कोरोना भाइरससम्बन्धी प्रदेश १ को अवस्था (वैशाख १ गते)

  ०७७ वैशाख १ गते

प्रदेश १ का १ सय ३७ ओटै स्थानीय तहमा कोभिड-१९ विरूद्ध अभियानहरू सञ्चालन गरिएको छ । प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार ०७७ वैशाख १ गतेसम्ममा कोरोना भाइरससँग लड्न ४ हजार ४ सय ११ जना बस्न मिल्ने क्वारेन्टाइनको निर्माण गरिएको छ । प्रदेशभरी ४ सय ४६ ओटा आइसोलेशन बेडको व्यवस्था गरिएको छ । ४४ वटा आइसीयु बेड तयार गरिएको छ ।

प्रदेश १ मा यस अवधिमा ४४ जना महिला र १ सय ८९ जना पुरुष सहित २ सय ३३ जनाको स्वाब परीक्षण गरिएको छ । जसमा २ सय १३ जनाको रिपोर्ट नेगेटिभ र २० जनाको रिपोर्ट आउन बाँकी रहेको छ । वैशाख १ गतेसम्म प्रदेश १ मा ४९ जना महिला र ५ सय २३ जना पुरुषसहित ५ सय ७२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा बसेका पाँच जना महिला र ४९ पुरुष गरी ५४ जना डिस्चार्ज भएका छन् । होम क्वारेन्टाइनमा ३ हजार ५ सय ५७ जना बसेका छन् । प्रदेशभरी ६ सय १२ जना महिला र २ हजार ९ सय ४५ जना पुरुष होम क्वारेन्टाइनमा बसेको प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा वैशाख १ गतेसम्म ४९ जना महिला र ३ सय ८ जना पुरुष गरी ३ सय ५७ जनाको र्‍यापीड डायग्नोष्टिक टेष्ट (आरडिटी) गरिएको छ । ३ सय ५७ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश १ मा वैशाख १ गतेसम्म ६ सय ५४ थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) वितरण गरिएको छ ।

इन्सेक मोरङ जिल्ला प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार ०७७ वैशाख १ गतेसम्म मोरङमा १ सय ६२ जना पुरुष र १४ जना महिला गरी १ सय ७६ जनालाई क्वारेन्टाइनमा राखिएको मोरङ प्रहरीले जनाएको छ । मोरङमा १० ओटा स्थानीय तह र पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँले २५ गरी वैशाख १ गतेसम्म ६ सय ९३ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । मोरङमा १ सय २७ ओटा आइसोलेशन बेड तयार गरिएको छ । आइसीयु बेड २८ ओटा रहेका छन् । मोरङमा वैशाख १ गते सम्म १ हजार १ सय ६५ जना पुरुष र २ सय ४८ जना महिला गरी १ हजार ४ सय १३ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । मोरङमा ६६ जनाको स्वाब परीक्षण गरिएकोमा ६३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । तीन जनाको रिपोर्ट आउन बाँकी छ । मोरङमा ४१ जनाको र्‍यापीड डायग्नोष्टिक टेष्ट (आरडिटी) गरिएको छ । आरडिटी गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ । मोरङमा दुई जनालाई आइसोलेशनमा भर्ना भएको स्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिनु भयो ।

मोरङ-सुनसरी औद्योगिक क्षेत्रमा खाद्यान्न र खाद्यवस्तुका उद्योगहरू आंशिक रूपमा चल्न थालेका छन् । खाद्यान्न उद्योगमा काम सुरु भएपछि प्याकेजिङ उद्योगहरू पनि छिटपुट मात्रै खुलेका छन् । सरकारले खाद्यान्न र खाद्यवस्तु लगायत दैनिक उपभोगमा आवश्यक सामग्रीका उद्योग खोल्न अनुमति दिएसँगै प्याकेजिङ उद्योगहरू खुलेका हुन् । दुध, चाउचाउ र पिठोको प्याकेजिङका लागि प्लास्टिकका प्याकेट बनाउने तथा चामल प्याकिङ गर्न प्लास्टिककै बोरा उत्पादन गर्ने विराटनगरको पशुपति पोल्रि्रोपलिन उद्योग १० प्रतिशत क्षमतामा चल्न थालेको छ । मोरङमा चामल प्याकिङका लागि प्लास्टिकका बोरा उत्पादन गर्ने अर्को उद्योग कृष्णा फेब्रिकेटेडका सञ्चालक सन्तोष अटलले आफ्नो कारखाना २५ प्रतिशत मात्र सञ्चालनमा आएको जानकारी दिनु भयो । उद्योगी अटलले केही चामल उद्योगहरू आंशिक रूपमा सञ्चालन हुन थालेको हुँदा आफ्नो उद्योग पनि थोरै मात्रामा सञ्चालनमा आएको बताउनु भयो । उद्योगी राजकुमार गोल्छाको सञ्चालनमा रहेको जुटका बोरा बनाउने अरिहन्त मल्टिफार्इवर्स पूर्णतः बन्द छ भने प्लास्टिकका बोरा बनाउने अरिहन्त पोलिप्याक उद्योग एक हप्ताजति चलेर बन्द भएको छ । मोरङ र सुनसरीमा रहेका २१ ओटा कार्टुन उद्योगमध्ये बुढीगङ्गा गाउँपालिकाको अरिहन्त अटोकोरोगेसन प्रालि मात्र सञ्चालनमा छ ।

विराटनगरमा दैनिक रूपमा लाग्दै आएको तरकारी बजार बन्द गरिने भएको छ । विराटनगर उपमहानगरपालिका-११ मा हालै सञ्चालनमा आएको गुद्री बजार बन्द गरिने भएको हो । गुद्री बजारमा दैनिक उपभोग्य वस्तु खरिदका लागि बजारमा भिडभाड अत्यधिक हुने गरेको र फोहोर व्यवस्थापन हुन नसकेकोले अर्को निर्णय नहुन्जेलसम्मका लागि बन्द गर्ने निर्णय गरिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिनु भयो ।

प्रदेश १ सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा कृषि विकास निर्देशनालयका कर्मचारीहरूले पारिश्रमिक जम्मा गरेका छन् । अधिकृतस्तरका कर्मचारीले पाँच दिन बराबरको र अन्य कर्मचारीले तीन दिन बराबरको तलब वापतको १ लाख ३१ हजार ८ सय २१ रुपियाँ कोरोना जनसुरक्षा कोषमा जम्मा गरिएको निर्देशनालय विराटनगरका आर्थिक प्रशासन प्रमुख विजयहरि शर्माले जानकारी दिनुभयो ।

मोरङको धनपालथान गाउँपालिका-७ ले अति विपन्न ३ सय ५० घरपरिवारलाई राहत वितरण गरेको छ । लकडाउनको समयमा दैनिक काम गरी गुजारा चलाउनेहरूको दैनिकी कष्टकर बनेपछि राहत वितरण सुरु गरिएको वडाध्यक्ष हरिप्रसाद यादवले बताउनु भयो । विपन्न परिवारलाई वडा कार्यालयका तर्फबाट प्रतिपरिवार १० किलो चामल, एक-एक किलो दाल र नुन वितरण गरिएको थियो । जीवन विकासको तर्फबाट ३ किलो आलु, १ किलो दुध, तेल र साबुन वितरण गरिएको वडाध्यक्ष यादवले जानकारी दिनु भयो । पहिलो चरणमा अति विपन्न ३ सय ५० घरपरिवारलाई राहत वितरण गरिएको छ ।

मोरङको बेलबारी नगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा उद्योग वाणिज्य सङ्घ बेलबारीले १ हजार किलो चामल उपलव्ध गराएको छ । नगरपालिकाले एकद्वार प्रणालीबाट राहत वितरण गर्न थालेसँगै व्यवसायीहरूको छाता सङ्गठन उद्योग वाणिज्य सङ्घ बेलबारीले उक्त परिमाण बराबरको चामल उपलब्ध गराएको हो । लकडाउनका कारणले गर्दा रोजीरोटी गुमाएका गरिब तथा विपन्न परिवारलाई सहयोग पुगोस् भनेर सङ्घले १ हजार किलो चामल राहत कोषमा जम्मा गरेको वरिष्ठ उपाध्यक्ष राजेशजङ्ग कार्कीले बताउनु भयो ।

कोरोना परीक्षणका लागि बुथ निर्माण गरी प्रोग्रेसिभ इञ्जिनियरिङ एसोसिएसन नेपाल (पिन), प्रदेश समितिले प्रदेश १ सरकारलाई हस्तान्तरण गर्ने भएको छ । १ लाख १ हजार ७५ रुपियाँको लगानीमा बुथ निर्माण गरिएको प्रोग्रेसिभ पिन प्रदेश अध्यक्ष दीपक पौडेलले जानकारी दिनु भयो । प्रविधियुक्त बुथ प्रदेश १ कै उत्कृष्ट र प्रभावकारी रहेको पौडेलको दाबी छ । उक्त बुथमा स्वाब सङ्कलन गरिनेछ । बुथमा हाइब्रिड पावर प्रणाली, पूर्ण एयर टाइट र कीटाणुरहित भेन्टिलेसनलगायतको विशेषता रहेको छ । इञ्जिनियर पवन झा, इञ्जिनियर बिभास मिश्रा, इञ्जिनियर विक्रम केसी र इञ्जिनियर सम्पूर्ण आचार्यले बुथ निर्माण गर्नुभएको हो । लकडाउनले स्रोत साधन उपलब्धतामा कठिनाइ भएको बताउँदै इञ्जिनियर मिश्राले बुथ निर्माण आवश्यक सामग्री जुटाउन कठिनाइ भएको भएपनि राम्रो बुथ निर्माण भएको बताउनु भयो । स्वतःस्फूर्त रूपमा रकम सङलन गरेर बुथ निर्माण गरेका उनीहरूले प्रदेश १ सरकारको कोरोना राहत कोषमा १ लाख रुपियाँ र सङ्घीय सरकारको कोरोना राहत कोषमा ५० हजार रुपियाँ जम्मा गरिसकेको एसोसिएशनका प्रदेश १ अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

इन्सेक भोजपुर जिल्ला प्रतिनिधि गणेश बिष्टका अनुसार जिल्लामा ०७७ वैशाख १ गतेसम्म ३० जना पुरुषलाई क्वारेन्टाइनमा राखिएको छ । पाँच जना महिला र आठ जना पुरुषलाई होम क्वारेन्टाइनमा राखिएको छ । जिल्लामा ०७७ वैशाख १ गतेसम्म ३२ ओटा आइसोलेशन वार्ड निर्माण गरिएको छ । जिल्लामा क्वारेन्टाइनको क्षमता ३ सय ५९ पुगेको छ । जिल्लाभर विभिन्न स्थानमा ७८ ओटा हेल्थडेक्स स्थापना गरिएको छ ।

अरूण गाउँपालिका-७ सिक्रेटारले राहत कोष निर्माण गरेर लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलाई राहत वितरण गरेको छ । कार्यालयले जनप्रतिनिधि, अरूण कृषि सहकारी संस्थाबाट रकम सङ्कलन गरेर ३० जनालाई २० केजी दरको एक बोरा चामल, ५ किलो आलु, एक/एक पोका तेल र नुन वितरण गरेको वडाध्यक्ष डिल्लीराम अधिकारीले जानकारी दिनु भयो । वडाका जनप्रतिनिधिले एक महिनाको सेवा सुविधाबाट ६५ हजार रुपियाँ, वडाका पार्टी प्रतिनिधिबाट ३५ हजार रुपियाँ, अरूण कृषि सहकारीबाट २० हजार रुपियाँ रकम सङ्कलन गरी कोष बनाएर राहत वितरण गरेको वडा कार्यालयले जनाएको छ ।

लकडाउन उल्लङ्घन गरी हिँड्नेलाई भोजपुर प्रहरीले कारबाही थालेको छ । प्रहरीले वैशाख १ गते ४३ जनालाई नियन्त्रण लिएर दुई घण्टा उभ्याएर कोरोनासम्बन्धी सचेतना दिएर रिहा गरेको छ । कारबाहीमा पर्नेमा ३३ जना पुरुष र १० जना महिला रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएपी नरबहादुर सलामी मगरले सामाजिक दूरी कायम गर्नेमा क्रममा लकडाउन उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिएको बताउनु भयो ।

इन्सेक झापा जिल्ला प्रतिनिधि नरेश खातीका अनुसार ०७७ वैशाख १ गतेसम्म झापाका १५ ओटा स्थानीय तहमा २७ ठाउँमा क्वारेन्टाइन निर्माण गरिएको छ । ७ सय ५१ जना क्षमता भएको क्वारेन्टाइन निर्माण गरिएको स्थानीय तहले जनाएका छन् । हालसम्म क्वारेन्टाइनमा १ सय ९१ जनालाई राखिएको छ । होम क्वारेन्टाइनमा १ हजार ४१ जनालाई राखिएको छ । मेची अञ्चल अस्पतालमा २५ बेडको आइसोलेशन निर्माण गरिएको छ । जसमा सात जनालाई राखिएको छ । झापामा वैशाख १ गतेसम्म १२ जना बिरामी भर्ना भए, ११ जनाको स्वाब परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । झापामा ३० जना डाक्टर, १ सय ३३ जना नर्स, २२ जना ल्याव टेक्निसियन, ८७ ओटा सुरक्षा दल, ६३ जना स्वयम्सेवक र १ सय २१ जना सहयोगी परिचालन गरिएको छ ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोड-२ चारपानेले ५० लाख रुपियाँ झापाका ६ ओटा स्थानीय तहलाई हस्तान्तरण गरेको छ । झापाका पाँच ओटा नगरपालिका र एउटा गाउँपालिकालाई चेक प्रदान गरेको हो ।

लक्ष्मीपुर तथा सुरुङ्गा सेवा केन्द्रको संयुक्त आयोजनामा संस्थाको केन्द्रीय कार्यालयले छुट्याएको १ लाख ११ हजार रुपियाँको चेक कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई हस्तान्तरण गरेको साकोसका सञ्चालक समिति सदस्य पदम भट्टराईले बताउनु भयो । साकोसले अर्जुनधारा, शिवसताक्षी, मेचीनगर नगरपालिकालाई जनही १ लाख ११ हजार रुपियाँ र बिर्तामोड नगरपालिकालाई १ लाख ७१ हजार रुपियाँ र बुद्धशान्ति गाउँपालिकालाई ६१ हजार रुपियाँ राहत वितरणका लागि हस्तान्तरण गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरीले बताउनुभयो ।

मेचीनगर नगरपालिका-६ स्थित लक्ष्मी टोल विकास संस्थाका अध्यक्ष गोविन्द गिरीले आफ्नो टोल विकासमा आवद्घ १ सय २० घरपरिवारलाई खाद्यान्न उपलब्ध गराएको वडाध्यक्ष ललितबहादुर तामाङले बताउनु भयो ।

बुधबारे जेसीजले बुद्धशान्ति गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषलाई २ हजार ६ सय थान साबुन उपलब्ध गराएको छ ।

मेची अभियानको पहलमा मेचीनगर नगरपालिकाका स्थानीय प्राविधिकले सेनिटाइजर र च्याम्बर निर्माण गरिरहेका छन् । धुलावारी खानेपानी कार्यालयमा स्थानीय युवा सागर शिवाकोटीको विशेष निर्देशनमा खानेपानीका प्राविधिकहरूले च्याम्बरको फ्रेम बनाएका हुन् । वैशाख १ गते च्याम्बरको अन्तिम परीक्षण गरिएको मेची अभियानका संयोजक विजय डालमियाले बताउनु भयो ।

कोरोना भाइरसको जोखिमका कारण यस वर्ष सिरूवा पर्व विगत वर्षहरूमा जस्तोगरी नमनाउन राजवंशी विकास प्रतिष्ठान झापाले अपिल गरेको छ । कोरोनाको सङ्क्रमण नेपालमा पनि बढिरहेको तर्फध्यानाकर्षण गराउँदै जोखिम मोलेर संस्कार संस्कृति नगर्न प्रतिष्ठानले सचेता गराएको छ । चैत ३० गते अपिल सार्वजनिक गर्दै प्रतिष्ठानले वैशाख २ गतेदेखि सुरु हुने राजवंशी, ताजपुरिया, गनगाई, धिमाल, माझी, चौधरीलगायतका जातिको पर्व सिरूवा भीडभाड हुने गरी नमनाउन आग्रह गरेको हो ।

इन्सेक उदयपुर प्रतिनिधि भरत खड्काका अनुसार कोरोना भाइरसको आशङ्कामा १८ दिनअघि उदयपुरको कटारी नगरपालिका- १ स्थित बेलसोत क्वारेन्टाइनमा राखिएका २६ जनालाई घर पठाइएको छ ।

नेपाली सेनाको १८ नम्बर बाहिनी अन्तर्गत रहेको रणशार्दूल गण वेलसोत क्याम्पमा तीन जना महिलासहित रहेका २६ जनालाई ०७६ चैत ३० गते घर पठाइएको हो । स्वाब परीक्षण रिर्पोट नेगेटिभ आएपछि कारोना भाइरस सङ्क्रमित नभएको पुष्टिसहित सम्बन्धित स्थानीयलाई जिम्मा लगाइएको प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले जानकारी बताउनु भयो ।

घर फर्काइएका उनीहरूलाई अझ एक हप्तासम्म होम क्वारेन्टाइनमा बस्ने सर्तमा छाडिएको प्रमुख जिल्ला अधिकारी पहाडीले बताउनु भयो । भारतको विभिन्न स्थानमा ज्याला मजदुरी गर्दै आएका उनीहरू गत चैत १२ गते ताप्ली गाउँपालिका घर फर्कने क्रममा उनीहरूलाई कटारी बजारबाट नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको थियो ।

२२ जनाको समूहमा आएका उनीहरूमध्ये एक जनामा ज्वरो देखापरेपछि २१ जनालाई वेलसोत क्वारेन्टाइनमा र एक जनालाई कटारी अस्पातालको आइसोलेशन वार्डमा राखिएको थियो । प्रमुख जिल्ला अधिकारीका अनुसार ताप्ली गाउँपालिकाका १६ जना, उदयपुरगढी गाउँपालिकाका तीन जना, लिम्चुङ्बुङ गाउँपालिकाका तीन जना, रौतामाई गाउँपालिकाका एक जना र त्रियुगा नगरपालिका क्षेत्रभित्रका तीनसमेत गरी २६ जनालाई क्वारेन्टाइन खाली गरी घर पठाइएको हो । नियमित स्वस्थ्य परीक्षण, खानपान, सरसफाइ तथा अन्य सबैखाले व्यवस्थापनका साथ राखिएका २६ जना सबैको स्वस्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

कोरोना भाइरस आशङ्कामा थप चार जनाको नमूना सङ्कलन गरी स्वाब परीक्षणका लागि धरान पठाइएको छ । रौतामाई गाउँपालिका र त्रियुगा नगरपालिकाको क्वारेन्टाइनमा रहेका एक/एक जना र चौदण्डीगडी नगरपालिकाको आइसोलेशन वार्डमा रहेका दुई जनाको नमूना सङ्कलन गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको हो ।

स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीका अनुसार वैशाख १ गतेसम्म उदयपुरबाट चार जना महिलासहित ४३ जनाको स्वाब नमूना सङ्कलन गरी पठाइएको छ । त्यसमध्ये बेलका नगरपालिकाका एक जनालाई धरानबाट आएको टोली र बाँकी सबैलाई स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र सम्बन्धित स्थानीय तहको स्वास्थ्य शाखाको संयुक्त स्वास्थ्यकर्मीको टोलीले सङ्कलन गरी पठाइएको हो ।

इन्सेक सुनसरी जिल्ला प्रतिनिधि जयकृष्ण यादवका अनुसार जिल्लामा वैशाख १ गतेसम्म १ हजार २ सय जना क्षमता भएको क्वारेन्टाइन निर्माण गरिएको छ । धरान उपमहानगरपालिकामा तयार गरिएको क्वारेन्टाइनमा ६० जना, इटहरी उपमहानगरपालिकामा २ सय जना, हरिनगर गाउँपालिकामा १ सय जना, गढी गाँउपालिकामा ५० जना, रामधुनी नगरपालिकामा ६० जना, बराहक्षेत्र नगरपालिकामा २० जनाको क्षमता भएको क्वारेन्टाइन निर्माण गरिएको छ । क्वारेन्टाइनमा वैशाख १ गतेसम्म २३ जना महिला र ३ सय चार जना पुरुषलाई क्वारेन्टाइनमा राखिएको छ । जिल्ला अस्पतालमा निर्माण गरिएको चार बेडको आइसोलेशनमा बिरामी छैनन् । वैशाख १ गतेसम्म एक जनालाई आइसोलेशनमा राखिएको छ । वैशाख १ गतेसम्ममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ सय ५ जनाको स्वाब सङ्कलन भएकोमा १ सय ६८ जनाको रिपोर्ट नेगेटिभ आएको डा. विकास शाहले बताउनु भयो ।

बर्जु गाउँपालिकले ६ हजार बढी परिवारलाई राहत वितरण गरेको जनाएको छ । गाउँपालिकाको कार्यालयले वडागत रूपमा राहत वितरण गरेको प्रसाशकीय अधिकृत नवराज कार्कीले बताउनु भयो । विपन्न, गरिब र ज्याला मजदूरी गरी पेट पाल्दै आएका परिवारको पहिचान गरी खाद्यान्न वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

इनरूवा नगरपालिकामा चैत ३० गते राति प्रहरीले चेकजाँचका क्रममा १४ जना भारतीयलाई नियन्त्रणमा लिएको छ । प्रहरीले तरकारी बोक्ने पिकअप भ्यान चेकजाँचका क्रममा भ्यानमा सवार भारतबाट आएका १४ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो । लकडाउनको उल्लङ्घन गर्दै राती पूर्वी नाका काँकडभिट्टाबाट तरकारी बोक्ने पिकअप भ्यान रिर्जभ गरी कोशी व्यारेजतर्फजाँदै गरेका १४ जना भारतीय नागरिकलाई इनरुवा नगरपालिका-३ सखुवागाछीबाट नियन्त्रणमा लिएको इनरूवा ट्राफिक प्रहरी चौकीका इन्स्पेक्टर पुष्पक निरौलाले बताउनु भयो । बिहान २ बजेको समयमा इटहरी तर्फबाट आएको पिकअप भ्यानलाई चेककजाँच गर्ने क्रममा भ्यान भित्र त्रिपालले छोपेर तरकारी भन्दै मानिसहरू लुकाएर ल्याएको प्रहरीको भनाइ छ । पिकअप भ्यानलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले स्कटीङ गरी पुनः काँकडभिट्टातर्फ फिर्ता पठाइदिएको छ ।

इनरूवा नगरपालिकाले लकडाउनबाट प्रभावित भएका अति विपन्न परिवारलाई राहत वितरणका लागि तयार गरेको सूचीमा सभासद्देखि नेता कार्यकर्तासम्मको नाम समावेश भएको फेला परेको छ । इनरूवा नगरपालिकाले १० ओटै वडा कार्यालयमार्फत सङ्कलन गरेको लगतको सूचीमा ८ हजार १ सय घरपरिवारले अति विपन्न परिवारका नामबाट फारम दर्ता गरेका छन् । इनरूवा नगरपालिकाको चैत ३० गते बसेको बैठकले वडा- ५ सय ५६ परिवार, वडा- २ मा ८ सय ६४ परिवार, वडा- ३ मा ७ सय ५० परिवार, वडा-४ मा ८ सय ५० परिवार, वडा-५मा ३ सय ५३ परिवार, वडा- ६ मा ६ सय १४ परिवार, वडा- ७ मा ७ सय १० परिवार, वडा-८ मा ९ सय २७ परिवार, वडा-९ मा १२ सय २९ परिवार र वडा-१० मा १२ सय ३९ परिवारकालाई राहत दिने निर्णय गरेको छ । वडा-वडामा सार्वजनिक गरिएको सूची अनुसार फारम दर्ता गर्नेहरूको सूचीमा पहिलो संविधानसभामा तत्कालिन मधेसी जनअधिकार फोरमका तर्फबाट समानुपातिक सभासद् भएकी ललितादेवी शाहको नाम समावेश भएको पाइएको छ ।

इनरूवा नगरपालिका- ८ डुम्राहाका वडाध्यक्ष रविन्द्र मण्डललाई राहत वितरणका लागि मुसहर बस्ती ढिलो पुगेको भन्दै हातपात भएको छ । इनरूवा नगरपालिका-८ मा रहेको दलित बस्तीमा राहत ढिलो गरी बाँडिएको भन्दै स्थानीयले वैशाख १ गते हातपात गरेको पत्रकार अमर काफ्लेले बताउनु भयो । राहत वितरणको तयारी हुँदै गर्दा स्थानीयले वडाध्यक्ष मण्डललाई चारै तर्फबाट घेरा हालेर मुक्काले हिर्काएको पत्रकार काफ्लेले बताउनु भयो । प्रहरीको सहयोगमा वैशाख १ गते मुसहर वस्तीका ४ सय जनालाई राहत बाँडिएको वडाध्यक्ष मण्डलले बताउनु भयो ।

इन्सेक पाँचथर जिल्ला प्रतिनिधि मङ्गल बेघाका अनुसार वैशाख १ गते पाँचथरमा एक जना पुरुषलाई क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा राखिएका आठ जना पुरुषलाई घर पठाइएको छ । जिल्लामा १ सय २९ जनाको र्‍यापीड डाइनोष्टिक टेस्ट गरिएकोमा सबैको नजिता नेगेटिभ देखिएको छ । ११ जनाको नमूना सङ्कलन गरी कोशी अञ्चल अस्पताल विराटनगर पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नारद सुवेदीले बताउनु भयो । टेष्ट गरिएका व्यक्तिहरूलाई घर पठाइए पनि वडाध्यक्ष र स्वास्थ्य स्वंयमसेविकाहरूको निगरानीमा कम्तिमा सात दिनसम्म होम क्वारन्टाइनमा बस्नु पर्नेछ । प्रदेश १ सरकारले जिल्लाका विभिन्न स्थानीय तहहरूमा पुगेर आरडीटी प्रविधि मार्फत कोरोना सङ्क्रमणको अवस्थाका बारेमा जाँच गरिरहेको छ ।  जिल्लामा २३ आइसोलेशन कक्ष र २ सय ४ ओटा क्वारेन्टाइन निर्माण गरिएको छ ।

स्थानीय प्रशासनले भारतसँग सीमाना जोडिएको याङवरक गाउँपालिका-१ स्थित चिवाभञ्याङ्गमा सशस्त्र प्रहरी बलको अस्थायी चेकपोष्ट स्थापना गरेको छ । भारतसँगको आवत-जावतलाई रोक्नका लागि पोष्ट स्थापना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोकले बताउनु भयो । याङवरक गाउँपलिकाले ३ सय घरपरिवारलाई ६ लाख मूल्य बराबरको राहत सामग्री वितरण गरेको छ । घरपरिवार सदस्य सङ्ख्याअनुसार जनही १२ देखि २५ केजीसम्म चामल, नुन दुई केजी, दाल दुई केजी, तेल एक लिटर र साबुन दुई ओटाका दरले वितरण गरिएको उपाध्यक्ष कमलकुमारी योङहाङले बताउनु भयो । हिलिहाङ, कुम्मायक र फालेलुङ गाउँपालिकाले समेत मजदुर तथा विपन्न वर्गलाई राहत वितरण सुरू गरेको छ ।

जिल्लामा इन्धनको अभाव सिर्जना भएको छ । सञ्चालनमा रहेका पम्पहरूले आवश्यकता अनुसार इन्धन आपूर्ति नगर्दा समस्या भएको व्यवसायी तथा सञ्चारकर्मीहरूले बताएका छन् । जिल्लामा तरकारी, फलफूल तथा खाद्य पदार्थको अभाव हुन थालेको छ ।

इन्सेक इलाम जिल्ला प्रतिनिधि कोकिला ढकालका अनुसार इलाममा कोरोना भाइरसको र्‍यापीड टेष्ट सुरु गरिएको छ । प्रदेश १ सरकारले इलाम नगरपालिका-६ को डा.मेघबहादुर पराजुली सामुदायिक अस्पतालको क्वारेन्टाइनमा रहेका दुई जना र इलाम नगरपालिका-९ का एकजनाको स्वाब र्‍यापीड टेष्ट गरेको हो । तीनैजनाको रिपोर्ट नेगेटिभ आएको इलाम अस्पतालले जनाएको छ । सदरमुकाममा बसेको सरोकारवालाको बैठकले कृषि क्षेत्रमा सामाजिक दूरी कायम राखी सुरक्षित ढङ्गले काम गर्न, उत्पादित वस्तु बजारसम्म पुर्‍याउन सहयोगका लागि सम्बन्धित निकायलाई आग्रह गर्ने निर्णय गरेको छ । अब कोरोनासम्बन्धी सूचना र जानकारीको समन्वय जिल्ला समन्वय समितिले गर्ने, दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज राखिरहन सम्बन्धित निकायलाई समन्वयका लागि अनुरोध गर्ने लगायतका निणर्य बैठकले गरेको छ । सङ्घीय सरकारको मापदण्डअनुसार राहत वितरणका लागि स्थानीय तहहरूलाई अनुरोध गर्ने र अस्पतालहरूमा कोरोनाको शङ्का लागेका भन्दा अन्य सामान्य बिरामीको पनि उपचार नियमित गर्ने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बरालले बताउनु भयो ।


इन्सेक प्रेदश १ कार्यालय, विराटनगर