कोरोना भाइरससम्बन्धी प्रदेश ५ को अवस्था

  ०७६ चैत २६ गते

कोराना भाइरसको सङ्क्रमणको त्रास रहेको अवस्थामा जानकारी बिना अनुपस्थित हुने लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा कार्यरत पाँच चिकित्सकहरूलाई सेवाबाट हटाइएको छ ।

इन्सेक रूपन्देही जिल्ला प्रतिनिधि रिमा बिसीका अनुसार प्रतिविश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका बेला बिना सूचना अस्पतालमा अनुपस्थित भएका पाँच जना चिकित्सकहरूलाई कारवाही स्वरूप सेवाबाट हटाइएको अस्पतालका सुपरिटेण्डेण्ट डा.राजेन्द्रप्रसाद खनालले बताउनु भयो ।

कारवाहीमा परेका डाक्टरहरूले चैत १२ गतेदेखि अस्पताल प्रशासनलाई जानकारी नदिई सेवामा अनुपस्थित भएका थिए ।

अनुपस्थित डाक्टरहरूलाई अस्पताल प्रशासनले सम्पर्क गर्दा यस्तो अवस्थामा आफूहरूले सेवा दिन नसक्ने जनाएपछि सेवाबाट हटाइएको थियो ।

प्रदेश स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारी लिनुभएका सामाजिक विकास मन्त्री सुदर्शन बरालले महामारीको बेलामा सेवामा नखटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई कारवाही गर्न निर्देशन दिनुभएको थियो ।

लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्थायी अस्पतालमा हालसम्म ३३ जना व्यक्तिको कोरोनाको आशङ्कामा स्वाब परीक्षण गरिएको र ३३ जनाकै रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ ।

जिल्लाका विभिन्न १४ ओटा क्वारेण्टाइनमा १ सय ९८ जना रहेका छन् जसमा ३० जना महिला छन् । क्वारेन्टाइमा रहेका ९८ प्रतिशत भारतबाट आएका व्यक्ति रहेको प्रहरीले जनाएको छ । यसैगरी १ सय १७ जना होम क्वारेन्टाइनमा रहेका छन् ।

नेपालबाट भारत फर्कन लागेका १ सय ५५ जनालाई सिद्धार्थ नपा-१ मा रहेको निमा प्रतिमा प्रतिष्ठानमा राखिएको छ । उनीहरूलाई स्थानीय नागरिकहरू र सिद्धार्थनगर नपाले खानाको व्यवस्था गरेको छ ।

इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालका अनुसार जिल्ला प्रशासन कार्यालय गुल्मीले जारी गरेको निशेधाज्ञाको समय वैशाख ३ गते राति १२ बजेसम्मलाई बढाएको छ ।

जिल्लामा १ सय ११ स्थानमा ९ सय ८८ क्वारेण्टाइन बेड छन् । अहिलेसम्म ६८ पुरुष र ११ महिला गरेर ७९ जना क्वारेण्टाइनमा बसेका छन् ।

गुल्मीमा दुई नपा र १० गाउँपालिकाका अहिलेसम्म ६ हजार १ सय विपन्न परिवारलाई राहत वितरण गरिएको छ ।

९ हजार ७ सय ८९ विपन्न परिवारले राहत पाउने छन् । जिल्लाका विभिन्न स्थानीय तहहरूले स्वास्थ्य संस्थामा आवश्यक औषधि, स्वास्थ्यकर्मीलाई सुरक्षाका सामग्री तथा अन्य स्वास्थ्य सामग्री खरिद गर्ने क्रम चलिरहेको छ भने विभिन्न व्यक्ति र सङ्घ संस्थाहरूले पनि स्वास्थ्य सामग्रीहरू सहयोग गरिरहेका छन् ।

गुल्मी क्षेत्र नं २ का सांसद तथा पुर्व मन्त्री गोकर्ण बिष्टले जिल्लाको लागि ३ सय थान पीपीई, सेनिटाइजर र माक्सलगायतका सामग्री उपलब्ध गराउनु भएको छ  ।

जिल्लामा कोराना सङ्क्रमणको रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन स्थापना गरिएको सङ्कट व्यवस्थापन केन्द्रले जिल्लाको अवस्थाको बारेमा दैनिक स्थानीय तहबाट जानकारी लिने, आवश्यक समन्वय गर्ने, एम्बुलेन्स र सुरक्षा व्यास्थापन थप चुस्त बनाएर राख्ने लगायतका काम गरिरहेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताउनुभयो ।

जिल्लाका स्थानीय तहहरूले लकडाउनलाई थप व्यवस्थित बनाउँदै लैजान थालेका छन् । इस्मा गाउँपालिकाले लुकेर अनावश्यक व्यक्ति र सवारी साधनहरू ओहोरदोहोर गर्न थालेपछि मुख्य नाकामा बेरियर निर्माण तथा युवा परिचालन गरिएको छ ।

साथै गस्ती गर्नको लागि इस्मा प्रहरीचौकीका इन्चार्ज मोहनलाल अधिकारीको नेतृत्वमा मोवाइल टोली बनाइएको छ ।

इन्सेक बर्दिया जिल्ला प्रतिनिधि मानबहादुर चौधरीका लकडाउनका कारण खाद्य सामग्रीको समस्या देखिएपछि विपन्न वर्गका २ हजार ७ सय ६१ जनालाई चामल, दाल, खाने तेल, नुन वितरण गरिएको छ ।

आठ ओटै स्थानीय तहले अन्य जिल्ला, भारतसँग, साथै स्थानीय तहसँग जाडिएको सिमा बन्द गरेका छन् ।

सबै स्थानिय तहले राहत वितरण गर्नका लागि दैनिक मजदुरी गरी खाने व्यक्ति र परिवारको तथ्याङ्क सङ्कलनलाई तिव्रता दिएका छन् ।

कोरोना भाइरस फैलन नदिन स्थानीय तह र प्रहरी प्रशासनले सतर्कता अपनाएको भएपनि भारत र छिमेकी जिल्लाबाट लुकिछिपी मानिसहरूको प्रवेश भइरहेकाले जोखिम भने कायमै रहेको स्थानीयले बताएका छन् ।

इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार १० ओटा स्थानीय तहहरूले आफ्नो स्थानीय तह अन्तर्गत दैनिक ज्यालादारीबाट गुजारा चलाउँदै आएका गरिब तथा बिपन्न वर्गका ४ हजार ५ सय ५५ परिवारलाई राहत वितरण गरेका छन् ।

रामपुर नपाले १ हजार ६६ परिवार, तानसेन नपाले ८ सय १२ परिवार, बगनासकाली गाउँपालिकाले ३ सय ८० परिवार, निस्दी गाउँपालिकाले २ सय ८६ परिवार, पुर्वखोला गाउँपालिकाले २ सय ५८ परिवार, रैनादेवी छहरा गाउँपालिकाले ३ सय परिवार, रिब्दीकोट गाउँपालिकाले २ सय ८ परिवार, तिनाउँ गाउँपालिकाले ३ सय ८५ परिवार, रम्भा गाउँपालिकाले १ सय ६० परिवार र माथागढी गाउँपालिकाले ७ सय परिवारलाई खाद्यान्न उपलब्ध गराएका छन् ।

नवलपरासी पश्चिम जिल्ला प्रतिनिधि नारायण पराजुलीका अनुसार पाल्हीनन्दन गाउँपालिका-३ स्थित क्वारेन्टाइनमा बसिरहेका एक जनाको अवस्था गम्भीर भएपपछि आइसोलेशनमा भर्ना गरिएको छ ।

उच्च ज्वरो र रुघाखोकीको लक्षणमा सुधार नआएको र शरीरको तापक्रम असामान्य रूपमा बढ्न गएकाले चितवनस्थित भरतपुर जिल्ला अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएको छ । उनको स्वाब परीक्षणका लागि नमूना लिइएको छ ।

कारोनाको सङ्क्रमण फैलिन नदिन १५ दिन अघि सीमा नाकाहरू बन्द गरिएको भएपनि भित्री बाटो हुँदै रातको समयमा जिल्ला प्रवेश गर्ने गरेको देखिएपछि सशस्त्र प्रहरी बलले निगरानी बढाएको छ ।

सशस्त्र प्रहरीका एसपी भरत खनियाका अनुसार हरेक ५ सय मिटरको दुरीमा अस्थायी पोष्ट खडा गरी सशस्त्र प्रहरी खटाइएको छ । चैत २६ गतेको पछिल्लो विवरण अनुसार क्वारेन्टाइनमा बस्नेको सङ्ख्या १ सय २८ रहेको छ ।

इन्सेक प्यूठान जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार जिल्लामा एम्बुलेन्स चालकहरूलाई कारोना सङ्क्रमणबाट बच्न व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) प्रदान गरिएको छ ।

चालकहरूलाई सुरक्षा सामग्री नहुँदा त्रास बढिरहेको र एम्बुलेन्स चालकहरूले बिरामी बोक्न अप्ठेरो  परेकोमा दाताहरूको सहयोगमा २० थान पीपीई, माक्स र सेनिटाइजर आफूले प्रदान गरेको प्यूठान नपाका प्रमुख अर्जुनकुमार कक्षपतिले बताउनु भयो ।

भारत र तेस्रो मुलक बाट आफ्नो गाँउपालिकामा आएका नागरिकहरूलाई दैनिक स्वयसेवीका र स्वाथ्य कर्मीहरूको उपस्थीतिमा निगरानी राखिएको र शङ्कास्पद बिरामीहरूको निःशूल्क उपचारको व्यवस्था गरिएको ऐरावती गाँउपालिका अध्यक्ष नविलविक्रम शाहले बताउनु भयो ।

आफ्नो गाउँपालिकामा ०७६ फागुन ३० गतेदेखि भारत र तेस्रो मुलुकबाट ४ सय १६ जना भित्रिएका मध्ये ३१ जना मात्र क्वारेन्टाइनमा रहेका र बाँकी होम क्वारेन्टाइनमा रहेका अध्यक्ष शाहले बताउनु भयो ।

इन्सेक रुकुम पूर्व जिल्ला प्रतिनिधि जयमान बुढा मगरका अनुसार विभिन्न देशबाट आएका ३६ जनालाई क्वारेन्टाइनमा राखिएकोमा चैत २६ गते ३१ जनालाई घर पठाइएको छ ।

पाँच जनालाई यस अघिनै घर पठाइएको थियो । यस जिल्लामा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या शून्य भएको छ ।

कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी तथा सार्वजनिक ठाउँ र बजार क्षेत्रमा सचेतना गराउने काम भइरहेको छ । यसैगरी विपन्न घरपरिवारलाई राहत वितरण कार्य समेत भइरहेको छ ।

इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधि पार्वती आचार्यका अनुसार कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि जिल्ला कारागारमा रहेका एक वर्षकैद सजाय बाँकी रहेका १० जना कैदी बन्दीहरूलाई रिहा गरिएको छ ।

यसैगरी कारागार विभागको परिपत्र अनुसार हाललाई कैदी बन्दीसँग भेटघाट बन्द गरिएको छ ।

कैदी र थुनुवाहरूका लागि सेनिटाइजर र साबुन पानी उपलब्ध गराइएको छ । बाहिरबाट लगिएका समानहरू सफा गरेर मात्र प्रवेश गराइनुका साथै राम्रो सँग पकाएर खानका लागि सचेत गराइएको कारागार प्रशासनले जनाएको छ ।

इन्सेक दाङ जिल्ला प्रतिनिधि जयनारायण पुनका अनुसार दाङमा कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि अत्यावश्यकीय वस्तु खरिदमा समेत कडाइ गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङले सूचना जारी गर्दै दैनिक उपभोग्य वस्तु खरिदको समयमा कडाइ गरेको जनाएको छ ।

प्रशासनले हप्तामा तीन दिन मात्रै आइतबार, मङ्गलबार र शुक्रबार बिहान ६ बजेदेखि ९ बजेसम्म अत्यावश्यकीय उपभोग्य वस्तु खरिद गर्ने समय तोकेको छ ।

यसअघि हरेक दिन बिहान ६ देखि ९ बजेसम्म उपभोग्य वस्तु खरिदको व्यवस्था गरेकोमा भीड बढेको भन्दै हप्तामा तीन दिनमात्रै खरीद गर्ने व्यवस्था गरेको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

घोराही उपमहानगरपालिकाले भने घोराही नगरमा २४ सै घण्टा लकडाउन गरेको छ । नागरिकको अत्यावश्यकीय वस्तु उद्योग वाणिज्य सङ्घको सहकार्यमा गाडीमा घरघरमै पुर्‍याउने गरिएको छ ।

यसैगरी जिल्ला प्रशासन कार्यालय दाङले चैत २५ गते सूचना जारी गरी राहत वितरण आफूखुशी भइरहेको भन्दै एकद्वार प्रणालीबाट गर्न अपील गरेको छ ।

इन्सेक बाँके जिल्ला प्रतिनिधि स्मृति देवकोटाका अनुसार खजुरा गाउँपालिकाले कोरोनाविरूद्धको अभियानका लागि खजुराका आठ ओटै वडाका स्वास्थ स्वयम्सेविका परिचालन गरेको छ ।

खजुरा गाउँपालिकामा रहेका १ सय ८ जना स्वयम्सेविकालाई चैत २७ गतेदेखि परिचालन गर्न लागिएको खजुरा गाउँपलिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनु भयो ।

वडामा पुगेर उनीहरूलाई परामर्श दिइएको छ । स्वयम्सविकाले घरघरमा पुगेर उनीहरूले विवरण सङ्कलन गर्नेछन् ।

इन्सेक रोल्पा जिल्ला प्रतिनिधि हरिसरा घर्तीका अनुसार कोरोना भाइरसको सङ्क्रमण तथा रोकथामको लागि राज्यले गरेको लकडाउन कडाइ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी चित्रबहादुर गुरुङका अनुसार क्वारेण्टाइनमा रहेका व्यक्तिहरूका सुरक्षाका लागि कतिपय ठाउँमा नियमित सुरक्षाकर्मी खटाइएको छ भने कतिपय ठाउँमा अनुगमन गरिरहेको छ ।

जिल्ला प्रशासन कार्यलय र जिल्ला स्वास्थ्य कार्यलयको संयुक्त आयोजनामा प्रत्येक दिन ३ बजे सबै स्थानीय तहका स्वास्थ्य प्रमुखले जिल्लामा रिपोर्टिङ गर्ने गरेका छन् ।

रोल्पा नपाले वडा नम्बर ६ कोटगाउँमा गरिब र विपन्न वर्गका ३० घरपरिवारलाई राहत वितरण गरेको छ ।

 


इन्सेक प्रदेश ५ कार्यालय, नेपालगञ्ज