कोरोना भाइरससम्बन्धी प्रदेश २ को अवस्था

  ०७६ चैत २६ गते

प्रदेश २ अन्तर्गत आठ ओटै जिल्लामा १ सय ४५ स्थानमा ३ हजार २ सय १५ क्वारेन्टाइन बेड रहेको छ । हालसम्म ९ सय ९ जनालाई क्वारेनटाइनमा राखिएको छ । चिकित्सकको सल्लाह अनुसार १ हजार २ सय १५ जना होम क्वारेनटाइनमा रहेको बताइएको छ । प्रदेश २ मा २१ जनालाई आइसोलेशनमा राखिएको छ । प्रदेशमा आइसोलशनको क्षमता २ सय ८ बेडको रहेको छ । प्रदेश २ सरकार सामाजिक विकास मन्त्रालयले चैत २६ गते गरेको मिडिया ब्रिफ्रिङमार्फत उक्त जानकारी दिएको हो ।

विभिन्न स्थानको क्वारेन्टाइन र आइसोलेशनमा रहेका कोरोना भाइरसको आशङ्का गरिएका १ सय ४० जनाको स्वाब सङ्कलन गरिएको छ । १ सय १३ जनाको रिपोर्ट निगेटिभ आएको छ । २७ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

कोरोना भाइरस (कोभिड-१९) को रोकथाम र नियन्त्रणका लागि जिल्लाको विभिन्न स्थानमा बनाइएको क्वारेन्टाइनमा पछिल्लो समय भारतबाट आएकाहरू थपिँदै गएका छन् । विभिन्न ठाउँमा मानिसहरू अलपत्र परेका र लकडाउनसँगसँगै औषधी अभाव हुन सुरु भएको जिल्ला प्रतिनिधिहरूबाट जानकारी प्राप्त भएको छ ।

धनुषा जिल्ला प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार धनुषाको १८ ओटा स्थानीय तहमध्ये १६ ओटा स्थानीय तहले आफ्नो तर्फबाट क्वारेन्टाइन निर्माण गरेका छन् । धनुषामा अहिलेसम्म १६ ओटा स्थानीय तहले ३ सय ५३ बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिसकेको छ । चैत २६ गतेसम्म ९३ जना क्वारेन्टाइनमा रहेका छन् ।

धनुषामा ३२ बेडको आइसोलेशनको व्यवस्था गरिएकोमा अहिले प्रादेशिक अस्पताल जनकपुरले १२ बेडको आइसोलेशन सञ्चालनमा ल्याइएको छ । चैत २६ गते बेलुकासम्म १० जना आइसोलेशनमा रहेको प्रदेश २ स्वास्थ्य निर्देशनालयका अधिकृत विजय झाले बताउनु भयो ।

धनुषामा चैत २६ गतेसम्म गणेशमान चारनाथ नगरपालिकामा २४, धनुषाधाम नगरपालिकामा ३८, सबैला नगरपालिकामा २५, मिथिला नगरपालिकामा १०, क्षीरेश्वरनाथ नगरपालिकामा ११, विदेह नगरपालिकामा २५, शहिदनगर नगरपालिकामा ३०, कमला नगरपालिकामा १५, मिथिला बिहारी नगरपालिकामा सात, हंसपुर नगरपालिकामा ११, जनकनन्दनी गाउँपालिकामा २०, बटेश्वर गाउँपालिकामा २५, लक्ष्मीनीया गाउँपालिकामा सात, औरही गाउँपालिकामा १६ र धनौजी गाउँपालिकामा १४ बेड क्षमताको क्वारेन्टाइनको स्थापना गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले क्वारेन्टाइनको व्यवस्था नगरेपछि वडा नम्बर ७ का वडा अध्यक्ष जानकीराम साहले आङ्खनो वडामा आठ बेड क्षमताको क्वारेन्टाइन सञ्चालनमा ल्याउनु भएको छ ।

अहिलेसम्म आधिकारिक रूपमा जनकपुरधाम उपमहानगरपालिका, नगराइन नगरपालिका र भारतको सीमानाकामा रहेको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले क्वारेन्टाइन स्थापना गरेका छैनन् । जनकपुरधाम उमनपाले जनकपुरधाम उमनपा-१४ स्थित निर्माणधीन अवस्थामा अलपत्र रहेको मणिपाल शिक्षण अस्पतालमा क्वारेन्टाइन बनाउन अनुगमन गरेको भएपनि अहिलेसम्म क्वारेन्टाइन निर्माण गरेको छैन । जनकपुरधाम उमनपका उपप्रमुख रिता झाले जनकपुरधामको मुजेलिया, बसहिया लगायतका विभिन्न ठाउँमा क्वारेन्टाइन निर्माण गर्न नगरले अग्रसरता देखाउँदा स्थानीयको विरोधका कारण निर्माण हुन नसकेको बताउनु भयो ।

यता, प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले नगराइन नपा-५ गङ्गुलीमै क्षेत्रीय क्वारेन्टाइन मिथिला आयुर्वेद कलेजमा ७५ बेड क्षमताको क्वारेन्टाइन स्थापना गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताउनु भयो । क्षेत्रीय क्वारेन्टाइन स्थलमै ३२ बेड क्षमताको आइसोलेशनको तयारी समेत भइरहेको निरौलाले बताउनु भयो ।

कोरोना भाइरस (कोभिड-१९) को त्रासले जनकपुरधामका नीजि अस्पतालहरूले तत्कालका लागि ओपिडि सेवा बन्द गरेका छन् । अस्पतालहरूले ओपिडि सेवा बन्द गरी आकस्मिक सेवा सुचारू राखेको दावी गरिरहेको भएपनि बिरामीलाई भने सहजै भर्ना गरिरहेका छैनन् । अस्पतालहरूले वरो, रूघाखोकी र टाउको दुख्ने लगायतका बिरामीहरूलाई भर्ना समेत नगरी प्रादेशिक अस्पताल जनकपुरमा पठाउने गरेको छ । जनकपुरधामस्थित जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटल प्रा.लि.ले चैत २३ गते जनकपुरधाम उमनपा-४ बस्ने राजा सहनीका डेढ वर्षीय छोरालाई जरो आएर चेकजाँच गराउन जाँदा अस्पतालले सेवा नदिएको गुनासो गर्नु भयो ।

यसअघि चैत १४ गते धनुषाधाम नपा-३ मुलाबारीकी ४५ वर्षीया मरनीदेवी सदालाई श्वास-प्रश्वासमा समस्या भएपछि जनकपुरधाम उमनपा-८ स्थित गोदावरी मोर्डन अस्पतालमा परीक्षण गराउँदा डाक्टरले कोरोना भाइरसको सङ्केत गर्दै भर्ना नगरी प्रादेशिक अस्पतालमा पठाएको सदाले बताउनु भयो । मरनीदेवी पहिलादेखि नै मुटुरोगी रहेकी थिइन ।

नीजि अस्पतालले डाक्टरलाई पीपीई प्रदान नगरेपछि अहिले डाक्टरहरू धमाधम जागिर नै छोडेर सम्पर्कविहीन भएको जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटल प्रा.लि.मा कार्यरत एक नर्सले बताउनु भयो । उहाँका अनुसार अस्पतालमा आफूहरू निकै असुरक्षित तरिकाले काम गर्दै आएको र अस्पतालका धेरै डाक्टरहरूले जागिर छोडिसकेका छन् ।

प्रादेशिक अस्पताल जनकपुरका वरिष्ठ बालरोग विशेषज्ञ डा.जामुन सिंहका अनुसार प्रादेशिक अस्पतालबाट पनि चार जना स्वास्थ्यकर्मीले घरको दबावका कारण जागिर नै छोडेको बताउनु भयो । डाक्टर सिंहका अनुसार-'अहिलेको विषम् परिस्थितिमा सामान्य जरोका बिरामी आउँदा पनि चिकित्सकहरू डराउँछन् । त्यसैले हुनसक्छ उहाँहरू ड्युटी आउन छाड्नु भएको छ ।'

जनकपुरधाममा प्रादेशिक अस्पतालबाहेक कूल ३५ ओटा नीजि अस्पतालहरू सञ्चालनमा रहेका छन् । तर, अधिकाँश अस्पतालले अहिले कोरोना सङ्क्रमणको त्रासले ओपिडि सेवा समेत बन्द गरेका छन् । जनकपुरका अधिकाँश निजी अस्पतालमा कार्यरत डाक्टरहरू कोरोना भाइरसको डर/त्रासका कारण सम्बन्धित अस्पताल प्रशासनलाई कुनै जानकारी नै नदिई ड्युटीमा आउन छाडेकाले सामान्य बिरामीहरूलाई समेत समस्या भइरहेको छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको बेलामा सुरक्षा कबच मानिने पीपीई १ सय थान एन.एम.बी. बैङ्क जनकपुर शाखाले प्रदेश २ सरकारलाई चैत २६ गते प्रदान गर्‍यो । धनुषा लगायत प्रदेश २ का आठ ओटै जिल्लामा पीपीई अभाव रहेको बेलामा प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतलाई बैङ्कका निक्षेप प्रबन्धक मिथिलेश कुमार झा सहितको टोलीले उक्त सामग्री प्रदान गरेको थियो । कोरोना भाइरसको महामारीको उपचारमा सहयोग गर्ने उद्देश्यले सामग्री हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

धनुषाका पत्रकार संजिव मण्डलले कोरोना भाइरसबाट जोगिन अपनाउनु पर्ने उपायका बारेमा जानकारी गराउँदै विदेह नगरपालिकामा स्वास्थ्य सामाग्री वितरण गर्नु भयो । चैत २६ गते विभिन्न साथीभाइको सहयोग र आफ्नो लगानीमा स्वास्थ्य सामाग्रीहरूको व्यवस्थापन गर्दै पत्रकार मण्डलले विदेह नपा-७ मा स्यानीटाइजर ५० ओटा, ग्लोव्स २ सय थान, मास्क १ हजार २ सय थान, साबुन ६ सय ५० ओटा स्वास्थ्य सामाग्री वितरण गर्नु भयो ।

यसैबीच, धनुषाको शहिदनगर नगरपालिकाको दैवी प्रकोप व्यवस्थापन कोषमा १ लाख ११ हजार १ सय ११ रुपियाँ सहयोग प्राप्त भएको छ । स्थानीय यदुकोहामा सञ्चालित त्रिमुर्ती बचत तथा क्रण सहकारी संस्थाका पदाधिकारीहरूले नगरपालिकाका मेयर उदय बरबरिया यादवलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।

सप्तरी जिल्ला प्रतिनिधि मनोहर पोखरेलका अनुसार खुला सीमानाका कारण भारतबाट लुकिछिपी भित्रिनेहरूको सङ्ख्या बढेसँगै राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले आइसोलेशन शैय्याको सङ्ख्या बढाउने तयारी थालेको छ । आइसोलेशन शैय्या थप्ने निर्णय भएसँगै कोठा अभाव भएपछि अस्पताल भवन खाली गरिएको अस्पतालले जनाएको छ । हाल सञ्चालनमा नरहेको बहिरङ्ग विभाग र सञ्चालनमा रहेको 'फिभर क्लिनिक' रहेको भवन खाली गरी आइशोलेशन वार्ड बनाउने तयारी गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताउनु भयो ।

भवन खाली गरिएपछि अस्थायी 'फिभर क्लिनिक' सञ्चालन गर्न अस्पताल परिसरमा टेन्ट खडा गरिएको छ । डा. दासका अनुसार हाल अस्पतालमा ६ शैय्याको आइसोलेशन वार्ड रहेकोमा त्यसलाई थप गर्दै १५ बेडको व्यवस्थापन गर्न लागिएको छ ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल बाहेक राजविराज नगरपालिकास्थित छिन्नमस्ता अस्पताल र रूपनी गाउँपालिकास्थित युनिक अस्पतालमा २०/२० तथा रूपनी गाउँपालिकास्थित ठाकोदेवी जोगेन्द्र भगत क्षेत्रीय प्रहरी अस्पतालमा १० शैय्याको आइसोलेशन वार्ड तयारी अवस्थामा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । छिन्नमस्ता र युनिक अस्पतालमा आइसियु सेवा समेत उपलब्ध रहेकोले त्यसलाई प्रयोग गर्न सकिने सञ्चालकहरूले प्रतिबद्धता जनाएका छन् ।

अस्पतालले चैत २६ गतेसम्म १ सय २ पुरुष, ७४ महिला, ३४ बालक र २५ बालिका गरी २ सय ३५ जनाको जरो परीक्षण गरेको छ । जसमध्ये १४ जनालाई स्थानीय तहले सञ्चालन गरेको क्वारेन्टाइनमा र ३६ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । आइसोलेसनमा रहेकी एक जना महिला, कतार एयरेवेजबाट आएका एक पुरुष र भारत बिहारको विभिन्न जिल्लाबाट आएका आठ पुरुषको स्वाब परीक्षण गरेकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

अन्य स्थानीय तह नामावली छनौट र वितरण प्रकृयामा अलमलिरहेका बेला सप्तकोसी नगरपालिकाले पहिलो चरणको राहत वितरण सुरू गरेको छ । लकडाउनको समयावधि बढेसँगै गरिब तथा विपन्न परिवारमा भोकमरी देखा पर्न थालेपछि सप्तकोशी नगरपालिकाले ज्याला मजदुर, गरिब र विपन्न परिवारलाई राहत वितरण सुरु गरेको हो । दिनभर मजदुरी गरी बिहान बेलुकाको दुई छाकको गर्जो टार्दै आएकाहरूको अवस्था नाजुक बन्दै गएपछि नगरपालिकाले तत्काल गर्जो टार्न आपतकालिन विपद् व्यवस्थापन कोषबाट राहत वितरण सुरु गरेको नगर प्रमुख उत्तमकुमार शर्माले बताउनु भयो । नगर प्रमुख शर्माका अनुसार जनता बचाउनु नगरपालिकाको पहिलो कर्तव्य भएकाले अन्य कामहरूलाई थाँति राखेर वास्तविक मजदुरको यकिन गरी राहत सङ्कलन र वितरणलाई तिव्रता दिएका हौँ ।

नगरपालिकाले वडा नम्बर १ देखि ११ ओटै वडाका १ हजार ९ सय ४ घरपरिवारका ८ हजार १ सय ८५ जनालाई प्रतिव्यक्ति साढे तीन किलो चामल, ३ सय ५० ग्राम दाल, एक किलो नुन, आधा लिटर खानेतेलका दरले राहत वितरण गर्न लागिएको वडा नम्बर १ का वडा अध्यक्ष नारायणप्रसाद आचर्यले बताउनु भयो । वडा नम्बर १, २, ३, ५ र ८ मा राहत वितरण सम्पन्न भइसकेको र चैत २८ गतेसम्म सबै वडामा राहत वितरण कार्य सम्पन्न भइसक्ने नगर प्रमुख शर्माले बताउनु भयो ।

नगरपालिकाको वडा नम्बर १ को ३ सय घरमा ९ सय ५९ जना, वडा नम्बर २ को १ सय ६५ घरमा ७ सय २८ जना, वडा नम्बर ३ को १ सय ४ घरमा ४ सय ६३ जना, वडा नम्बर ४ को १ सय ४७ घरमा ६ सय ५५ जना, वडा नम्बर ५ को १ सय ३ घरमा ४ सय ११ जना, वडा नम्बर ६ को १ सय ४६ घरमा ६ सय ४० जना, वडा नम्बर ७ को १ सय ११ घरमा ४ सय ७३ जना, वडा नम्बर ८ को २ सय २७ घरमा १ हजार १३ जना, वडा नम्बर ९ को २ सय ५३ घरमा १ हजार १ सय ५० जना, वडा नम्बर १० को १ सय ६९ घरमा ७ सय ५५ जना र वडा नम्बर ११ को १ सय ७९ घरमा ९ सय ३८ जना गरी १ हजार ९ सय ४ घरधुरीका ८ हजार १ सय ८५ जना अति विपन्न र ज्याला मजदुरी गरी गुजारा चलाउँदै आएकाहरूलाई पहिलो चरणको राहत वितरण गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललन कर्णले बताउनु भयो । वडा अध्यक्ष र टोल विकास संस्थाको संयुक्त अनुगमन पछिको सिफारिसका आधारमा त्यस्ता व्यक्तिको पहिचान गर्दै खाद्यान्न उपलब्ध गराएको उहाँले बताउनु भयो ।

विश्वभरी महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड- १९) का कारण नेपाल सरकारले लकडाउन गरेसँगै सप्तकोशी नगरपालिकाका ११ ओटै वडामा खाद्यान्न सङ्कट हुन नदिनका लागि नगरपालिकाले विपन्नको पहिचान गरी राहत वितरण गरेको नगरपालिका उपप्रमुख आशा चौधरीले बताउनु भयो ।

महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहका अनुसार विभिन्न तहले राहतको लागि स्थानीयलाई नागरिकताको प्रमाणपत्र अनिवार्य देखाउनु पर्ने प्रावधान ल्याएकोमा मानव अधिकार सम्बद्ध सङ्घसंस्थाहरूको ध्यानाकर्षण भएको छ । विपतको यस घडीमा मानिसहरूलाई राहत दिनु पर्ने ठाउँमा भेदभाव गर्न नहुने भन्दै मानव अधिकार रक्षक सञ्जाल महोत्तरीले ध्यानाकर्षण भएको जनाएको छ । सञ्जालले यस्ता कार्य तत्काल बन्द गर्न अनुरोध गर्दै समस्यामा परेका हरेक नागरिकलाई कुनैपनि किसिमको पूर्वाग्रह नराखी राहत उपलब्ध गराउन अनुरोध गरेको छ ।

सञ्जालका अध्यक्ष समेत रहनु भएका इन्सेक महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहले भन्नु भयो- 'नागरिकता सम्बन्धी कानून समयमा नबनेको कारण नेपालमा हजारौं नागरिक यहीँ जन्मे-हुर्केपनि नागरिकता विहीन छन् । उनीहरू राज्यले प्रदान गर्ने सेवा/सुविधाबाट बञ्चित हुँदै आएको अवस्था छ । अधिकाँश नागरिकता विहीनहरूले आफ्नो र आफ्नो परिवारको गुजारा चलाउन बाहिर गएर ज्याला मजदुरी गर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा विश्वभरी फैलिएको कोरोना भाइरसको महामारीका कारण नेपाल सरकारले घोषणा गरेको लकडाउनको समयावधि तेस्रो हप्तामा प्रवेश गरेको र लकडाउनले कहिलेसम्म निरन्तरता पाउनेबारे कुनै निश्चित समय नरहेको अवस्था छ । मजदुरहरू घरबाहिर निस्कन पाएका छैनन् । यस्तो सङ्कटको अवस्थामा दैनिक मजदुरी गरी गुजारा चलाइरहेका नागरिकता विहीनहरूले राज्यबाट प्रदान गरिने राहतबाट बञ्चित हुनु मानव अधिकारको हनन् हो ।' अध्यक्ष साहले सबै स्थानीय तहका सरोकारबालासँग दैनिक ज्याला मजदुरी गर्ने, गरिव, विपन्न, दलित, अपाङ्गता लगायतका व्यक्तिहरूको तथ्याङ्क सङ्कलन गरी न्यायोचित ढङ्गले राहत प्रदान गर्न अनुरोध गर्नु भएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि जारी लक डाउन तेस्रो सातामा प्रवेश गरेको अवस्थामा प्रायःजसो स्थानीय तहहरूले आफ्ना नागरिकको समस्यालाई मध्यनजर गरी राहत वितरण गरेपनि महोत्तरीको सम्सी गाउँपालिकामा चैत २६ गतेसम्म राहत वितरण गरिएको छैन । भारतको सीमा नाका क्षेत्रमा रहेको यस गाउँपालिकाले न राहत बाँडेको छ न त अहिलेसम्म क्वारेन्टाइन तयारी गरेको छ । यस्तो अवस्थाको स्थानीयले चैत २६ गते विरोध जनाएका छन् ।

प्रदेश सरकार र त्यस क्षेत्रका निर्वाचित प्रतिनिधिसभा सदस्य पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले राहतको लागि रकम सहयोग गरेको भएपनि अहिलेसम्म राहत वितरण तथा तयारी नगरेको हुँदा स्थानीयले विरोध जनाएका थिए । सम्सीका स्थानीय बासिन्दा विनोद साहले यहाँका विभिन्न वडामा रहेका मजदुर, गरिब, विपन्नहरूले भोकभोकै बस्नु पर्ने अवस्था भएपनि गाउँपालिकाले अहिलेसम्म राहत वितरणको कार्य सुरु नगरेको बताउनु भयो । यस सन्दर्भमा सम्सी गाउँपालिका अध्यक्ष शेख फारूखसँग सम्पर्क गर्दा उहाँले आफूहरू राहत वितरणको लागि तयारी गरिरहेको बताउनु भयो । उहाँले चैत २६ गते गाउँपालिकाको सर्वदलीय बैठक बोलाएको र सम्भवतः भोलि चैत २७ गतेदेखि राहत वितरण गर्ने काम अगाडि बढाउने निर्णय भएको बताउनु भयो । अध्यक्ष फारूखले वडा नं ६ देखि राहत वितरण कार्य सुरु गर्ने बताउनु भयो ।

त्यसैगरी, सम्सी प्रहरी चौकीले स्थानीयहरूलाई सहयोग पुग्ने गरी दिउँसो ३ बजेदेखि ४ बजेसम्म खाद्यान्नको लागि बजार खोलेर सामाजिक दुरी कायम गर्दै सामान बिक्री वितरण गर्न र पसल अगाडि साबुन पानीले हात धुने बन्दोबस्त मिलाउन अनुरोध गरेको छ ।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड- १९) को त्रासले गाउँ/गाउँ डुलेर जीविकोपार्जन गर्दै आएका घुमन्ते (फिरन्ते) परिवारहरूलाई अहिले निकै समस्या भएको छ । कोरोनाको प्रकोप भन्दा पहिले घुमन्तेहरूलाई वस्तीमा सहज प्रवेश हुने गरेपनि अचेल कोरोनाको जोखिम नियन्त्रणको लागि जारी लकडाउनमा घुमन्तेहरूलाई वस्ती प्रवेशमा निषेध गरिएको छ । प्रायः नागरिक यस्ता घुमन्ते जीवनयापन गर्ने परिवारका बालबालिकाहरू नै अचेल वस्ती घुमेर मागेर ल्याएको थोरै अन्न सबै परिवार मिलेर खाने गरेका छन् । बल्वा नपा-६ अमरपुर स्थित आँप बगैंचामा बसोवास गर्दै आएका करिब २० घरपरिवार घुमन्तेहरूको ठूलो सदस्य वस्तीमा माग्न जाँदा ढोका समेत खोल्न नमान्ने वस्तीका बासिन्दाहरू बालबालिकाको माया लागेर टाढैबाट थोरै केही अन्न दिने गरेको र सोहीले गुजारा चलाउनु परेको बताउँछन् । घुमन्ते जीवन बिताउँदै आएका नन्दलाल राठौर तथा उनीहरूसँगै थप करिब २० घरपरिवार लकडाउनको बेला अन्यत्र सर्न समेत समस्या भएको नन्दलाल बताउनु हुन्छ । जुन ठाउँ गएपनि यस्तै समस्या हुने भएकोले अहिले दोधारमा परेको र उनीहरूले सरकारसँग राहतको लागि आग्रह गरेका छन् ।

बल्वा नगरपालिकाका मेयर विनोद यादवले नगरपालिका घुमन्तेहरूलाई सहयोग गर्न असमर्थ रहेको बताउनु भयो । उहाँले नगरपालिकाको बजेट नगरवासीको लागि हुने गरेकोले आफूले चाहेर समेत घुमन्तेहरूको लागि केही गर्न नसक्ने बताउँदै असमर्थता व्यक्त गर्नु भयो । मेयर यादवले घुमन्तेको कुनै एक स्थान समेत नहुने भएको र नगरपालिकामा त्यस्तो कुनै जानकारी समेत नआएको भन्दै पञ्छिन खोज्नु भयो ।

यता, सोही वस्तीका करिब आधा दर्जन भन्दा वढी बालबालिका र महिलाहरूमा समेत ठेउला (चिकेन पक्स) देखिएको छ । ठेउला भाइरस एकबाट अर्कोमा सर्ने रोग भएपनि घुमन्तेहरू भने मातारानी आएको र यो आफै निको हुने भन्दै औषधोपचार गराएका छैनन् । बल्वा नगरपालिका-३ परौलका अनवारूल हकले तत्काल उनीहरूको वासस्थानमै गएर स्वास्थ्य टोलीले ठेउलाको औषधी वितरण गरिदिनु पर्ने बताउनु भयो ।

सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले कोरोना परीक्षणको लागि पाँच जनाको स्वाब परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको बताउनु भयो । उनीहरूको स्वाब परीक्षण गरिएको सबैको रिर्पोट निगेटिभ आएको प्रमुख यादवले बताउनु भयो ।

लकडाउनको अवज्ञा गर्दै चलाएका सवारी साधानहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिरहाले कारबाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी बिनोद घिमिरेले बताउनु भयो । चैत २६ गते लकडाउनको उल्लङ्घन गरेको आरोपमा आठ ओटा मोटर साइकल र एउटा ट्रयाकटर गरी नौ ओटा सवारी साधनहरूलाई आवश्यक कारबाहीको लागि नियन्त्रणमा लिएको डिएसपी घिमिरेले बताउनु भयो ।

धनगढीमाई नपा-१ स्थित महेन्द्र गेनाई अस्पतालमा कोरोना सङ्क्रमणहरूको उपचारको लागि १८ बेडको आइसोलेसन तयार गरिएको छ । सो आइसोलेशन वार्डमा चैत २५ गते तीन जनालाई उपचारको लागि राखिएको आइसोलेशन शाखाका इन्चार्ज डा. शुभाष मण्डलले बताउनु भयो । डा. मण्डलका अनुसार आइसोलेशनमा रहेका तीनै जना र अन्य स्थानीय निकायहरूमा रहेका क्वारेन्टाइनहरूमा शङ्कास्पद व्यक्तिहरूका लागि कोरोना परीक्षण गर्न प्रादेशिक अस्पताल जनकपुरबाट टोली खटिएको र उहाँहरूले भगवानपुर गाउँपालिकामा नमूना पीरक्षणको लागि स्वाबहरू सङ्कलन गर्न सुरु गरेको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी घिमिरेका अनुसार क्वारेनटाइनमा शङ्कास्पद बिरामीहरूलाई निगरानीमा राख्ने क्रम जारी रहेको बताउनु भयो । उहाँका अनुसार केही व्यक्तिहरू क्वारेन्टाइनमा बसेर गइसकेका छन् भने चैत २६ गतेसम्म आठ महिला, १ सय २० जना पुरुष गरी १ सय २८ जना क्वारेन्टाइनमा रहेका छन् ।

त्यसैगरी, होम क्वारेन्टाइनमा १ महिला सहित ७७ जना निगरानीमा रहेको डिएसपी घिमिरेले बताउनु भयो ।

विश्वभर देखिएको कोरोनाको महामारीको सङ्क्रमणलाई रोकथाम गर्न सिरहा जिल्लामा १७ ओटै स्थानीय तहको सहकार्यमा ४० बेडको आइसोलेशन र १७ ओटै स्थानीय तहको १९ स्थानमा गरी २ सय ४६ बेडको क्वारेनटाइन तयार पारेको प्रमुख जिल्ला अधिकारी सरोज गुरागाइँले बताउनु भयो ।

भारत तथा विदेशबाट आएका ४ सय ६८ जनाको पहिचान भएको र उनीहरूलाई होम क्वारेनटाइन तथा सेल्फ क्वारेनटाइनमा राखेर निगरानीमा राखेको प्रमुख जिल्ला अधिकारी गुरागाइँले बताउनु भयो । त्यसगरी क्वारेन्टाइनमा बस्ने विरामीहरूका लागि खाने सम्पूर्ण व्यवस्थाहरू स्थानीय तहले गरेको र सुरक्षा तथा उपचारको लागि सुरक्षा निकाय र स्वास्थ्य कार्यालयले सहयोग गरेको छ ।

सिरहा अस्पतालमा सात, लहान अस्पपतालमा पाँच, महेन्द्र गेनाई अस्पतालमा १८, आरके मेडिसिटी अस्पतालमा पाँच र फुलकुमारी अस्पतालमा पाँच गरी ४० बेडको आइसोलेशन बेड तयार गरेको स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले बताउनु भयो । महेन्द्र गेनाइ अस्पताललाई हाल अस्थायी रूपमा सञ्चालन हुने गरी कोरोना भाइरस विशेष अस्पताल सञ्चालनमा ल्याएको बताउनु भयो । हाल सम्म आइसोलेशन वार्डमा कोही पनि उपचारको लागि नरहेको प्रमुख जिल्ला अधिकारी गरागाइँले बताउनु भयो ।

बारा जिल्ला प्रतिनिधि भोलानाथ पौडेलका अनुसार प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितले चैत २५ गते निषेधाज्ञाको अवधि ०७७ वैशाख ३ गते राती १२ बजेसम्मका लागि जिल्ला भरी लागु हुने गरी बढाएको बताउनु भयो ।

कोभिड १९ को जोखिम नियन्त्रण गर्न नेपाल सरकारको निर्णय अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकारको प्रयोग गरी निषेधाज्ञाको अवधि थप गरिएको पण्डितले बताउनु यो । उहाँले अति आवश्यक एवम् जरूरी काम परेको अवस्थामा बाहेक नागरिकहरूलाई घर बाहिर ननिस्कन, जिल्ला भरी मालबाहक सवारी साधन, खाधान्न, तरकारी तथा फलफूल, दूध, पानी, इन्धन, औषधि, सञ्चार, 'क' वर्गका बाणिज्य बैङ्क, खानेपानी, पशु आहार र एम्बुलेन्स बाहेकका अन्य सम्पूर्ण सवारी साधन लगायत मोटरसाइकल सञ्चालन नगर्नका लागि अनुरोध गर्नु भयो ।

उहाँले छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएका सीमा नाकाहरूमा आवत/जावत पूर्णरूपमा बन्द गरिएको बताउनु भयो । अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरू, अस्पतालको सेवा, स्वास्थ्य संस्था, औषधि पसल, पेट्रोल पम्प, दाल, चामल, तेल, नुन, दूध, डेरी, तरकारी तथा फलफूल बाहेकका अन्य सम्पूर्ण पसल व्यवसायहरू पूर्ण रूपमा बन्द गर्नका लागि अनुरोध गर्नु भएको छ । उहाँले निषेधाज्ञाको पालना नगर्नेलाई सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ (२) बमोजिम नियन्त्रणमा लिई कडा कारबाही गर्ने बताउँदै यस्तो विपद्को समयमा निषेधाज्ञाको पालना गरी आफू सुरक्षीत रही समाजलाई सुरक्षित गर्न सहयोगका लागि अनुरोध गर्नु भएको छ ।

प्रमुख जिल्ला अधिकारी पण्डितले नागरिकहरूलाई दैनिक उपभोग्य वस्तु तथा सेवाहरू सहज र सुलभ मूल्यमा उपलब्ध नभएको गुनासो दैनिकरूपमा आउने गरेकोमा जिल्ला प्रशासन कार्यालयको गम्भीर ध्यानाकर्षण भएको बताउनु भयो । उहाँले सङ्कटको बेलामा आम उपभोक्ता, व्यापारी सबैले एक आपसमा मिलेर सहयोग गर्नुपर्ने अवस्थामा पनि केही व्यापारी फर्महरूले दैनिक उपभोग्य वस्तु तथा स्वास्थ्य सेवाका सामानहरू अत्याधिक मूल्यमा विक्री वितरण गरी कालोबजारी गरेको भन्ने नागरिकले गुनासो गरेको बताउनु भयो । उहाँले कुनै पनि व्यापारीले तोकिएको मूल्यभन्दा बढी मूल्यमा कुनैपनि सामानहरू विक्री वितरण गरेको भेटिएमा कानून अनुसार तत्काल कारबाही गर्ने चैत २६ गते प्रेस विज्ञप्तिमार्फत जानकारी गराउनु भयो ।

कलैया उमनपा-६ मा रहेका विभिन्न मजदुर, सीमान्तकृत वर्गका ४ सय घरपरिवारलाई वडा कार्यालयका तर्फबाट वडा अध्यक्ष गम्भिरा साहले राहत वितरण गरेको प्रदेश सभा सदस्य महमद समिरले बताउनु भयो । कलैया उमनपा-४ का १ सय ५० परिवारलाई राहत सामाग्री वितरण गरेको वडा अध्यक्ष जटाशंकर सहनीने बताउनु भयो ।

पचरौता नगरपालिकाले कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण रोक्नका लागि नगरपालिकामा स्थानीय नागरिकको सल्लाह अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा बिलिसिङ्ग पाउडर स्प्रे गरेको नगर प्रमुख रमेशकुमार यदवले बताउनु भयो । १ हजार घरमा साबुन वितरण गरेको र सेनिटाइजर वितरण गर्न प्रयास गरेपनि बजारमा स्यानीटाइजर उपलब्ध नभएकाले वितरण गर्न नसकेको बताउनु भयो ।

नेपाल र भारतको सीमानामा दुवै देशका सुरक्षा निकायको सहकार्य र नागरिक सचेत रहेकाले सीमानामा आवागमन नरहेको र सशस्त्र प्रहरी सक्रिय रहेको सशस्त्र प्रहरी एसपी दिग विजय सुवेदीले बताउनु भयो । विषम् परिस्थितिमा पनि नागरिकलाई असहज भएका गुनासाहरू नेपाल प्रहरीको जानकारीमा आएकाले समस्या समाधान गर्नेतर्फ सल्लाह भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतम मिश्रले बताउनु भयो । उहाँले हालसम्म क्वारेन्टाइनमा १ सय ७ जनालाई स्थानीय स्तरमा राखी स्वास्थ्य निगरानी भइरहेको र जिल्लाको अवस्था सामान्य रहेको बताउनु भयो ।

रौतहट जिल्ला प्रतिनिधिका कोपिला तिमल्सिनाका अनुसार रौतहटको क्वारेन्टाइनमा बस्नेहरूको सङ्ख्या चैत २६ गते साँझसम्म २ सय ६० जना पुगेको छ । जिल्लाको विभिन्न स्थानीय तहमा निर्माण भएको क्वारेन्टाइनमा बस्नेहरूको सङ्ख्या २ सय ६० पुगेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

चैत २५ गतेसम्म क्वारेन्टाइनमा बस्नेहरूको सङ्ख्या २ सय ४४ रहेकोमा त्यो सङ्ख्या बढेर २६ गते सम्म २ सय ६० पुगेको हो । क्यारेन्टाइनमा बस्ने व्यक्तिहरूलाई खानेबस्ने व्यवस्था स्थानीय तहहरूले गर्दै आएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताउनु भयो । क्वारेन्टाइनमा बस्नेहरूमा १५ महिला र २ सय १४ जना पुरुष छन् भने बाँकी रहेका ३१ जनामा भाइरसको कुनैपनि लक्षण देखा नपरेकोले घर पठाइएको छ ।

जिल्लामा आइसोलेशन बेड २५ ओटा रहेको र हालसम्म आइसुलेसनमा एक जना पनि नरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यसैगरी २६ गतेसम्म ५७ जनाको चेक जाँच भएतापनि १७ जनाको स्वाब सङ्कलन गरिएको र सबै जनाको रिर्पोट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनु भयो ।

कोरोना भाइरसका कारण सरकारले लागु गरेको लकडाउनले नेपाल भारतका सम्पूर्ण सीमा नाकाहरू बन्द रहेकाले भारत तथा अन्य मुलुकबाट चोर बाटो हुँदै नेपाल प्रवेश गर्नेहरूलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राख्ने गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनु भयो । सम्पूर्ण नाकाहरूमा २४ सै घण्टा सशस्त्र प्रहरीको ड्युटी रहने र बोर्डर भरी निरन्तर सेवा दिने गरिएको सशस्त्र प्रहरी निरीक्षक अजय थापाले जानकारी दिनु भयो ।

जिल्लामा ८ सय ३६ बेडको क्वारेन्टाइन सञ्चालन अवस्थामा रहेको छ । नेपाल सरकारले तोकेको मापदण्ड अनुसार सबै स्थानिय तहहरूले आ-आफ्नो क्षेत्रभित्र राहत वितरण गर्दै आइरहेको छ । त्यस्तै कोरोना भाइरस सङ्क्रमणको शङ्कास्पद व्यक्तिहरूको उपचारका लागि २५ बेडको आइसोलेशन तयारी अवस्थामा राखिएको, ५ सय ९१ ओटा पीपीईको व्यवस्था पनि गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनु भयो ।

जिल्लामा क्वारेन्टाइनमा बस्ने अहिलेसम्म कसैलाई पनि कोरोना भाइरसको कुनैपनि लक्षण नदेखिएको र क्वारेन्टाइनमा बस्ने सबै भारत लगायत तेस्रो मुलुकबाट आएका व्यक्तिहरू रहेका छन् ।


इन्सेक प्रदेश २ कार्यालय, धनुषा