कोरोना भाइरससम्बन्धी बागमती प्रदेशको अवस्था

  ०७६ चैत २७ गते

बागमती प्रदेशसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति न्हुच्छेनारायण श्रेष्ठले कोरोना विरूद्धको अभियानमा पारदर्शिता र प्रभावकारितालाई ध्यान दिन प्रदेश सरकारलाई सुझाव दिनुभएको छ ।

चैत २७ गते मुख्यमन्त्री डोरमणी पौडेलसँगको भेटमा सभापति श्रेष्ठले कोरोनाविरूद्धको अभियान अन्तर्गत स्वास्थ्यलगायतका सामग्री खरिद र राहत वितरणका क्रममा पारदर्शिता र प्रभावकारितालाई ध्यान दिन सुझाव दिनुभएको हो ।

उहाँले सङ्घीय सरकारले गरेको स्वास्थ्य सामग्री खरिदबारे नागरिक तहमा आवाज उठेको भन्दै प्रदेश सरकारले त्यसबाट पाठ सिक्नुपर्ने बताउनु भयो ।

भेटमा मुख्यमन्त्री पौडेलले आफू पारदर्शिता र प्रभावकारिताको विषयमा सचेत रहेको भन्दै गरेका गतिविधिलाई वेभसाइटमै राख्ने व्यवस्था मिलाएको जानकारी दिनुभयो ।

अहिलेसम्म कुनै पनि बजेट रकमान्तर नगरिएको भन्दै मुख्यमन्त्री पौडेलले लेखा समिति सभापतिबाट प्राप्त सुझावलाई सकारात्मक लिएको बताउनु भयो ।

यसैबीच बागमती प्रदेशको राजधानीमा रहेको पीसीआर ल्याबमा हालसम्म ६५ जनाको नमूना परीक्षण गरिएको छ ।

परीक्षण भएका मध्येमा ५५ जनाको रिपोर्ट नेगेभिट आएको छ भने १० जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुवेदीले बताउनु भयो ।

हेटौँडामा सञ्चालन गरिएको ल्याबमा प्रदेश २ का बारा र पर्सा जिल्लाबाट पनि कोरोनाको शङ्का लागेका बिरामीको स्वाब परीक्षणको लागि आउने गरेको प्रवक्ता सुवेदीले बताउनु भयो ।

चितवनमा पनि कोरोना भाइरसको सङ्क्रमणको परीक्षण गर्न मिल्ने पीसीआर मेसिन जडान भएको कारण अब मकवानपुरको हेटौँडामा, सिन्धुली, बारा, पर्सा, रौतहट जिल्लाको बिरामीको स्वाब परीक्षण हुने मन्त्रालयले जनाएको छ ।

इन्सेक दोलखा जिल्ला प्रतिनिधि उद्धव पोखरेलका अनुसार दोलखामा लकडाउन अवधिभर राहत सामग्री वितरणमा प्रतिबन्ध लगाइएको छ ।

कोरोना सङ्क्रमणको जोखिम अवस्थामा सुरक्षाका सामग्री भन्दै जिल्लाका विभिन्न स्थानमा साबुन, मास्क, खाद्यान्नलगायत सङ्कलन र वितरण भएपछि यस अवधिमा जुनसुकै प्रकारका सामग्री सङ्कलन र वितरणमा स्थानीय प्रशासनले प्रतिबन्ध गरेको हो ।

विभिन्न सङ्घसंस्था, फर्म, कम्पनी तथा व्यक्तिहरूले स्वास्थ्यसँग सम्बन्धित सामग्री तथा खाद्यान्न सङ्कलन र वितरण गर्नु परेमा सम्बन्धित स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासनको स्वीकृति लिएर एकद्वार प्रणालीबाट मात्रै गर्न सकिने जनाएको छ ।

इन्सेक प्रतिनिधिलगायत जिल्लाका नागरिक समाजका सङ्घसंस्था, सञ्चारकर्मीहरूले स्थानीय प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाउँदै लकडाउनलाई थप कडाई गर्न, राहत सङ्कलन र वितरण कार्यलाई व्यवस्थित गर्न आग्रह गरेका छन् ।

दोलखा जिल्लामा कोरोनाको लक्षण भएका बिरामी भेटिएका छैनन् । जिल्लामा हाल जिल्ला बाहिरबाट आएका २५ जनालाई क्वारेण्टाइनमा राखिएको छ ।

बैत्यश्वर गाउँपालिका-४ र ५ मा नयाँ मानिस आवतजावत रोक्न भन्दै सिमा नाका बन्द गरिएको छ । वडा नं ४ का अध्यक्ष कुमार बस्नेत र वडा नं ५ का अध्यक्ष माधव बस्नेतले रातको समयमा बाहिरी मानिसहरू सवारी साधनसहित आवतजावत गर्ने गरेको र त्यस्ता व्यक्तिहरूबाट कोरोना सङक्रमण फैलने सम्भावनालाई रोक्न नाका बन्द गरिएको बताउनु भयो ।

इन्सेक रसुवा जिल्ला प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार गोसाँइकुण्ड गाउँपालिकाले जिल्ला बाहिरका असङ्गठित श्रमिक दलित तथा असहाय परिवारका १७ जनालाई राहत वितरण गरेको छ ।

कालिका गाउँपालिकाले गाउँपालिकाले सबै वडाको लगत लिएर २ सय ६७ जनालाई राहत वितरण गर्ने काम गरिरहेको जनाएको छ । अन्य गाउँपालिकाले पनि राहत वितरणका लागि लगत सङ्कलन गरिरहेका छन् ।

ज्याला मजदुरी गरेर ल्याएको मौज्दात खाद्यान्न दाल, चामल, नुन, तेल, चिनीलगायत दैनिक उपभोग्य वस्तु सकिएकोले समस्या भएको उत्तरगया गाउँपालिका-५ खाल्टे स्थित विस्थापित क्याम्पका छेकु लामाले बताउनु भयो ।

गिट्टी कुटेर खानेहरूले समेत काम पाउन नसकेको उहाँले बताउनु भयो । 'दिनभर ज्याला मजदुरी गरेर बिहान बेलुका छाक टार्नेहरू धेरै छन् । उनीहरू समस्यामा परे ।'-लामाले भन्नुभयो-'न राहत छ न काम नै गर्न पाइयो ।' विस्थापितहरू वडा-५ मा २ सय ६९ र  वडा-१ मा ७ सयभन्दा बढी परिवार छन् ।

इन्सेक सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि नातिबाबु धितालका सरकारले लकडाउन लगाएपछि दैनिक ज्यालागरी जीवन यापन गर्ने मजदुरहरूलाई खाद्य सामग्री उपलब्ध गराउने उद्देश्यले चौतारा सागाँचोकगढी नगरपालिकामा रहेका १ हजार ३ सय २० जना असङ्गठित मजदुरहरूको लगत सङ्कलन गरिएको छ ।

त्यसैगरी मेलम्ची नगरपालिकाले पनि दैनिक ज्यालागरी जीविका चलाउने र अति विपन्न परिवारहरूको लगत सङ्कलन सुरू गरेको नगर प्रमुख डम्बर अर्यालले बताउनु भयो ।

जिल्लामा रहेको सबै बैङ्कहरूले चैत २६ गतेबाट सेवा सुचारू गरेका छन् । जिल्ला विपद व्यवस्थापन समितिको निर्णय अनुसार जिल्लामा क्रियाशील हुने सबै बैङ्कहरूलाई सेवा सुचारू गर्न निर्देशन गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनु भयो ।

इन्सेक धादिङ जिल्ला प्रतिनिधि सिताराम अधिकारीका अनुसार बेनिघाट रोराङ गाउँपालिका-७ मा १ सय ८९ जनालाई राहत वितरण गरिएको छ ।

नीलकण्ठ नगरपालिकाले धादिङबेसी स्थित नीलकण्ठ माध्यामिक विद्यालयमा सञ्चालन गरेको सामूहिक भोजन कार्यक्रम चैत २७ गतेबाट बन्द गरिएको छ ।

सरकारले कोरोना भाइरस (कोभिड-१९) महामारी रोक्नका लागि लकडाउन गरी मानिसहरू भीडभाड गर्न नहुने र एक ठाउँबाट अर्को ठाउँमा जान नमिल्ने भएकोले जिल्ला प्रशासन कार्यालयले सामूहिक भोजनको कार्यक्रम बन्द गराइएको हो ।

नगरपालिकाले चैत २६ गतेदेखि सबै वडामा राहत नदिने र सामूहिक भोजन गराउने निर्णय गरी एक वडाको एक ठाउँमा पर्ने गरी खाना खुवाउन थालेको थियो ।

लकडाउन उल्लङ्घन हुने गरी­ सामूहिक भोजन सञ्चालन नगर्न आग्रह गर्दै मेसमा रहेका भाँडाहरू प्रहरीले नियन्त्रणमा लिएको हो ।

लकडाउनको मर्म विपरीत निलकण्ठ नगरपालिकाले सामूहिक मेस चलाएको आवाजहरू सार्वजनिक भएको थियो ।

सामूहिक भोजनको कार्यक्रम सङ्घीय सरकारले ल्याएको नियम विपरीत भएकोले बन्द गराइएको प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताउनु भएको छ ।

मजदुरी गरेर छाक टार्ने र असङ्गठित क्षेत्रका मजदुरहरूलाई लक्षित उनीहरू बसेको स्थानमै राहत दिनु पर्ने भएपनि नगरपालिकाले मानिस जम्मा गरेर सामूहिक भोजन गराउन थालेकोले बन्द गरइएको प्रमुख जिल्ला अधिकारी तामाङको भनाइ छ ।

यसैबीच नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङगानाले प्रेस विज्ञप्ति जारी गरी सामूहिक भोजन बन्द गरेकोमा आपत्ति जनाउँदै लकडाउनको विपरीत नहुने गरी सर्तकता अपनाएर र दुरी कायम गरी मेस चलाएको उल्लेख गरिएको छ ।

इन्सेक चितवन जिल्ला प्रतिनिधि दीपेन्द्र अधिकारीका अनुसार चैत २७ गते लकडाउन उल्लङ्घन गरेको आरोपमा १४ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

भरतपुर अस्पतालमा कोरोना विशेष आइसीयूमा कोही पनि बिरामी नरहेको तर आइसोलेशनमा भने दुई जना बिरामी रहेका अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताउनु भयो ।

भरतपुर कोरोना विशेष अस्पतालमा हाल १४ जना उपचाररत छन् । उनीहरूको ल्याब परीक्षणका लागि भरतपुरस्थित प्रयोगशाला पठाइएको छ ।

इन्सेक सिन्धुली जिल्ला प्रतिनिधि बिमला पाण्डेका अनुसार काठमाडौँबाट दैनिक ज्याला मजदुरी गर्ने मजदुरहरू विपी राजमार्ग हुँदै तराई जाँदै गरेका छन् ।

उनीहरूलाई सुनकोशी गाउँपालिका, गोलञ्जोर गाउँपालिका र कमलामाई नगरपालिकाले सवारी साधन तथा खानाको प्रबन्ध गरेर पठाइरहेको छ ।

सुनकोशी गाउँपालिकाले दैनिक २ सयदेखि २ सय ५० जनासम्मलाई उद्धार गरिरहेको जनाएको छ । यसले लकडाउनलाई असर गरिरहेको सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दासले जानकारी दिनुभयो ।

सिन्धुलीमाढीमा रहेको कृषि उपज बजारमा दिउँसो ३ बजेदेखि ५ बजेसम्म भीड लाग्ने गरेको इन्सेक जिल्ला प्रतिनिधि र जिल्ला स्तरीय मानव अधिकार सञ्जाल सिन्धुलीको तर्फबाट गरिएको अनुगमनमा भेटिएको छ ।

यहाँ सामाजिक दुरीलाई कायम गराउन स्थानीय प्रशासन असफल देखिएको छ । खाद्यान्न, औषधि, दुधलगायतका अत्यावश्यक सेवाको आपूर्तिमा समस्या देखिएको छैन तर ५ बजेपछि सबै पसल बन्द गराउने गरिएको छ ।

सिन्धुली अस्पतालमा हालसम्म आइसोलेशनमा रहेको दुधौली नगरपालिका-६ का २१ वर्षीय युवकको रिपोर्ट चैत २६ गते राति मात्रै  प्राप्त भएको छ ।

उहाँको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । यसअघि अन्य ६ जनाको पनि रिपोर्ट नेगेटिभ आएको थियो ।

कमलामाई नगरपालिकाकाले नेपाल पत्रकार महासङ्घ सिन्धुलीका अध्यक्ष राजन कार्कीलाई फ्रन्टलाइनमा काम गर्ने पत्रकारहरूको लागि उपलब्ध गराउने गरी सेनिटाइजर, पञ्जा, मास्क लगायतका सामग्रीहरू प्रदान गरेको छ ।

इन्सेक नुवाकोट जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार जिल्लाको शिवपुरी गाउँपालिकाले १३ जनालाई खाद्यान्न राहत प्रदान गरेको छ ।

बाहिर जिल्लाबाट काम गर्न आएर खाद्य अभावको समस्या झेलेको १३ जनालाई खाद्यान्न राहत प्रदान गरिएको शिवपुर गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत किसान न्यौपानेले जानकारी दिनुभयो ।

लकडाउन उल्लङ्घन गर्ने ६३ जनालाई प्रहरीले केही समय नियन्त्रणमा लिएर सम्झाई बुझाई पठाएको छ ।

यस्तै लकडाउन उल्लङ्घन गर्ने ३१ ओटा मोटरसाइकललाई कारवाहीको लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

इन्सेक मकवानपुर जिल्ला प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार मकवानपुरका कुखुरा व्यवसायीहरूले लकडाउनका कारण आफूहरू मारमा परेको भन्दै आफ्नो खोरमा रहेका सबै कुखुरा नष्ट गरिदिन प्रशासन समक्ष आग्रह गरेका छन् ।

कुखुरा व्यवसायी सङ्घका अध्यक्ष राजु अधिकारीले चैत २६ गते जिल्लाभर रहेका १४ लाख कुखुरा सरकारी अभिलेख राखेर मारिदिन प्रजिअ दीपकराज नेपाललाई ज्ञापन पत्र बुझाउनु भएको हो ।

कोरोनाको माहामारीले गर्दा जिल्लामा रहेका १ हजार ५ सय कुखुरा पालक किसानको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ५ अर्ब रुपियाँभन्दा बढी लगानी डुब्ने अवस्था भएको भन्दै कुखुरा नष्ट गर्न माग गरेका हुन् ।

लकडाउनले गर्दा दाना उद्योगहरूले विभिन्न बहानामा दानाको भाउ बढाएर दुःख दिएको भन्दै सरकारी तबरबाट कुखुराको तथ्याङ्क राखेर नष्ट गरिदिन, किसानका लागि राहत प्याकेज उपलब्ध गराउन, बैंकको ब्याज मिनाहका लागि माथिल्लो निकायको ध्यानाकर्षण गराइदिन प्रजिअ नेपाललाई आग्रह गर्नुभयो ।

प्रजिअ नेपालले दानालाई सरकारले अत्यावश्यक सामग्रीको सूचीमा राखेको भन्दै आफू सहजीकरण गर्न तयार रहेको प्रतिक्रिया दिनुभएको छ ।

इन्सेक भक्तपुर जिल्ला प्रतिनिधि रमेश गिरीका अनुसार भक्तपुरमा चैत २६ गतेबाट सुरू हुने विश्व प्रसिद्ध बिस्केट जात्रा रोकिएको छ ।

कोरोनाको सङ्क्रमण देखिएका बिरामीलाई उपचारलाई व्यवस्थित बनाउन भक्तपुर अस्पतालमा आइसियू सञ्चालनको तयारी गरिएको छ ।

अस्पतालमा आईसियू सञ्चालनका लागि सरकारले १ करोड रुपियाँ पठाएको अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा. सुमित्रा गौतमले जानकारी दिनुभयो ।

पाँच शैयाको आइसियू सञ्चालनका लागि सरकारले निर्धारण गरेको मूल्यमा सामान खरिदको तयारी गरिरहेको उहाँले बताउनु भयो ।

उहाँले आइसियूका लागि आवश्यक कम्तीमा ६ जना चिकित्सक, एक जना एनेस्थेसियन र कम्तीमा १६ जना नर्सको व्यवस्था भने करार मै भएपनि गर्नुपर्ने अवस्था रहेको बताउनु भयो ।

डा. गौतमका अनुसार अस्पतालले कोभिड-१९ का बिरामीका लागि दुई ओटा भेण्टिलेटर आवश्यक पर्दा तत्काल सञ्चालन गर्न सकिने गरि तयारी अवस्थामा राखेको छ ।

दुई ओटा भेण्टिलेटर अप्रेशन वार्डमा सञ्चालनमा राखेको छ । कोरोना परीक्षणमा रहेका डाक्टरदेखि स्वास्थ्यकर्मीलाई अस्पतालले यही खाने तथा बस्ने व्यवस्था गरेको छ । ज्वरो आएका डाक्टर तथा स्वास्थ्यकर्मीलाई क्वारेण्टाइनमा राखेको छ ।

मध्यपुर थिमी नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री अस्पतालमा नगरपालिका भित्र विदेशबाट फर्किएका ६२ जनाको पहिचान भएकाले उनीहरूको नमूना सङ्कलन गरेर नियमित रूपमा परीक्षण भइरहेको मेयर मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

मध्यपुर थिमी नगरपालिका नगरपालिकाको राहत कोषमा नेपाल रेडक्रस सोसाईटीले १ लाख रुपियाँ जम्मा गरेको छ ।

नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाले जिल्लाका भक्तपुर, मध्यपुर थिमी, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाको विपद कोषमा १/१ लाख रुपियाँ सहयोग प्रदान गरेको रेडक्रस भक्तपुर जिल्ला सभापति मनोजकुमार थापाले जानकारी दिनुभयो ।

मध्यपुर थिमी नगरपालिका र सूर्यविनायक नगरपालिकाले राहत वितरण कार्य सकेको छ । चाँगुनारायण नगरपालिकाले राहत वितरण सुरू गरेको छ ।

नगरपालिकाले कार्ड वितरण सम्पन्न गरेर राहत वितरण गर्ने क्रममा अहिलेसम्म वडा-६, ८, ९ मा राहत वितरण गरेको र केही दिनमा करिब ५ हजार ६ सय जनालाई राहत वितरण गरिने मेयर सोमप्रसाद मिश्रले जानकारी दिनुभयो ।

नगरपालिकाको विपद कोषमा रेडक्रसले १ लाख र भक्तपुरका इँटा व्यवसायीहरूबाट ४ लाख गरी ५ लाख रुपियाँ जम्मा भएको उहाँले जानकारी दिनुभयो ।

भक्तपुर नगरपालिकाले भने अझैसम्म राहत वितरण गरेको छैन तर लगत सङ्कलन जारी राखेको छ ।

विदेशबाट फर्किएका १ सय ५ जनाको पहिचान गरी निगरानीमा राखिएको नगरपालिकाले जनाएको छ ।

इन्सेक भक्तपुर जिल्ला प्रतिनिधि रमेश गिरीकै अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लगातार पाँचौ दिनमा थप कोरोना सङ्क्रमित बिरामी नभेटिएको जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले चैत २७ गते पत्रकार सम्मेलनमा नयाँ सङ्क्रमित नदेखिएको जानकारी दिनुभयो ।

डा. देवकोटाका अनुसार बिहीबार दिउँसोसम्म २ हजार ८ सय ९५ को स्वाबको नमूना परीक्षण गरिएको छ ।

राष्ट्रिय प्रयोगशालामा २ हजार ३ सय ८३ र उपत्यका बाहिर ५ सय १३ को परीक्षण गरिएको हो । यसैगरी कैलाली र कञ्चनपुरबाट सङ्कलन गरिएको ६६ ओटा नमुना परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण भेटिको छैन ।

धनगढी उपमहानगरपालिका-५ मा स्थानीयमा पनि सङ्क्रमण देखिएपछि सरकारले क्वारेण्टाइनमा रहेका १ सय ९८ जनाको नमूना सङ्कलन गरेर काठमाडौँ ल्याएको उहाँले जानकारी दिनुभयो ।

नेपालमा हालसम्म नौ जनामा मात्र कोरोना भाइरसको सङ्क्रमण देखिए, जसमध्ये एकजना निको भइसकेका छन् भने अस्पतालमा उपचाररत आठ जनाको अवस्था पनि सामान्य रहेको डा देवकोटाले जानकारी दिनुभयो ।

हालसम्म काठमाडौँको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकू र काठमाडौँ बाहिरका १० स्थानमा भाइरसको परीक्षण भइरहेको छ ।

यसलाई विस्तार गरी १५ स्थानसम्म र आवश्यक परेमा पहाडी जिल्ला र तराईका अन्य जिल्लामा पनि 'रियल टाइम पोलिमरेज चेन रियाक्सन' (पिसिआर) मेसिन जडान गरी परीक्षणको दायरा बढाइने मन्त्रालयले जनाएको छ ।

त्यसैगरी महान्यायाधिवक्ताको कार्यालयले कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा ७ लाख १५ हजार ४ सय ५५ रुपियाँ प्रदान गरेको छ ।

महान्यायाधिवक्ता अग्निप्रसाद खरेललगायत कर्मचारीहरूको तलब कट्टा गरी रकम सहयोग गरेको प्रेस विज्ञप्तिमा जानकारी दिएको छ ।

त्यस्तै काठमाडौँ महानगरपालिकाले तथ्याङ्कमा समेटेका परिवारमध्ये ७५ प्रतिशतभन्दा बढीलाई राहत सामग्री दिइसकेको जनाएको छ ।

चन्द्रागिरी नगरपालिकाले १० हजार घरपरिवारलाई राहत वितरण गरेको छ । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले चन्द्रागिरीका १५ वडाका दैनिक मजदुरी गरेर गुजारा चलाउने १० हजार परिवारलाई राहत वितरण गरेको जानकारी दिनुभयो ।

तारकेश्वर नगरपालिकाका सम्पूर्ण वडामा राहत विवरण सुरू भएको छ । नगरपालिकाका प्रवक्ता विदुर सापकोटाका अनुसार ७ हजार ११ परिवारले राहत लिन आवेदन दिएका छन् ।

गोकर्णेश्वर नगरपालिकाले हटलाइनमार्फत नगरवासीका समस्याहरू सुनिरहेको नगरका मेयर सन्तोष चालिसेले जानकारी दिनुभयो ।

बुढानीलकण्ठ नगरपालिकाले १३ ओटा वडामध्ये ७ स्थानमा हेल्थ डेस्क सञ्चालन गरेको नगरका मेयर उद्धवप्रसाद खरेलले जानकारी दिनुभयो ।

त्यसैगरी बुढानीलकण्ठ नगरपालिकाल १० हजार मानिसलाई राहत दिनुपर्ने देखिएकाले चैत २७ गते बाट राहत वितरण सुरू गरेको जानकारी दिनुभयो ।

दक्षिणकाली नगरपालिकाले ५ बेडको क्वारेण्टाइन व्यवस्था गरेको जनाएको छ । यस नगरभित्र नौ ओटा वडा छन् ।

राजधानी प्रवेश गर्ने नाका पनि भएकाले नगरले फर्पिङको बसपार्कमा हेल्थ डेस्क सञ्चालन गरेको नगरपालिकाका मेयर मोहन बस्नेतले जानकारी दिनुभयो ।

त्यस्तै कागेश्वरी मनोहरा नगरपालिकाभित्र विदेशबाट आएका ५६ जना आ-आफ्नो घरमा सुरक्षित बसेको मेयर कृष्णहरि थापाले जानकारी दिनुभयो ।

टोखा नगरपालिकामा ३८ बेडको क्वारेण्टाइन तयार पारेको छ । टोखा नगरपालिकाका वडाहरूले राहत वितरण गरिरहेको उपमेयर ज्ञानमाया डङ्गोलले बताउनु भयो ।

शङ्खरापुर नगरपालिकाले विदेशबाट आएका १८ जनाको पहिचान गरी होमक्वारेण्टाइनमा राखेर निगरानी गरिरहेको मेयर सुवर्ण श्रष्ठले जानकारी दिनुभयो ।

कीर्तिपुर नगरपालिकाले भने पीपीई सेट नगरभित्रै उत्पादन गरेर स्वास्थ्यकर्मीहरूलाई वितरण गरेको छ ।

इन्सेक रामेछाप जिल्ला प्रतिनिधि नवराज घिमिरेका अनुसार रामेछाप जिल्लाको तामाकोसी अस्पताल मन्थलीमा उच्च ज्वरोको कारण ०७६ चैत २५ राति मृत्यु भएका वृद्धमा कोरोना भाइरसको सङ्क्रमण नभएको पुष्टि भएको छ ।

उच्च ज्वरोको कारण चैत २५ गते साँझ अस्पताल भर्ना हुनुभएका मन्थली-११ का ६७ वर्षीय वृद्धको ज्यान गएपछि कोरोनासँग मिल्दोजुल्दो लक्ष्यण देखिएको भन्दै मृतकको उपचारमा सङलग्न चिकित्सकलगायत स्वास्थ्यकर्मीलाई क्वारोन्टाइनमा राखी स्वाब परिक्षणको लागि चैत २६ गते धुलिखेल अस्पतालमा पठाइएको थियो ।

अस्पतालका अध्यक्ष गोविन्दप्रसाद घिमिरेका अनुसार बिरामीको मृत्युपछि केही समय सरसफाईको लागि अस्पताल बन्द गरिएको थियो ।

रामेछाप जिल्लामा क्वारेण्टाइनमा बस्नेको सङ्ख्या ७९ जना पुगेको छ । हालसम्म जिल्लाका आठ आटै स्थानीय तहमा जम्मा २ सय ८५ बेड क्वारेण्टाइन र ५८ बेड आइसोलेसन कक्ष स्थापना भएका छन् ।

हालसम्म मन्थली नगरपालिकलामा एक जना खाँडादेवी गाउँपालिकामा ११ जना र गोकुलगङ्गा गाउँपालिकामा चार जनालाई १४ दिन क्वारेण्टाइन राखी निगरानीबाट छुटाइएको जिल्ला अस्पताल रामेछापले जनाएको छ ।

गोकुलगङ्गा गाउँपालिकाले विदेश गएर पछिल्लो तीन हप्ताको बीचमा गाउँ फर्किएका ३७ जनाको अभिलेख राखेको गाउँपालिका अध्यक्ष खड्ग सुनुवारले बताउनु भयो ।

इन्सेक ललितपुर जिल्ला प्रतिनिधि दीपकप्रसाद घिमिरेका अनुसार चैत २७ गते कोभिड-१९ को शङ्कास्पद दुई जनालाई पाटन अस्पतालमा भर्ना गरिएको छ । अस्पतालका निर्देशक डा. विष्णु शर्माका अनुसार उनीहरूको स्वाब परीक्षणका लागि पठाइएको छ ।

पाटन अस्पतालमा ४१ जना शङ्कास्पद बिरामीको स्वाब परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

गोदावरी नगरपालिकाले टेम्प्रेचर गन एक/एक थान, सेनिटाइजर र साबुन गोदावरी नगरपालिका भित्रका १२ ओटा हेल्थपोष्ट, दुई ओटा पिएचसी र बज्रबाराही चापागाउँ अस्पताललाई वितरण गरिएको छ ।

विपन्न परिवारलाई राहत वितरणका लागि ललितपुर महानगरपालिकामा १९ हजार ४ सय ७३ परिवारको तथ्याङ्क सङ्कलन भएको ललितपुर महानगरपालिकाका सामाजिक विकास समिति संयोजक दिनेश कार्कीले बताउनु भयो ।

गोदावरी नगरपालिकामा ७ हजार १ सय १० परिवारको तथ्याङ्क सङ्कलन भएको छ भने महालक्ष्मी नगरपालिकामा १२ हजार १ सय ४५ परिवारको तथ्याङ्क सङ्कलन भएको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले बताउनु भयो ।

जिल्लाको तीन ओटा गाउँपालिकाहरूले तथ्याङ्क सङ्कलन गर्न बाँकी रहेको जनाएका छन् । कोञ्ज्योसोम गाउँपालिकाले २५ ओटा क्वारेण्टाइन बेडको व्यवस्था गर्ने निर्णय गरेको छ ।

प्रत्येक वडामा पाँच/पाँच जना रहने क्वारेण्टाइनको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष गोपिलाल सिंतानले बताउनु भयो । यो गाउँपालिकाले आपतकालीन राहात कोषमा ५० लाख रुपियाँ विनियोजन गरेको जनाएको छ ।

बाग्मती गाउँपालिका-७ गिम्दीले ६ सय परिवारलाई वर्षायाममा उत्पादन गर्न मिल्ने तरकारीको बीउ बिजन वितरण गरेको छ ।

सदरमुकाम र राजधानीमा श्रम गरेर बसेकाहरूलाई सवारी व्यवस्थापन गरी चैत १८ गते गाउँ फिर्ता गरएको वडाले उनीहरू होम क्वारेण्टाइनमा बस्दा पट्यार नलागोस, नकरात्मक सोच नआओस र भावि दिनमा खाद्यान्न अभाव नहोस भनेर हरेक परिवार कम्तिमा एक/एक रोपनी जग्गामा तरकारी खेतीका लागि प्रोत्सहान गरिएको वडा अध्यक्ष नवराज सञ्जेलले बताउनु भयो ।

उपत्यका बाहिर जानका लागि सवारी पास माग्नेहरूको सङ्ख्या धेरै रहेको छ तर पासको व्यवस्था बन्द गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले जानकारी दिनुभयो ।

इन्सेक काभ्रे जिल्ला प्रतिनिधि हिरामान तामाङका अनुसार धुलिखेल सामुदायिक अस्पतालमा पनि चैत २७ बाट पीपीई बुथ सञ्चालनमा आएको छ ।

रोटरी क्लब अफ धुलिखेलको आर्थिक सहयोगमा पीपीई बुथ सञ्चालनमा ल्याइएको हो । अस्पतालको आइसोलेशन वार्ड बाहिर बाहिर बुथ राखिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनु भयो ।

पनौती नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्रभित्रका कुकुरलाई पनि खाना खुवाउन सुरु गरेको छ । लकडाउनसँगै होटल, पसल बन्द भएको र छाडा छोडिएका कुकुरले आहारा नपाएको भन्दै नगरपालिकाले खाना खुवाउन सुरु गरेको नगरप्रमुख भीम न्यौपानेले बताउनुभयो ।

नगरपालिकाको कृषि तथा पशुपंक्षी शाखाले नेपाल एनिमल वेल्फेयर एण्ड रिर्सच सेन्टरसँगको सहकार्यमा कुकुरलाई खाना खुवाउन थालेको हो ।

काभ्रे जिल्लाका सबै स्थानीय तहमा सङ्कट व्यवस्थापन केन्द्र गठन गर्नु पर्ने भएको छ । जिल्ला स्तरीय सङ्कट व्यवस्थापन केन्द्रले सबै स्थानीय तहहरूमा पनि केन्द्र गठन गर्न आग्रह गरेको प्रमुख जिल्ला अधिकारी श्रवनकुमार तिमल्सिनाले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सङ्कट व्यवस्थापन समिति गठन भइसकेको छ । समितिको चैत २७ गते बसेको बैठकले जिल्लाका सबै स्थानीय तहमा जतिसक्दो छिटो सङ्कट व्यवस्थापन केन्द्र गठन गर्ने निर्णय गरेको हो ।

समितिले स्थानीय तहमा पनि बिरामी उद्दार टोली समेत गठन गर्न भनेको छ । कोभिड- १९ मैत्री एम्बुलेन्सद्वारा भाइरसको शङ्कास्पद बिरामी अस्पतालमा ल्याउँदा आवश्यक सुरक्षा व्यवस्था मिलाउने, विषय र जटिल परिस्थिति भएका बिरामीलाई प्रहरीको स्कटिङ सहित ल्याउनु पर्नेछ ।

बैठकले कोभिड १९ रोगको सङ्क्रमण नियन्त्रणका लागि कुनै प्रकारका भेला, महोत्सव, जात्रा, पर्वहरू पूर्ण रूपमा हुन नदिने पनि निर्णय गरेको छ ।

पनौती नगरपालिककाले विपन्न र अतिविपन्न वर्गको सूची तयार पारेको छ । सूची अनुसार नगरपालिका भित्र ६ सय घरधुरी विपन्न परिवार छन् ।

त्यस्तै १ सय ३० अतिविपन्न घर परिवार रहेको नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।

नगरपालिकाले लकडाउनपछि समस्यामा परेका अतिविपन्न वर्गका १ सय ३० घरधुरीलाई राहत वितरण गरिसकेको छ ।

दोस्रो चरणको राहत वितरण पनि सुरू भइरसकेको छ । नगरपालिकाले दैनिक ज्याला मजदुर गर्नेहरूका लागि राहत वितरण गर्न फूड बैङ्क सञ्चालन गरिरहेको छ ।


इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा