कोरोना भाइरससम्बन्धी बागमती प्रदेशको अवस्था

  ०७६ चैत २६ गते

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचारसम्बन्धी सर्वदलीय बैठक चैत २६ गते बसेको छ ।

बैठकलाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले कोरोना भाइरसविरूद्ध प्रदेश सरकार निरन्तर रूपमा लडिरहेको बताउनु भयो ।

सो अवसरमा उहाँले प्रदेशको साधन श्रोत र क्षमता अनुसार काम गरिरहेको बताउनु भयो । सङ्घीय सरकारले स्थानीय तह र प्रदेश सरकारको भूमिका बल्ल देखेको मुख्यमन्त्री पौडेलले बताउनु भयो ।

बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले १३ ओटै जिल्लाका १ सय १९ ओटै स्थानीय तहमा प्रदेश सरकारले कोरोना प्रभावितका लागि खर्च गर्नेगरी रकम पठाइसकेको बताउनु भयो ।

प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले कोरोना भाइरसको सङ्क्रमणको शङ्का लाग्ने बित्तिकै परीक्षण गर्ने गरिएको बताउनु भयो ।

अहिले पनि सबै मापदण्ड अनुसार क्वारेण्टाइन र आइसोलेशन निर्माण हुन नसकेकाले यसलाई मापदण्ड अनुसार सञ्चालन गर्नका लागि जोड दिइएको बताउनु भयो ।

इन्सेक रसुवा जिल्ला प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार जिल्ला प्रशासन कार्यालय रसुवाले निषेधाज्ञा जारी गरेपछि सदरमुकाम तथा जिल्ला सुनसान रहेको छ ।

रसुवा जिल्लाको क्वारेण्टाइन तथा आइसोलेशनमा थर्मोमिटर, मास्क, पीपीइ अभाव रहेको बताइएको छ । जिल्लभर जनप्रतिनिधि तथा स्वास्थ्यकर्मी सचेतनाका लागि सक्रिक्रयताका साथ लागेका छन् ।

नौकुण्ड गाउँपालिकाका वडा अध्यक्षहरूको सक्रियतामा लकडाउनको समयमा बाहिरबाट आउनेहरूलाई गाउँ प्रवेशमा रोक लगाइएको सूचना गरिएको नौकुण्ड-५ का वडा अध्यक्ष घोण्टे ग्याम्दानले बताउनु भयो ।

उत्तरगया गाउँपालिकामा पनि लकडाउनको समयमा सबै वडामा पुगेर जनप्रतिनिधिको सक्रियतामा सचेतना फैलाउने काम भएको र अहिले गाउँका स्थानीयवासी खेतीपातीमा लागेको गाउँपालिका उपाध्यक्ष चमेली गुरुङले बताउनु भयो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि रसुवामा जिल्ला भरका ५५ स्थानबाट सेवा प्रदान गरिएको छ ।

गाउँगाउँमा रहेका सामुदायिक स्वास्थ्य इकाई, स्वास्थ्य चौकी, अस्पतालसहित ५५ स्थानबाट सेवा प्रवाह भएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत किरण श्रेष्ठले बताउनु भयो ।

जिवजिवे ग्रामीण अस्पतालसहित दुई अस्पताल, नौ हेल्थ डेस्क, २९ स्वास्थ्य संस्था र आठ ओटा क्वारेण्टाइनबाट पाँच ओटै गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका काम गरिरहेका छन् ।

व्यक्तिगत सुरक्षा सामग्री, सर्जिकल माक्स, सेनिटाइजरलगायतका सामग्री कतिपय गाउँपालिकाले खरिद गरेको र नपुग सामग्री चैत २५ गतेबाट पठाउन थालेको श्रेष्ठले बताउनु भयो ।

इन्सेक मकवानपुर जिल्ला प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार हेटौँडा उपमहानगरपालिकाले दैनिक ज्यालादारी गर्ने परिवारलाई राहत वितरण गरेको छ ।

उपमहानगरपालिकाले पहिलो चरणमा ३ हजार १ सय १८ परिवारलाई राहत वितरण गरेको हो । उपमहानगरले कार्यपालिकाको बैठकबाट राहत वितरण कार्यविधि बनाइ ७५ लाख रुपियाँको राहत तथा कोरोना नियन्त्रण कोष स्थापना गरेको मेयर हरिबहादुर महतले बताउनु भयो ।

'अब दोस्रो चरणमा राहत वितरण गरिने छ ।'-मेयर महतले भन्नुभयो-'अरू २ हजार ३ सय ३६ परिवारका लागि माग भएको छ ।'

हेटौँडा उपमहानगरपालिका-४ कर्रामा रहेको श्रमिक माध्यमिक विद्यालयमा स्थापना गरेको आइसोलेशनमा राखिएका चारजनाको स्वाब परीक्षणमा कोरोना नेगेटिभ पाइएपछि उनीहरूलाई चैत २६ गते डिस्चार्ज गरिएको छ  । हेटौँडा-११ स्थित हेटौँडा एकेडेमीमा रहेको क्वारेन्टाइनमा भने एक जनालाई राखिएको छ ।

इन्सेक चितवन जिल्ला प्रतिनिधि दीपेन्द्र अधिकारीका अनुसार लकडाउन उल्लङ्घन गरेको आरोपमा चैत २६ गते १० जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

भरतपुर राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुरमा कारोना परीक्षण ल्याबमा चैत २६ गते १२ जनाको परीक्षण गरिएको छ ।

परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको डाक्टर कृष्णसागर शर्माले बताउनु भयो । भरतपुर कोरोना विशेष अस्पतालबाट हालसम्म ९० जनाको परीक्षण गरिएकोमा ८६ जनाको प्रयोगशाला परीक्षणमा नेगेटिभ नतिजा आएको छ ।

त्यस्तै ८१ जना डिस्चार्ज भइ घर गइसकेका छन् । भरतपुर अस्पतालको आइसीयू कक्षमा कोरोना आशङ्कित बिरामी छैनन् भने कोरोना विशेष अस्पतालमा तीन जना रहेका छन् ।

चितवनका स्थानीय तहहरू भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका, कालिका नगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकाले आफ्नो क्षेत्रमा राहत वितरणलाई तिव्रता दिएको राप्ती नगरपालिकाकी प्रमुख प्रभा बरालले बताउनु भयो ।

इन्सेक रामेछाप जिल्ला प्रतिनिधि नवराज घिमिरेका अनुसार तामाकोशी अस्पतालमा चैत २५ गते राति एक वृद्धको निधन भएको छ ।

उच्च ज्वरोका कारण अस्पताल भर्ना हुनुभएका मन्थली नगरपालिका-११ का ६७ वर्षीय वृद्धको स्वाब परीक्षणको लागि धुलिखेल अस्पताल पठाइएको छ ।

दमका दीर्घरोगी समेत रहनुभएका मृतकमा कोरोनाको क्रसङ्क्रमण हुन सक्ने सम्भावना अति न्यून भएको भए पनि ढुक्क हुन परीक्षणको लागि अस्पतालले जनाएको छ ।

रामेछाप जिल्लामा क्वारेण्टाइनमा बस्नेको सङ्ख्या चैत २६ गते ७९ जना पुगेको छ । मन्थली नगरपालिकामा बुधबार थप १४ जनलाई क्वारेण्टाइनमा राखिएसँगै जिल्लाभर क्वारेण्टाइनमा बस्नेको सङ्ख्या ७९ जना पुगेको हो ।

उमाकुण्ड गाउँपालिकाले कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि १० लाख रुपियाँको कोष खडा गरेको छ ।

चैत २५ गते बसेको गाउँपालिकाको आपतकालीन बैठकले कोष खडा गरेको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले बताउनु भयो ।

यसअघि रामेछापका मन्थली र रामेछाप नगरपालिका तथा सुनापति, खाँडादेवी र गोकुलगङ्गा गाउँपालिकाले पनि कोष स्थापना गरेका छन् । दोरम्बा र लिखुतामाकोसी गाउँपालिकाले भने कोष स्थापना गर्न बाँकी छ ।

इन्सेक धादिङ जिल्ला प्रतिनिधि सिताराम अधिकारीका अनुसार उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका-६ बसेरीमा विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरिएको छ ।

विपन्न, असहाय तथा ज्याला मजदुरी गरेर जीवन गुजारा गरिरहेका १ सय ६६ परिवारलाई खाद्य सामग्री वितरण गरेको हो ।

लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्नेहरूको लागि गाउँपालिकाले राहत सामग्री प्रदान गरेको वडा अध्यक्ष भक्तबहादुर लामिछानेले बताउनु भयो ।

भारत, सिराहा, सप्तरीलगायतका ठाउँबाट आएर भवन निर्माण काममा खटिएका ३० जना मजदुरलाई पनि आवश्यक खाद्य सामग्री वितरण गरिएको छ ।

बेनिघाट रोराङ गाउँपालिकाले वडा स्तरमा खाद्यान्न वितरण सुरू गरेको  छ । बेनिघाट रोराङ गाउँपालिका वडा-३, ५ र १० का ५ सय १३ परिवारलाई खाद्य सामग्री उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण भट्टराइले जानकारी दिनुभयो ।

यस्तै नीलकण्ठ नगरपालिकाले चैत २६ गतेबाट विपन्न, मजदुर, मानसिक सन्तुलन गुमाएका र सडकपेटीमा बस्नेहरूलाई भोजनको व्यवस्था गरेको छ ।

धादिङ जिल्लाको क्वारेनटाइनमा राखिएका २७ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । उनीहरू सबै जना चैत २६ गते घर फर्किएका छन् ।

इन्सेक नुवाकोट जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार विदुर नगरपालिकाले नगर भित्रका १२ ओटा वडाका १ हजार २ सय २९ परिवारका ४ हजार ७ सय ३८ जनालाई खाद्यान्न वितरण गरेको  छ ।

लकडाउनको कारण समस्यामा परेका मजदुर, दैनिक ज्यालादारी गर्ने तथा विपन्न परिवारलाई राहत प्रदान गरिएको हो ।

इन्सेक सिन्धुली जिल्ला प्रतिनिधि बिमला पाण्डेका अनुसार सिन्धुली अस्पतालमा हालसम्म आइसोलेशनमा बसेका सात जना मध्ये एक जनाको रिपोर्ट आउन बाँकी अन्य सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

विदेशबाट फर्केकाहरू स्थानीय तह मातहतका स्वास्थ्यकर्मीहरूको निगरानीमा होम क्वारेण्टाइनमा रहेका छन् ।

कमलामाई नगरस्तरीय विपद व्यवस्थापन निर्देशक तथा समन्वय समितिको बैठकले राहत प्याकेज वितरणको लागि मापदण्ड निर्माण गरेको छ ।

कोरोना भाइरस सङ्क्रमितको उपचारको क्रममा आइसोलेशनमा अग्रपङ्क्तिमा काम गर्ने डाक्टर तथा स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहन स्वरुप ३ लाख रुपियाँ उपलब्ध गराउने निर्णय भएको छ ।

इन्सेक सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि नातिबाबु धितालका अनुसार यस जिल्लामा आइसोलेशनमा राखिएको आठ जनामा कोरोना भाइरस सङ्क्रमण नभएको पाइएपछि घर पठाइएको छ ।

सिन्धुपाल्चोक जिल्लाको कुनैपनि आइसोलेशनमा बिरामी नभएको र बाह्रविसेको क्वाराण्टाइनमा दुई जना राखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईंले बताउनु भयो ।

जुगल गाउँपालिकाले उक्त गाउँपालिकामा प्रवेश गर्ने सिमाना ढाडेमा कोरोना भाइसरसम्बन्धी सहायता कक्ष स्थापना गरी गाउँ प्रवेश गर्नेलाई कोरोना भाइरस रोगबाट बच्ने उपायहरू र ज्वरो नाप्ने काम सुरू गरेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताउनु भयो ।

इन्सेक जिल्ला प्रतिनिधिको सहजिकरणमा जिल्ला जनस्वास्थ्य कार्यालयले चैत २६ गते सदरमुकाम चौतारा आसपासमा सञ्चालन भएका सात ओटा एम्बुलेन्स चालकहरूलाई एक/एक सेट पीपीई वितरण गरेको छ ।

जिल्लामा रहेका एम्बुलेन्स चालकहरूले कोरोना भाइरसका शङ्कास्पद बिरामीलाई सेवा नदिएको भन्ने समाचार विभिन्न सञ्चार माध्यममा आएको थियो ।

समस्याको समाधानका लागि इन्सेक जिल्ला प्रतिनिधिले सरोकारवालाहरू र एम्बुलेन्स चालकहरूसँग सम्पर्क गर्दा चालकहरूलाई पीपीई सेट आवश्यक भएको महसुस भएपछि वितरण गरिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चापागाईंले जिल्लामा सञ्चालन हुने २७ ओटै एम्बुलेन्स चालकहरूलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउने बताउनुभयो ।

एम्बुलेन्स चालकहरूलाई स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराएपछि जिल्लामा बिरामीहरूलाई सेवा उपलब्ध गराउन समस्या नहुने एम्बुलेन्स व्यवस्थापन समिति ठूलो सिरुवारीका एम्बुलेन्स चालक प्रेमप्रसाद चौलागाईंले बताउनु भयो ।

इन्सेक ललितपुर जिल्ला प्रतिनिधि दीपकप्रसाद घिमिरेका अनुसार ललितपुरमा ४१ जनाको स्वाब परीक्षण गरिएकोमा सबै जनाको नेगेटिभ रिपोर्ट आएको छ ।

विपन्न परिवारलाई राहत वितरणका लागि ललितपुर महानगरपालिकामा १८ हजार १ सय २४ परिवारका ६४ हजार ९  सय ५२ जनाको तथ्याङ्क सङ्कलन भएको ललितपुर महानगरपालिकाका सामाजिक विकास समिति संयोजक दिनेश कार्कीले बताउनु भयो ।

गोदावरी नगरपालिकामा ७ हजार १ सय १० परिवारको तथ्याङ्क सङ्कलन भएको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताउनु भयो ।

महालक्ष्मी नगरपालिकामा १२ हजार १ सय ४५ परिवारको तथ्याङ्क सङ्कलन भएको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले बताउनु भयो ।

कोभिड-१९ को शङ्कामा आइसोलेशन वार्डमा दुई जना बिरामीलाई भर्ना गरिएको छ भने उनीहरूको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

४१ जना शङ्कास्पद बिरामीको स्वाब परीक्षण गर्दा सबै जनाको नेगेटिभ नतिजा आएको पाटन अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले बताउनु भयो ।

कोन्ज्योसोम गाउँपालिले आफ्नो क्षेत्रभित्र पाँच ओटा स्वास्थ्य चौकीहरूमा पीपीई, ज्वरो नाप्ने इन्फ्रारेड थर्मोमिटर उपलब्ध गराएको जनाएको छ ।

इन्सेक काभ्रे जिल्ला प्रतिनिधि हिरामान तामाङका अनुसार काभ्रेमा चैत २७ गतेबाट बैङ्क तथा वित्तिय संस्था खुल्ने भएका छन् ।

लकडाउनपछि बन्द रहेका बैङ्क तथा वित्तिय संस्था खुलाउने विषयमा चैत २६ गते प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको अध्यक्षतामा धुलिखेलमा बसेको बैठकमा सहभागी वाणिज्य बैङ्कका प्रमुखहरूले बैङ्क सञ्चालन गर्न सहमत भएका हुन् ।

चैत ३० गतेसम्म दैनिक २ घण्टा बैङ्क खोल्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले बताउनु भयो । निर्णय अनुसार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बैङ्क खुल्ने छन् । काभ्रेमा कोरोना भाइरस रोकथामका लागि आइसोलेशन शैया नबढाइएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

धुलिखेल अस्पतालमा आठ ओटा र शीर मेमोरियल अस्पतालमा पाँच ओटा मात्र आइसोलेशन शैया तयार भएको भन्दै अरू थप शैयाको आवश्यकता रहेको गैरसरकारी संस्था महासङ्घका अध्यक्ष टोमप्रसाद सापकोटाले बताउनु भयो ।

विपद व्यवस्थापन समितिको बैठक पटकपटक बसे पनि आइसोलेशन शैया थप्ने र मापदण्ड पुरा नगरेका आइसोलेशनलाई मापदण्ड पुरा गराउन स्वास्थ्य सामग्री उपलब्ध गराउने विषयमा कुनै निर्णय नभएको जिल्ला भुमि अधिकार मञ्चका अध्यक्ष रामा लामाले बताउनुभयो ।

पनौती नगरपालिकाले दोस्रो चरणको राहत वितरण थालेको  छ । नगरपालिकाले  वडा-६, ९, १० र ११ मा रहेका अति विपन्न र दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई चैत २६ गते फुड बैङ्कमा जम्मा भएको राहत पठाउन सुरू गरेको नगर प्रमुख भीमप्रसाद न्यौपानेले बताउनु भयो ।

पाँचखाल नगरपालिकाले खाद्यान्न र तरकारी पसल खोल्ने समय तोकेको छ । नगरपालिकामा बसेको संयुक्त बैठकले खाद्यान्न, तरकारी, मासु तथा फलफूल पसल हप्ताको दुई दिन बिहान ६ बजेदेखि १० सम्म मात्रै खोल्न पाइने निर्णय गरेको हो ।

यो समयमा सोमबार र शुक्रबारमात्रै त्यस्ता पसल खोल्न पाइनेछ । यो नियम औषधि, भेटेरिनरी तथा बिउ विजन बेचबिखन गर्ने पसललाई लागु हुने छैन ।

कोशीपारी क्षेत्रमा पर्ने भुम्लु गाउँपालिकाले ३० शैयाको क्वारेण्टाइन तयार गरेको छ । गाउँपालिकाले वडा नम्बर ८ मा रहेको प्रकाश माध्यामिक विद्यालयमा क्वारेण्टाइन तयार गरेको अध्यक्ष गुमान्ध्वोज कुँवरले जानकारी दिनुभयो ।

इन्सेक भक्तपुर जिल्ला प्रतिनिधि रमेश गिरीका अनुसार कोभिड-१९ को सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको अवधिमा भक्तपुर अस्पतालले ९ सय ५६ जना बिरामीको स्वास्थ्य परीक्षण एवम् उपचार गरेको छ ।

भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डाक्टर.सुमित्रा गौतमले कोभिड-१९ को परीक्षण एवम् आइसोलेशन छुट्टै सञ्चालन गरेको र अन्य बिरामीका लागि छुट्टै व्यवस्था गरेर सेवा प्रवाह गरिरहेको जानकारी दिनुभयो ।

अस्पतालमा दैनिक ओपीडी, अल्ट्रासाउण्ड, प्रसूति सेवाहरू सञ्चालन भइरहेको जानकारी दिँदै उहाँले लकडाउनकै अवधिमा पनि हड्डी भाँचिएको, एपेन्डिसाइड, प्रसूतिका शल्यक्रियाहरू भइरहेको जानकारी दिनुभयो ।

यस अवधिमा भक्तपुर अस्पतालको फार्मेसीबाट ९० हजार रुपियाँको औषधि बिमाका बिरामीलाई उपलब्ध गराइएको छ ।

मानवीय आस्था नेपालले १४ थान पीपीई भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डाक्टर सुमित्रा गौतमलाई हस्तान्तरण गरेको छ ।

आस्था नेपालको तर्फबाट सङ्घीय सांसद महेश बस्नेतले शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्रलाई चार थान, भक्तपुर क्यान्सर अस्पताललाई चार थान तथा क्वीक रेस्पोन्स टिमलाई चार थान पीपीई हस्तान्तरण गर्नुभएको हो ।

त्यसैगरी नागरिक कम्युनिटी टिचिङ हस्पिटल गठ्ठाघर भक्तपुरका सञ्चालक सदस्य, बागमती प्रदेश खेलकुद परिषद, भक्तपुर जिल्ला अध्यक्ष श्रीभक्त काशिछ्वाले नागरिक कम्युनिटी टिचिङ हस्पिटलका स्वास्थ्यकर्मी र एम्बुलन्स चालकका लागि नौ थान पीपीइ प्रदान गर्नुभएको छ ।

इन्सेक भक्तपुर जिल्ला प्रतिनिधि रमेश गिरीकै अनुसार काठमाडौँमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चैत २६ गते आयोजना गरेको पत्रकार सम्मेलनमा अहिलेसम्म मुलुकभर १ सय ३४ जना आइसोलेशनमा रहेका, ८ हजार ५ सय ८० जना क्वारेन्टाइनमा रहेका जानकारी गराइएको छ ।

पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले कल सेन्टरमा ३ हजार ३ सय ६ जनाको गुनासा सम्बोधन भएको, मन्त्रालयको वेबसाइट र मोबाइल एपबाट ८ सय २९ जनाले कोभिड-१९ को स्वपरीक्षण (सेल्फ इभ्यालुशन) गरेको र तीमध्ये तीन जना रेड जोनमा परेको जानकारी गराउनु भएको छ ।

डाक्टर देवकोटाले कोभिड-१९ को रोकथाम र नियन्त्रण गर्न ७७ जिल्लामा कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) स्थापना गरिएको जानकारी गराउनुभयो । यसअघि केन्द्रीय स्तरमा कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) स्थापना गरिएको थियो ।

उहाँले केन्द्रीय सिसिएमीबाट सशस्त्र प्रहरी बलको अस्पताल र छाउनीस्थित नेपाली सेनाको अस्पतालमा बिरामीलाई राख्ने व्यवस्था पूर्ण रूपमा तयार भएको जानकारी दिनुभयो ।

त्यहाँ अहिले १ सयभन्दा बढी शैया र ५६ ओटा सघन उपचार कक्ष (आइसियू) तयारी अवस्थामा राखिएको पनि उहाँले जानकारी दिनुभएको छ ।

यसैगरी उहाँले आठ जना सङ्क्रमित सबैका आफन्त, परिवार र साथिभाइ सबैको निगरानी (कन्ट्याक ट्रेसिङ) सकिसकेको जानकारी दिनुभयो ।

उहाँका अनुसार चैत २६ गतेसम्म २ हजार ३ सय ६६ नमूना परीक्षण गरिएको छ तर नयाँ सङ्क्रमित नभेटिएको जानकारी दिनुभयो ।

चैत २६ गते १ सय ८० नमूना परीक्षण सङ्कलन गरिएको र तिनको नमूना परीक्षण भइरहेको छ ।

उहाँले चैत २५ गतेदेखि र्‍यापिड टेस्टमार्फत कैलाली र कञ्चनपुरमा नमूना परीक्षण भइरहेको बताउनुभयो ।

ती तीन ठाउँमा १ सय ८० जनाको नमूना परीक्षण भइरहेको छ । यसैगरी अछाम, जुम्ला र सुर्खेतमा ८ सय २ जनाको स्वाब नमूना सङ्कलन गरेर काठमाडौँ ल्याइएको छ भने दिपायलमा चैत २६ गते ३ सय जनाको स्वाब सङ्कलन गरिएको छ ।

सरकारी स्वामित्वका स्वास्थ्य संस्थामा २५ र निजी संस्थासँग रहेका १५ रियल टाइम पोलिमरेज चेन्ज रियाक्शन (पिसिआर) मेशीनलाई ठाउँठाउँमा सेट गरी परीक्षणको दायरा बढाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य सल्लाहकार डाक्टर खेम कार्कीले जानकारी दिनुभयो ।

चैत २६ गतेसम्म काठमाडौँमा १ हजार ९ सय ६५ र काठमाडौँ बाहिर ४ सय १ गरी कूल २ हजार ३ सय ६६ को परीक्षण भएकामा नौ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ ।

त्यसैगरी सरकारले कोरोना भाइरसको सङक्रमण स्थापना गरेको कोरोना भाइरस सङक्रमण रोकथाम तथा उपचार कोषमा २६ गतेसम्म २ अर्ब रुपियाँ सङ्कलन भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्र पौडेलले जानकारी दिनुभयो ।

शङ्करापुर नगरपालिकाले लकडाउनको बेला दुध विक्री वितरणमा पनि रोक लगाएको छ । नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठसहितको बैठकले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि भन्दै दुध विक्री तथा ढुवानीमा रोक लगाउने निर्णय गरको थियो ।

नेपाल आयल निगमले आइतबारदेखि भरी ग्यास सिलिण्डर विक्री वितरण गर्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिको २६ गते बसेको बैठकले १४ किलो २ सय ग्राम (पूरै भरी) को सिलिण्डर ग्यास विक्री वितरण खुला गर्ने निर्णय गरेको निगमका प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिनुभयो ।


इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा