदानप्रदान गर्न अनुरोध गरिएको छ ।

मन्थली नगरपालिका-९ का वडा अध्यक्ष बुद्धिबहादुर पुलामीको अगुवाइमा सोही वडाका कुमार श्रेष्ठ र प्रकाश श्रेष्ठले मन्थली नगपालिकालाई २ सय थान सर्जिकल मास्क र पीपीई सेटको गाउन १० थान चैत ३० गते मन्थली नगरपालिकालाई उपलब्ध गराउनु भएको छ ।

इन्सेक काभ्रे जिल्ला प्रतिनिधि हिरामान तामाङका अनुसार काभ्रेका सबै स्थानीय तहमा कोरोना भाइरस परीक्षण सुरू भएको छ । जनस्वास्थ्य कार्यालय काभ्रेले विदेशबाट आएका नागरिकको कोरोना भाइरस परीक्षणका लागि र्‍यापिड कीट स्थानीय तहलाई हस्तान्तण गरेपछि चैत ३० गतेबाट परीक्षण सुरू भएको हो । कार्यालयले कीट, मास्क समेत हस्तान्तण गरेको जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख ड.नरेन्द्रकुमार झाले बताउनु भयो ।

डाक्टरका अनुसार ल्याब भएका सबै स्थानीय तहलाई कीट दिइरसकेको र विदेशबाट आएकाको परीक्षण हुने भएको हो । पनौती नगरपालिकामा सबैभन्दा बढी कीट पठाइएको छ । पनौती नगरपालिकाले चैत ३० गते पाँच जनाको परीक्षण गरिसकेको छ । ६१ जनाको परीक्षण गर्नका लागि कीट प्राप्त भएको र अबको एक दुई दिनभित्रै परीक्षण गरिसक्ने नगरपालिकाका स्वास्थ्य संयोजक पुरुषोत्तम तिमल्सिनाले बताउनु भयो । रोशी गाउँपाकिलाले पनि चैत ३० गतेबाट परीक्षण सुरू गरेको जनाएको छ । विदेशबाट आएका १७ जनाकै घरमा पुगेर रगत सङ्कलन गरी मंङ्लटारमा रहेको ल्याबमा परीक्षण सुरू गरिएको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी बर्तौलाले बताउनु भयो ।

पाँचखाल नगरपालिकाले ४० थान कीट पाएको छ । विदेशबाट आएका ३८ जनाको परिक्षण हुने नगर प्रमुख महेश खरेलले जानकारी दिनुभयो । महाभारत र खानीखोला गाउँपालिकाका लागि २० ओटा कीट पठाइएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले काभ्रे जिल्लालाई ३ सय थान कीट पठाएको थियो । जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार फागुन ३० गतेदेखि यता जिल्लामा २ सय ७१ जना विभिन्न देशबाट फर्किएका नागरिक सम्पर्कमा आएका छन् ।

पाँचखाल नगरपालिकाले लकडाउनपछि समस्या परेका नागरिकलाई सहयोग गर्ने दाताहरूको विवरण तयार पारेको छ । नगरपालिकाले तयार गरेको तथ्याङ्क अनुसार संस्था र व्यक्ति गरी १६ ठाउँबाट सहयोग प्राप्त भएको प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले बताउनु भयो । भण्डारीका अनुसार हाल नगरपालिकाको विपद् व्यवस्थापन समितिमा ४ हजार १ सय ४५ केजी चामल र २ सय ८९ केजी दाल जम्मा भइसकेको छ ।


इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा