कोरोना भाइरससम्बन्धी बागमती प्रदेशको अवस्था (चैत २९ गते)

  ०७६ चैत २९ गते

प्रधानमन्त्री केपी शर्मा ओलीले चैत २९ गते सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्स गर्नुभएको छ । सो कन्फरेन्स मार्फत प्रधानमन्त्री ओलीले कोरोना भाइरस (कोभिड-१९)  सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन तत्काल हतारमा खुल्ला नगरिने बताउनुभयो । उहाँले हतारमा लकडाउन हटाए भोलि थप सङ्कट आउन सक्नेतर्फ सचेत हुनुपर्ने भन्दै जारी लकडाउन निरन्तर रहने र नेपाल-भारत सीमा नाकामा थप कडाइ गरिने बतानुभयो ।

कोरोना भाइरसको सङ्क्रमण रोकथामको लागि उच्च सतर्कताका अपनाउने क्रममा बागमती प्रदेश अन्तर्गतका प्रदेश तथा स्थानीय तहहरूले क्वारेन्टाइन, आइसोलेसन, विदेशबाट आएकाहरूको पहिचान तथा राहत वितरण लगायतका कार्यहरू गरिरहेका छन् ।

इन्सेक रामेछाप जिल्ला प्रतिनिधि नवराज पथिकका अनुसार जिल्लामा छिमेकी मुलुक भारत र अन्य विभिन्न देशबाट आएका ६७ जनालाई क्वारेन्टाइनमा राखिएको छ । चैत २९ गतेसम्म गोकुलगङ्गा गाउँपालिकामा आठ जना, मन्थली नगरपालिकामा सात जना, रामेछाप नगरपालिकामा २६ जना, सुनापति गाउँपालिकामा १५ जना, खाँडादेवी गाउँपालिकामा ६ जना र लिखुतामाकोशी गाउँपालिकामा पाँच जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिनुभएको छ । अहिले सबै होम क्वारेन्टाइनमा बसेका छन् ।

चैत २९ गते गोकुलगंगा गाउँपालिकामा थप पाँच जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला अस्पतालको तथ्याङ्कमा छ । हालसम्म मन्थली नगरपालिकलामा १७ जना, खाँडादेवी गाउँपालिकामा ११ जना र गोकुलगंगा गाउँपालिकामा चार जनालाई क्वारेन्टाइनबाट छुटाइएको कर्णले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी हालसम्म जिल्लाको आठ ओटै स्थानीय तहमा जम्मा २ सय ९१ बेड क्वारेन्टाइन र ५८ बेड आइसोलेसन कक्ष स्थापना गरिएको छ । अहिले मन्थली नगरपालिकामा २२, रामेछाप नगरपालिकामा सात, दोरम्बा गाउँपालिकामा सात, सुनापति गाउँपालिकामा ६, खाँडादेवी गाउँपालिकामा ११ र गोकुलगंगा गाउँपालिकामा पाँच बेड आइसोलेसन सेन्टर स्थापना गरिएको छ । त्यसैगरी मन्थली नगरपालिकामा २६, रामेछाप नगरपालिकामा ७०, दोरम्बा गाउँपालिकामा १६, खाँडादेवी गाउँपालिकामा ४३, गोकुलगंगा गाउँपालिकामा ३४, उमाकुण्ड गाउँपालिकामा ५३ र लिखुतामाकोशी गाउँपालिकामा ४९ बेड क्वारेन्टाइन स्थापना गरिएको छ । भारत लगायत विदेशबाट फर्किएका सर्वसाधारणलाई स्वास्थ्यकर्मीको सम्पर्कमा आउन समेत जिल्ला अस्पताल रामेछापले आग्रह गरेको छ । स्थानीय तहरूले कारोना विरुद्धको सचेतना कार्यक्रमहरू सञ्चालन गरि रहेका छन् । घरघरमा सावुनपानीले हात धुन तथा समूहमा नबस्नको लागि स्थानीय तहले सचेत गराएका छन् ।

इन्सेक दोलखा प्रतिनिधि उद्धव पोखरेलका अनुसार तामाकोशी गाउँपालिकाले क्वारेण्टाईनमा र आईसोलेसनमा रहेका स्वास्थ्यकर्मीहरूको लागि विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोभिड १९ को रोकथामका लागि गाउँपालिकाले आठ वेडको क्वारेण्टाईन र पाँच वेडको आईसोलेसन कक्ष निर्माण गरिसकेको छ । गाउँपालिकाले धुलिखेल सामुदायिक अस्पतालद्धारा गाउँपालिकाको किर्नेटारमा तयार गरेको आईसोलेसनमा कार्यरत स्वास्थ्यकर्मीका लागि सामग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले जानकारी दिनुभयो । विभिन्न निकायबाट गाउँपालिकामा प्राप्त भएको ज्वरो नाप्ने थर्मल गन २ थान, पीपीई सेट ३५ थान लगायत अन्य औषधीजन्य सामग्री मध्य केही थान पीपीई सेट र थर्मल गन आईसोलेसनमा उपलब्ध गराईएको छ ।

यसैगरी शैलुङ गाउँपालिकाले आफ्ना दुई ओटा वडाका वडावासीहरूको घरमै पुगेर स्वास्थ्य परीक्षण गरेको छ । गाउँपालिकाको वड नम्बर ३ र ६ का प्रत्येक वडावासीको घरमा पुगेर स्वास्थ्य परीक्षण गरेको गाउँपालिका अध्यक्ष भरत दुलालले जानकारी दिए । वडाका विपन्न वर्गको तथ्यांक संकलन गर्ने क्रममा स्थानीय नागरिकहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने उद्धेश्यले स्वास्थ्य परीक्षण गरिएको छ ।

यसैबीच कोरोना न्युनिकरणका लागि सरकारले लकडाउन गरे सँगै दोलखामा रगतको अभाव हुन थालेको छ । दोलखामा नेपाल रेडक्रस सोसाईटी दोलखा शाखाले सञ्चालन गर्दै आएको ब्लड बैंकमा चार युनिट मात्र रगत मैजाद रहेको छ । जिल्लामा रक्तदानका कार्यक्रम आयोजना हुन छोडेपछि रगतको अभाव भएको हो । जिल्लामा प्रसुति हुने महिलाको लागि रगतको आवश्यक परेको खण्डमा सैनिक तथा प्रहरीहरूले रगत दिँदै आएका छन् ।

इन्सेक रसुवा जिल्ला प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार कोरोना भाइसर (कोभिड-१९) को रोकथामका लागि पाँच ओटै गाउँपालिकाले १० लाखदेखि रुपियाँसम्मको कोरोना विपद् कोष स्थापना गरेका छन् । आजसम्म तीन जना कोरोना सङ्क्रमणको आसङ्काले काठमाडौँमा आफ्नै घरमा (होम क्वारेण्टाईन) मा छन् । १६ जना भारत तथा तेस्रो मुलुकबाट आएकाहरूको तथ्याङ्क छ । जिल्लामा २९ स्वास्थ्य संस्था, हेल्थ डेक्स नौ ओटा, २ सय १० बेड क्वारेण्टाईन, ३५ बेड आईसेालेसन तयार भए पनि हालसम्म १ जनालाई आइसोलेसनमा राखेर स्वब परीक्षणका लागि काठमाडौँ पठाइएको छ । हालसम्म आमाछोदिङमो ५१, उत्तरगया ९१, कालिका ४९, गोसाइकुण्ड ४६, नौकुण्ड ३० गरी २६७ जनाको जाँच तथा स्क्रिनिङ भएको छ ।

गाउँगाउँमा रहेका सामुदायिक स्वास्थ्य इकाई, स्वास्थ्यचौकी, अस्पताल सहित ५५ स्थानबाट सेवा प्रबाह भएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत किरण श्रेष्ठले बताउनुभयो । जिवजिवे ग्रामीण अस्पताल सहित २ अस्पताल, ९ हेल्थ डेक्स, २९ स्वास्थ्य संस्था ८ ओटा क्वारेण्टाईनबाट ५ वटै गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सत्रियताका साथ जनप्रतिनिधीहरूको समेत सहयोगमा काम गरिरहेका छन् । व्यक्तिगत सुरक्षा सामग्री, सर्जिकल माक्स, हृायाण्ड सेनिटाइजरलगायतका सामग्रीलगायत कतिपय गाउँपालिकाले खरिद गरेको र नपुग सामग्री जिल्ला विपद व्यवस्थापन समितिले प्रदान गरेपछि अहिले जिल्लाका सबै स्थास्थ्य संस्थामा पुगेका छन् ।

०७२ वैशाखको विनाशकारी भूकम्पका कारण उत्तरगया गाउँपालिका-१ र २ बाट विस्थापित १ सय ६९ परिवार वडा नं ५ को खाल्टे बगरमा दैनिक गुजारा चलाउन नसकेर कष्टकर जीवन बिताउँदै आएका छन् । वडा नं १ मा मात्र ७ सय घरधुरी विस्थापित छन् । उनीहरूपनि राहतको प्रतिक्षामा छन् । उनीहरूलाई उत्तरगया गाउँपालिकाले राहत वितरणका प्रक्रिया अघि बढाएको छ । उनीहरू जिल्लाको गोगने, तिरु, डाडागाउँ लगायतका जोखिम बस्तीमा जोखिममा परेका कारण चार वर्षअघिदेखि त्रिशुली नदिको किनारमा बस्दै आएका छन् । आफ्नो थातथलो छाडेर आएका उनीहरूको जिविका ज्याला मजदुरीमा चलेको थियो । कोरोना भाइसर (कोभिड-१९) को सङ्क्रमण फैलिन नदिन तथा रोकथाम गर्न नेपाल सरकारले देशभरी लकडाउन (बन्दाबन्दी) गरेपछि सवै काम ठप्प भएकोले खाल्टे क्याम्पमा रहेका बिस्थापितहरू ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्न नपाएर समस्यामा परेका हुन् ।

इन्सेक मकवानपुर जिल्ला प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार चैत २९ बागमती प्रदेश सरकारलाई एनएमबी बैंक लिमिटेडले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलमार्फत १ सय थान पीपीई हस्तान्तरण गरेको छ । यसैगरी प्रदेश सरकारलाई एसियन लाईफ इन्स्योरेन्स कम्पनीका हेटौंडा शाखा प्रमुख सन्जय रेग्मीले ५ लाख र कृष्ण प्रणामी सेवा समितिका अध्यक्ष अर्जुनप्रसाद वाग्ले र उपाध्यक्ष श्रीराम खतिवडाले १ लाख ५ हजार रुपियाँको चेक हस्तान्तरण गर्नु भएको छ ।

यसैबीच, जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले मापदण्ड बमोजिम व्यवस्थित तरिकाले राहत वितरण गर्न जिल्लाका सबै स्थानीय तहहरूलाई आग्रह गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले चैत २८ गते विज्ञप्ति जारी गर्दै नेपाल सरकारको मापदण्ड र स्थानीय तहको कार्यविधि बमोजिम वास्तविक पीडित मापदण्ड भित्र परे नपरेको सम्बन्धमा ध्यानाकर्षण भएको जनाउँदै मापदण्ड वमोजीम कार्य गर्न/गराउन स्थानीय तहहरूलाई अनुरोध गर्नुभएको हो ।

प्रमुख खुलालद्वारा जारी विज्ञप्तिमा विश्वव्यापि रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९)को सन्दर्भमा जिल्लाका विभिन्न स्थानीय तहहरूमा अनुगमन गरिएको र अनुगमनको क्रममा स्थानीय तहहरूबाट गरिएको राम्रा पक्ष र देखिएका कमी कमजोरी प्रति समेत ध्यानाकर्षण भएको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ- "स्थानीय तह भित्र प्रत्येक वडा, वस्ती, टोल भित्र वास्तविक रुपमा ज्यालादारीमा बाँच्न वाध्य भएका खास गरि विहान वेलुका छाक टार्न नसकेका नागरिकहरूको सहि परिचान गरेको वा नगरेको तथा नेपाल सरकारले तोकिएको मापदण्ड, स्थानीयतहको कार्यपालिकाद्धारा पारित गरिएको कार्यविधिभित्र छनौट गरिएका व्यक्तिहरू मापदण्ड भित्र परे नपरेको सम्बन्धमा जिससको ध्यानाकर्षण भएको छ, यथासक्य मापदण्ड बमोजीम कार्य गर्न गराउन अनुरोध गर्दछ ।"

यसैबीच, कैलाश गाउँपालिकामा गठित गाउँपालिकास्तरीय बिपद् व्यवस्थापन समितिको तेस्रो बैठक र नवौँ कार्यपालिका बैठकबाट ९७ लाख १२ हजार ५ सय रुपियाँको विपद् व्यवस्थापन कोषमा रकम रहेको जानकारी दिइएको छ । गाउँसभाले जलउत्पन्नजन्य बाढीपहिरो, आगलागी, भूकम्प, चट्याङ सहितका प्राकृतिक विपद्हरूको सामना, पूर्वतयारी, उद्धार तथा राहतका लागि विभिन्न शीर्षकहरूमा बजेट बिनियोजन गरेको थियो ।

इन्सेक चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार चैत २९ गते लकडाउन उल्लङ्घन गरेको आरोपमा तीन जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रवक्ता डिएसपी एकनारायण कोइरालाले अनुसार ४० ओटा मोटरसाइकल र १४ ओटा स्कुटर नियन्त्रणमा लिइ छाडिएको समेत बताउनु भएको छ । भरतपुर अस्पतालको आइसोलेसन वाडमा ११ जनाको उपचार भइरहेको छ । चैत २८ गते २५ जनाको कोरोना परीक्षण गरिएकोमा सबै नेगेटिभ आएको छ । जिल्लाका सबै स्थानीयतहहरूले गरिव, विपन्न नागरिकका लागि राहत वितरण गरिरेहका छन् । खैरहनी नगरपालिकाले दोस्रो चरणको र माडी नगरपालिकाले तेस्रो चरणको राहत वितरण थालेको छ ।

इन्सेक नुवाकोट जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार होम क्वारेनटाइनमा १ सय ९३ जना रहेका छन् । स्थानीय तहको क्वारेनटाइनमा १४ जना रहेका छन् । विदेशबाट आएको १५ दिन नाघेकाहरूलाई क्वारेनटाइनमा बस्न नपर्ने भनिएको क्वारेनटाइनमा बस्नेको सङ्ख्या घटेको हो । जिल्ला प्रहरी कार्यालयले लकडाउनको उल्लङ्घन गर्ने ६७ जनालाई केही समय नियन्त्रणमा लिएर सम्झाई बुझाई छाडिएको जनाएको छ । यस्तै, लकडाउन उल्लङ्घन गर्ने १० ओटा बाइकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाभर ९७ जनाको ज्वरो परीक्षण गरिएको ।

इन्सेक भक्तपुर जिल्ला प्रतिनिधि रमेश गिरीका अनुसार कोभिड-१९ को उपचारका लागि भक्तपुर अस्पतालको आइसोलेसनमा २०७६ चैत २९ गते ६ जना भर्ना भएका छन् । अस्पतालमा ६ जनाको उपचार भइरहेको र उनीहरूको नमूना सङ्कलन गरि परीक्षणका लागि टेकुस्थित राष्ट्रिय प्रयोगशालामा पठाएको अस्पतालको सुपरिटेण्डन डा. सुमित्रा गौतमले जानकारी दिनुभयो ।

जिल्लामा अहिलेसम्म विदेशबाट फर्किएका २ सय १५ जनाको पहिचान गरि स्वाब नमूना सङ्कलन गरि परीक्षणका लागि पठाएको र त्यसमध्येमा १ सय १० जनाको रिपोर्ट नेगेटिभ आएको तथा अरुको रिपोर्ट आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो ।

त्यसैगरि सडक, पाटी, मन्दिरकमा रहेका बेसाहारा ५० जना मानवलाई खाना खुवाएको भक्तपुरको चाँगुनारायणस्थित मानव कल्याण समाजले आजबाट भक्तपुर अस्पताल, क्यान्सर अस्पताल, मानव अङ्ग अस्पतालका विरामी, कुरुवा र आइसोलेसन वार्डमा रहेका विरामी सबैलाई खाना खुवाउन सुरू गरेको छ । अस्पताल कै आग्रहमा निःशुल्क खाना खुवाउने व्यवस्था गरिएको समाजकी अध्यक्ष सुमित्रा चौलागाईले जानकारी दिनुभयो ।

त्यसैगरि चाँगुनारायण नगरपालिकाले राहत वितरण जारी राखेको छ । नगरपालिका मेयर सोमप्रसाद मिश्रले भोलीसम्ममा राहत वितरण सम्पन्न गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो ।

यता देशभर लकडाउन भईरहेको बेलामा भक्तपुरका इँटाभट्टा सञ्चालकहरूले रातारात २४ ओटा गाडीमा भारतबाट आयातित कोईला र मजदुर ल्याएका छन् । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सरकारले ६ ओटा मापदण्ड पूरा गर्नुपर्ने शर्त राखे पनि भट्टामा ती मापदण्डहरू पुरा नभएको र बन्द गर्न अटेर गरेको उहाँको बताउनु भयो । दुई दिनमा कोइला बोकेर २४ ओटा गाडी भक्तपुर आएको आफूले जानकारी पाएको भन्दै प्रहरी मार्फत भट्टाको अनुगमन भईरहेको पाण्डेले जानकारी दिनुभयो । महानगरिय प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधानले सवारी पास समेत नलिई भित्रिएका कोइला बोकेका ट्रकहरूले उद्योग सञ्चालनका लागि अत्यावश्क कच्चा पदार्थ ढुवानी भन्दै कोइला ओसारेको जानकारी दिनुभयो । इँटाभट्टाले सरकारले निर्धारण गरेको मापदण्ड पुरा नगरेको र अहिले पनि एउटै भट्टामा कम्तीमा १ सय ५० मजदुर एकै ठाउँमा बसेर काम गरिरहेका छन् ।

भक्तपुर जिल्ला प्रतिनिधि रमेश गिरीकै अनुसार कोरोना भाइरस (कोभिड-१९) को परीक्षण वीर अस्पतालमा पनि सुरू भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनु भएको छ । छ । काठमाडौँ उपत्यकामा परीक्षण स्थल दुई पुगेको छ । यसअघि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र परीक्षण हुँदै आएको थियो । पछिल्लो २४ घण्टामा ८ सय ९७ जनाको परीक्षण थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना सङ्क्रमण आशङ्का गरिएका ४ हजार ४२६ जनाको नमूना परीक्षण भएको छ ।

मन्त्रालयका अनुसार ८ हजार ८२ जना देशभर क्वारेन्टाइनमा छन । ८२ जना आइसोलेसनमा छन । जसमध्ये १५ जना उपत्यकामा ६७ जना उपत्यकाबाहिर छन् । हाल आठ जना संक्रमितको उपचार भइरहेको छ । जसमा चार जना धनगढीमा, दुई जना बागलुङ र दुई जनाको टेकुमा उपचार भइरहेको छ । सबैको स्वास्थ्य अवस्था राम्रो रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै सरकारले लकडाउनका अबधीमा १५० यूनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई २५ प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ । यस्तै लकडाउनमा सञ्चालन हुने उद्योगलाई समेत ३० देखि ५० प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जानकारी दिनुभयो ।

त्यसैगरी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार परीक्षणमा आउने बिरामीहरूको सख्यामा कमी आएको छ । यसैबीच अस्पतालले उपलब्ध गराउँदै आएको रेबिजको भ्याक्सिन भने नियमित भइरहेको छ । अहिले दैनिक ७० जनासम्म रेबिजको सुई लगाउन अस्पताल आउने गरेको अस्पतालका निर्देशक राजभण्डारीले जानकारी दिनुभयो ।

त्यसैगरि सरकारले स्थानीय तह तथा अन्य निकायमार्फत व्यवस्थापन गरिएका क्वारेन्टाइनको मापदण्ड पुगे नपुगेकोबारे स्थलगत अवलोकन र आवश्यक सहजीकरण थाल्ने भएको छ । विदेशबाट आएका तथा शंकास्पद अन्य व्यक्तिलाई कोरोनाको सङ्क्रमण हुन नदिन सरकारले बनाएको क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालन कार्यविधि अनुसार मापदण्ड पूरा भए नभएको स्थलगत अनुगमन र आवश्यक सहजीकरण गर्न लागिएको हो ।

सोही अनुरुप चैत २९ गते स्थानीय पशुपतिनाथ क्षेत्रमा सञ्चालित क्वारेन्टाइनबाट अवलोकन सुरू भएको छ । मन्त्रिपरिषद्को चैत १६ गतेको बैठकले राज्यमन्त्रीद्वय शहरी विकास रामवीर मानन्धर र स्वास्थ्य तथा जनसङ्ख्या नवराज रावतलाई अनुगमन र सहजीकरणको जिम्मेवारी दिएको थियो । राज्यमन्त्री मानन्धरले चैत २८ गते काठमाडौँ उपत्यकाका १८ वटै नगर प्रमुख, तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा नेपाली सेनाका क्वारेन्टाइन व्यवस्थापनमा खटिएका पृतनापतिसँग छलफल गरेको थियो ।

गोकर्णेश्वर नगरपालिकाको वडा नं २, ४, ५, ६ र ७ मा बस्ने अपाङ्गता भएका व्यक्तिले राहत नपाएको बताएका छन् । गोकर्णेश्वर नगरपालिकाको वडा नं २ मा अपाङ्ग सेवा संघ-आशा केन्द्र, वडा नं ४ मा अपाङ्ग पुनःस्थापना केन्द्र छ भने वडा नं ६ मा नेपाल अपाङ्ग सङघले सञ्चालन गरेको खगेन्द्र नवजीवन केन्द्र छ ।

कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं ५ स्थित अपाङ्ग सेवा संघ-आशा केन्द्रका अध्यक्ष तिलककुमार श्रेष्ठले संस्थाले आवासीयरूपमा राखेका अपाङ्गता भएका व्यक्तिलाई समस्या नभए पनि भाडामा कोठा लिएर बस्नेका लागि समस्या रहेको बताउनु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका प्रवक्ता एवं वडा नं ५ का अध्यक्ष राजाराम पुडासैनीले राहत वितरणमा सुत्केरी, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, मिर्गौला र मुटुरोग भएकालाई प्राथमिकतामा राखिएको र सहयोग गर्ने जानकारी दिनु भएको छ । काठमाडौँको भोटेबहालस्थित उपभोक्ता समितिले लकडाउनको मारमा परेका विपन्न वर्गलाई विहान एक छाक निशुल्क भोजनको व्यवस्था गरेको छ ।

लकडाउन जारी गरेसँगै भोका रहेका कुकुर, छाडा चौपाय, बाँदर र चराचुरुङ्गीलाई काठमाडौँ महानगरपालिकाले आहाराको व्यवस्था गर्न थालेको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यसहितको टोलीले चैत २९ गते स्वयम्भु, बौद्ध र पशुपतिनाथ क्षेत्रमा पुगी पशुपंक्षीलाई खानेकुराको व्यवस्था गरेको छ । त्यसैगरि पशुहरूको असहाय बाच्छाबाछी संरक्षण अभियान, पशुपती क्षेत्र बिकास कोष, भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र लगायतका संस्थाले साझा अभियान सुरू गरेका छन् । बाग्मती प्रदेशस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र समेतको सहभागितामा गौशालाबाट पशु उद्धार गर्न एम्बुलेन्स सहित आठ ओटा बाछाको उद्धार गरिएको पशुपती क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिनुभयो ।

त्यसैगरि व्यवसायीक रुपमा गाई पाल्ने कृषक तथा व्यवसायीले पशुलाई खुवाउने दानादेखि पशुआहारको अभाव र दुध बिक्री नहुँदा किसान दोहोरो मारमा परेका छन् । चाँगुनारायण नगरपालिका २ झौखेलमा डेस्टिनेशन एग्रो फार्म सञ्चालक प्रदीपराज पन्तले आफ्नो गोठमा ९० ओटा उन्नत जातका गाई रहेको तर खानेकुरा नहुँदा गाईलाई बचाउन मुश्किल परेको बताउनुभयो ।

सुन्दरीजलका बाबुराम कार्कीको गोठमा २ सय ८८ ओटा उन्नतजातका गाई छन् । तर खानेकुरा नहुँदा नून र पानी खुवाएर बचाउनु परेको छ । उहाँका अनुसार लकडाउनपछि सर्लाही, बारा, पर्सा, रौतहटबाट आउने भुसा आउन छाडेको छ, दाना उद्योग बन्द छन् । दैनिक १ हजार ५ सय लिटर दुध बिक्री गर्दै आएको कार्कीले अहिले कतिपय गाईले दुध दिनै छाडेको र कतिपयले थोरै दुध दिने गरेको बताउनुहुन्छ ।

चाँगुनारायण ९ ताथलीमा ३५ ओटा गाईसहित बाख्रा पालन गर्दै आउनु भएका एशोसिएसनका सचिव भानु पराजुलीले आफ्नो गोठ अलि गाउँमा भएको र थोरै गाई भएकाले चोकर, ढुटो खुवाएर जेनतेन अहिलेसम्म धानेको बताउदै यस्तै अबस्था रहे उपत्यकाबाट व्यवसायीक गाई पाल्नेहरू पलायन हुने बताउनुहुन्छ । उपत्यकामा अहिले कम्तीमा २० व्यवसायीक गाई फार्म र सयौको घरमा सानाकिसानले गाई पालिरहेका छन् भने दैनिक ३५ हजार लिटर भन्दा बढी दुध उत्पादन हुने गरेको छ भने उत्पादित दुध होटल, मिठाई पसल, चिया पसल र घरहरूमा खपत हुदै आएको व्यवसायी बताउछन् ।
काभ्रे जिल्ला प्रतिनिधि हिरामान तामाङका अनुसार महिला स्वास्थ्य स्वयमसेविकाहरु कोरोना भाइरस विरुद्धको सचेतना अभियानमा लागेका छन् । काभ्रेको १३ स्थानीय तहमा हाल ९ सय ६७ जना महिला स्वास्थ्य स्वयमसेविका कोरोना विरुद्धको सचेतना अभियानमा लागेको स्वाथ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रुकमार झाले बताउनु भयो । जिल्लाको सबैभन्दा बढी पनौती नगरपालिकामा १ सय २० जना महिला स्वास्थ्य स्वमयसेविका रहेका छन् ।
जिल्लाको अति विकट डाँडापारी क्षेत्रमा पर्ने खानीखोला र महाभारत गाउँ गाउँपालिकामा ४५/४५ जना महिला स्वास्थ्य स्वयमसेविका रहेका छन् । ६ वटा नगरपालिका र सात वटा गाउँपालिका रहेको काभ्रेमा १ सय ३५ ओटा वडा रहेका छन् । ती सबै वडामा एकदेखि दुई जनासम्म महिला स्वास्थ्य स्वयमसेविका राखिएको छ । नेपालमा मातृशिशु मृत्यु दर कम गराउन उल्लेखिय भूमिका खेलेका महिला स्वास्थ्य स्वयमसेविका फेरी एक पटक कोरोना भाइरस विरुद्ध सचेतना जगाउन परिचालित हुनेभएका  छन् ।
लकडाउन लम्बिएसँगै राजधानीबाट आफ्नो घर तर्फ हिडेका यात्रुलाई नेपाल विद्यार्थी संघ काभ्रेले चैत २९ गते निःशुल्क खाना खुवाएका छन् । अरनिको राजमार्ग अन्तर्गत पाँचखालसम्म र बीपी राजमार्गको काभ्रेभञ्ज्याङसम्म खाना उपलब्ध गराएका हुन् ।
यसैबीच पूर्व सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले आफ्नो जिल्लाका लागि पठाएको स्वास्थ्य सामग्री आज नमोबुद्ध नगरपालिका, तेमाल गाउँपालिका र रोशी गाउँपालिलाई हस्तान्तरण गरिएको छ । नमोबुद्ध नगरपालिकामा १० थान पीपीई, १२ थान सेनिटाइजर, ३ सय थान सर्जिकल मास्क र कपडाको मास्क ४ सय थान हस्तान्तरण गरिएको छ । त्यस्तै तेमाल गाउँपालिकामा आठ थान पीपीई र ६ सय थान पीपीई हस्तान्तरण गरिएको हो । त्यसैगरी रोशी गाउँपालिकामा चार थान पीपीई, सर्जिकल मास्क २ सय थान र १२ बोटल सेनिटाइजर हस्तारन्तरण गरिएको छ । पूर्व मन्त्री बास्कोटाले जिल्लाका लागि १ सय ९५ वटा पीपीई अर्थात पर्सनल प्रोटेक्टिब इक्युपमेन्ट, २५ एमएलको २ सय २९ पिस स्यानिटाईजर र ४ हजार थान सर्जिकल मास्क पठाउनुभएको थियो ।

इन्सेक धादिङ जिल्ला प्रतिनिधि सीताराम अधिकारीका अनुसार नेत्रावती डवजोङ गाउँपालिकामा आजदेखी कोरोना भाइरस (कोभिड-१९) को र्‍यापिड टेष्ट सुरु भएको छ ।

गाउँपालिकाले भारत लगाएत तेश्रो मुलुकबाट आएका र क्वारेन्टाइनमा राखिएका व्यक्तिहरूमा कोरोनाको सङ्क्रमण भए-नभएको पत्ता लगाउन र्‍यापिड टेष्ट सुरु गरेको हो ।

बागमती प्रदेशले स्वास्थ्य कार्यालय धादिङलाई र्‍यापिड टेष्टका लागि प्रयोग हुने ३ सय थान आरबिटि किट पठाए पश्चात नेत्रावती डवजोङ गाउँपालिकामा कोभिड-१९ को र्‍यापिड टेष्ट सुरु भएको हो । र्‍यापिड टेष्टका लागि नेत्रावतीमा पहिलो चरण अन्तरगत ४० जनाको स्याम्पल टेष्ट गरिने गाउँपालिकाका स्वास्थ्य संयोजक तथा सूचना अधिकारी कृष्ण बहादुर पौडेलले जानकारी दिनुभयो ।

बागमती प्रदेश सरकारले र्‍यापिड टेष्टका लागि पठाएको ३ सय थान आरबिटि किट, जिल्ला स्वास्थ्य कार्यालय धादिङले जिल्लाको दुई नगरपालिका र ७ गाउँपालिकामा पठाएको छ । कोरोना भाईरसको द्रुत जाँच प्रविधि  र्‍यापिड टेष्टका लागि पठाएको आरबिटि किट उपलब्ध भए सँगै एक नगरपालिका सहित दुई गाउँपालिकाले परीक्षण सुरुवात गरेका हुन् ।

नीलकण्ठ नगरपालिकाले भारतबाट आएका १० जनालाई र्‍यापिड टेष्टका गरेको र सबैको रिपोर्ट नेगेटिभ आएको स्वस्थ्य संयोजक विष्णु रिजालले बताउनुभयो ।

त्रिपुरासुन्दरी गाउँपालिका स्वास्थ्य संयोजक यम बहादुर श्रेष्ठले द्रुत जाँचका (र्‍यापिड टेष्ट) लागि आरबिटि किट १ जनामा प्रयोग गरिएको र रिपोर्ट नेगेटिभ आएको छ जानकारी दिनु भयो ।

विदेशबाट घर फर्किएकाहरूको सङ्ख्या बढी रहेको आधारमा ९ ओटा गाउँपालिलाई किट पठाईएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । द्रुत जाँचका लागि नीलकण्ठ नगरपालिकाले ६० थान, धुनिबेसी नगरपालिकाले २० थान, गजुरी गाउँपालिकाले ४० थान, गल्छी गाउँपालिकाले ४० थान, ज्वालामुखी गाउँपालिकले ४० थान, नेत्रावती गाउँपालिकाले ४० थान, त्रिपुरासुन्दरी गाउँपालिकाले ४० थान बेनीघाट रोराङ गाँपालिकाले २० थान र गंगाजमुना गाउँपालिकाले २० थान र्‍यापिड टेष्ट किट प्राप्त गरेका छन् ।

इन्सेक सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि नातिबावु धितालका अनुसार त्रिपुरासुन्दरी गाउपालिका स्थित पिस्करमा १० बेडको क्वारान्टाइन केन्द्र स्थापना भएको छ । गाउपालिका अध्यक्ष भूपेन्द्र श्रेष्ठले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी हुनेगरी सुबिधा सम्पन्न क्वारान्टाइन केन्द्र स्थापना गरेको जानकारी दिनु भयो ।

यसैबीच, चौतारा साँगाचोकगढी नपाले प्रत्यक वडाहरूमा विदेशबाट घर फर्केका ब्यक्तीहरूको घर घरमा पुगेर नगरप्रमुखको नेतृत्वमा स्वास्थ्यकर्मीहरूले स्वास्थ्य परीक्षण गरेको नगर प्रमुख अमान सिंह तामाङले बताउनु भयो । त्यसैगरी इन्द्रावती गाउपालिका भित्रका सबै नागरिकहरूको स्वास्थ्य अवस्था बारे जाँच गरेको गाउपालिका अध्यक्ष बंशलाल तामाङले बताउनु भयो ।

निष्कर्ष जिल्ला जिल्लामा काठमाडौँ लगायत बाहिरबाट हिँडेर गाउँगाउँमा मानिसहरू आउने क्रम रोकिएको छैन । यसले सङ्क्रमण भित्रने डर बढेको छ । यसको नियन्त्रण गर्न बाहिरबाट गाउँ छिरेका र छिर्नेलाई सोझै सामुदायिक क्वारेन्टाइनमा राख्नु पर्नेतर्फ स्थानीय सरकारको ध्यान जान आवश्यक छ । साथै नमूना परीक्षणको काम पनि अघि बढाउन आवश्यक छ ।


इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा