कोरोना भाइरससम्बन्धी प्रदेश १ को अवस्था (चैत ३० गते)
प्रदेश १ का १ सय ३७ ओटै स्थानीय तहमा कोभिड-१९ विरूद्ध अभियानहरू सञ्चालन गरिएको छ । प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार ०७६ चैत ३० गतेसम्ममा कोरोना भाइरससँग लड्न ४ हजार ४ सय ११ जना बस्न मिल्ने क्वारेन्टाइनको निर्माण गरिएको छ । प्रदेशभरी ४ सय ३२ वटा आइसोलेशन बेडको व्यवस्था गरिएको छ । ४४ वटा आइसीयु बेड तयार गरिएको छ ।
प्रदेश १ मा यस अवधिमा २ सय २२ जनाको स्वाब परीक्षण गरिएको छ । जसमा १ सय ९० जनाको रिपोर्ट नेगेटिभ र ३२ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । चैत ३० गतेसम्म प्रदेश १ मा ५४ जना महिला र ५ सय ३६ जना पुरुषसहित ५ सय ९० जनालाई क्वारेन्टाइनमा राखिएको छ । होम क्वारेन्टाइनमा ३ हजार ४ सय ५५ जना बसेका छन् । प्रदेशभरी ६ सय जना महिला र २ हजार ८ सय ५५ जना पुरुष होमक्वारेन्टाइनमा बसेको प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा चैत ३० गतेसम्म २ सय ६३ को र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गरिएको छ । २ सय ६३ जनाकै रिपोर्ट नेगेटिभ आएको छ ।
इन्सेक मोरङ जिल्ला प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार चैत ३० गतेसम्म मोरङमा १ सय ६२ जना पुरुष र १४ जना महिला गरी १ सय ७६ जनालाई क्वारेन्टाइनमा राखिएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार १७ ओटा स्थानीय तह रहेको मोरङमा १६ ओटा स्थानीय तहका ८० हजार ५ सय ५३ घरपरिवारलाई राहत वितरण गरिएको छ । रतुवामाई नगरपालिकामा राहत वितरण भएको छैन । मोरङमा १० ओटा स्थानीय तह र पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँले २५ गरी चैत ३० गतेसम्म ६ सय ९३ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । मोरङमा १ सय २७ ओटा आइसोलेशन बेड तयार गरिएको छ । आइसीयु बेड २८ ओटा रहेका छन् । मोरङमा चैत ३० गतेसम्म १ हजार १ सय २३ जना पुरुष र २ सय ४५ जना महिला गरी १ हजार ३ सय ६८ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । मोरङमा ६३ जनाको स्वाब परीक्षण गरिएकोमा ६३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । मोरङमा ४१ जनाको र्यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) गरिएको छ । आरडिटी गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो ।
प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको कोशी अस्पताल कोभिड -१९ उपचार केन्द्रलाई राउण्ड टेवलले आईसीयु बेड हस्तान्तरण गरेको छ । विराटनगर राउण्ड टेवल नम्बर ५ र काठमाडौँ मेट्रो राउण्ड टेवल नम्बर ४ ले संयुक्त रूपमा दुई ओटा आइसीयु बेड प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरिएको छ । विराटनगर राउण्ड टेवल नम्बर ५ का अध्यक्ष अश्विनी वंशलले २ लाख रुपियाँ बराबरको दुई ओटा बेड मन्त्री घिमिरेलाई हस्तान्तरण गर्नुभएको हो । आइसीयु बेड ग्रहण गर्दै मन्त्री घिमिरेले विभिन्न अस्पतालबाट बेडहरू ल्याएर सेवा सुरु गरिएपनि अहिले विभिन्न दातृ संस्थाहरूबाट उपचार केन्द्रका लागि सहयोग जुट्दै गएको बताउनु भयो । अन्य स्वास्थ्य संस्थाहरूबाट ल्याइएका बेडहरू फिर्ता गरिँदै लैजाने पनि उहाँले बताउनु भयो । आइसीयु बेड हस्तान्तरण कार्यक्रममा लायन्स क्लव ३२५ ए वानका सेकेण्ड भाइस डिष्ट्रिक गर्भनर रेवतबहादुर कार्की, कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रा लगायतको उपस्थित रहेको थियो । यसअघि कोभिड-१९ उपचार केन्द्रलाई प्रदेश १ का विभिन्न गैरसरकारी संस्थाहरूले १३ लाख रुपियाँ बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । झापा चारपानेको साहारा नेपालले उपचार केन्द्रमा बस्ने स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी उपचार गराउन आउन सक्ने बिरामीका लागि भनेर ४ लाख रुपियाँ बराबरको खाद्यान्न उपलब्ध गराएको थियो ।
कोशी अस्पताल विराटनगरलाई भेन्टिलेटरसहित विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । सर्लाहीको हरिवनस्थित बागमती सेवा समाज र काठमाडौँको आड्रा नेपालले अस्पतालकी मेसु डा. संगीता मिश्रालाई सामग्री हस्तान्तरण गरेका हुन् । आड्रा नेपाल र बागमती सेवा समाजको साझेदारीमा कोशी अस्पताललाई ५५ लाख रुपियाँ बराबरको एक थान भेन्टिलेटर र अप्रेसन थिएटरका लागि ७० प्रकारका विभिन्न उपकरणसहित एन-९५ मास्क हस्तान्तरण गरिएको आड्रा नेपालकी अध्यक्ष सृष्टि लामिछानेले बताउनु भयो । कोशी अस्पतालमा सञ्चालित 'महिला स्वास्थ्य र प्रणाली सुदृढीकरण परियोजना' अन्तर्गत स्वास्थ्य सामग्री उपलब्ध गराइएको अध्यक्ष लामिछानेले बताउनु भयो ।
कटहरी गाउँपालिका-३ का १ सय ५० परिवारलाई राहत वितरण गरिएको छ । कटहरी गाउँपालिका-३ को कामत टोल, राजवंशी टोलसहित पासवान र मण्डल टोलका लकडाउनबाट प्रभावित विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको हो । ती टोलका विपन्नलाई चामल साढे १२ किलोसहित दाल, नुन तेल, आलु र साबुनलगायतका सामग्री वितरण गरिएको हो ।
केराबारी गाउँपालिकाले सञ्चालन गरेको कोरोना राहत कोषमा नेपाली कांग्रेस केराबारीले १ लाख २५ हजार रुपियाँ हस्तान्तरण गरेको छ । गाउँपालिकाका अध्यक्ष रोहित कार्कीलाई १ लाख २५ हजार रुपियाँको चेक केराबारी कांग्रेसका सभापति प्रकाश बस्नेतले हस्तान्तरण गर्नुभयो । गाउँपालिकाले एकद्वार प्रणालीमार्फत राहत वितरणलाई तीव्रता दिएको छ ।
बेलबारी नगरपालिका भित्र लाग्दै आएका सबै खाले मेलाहरू सञ्चालनमा रोक लगाइएको छ । कोरोना रोग रोकथाम बेलबारी नगर समन्वय समितिले नगर क्षेत्रभित्र लाग्ने सबैखाले मेला, चार्डपर्व र जमघट रोक्ने निर्णय गरेको हो ।
कोरोना भाइरस सङक्रमणको जटिल परिस्थितिमा पनि अग्रमोर्चामा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीहरूलाई उच्च मनोबलका साथ काम गर्न नेपाल स्वास्थ्यकर्मी सङ्घ मोरङले आग्रह गरेको छ । सङ्घले चैत ३० गते विज्ञप्ति प्रकाशित गर्दै प्रदेश र स्थानीय तहका सरकारहरूले स्वास्थ्यकर्मीको सवालमा गरिरहेका कार्यहरूको प्रशंसा गरेको छ ।
इन्सेक तेहृथुम जिल्ला प्रतिनिधि भगिश्वर लिम्बूका अनुसार चैत ३० गतेसम्म जिल्लामा १ सय २० जना क्षमता भएको क्वारेन्टाइन निर्माण गरिएको छ । म्याङलुङ नगरपालिकामा तयार गरिएको क्वारेन्टाइनमा २० जना, फेदाप गाउँपालिकामा २३ जना, मेन्छ्यायेम गाउँपालिकामा दुई जना र आठराई गाउँपालिकामा सात जनालाई क्वारेन्टाइनमा राखिएको छ । जिल्ला अस्पतालमा निर्माण गरिएको १० बेडको आइसोलेशनमा दुई जनालाई राखिएको छ । उनीहरूको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
कोरोना भाइरस सङ्क्रमित तथा सङ्क्रमण आशङ्का गरिएका बिरामीको उपचार तथा व्यवस्थापनका लागि चैत ३० गते सम्पन्न बैठकले म्याङलुङ नगरपालिकाले ३० लाख रुपियाँको कोष स्थापना गरेको छ । फेदाप गाउँपालिका र आठराई गाउँपालिकाले कोष स्थापना गरेका छन् ।
इन्सेक उदयपुर जिल्ला प्रतिनिधि भरत खड्काका अनुसार कोरोना भाइरस आशङ्कामा स्वाब परीक्षणमा पठाइएका उदयपुरका थप २६ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । नेपाली सेनाको १८ नं. बाहिनी मातहतको रणशार्दूल गण बेलसोत क्याम्पको क्वारेन्टाइनमा राखिएका २६ जनाको रिपोर्ट चैत ३० नेगेटिभ आएसँगै स्वाब परीक्षणमा हालसम्म पठाइएका ३९ जनाकै रिर्पोट नेगेटिभ आएको छ ।
स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीका अनुसार चैत २६ गते बेलसोतका चार महिलासहित २६ जनाको स्वाब सङ्कलन गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । यसअघि विदेशबाट आएका त्रियुगा नगरपालिकामा आठ जना, लिम्चुङ्गबुङ्ग गाउँपालिकाबाट चार जना र बेलका नगरपालिकाबाट एक जना गरी १३ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो ।
बिरामी सबैको रिपोर्ट नेगेटिभ आएकाले हालसम्म जिल्लामा सङ्क्रमण देखा नपरेको प्रमुख सुवेदीले बताउनु भयो ।
स्वाब परीक्षण र प्रारम्भिक चरणको परीक्षण रिपोर्ट दुवैलाई मिलाउँदा हालसम्म ६१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । चैत २९ गते मात्र २२ जनाको र्यापिड डाइनोस्टिक टेस्ट (आरडिटी) किट मार्फत रगत परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको हो । तर र्यापिड टेस्टमा कहिले काहीँ फरक पनि आउने भएकाले २२ जना मध्ये केहीलाई पुनः स्वाब परीक्षण गरिने बताउनु भयो ।
आरडिटी किट जिल्लामा उपलब्ध भएपछि स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र सम्बन्धित स्थानीय तहका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीको टोलीले क्वारेन्टाइनमै पुगेर परीक्षण गरिएको स्वास्थ्य कार्यालयका प्रमुख सुवेदीले बताउनु भयो । टोलीले रौतामाई गाउँपालिकाको मुर्कुचीका चार जना, आँपटारका चार जना, चौदण्डीगढी गाउँपालिकाका ६ जना र त्रियुगा नगरपालिकाको मोतीगडाका आठ जना गरी २२ जनाको रगत परीक्षण गरेको थियो ।
इन्सेक झापा जिल्ला प्रतिनिधि नरेश खातीका अनुसार चैत ३० गतेसम्म झापाका १५ ओटा स्थानीय तहमा २७ ठाउँमा क्वारेन्टाइन निर्माण गरिएको छ । ७ सय ४१ जना क्षमता भएको क्वारेन्टाइन निर्माण गरिएको स्थानीय तहले जनाएका छन् । चैत ३० गतेसम्म क्वारेन्टाइनमा १ सय ९३ जनालाई राखिएको छ । होम क्वारेन्टाइनमा १ हजार ४१ जनालाई राखिएको छ । मेची अञ्चल अस्पतालमा २५ बेडको आइसोलेशन निर्माण गरिएको छ । जसमा सात जनालाई राखिएको छ । झापामा चैत ३० गतेसम्म १२ जना बिरामी भर्ना भए, नौ जनाको स्वाब परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । झापामा ३० जना डाक्टर, १ सय ३३ जना नर्स, २२ जना ल्याव टेक्निसियन, ८७ ओटा सुरक्षा दल, ६३ जना स्वयम्सेवक र १ सय २१ जना सहयोगी परिचालन गरिएको छ ।
मेचीनगर नगरपालिकाका जनप्रतिनिधिले ०७७ साल वैशाख महिनाको सेवा सुविधा बापतको १० लाख ५० हजार ३ सय ९० रुपियाँ कोरोना जोखिम नियन्त्रणका लागि खर्च गर्ने भएका छन् । सो रकम लकडाउनका कारण काम गर्न नपाएका मजदूरहरूलाई खाद्यान्न वितरणका लागि खर्चिने उपप्रमुख मीना पोखरेल उप्रेतीको बताउनु भयो ।
बुद्धशान्ति गाउँपालिकामा जनप्रतिनिधिले एक महिनाको सेवा सुविधा बापतको ३ लाख ११ हजार ३ सय रुपियाँ अति विपन्न नागरिकलाई खाद्यान्न उपलब्ध गराउने गरी बुद्धशान्ति गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने बुद्धशान्तिका अध्यक्ष टिका पाठकले बताउनु भयो । जनप्रतिनिधि २९ जनाकै एक महिनाको सेवा सुविधा गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको गाँउपालिकाले जनाएको छ ।
अर्जुनधारा नगरपालिकाले नगर भित्रका अति विपन्न नागरिकलाई वितरण गर्न चामल व्यवस्थापन गरेको छ । नगरपालिकाले १६ सय ५० क्वीनटल खरिद गरी विपन्न परिवारलाई वितरण गरिने अर्जुनधारा नगरका कोभिड-१९ सामाग्री खरिद, आपूर्ति प्याकेजिङ्ग र वितरण समितिका सचिव तिवेन्द्र अधिकारीले बताउनु भयो । नगरपालिकाले प्रत्येक परिवारलाई १० केजी चामल, १ केजी दाल, १ केजी नुन, १ लिटर तेल वितरण गर्ने उप-प्रमुख कमला खतिवडा (आचार्य) ले बताउनुभयो ।
गौरीगञ्ज गाउँपालिका -१ का किसानले लगाएको लाखौँ मूल्य बराबरको तरबुजा लकडाउन भएपछि बगरमै कुहिने अवस्थामा पुगेको छ । कनकाई माईको बगर क्षेत्रमा लगाएको तरबुजा समयमै बजारमा पुर्याउन नसक्दा किसानलाई लाखौं रुपियाँ क्षति हुने भएको छ । वैशाखको पहिलो सातासम्म बजारमा पुर्याउने खरबुजा कुहिने अवस्थामा पुगेको हो ।
इन्सेक ताप्लेजुङ जिल्ला प्रतिनिधि देवराज गुरुङका अनुसार चैत ३० गतेसम्म जिल्लामा १ सय ७४ बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । १४ बेडको आइसोलेशन कक्ष बनेको छ । चैत ३० गतेसम्म जिल्लामा तीन जनालाई क्वारेन्टाइनमा राखिएको छ । चैत ३० गते एक जनाको स्वाब परीक्षणका लागि कोशी अञ्चल अस्पताल विराटनगर पठाइएको छ । जरोका कारण तमोर अस्पतालमा भर्ना भएकी महिलाको स्वाब पठाइएको निमित्त स्वास्थ्य प्रमुख राजकुमार पोखरेलले बताउनु भयो । प्रदेश १ सरकारले जिल्लामा पठाएको र्यापिड परीक्षण किट (आरडीटी) चैत २९ गते जिल्लामा प्राप्त भएको थियो । १ सय २० थान किट प्रदेश सरकारले पठाएको हो ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ढप्याव्सन) ताप्लेजुङले ५० हजार रुपियाँ फुङलिङ नगरपालिकाले स्थापना गरेको कोषमा जम्मा गरेको छ । चैत ३० गते कोषमा रकम जम्मा गरिएको प्याव्सन अध्यक्ष दिनेश भट्टराईले बताउनुभयो ।
जिल्लास्थित नौ ओटै स्थानीय तहले स्थानीय सञ्चार माध्यमबाट कोरोनाको बारेमा जनचेतनामुलक सामग्री प्रसारण गरेका छन् । लकडाउनको पूर्ण रूपमा पालना गर्न अनुरोध गर्दै स्थानीय तहसँग सम्बन्धित अति आवश्यकीय काम गर्न परे स्थानीय तहको व्यक्तिको नाम र फोन नम्बर सार्वजनिक गरेका छन् ।
इन्सेक सुनसरी जिल्ला प्रतिनिधि जयकृष्ण यादवका अनुसार वैशाख १ गते मनाइने सिरूवा पर्व प्रभावित भएको छ । तराई मधेसमा हर्सोल्लासका साथ मनाइने सिरूवा पर्व प्रभावित भएको हो । नयाँ वर्षसँगै मधेसी र थारू समुदायले मनाउने सिरूवा पर्व मनाउने गर्दछन् ।
जिल्लाको सीमावर्ती क्षेत्रका स्थानीय बजारमा कालोबजारी र मूल्य वृद्धि भएको छ । लकडाउनको मौकामा कालोबजारी र मूल्य वृद्धि भएको हो । भारतसँग जोडिएको सीमावर्ती क्षेत्र देवानगञ्जसहित भुटाहा, हरिनगर, साहेवगञ्ज, कप्तानगञ्ज, चिमडी, लौकही, भोक्राहालगायतका बजारमा कालोबजारी बढेको उपभोक्ताको गुनासो छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले भने कालोबजारी र महङ्गी बारेमा अनुगमन भइरहेको प्रतिक्रिया दिनुभयो । उहाँले स्थानीय तहहरूले समेत अनुगमन गर्न सक्ने भएकाले उनीहरूलाई समेत सक्रिय बनाइएको बताउनु भयो ।
इन्सेक पाँचथर जिल्ला प्रतिनिधि मङ्गल बेघाका अनुसार कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि प्रदेश १ सरकारले सुरुआत गरेको र्यापिड डाइनोष्टिक टेष्ट चैत २९ गतेदेखि पाँचथरमा सुरु भएको छ । प्राविधिक टोली आइपुगेपछि चैत २९ गतेदेखि इलाम र पाँचथरको फाल्गुनन्द गाउँपालिकाको सीमनामा अवस्थित राँकेबजारबाट टेष्ट सुरु भएको हो ।
पहिलो दिन विदेशबाट आएका सात जना र स्थानीय एक जना गरी आठ जनाको परीक्षण गरिएकोमा सबैजनाको रिपोर्ट नेगेटिभ आएको फाल्गुनन्द गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्रीले बताउनु भयो । यो अभियान जिल्लाका अन्य स्थानीय तहमा समेत क्रमशः बढाइने जिल्ला समन्व समितिका प्रमुख विष्णुप्रसाद सापकोटाले बताउनु भयो । विदेशबाट चैत १ गतेयता जिल्लामा आएकाहरूको र्यापिड टेस्टमार्फत कोरोना सङ्क्रमणको परीक्षण भएको हो ।
विराटनगरबाट तीन जना र जिल्लामा एक गरी चार जना प्राविधिक समूहले परीक्षणको काम गरिरहेको छ । प्राविधिक समूहले क्वारेन्टाइनमा पुगेर परीक्षण थालेको छ । २० मिनेटमा नजिता देखाउने २ सय ओटा किट लिएर आएको प्रमुख सापकोटाले जानकारी दिनुभयो ।
जिल्लामा आठ ओटै स्थानीय तहले २ सय ४ ओटा क्वारेन्टाइन स्थापना गरेका छन् । अहिले जिल्लामा क्वारेन्टाइनमा ६० जना विदेशबाट आएकाहरू छन् । थप आठ जना क्वारेन्टाइनमा बसेर घर फर्किएका छन् ।
जिल्लामा चैत ३० गते एक जना महिला र दुई जना पुरुष गरी तीन जनालाई क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा राखिएका आठ जना महिला र ४२ जना पुरुष गरी ५० जनालाई घर पठाइएको छ । ५० जनाको र्यापिड डाइनोष्टिक टेष्ट गरिएको छ भने होम क्वारेन्टाइनमा राखिएका १८ जना पुरुषको पनि सोही प्रविधिमा मार्फत टेष्ट गरिएकोमा सबैको नजिता नेगेटिभ देखिएको छ । जिल्लामा हालसम्म आठ जना महिला र ६० जना पुरुष गरी जम्मा ६८ जनाको र्यापिड डाइनोष्टिक टेष्टमार्फत स्वाब परीक्षण गरिएको छ । जिल्लामा २३ बेडको आइसोलेशन र २ सय ४ जना क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ ।
हिलिहाङ गाउँपालिकाले १ हजार १ सय ३१ घरपरिवारलाई राहत वितरण गरेको अध्यक्ष भुवानी लिङ्देनले बताउनु भयो । गाउँपालिकाले १५ देखि २५ केजीसम्म चामल, दुई केजी दाल, एक केजी नुन, एक लिटर तेल वितरण गरेको छ । कुम्मायक गाउँपालिकाले समेत विपन्न र मजदूर वर्गलाई राहत वितरण सुरु गरेको छ ।
जिल्लामा तरकारी, फलफूल तथा खाद्य पदार्थको अभाव हुन थालेको छ । बजारको दररेट भन्दा महँगो मूल्यमा उपभोग्य सामग्री खरिद गर्नु परेको उपभोक्ताहरूले गुनासो गरेका छन् ।
इन्सेक सोलुखुम्बु जिल्ला प्रतिनिधि भोजराज कार्कीका अनुसार चैत ३० गतेसम्म सोताङ गाउँपालिकाले २ सय ३० अति विपन्न परिवारलाई राहत वितरण गरेको छ । गाउँपालिका भित्रका विपन्न र ज्यालादारीमा काम गर्ने स्थानीयलाई राहत वितरण गरिएको गाउँपालिका अध्यक्ष वीरबहादुर राईले जानकारी दिनुभयो । गाउँपालिकाले वडा- १ का ४८, वडा-२ का ३४ घरपरिवारलाई राहत वितरण गरेको छ । त्यस्तै वडा-३ का ३७, वडा-४ का ४० र वडा-५ का ७१ जनालाई राहत वितरण गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले वितरण गरेको राहत प्याकेजमा २५ केजीको एक बोरा चामल, ३ केजी दाल, २ केजी नुन, २ लिटर खानेतेल र साबुन रहेको छ ।
महाकुलुङ गाउँपालिकाले स्वास्थ्यकर्मीले प्रयोग गर्ने फेस शिल्ड उत्पादन गरेको छ । कोरोनाको शङ्का लागेका व्यक्तिहरूको चेकजाँच गर्नका लागि प्रयोग गरिने फेस शिल्ड १ सय थान उत्पादन गरिएको गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिनुभयो । गाउँपालिका स्वास्थ्य शाखा संयोजक हरिप्रसाद आचार्यका अनुसार लकडाउनको समयमा सामग्री खरिद र ढुवानीमा समस्या आइरहेको समयमा प्लास्टिक, पि र्फम र टेपको सहायताबाट स्थानीय स्तरमै फेस शिल्ड उत्पादन गरिएको हो ।
इन्सेक सङ्खुवासभा जिल्ला प्रतिनिधि भविन कार्कीका अनुसार चैत ३० गतेसम्म चैनपुर नगरपालिका-१ का ४५ वर्षीय पुरुष र खाँदबारी कारागारका एक जना कैदीलाई क्वारेन्टाइनमा राखिएको छ । ३० गते जिल्ला अस्पताल खाँदबारीमा जरो क्लिनिकमा १९ जना महिला र २५ जना पुरुषले जाँच गराएका छन् ।
दुई साताअघि भारतबाट आएका चैनपुरका एक व्यक्तिको रगत परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रवक्ता रोशन श्रेष्ठले जानकारी दिनुभयो । जिल्ला अस्पताल खाँदबारीमै कोरोना भाइरस परीक्षण हुने भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोना भाइरस परीक्षण गर्न किट उपलब्ध गराएको छ । जिल्लामा अहिलेसम्म १ सय २७ बेडको क्वारेन्टाइन र १६ बेडको आइसोलेशन बेड तयारी अवस्थामा छन् ।
कोभिड-१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै चैनपुर नगरपालिकाले ६ लाख ४६ रुपियाँको कोरोना राहत कोष स्थापना गरेको छ । लकडाउनको कारण खाद्यान्न तथा स्वास्थ्य सामग्री आवश्यक पर्ने भएका कारण नगरपालिकाले राष्ट्रिय वाणिज्य बैङ्क चैनपुरमा राहत कोष स्थापना गरिएको नगर प्रमुख भरत खत्रीले बताउनु भयो । राहत कोष स्थापनाका लागि जनप्रतिनिधि र कर्मचारीले सेवा सुविधा कटौती गरेको उहाँले बताउनु भयो । त्यस्तै खाँदबारी नगरपालिकाले पनि कोरोना राहत कोष स्थापना गरेको छ ।
कोभिड-१९ नियन्त्रण गर्न स्वास्थ्यकर्मीहरूले प्रयोग गर्ने पीपीई सहितका स्वास्थ्य सामग्री पूर्व खानेपानी मन्त्री दीपक खड्काले जिल्लाका १० ओटै स्थानीय तहलाई दिनुभएको छ । ३० गते चैनपुरमा जिल्ला समन्वय प्रमुख सुमन शाक्यलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । पूर्वराज्यमन्त्री खड्काले ६५ थान पीपीइ सेट, १ सय २५ थान साधारण पीपीई, ६० लिटर सेनिटाइजर, ६ हजार थान सर्जिकल मास्क, १ हजार २ सय थान सर्जिकल ग्लोव्स उपलब्ध गराउनु भएको जिल्ला समन्वय समितिका प्रमुख शाक्यले बताउनु भयो । त्यस्तै नेपाली जनसम्पर्क समिति जर्मनीबाट समेत स्वास्थ्य सामग्री आठ थान पीपीई सेट, सेनिटाइजर, सर्जिकल मास्क र १ सय थान सर्जिकल ग्लोव्स उपलब्ध गराएका छन् । कोरोना भाइरसको नियन्त्रण तथा रोकथाम गर्ने स्थानीय तहहरूले आ-आफ्नो क्षेत्रका नाका बन्द गरेर नाकामा स्वास्थ्यकर्मी सहितको हेल्प डेक्स स्थापना गरेका छन् ।
इन्सेक भोजपुर जिल्ला प्रतिनिधि गणेश विष्टका अनुसार चैत ३० गतेसम्म जिल्लामा ३० जना पुरुषलाई क्वारेन्टाइनमा राखिएको छ । पाँच जना महिला र आठ जना पुरुषलाई होम क्वारेन्टाइनमा राखिएको छ । अहिलेसम्म ३२ आइसोलेशन कक्ष निर्माण गरिएको छ । जिल्लामा क्वारेन्टाइनको क्षमता ३ सय ५८ जनाको छ । जिल्लाका विभिन्न नाका तथा स्वास्थ्य चौकीहरूमा ७८ वटा हेल्थडेक्स स्थापना गरिएको छ ।
कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै भोजपुरको पौवादुङमा गाउँपालिकामा २२ बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । गाउँपालिकाले पञ्चकन्या माध्यमिक विद्यालयमा आवश्यक सुविधा सहितको क्वारेन्टाइन निर्माण गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनु भयो । गाउँपालिकाले दुई ओटा आइसोलेशन बेड तयार गरेको छ । गाउँपालिका प्रवेश गर्ने नाकाहरू पूर्ण रूपमा बन्द गरेको छ ।
कोरोना भाइरसको सङ्क्रमण हुन नदिन लकडाउन चलिरहँदा भोजपुर सदरमुकाम र आसपासमा सञ्चालित औषधि पसलहरूको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय भोजपुरले जिल्ला सदरमुकाम र आसपासमा सञ्चालनमा रहेका औषधि पसलहरूको अनुगमन गरेको हो । औषधि पसलहरूको अवस्था र म्याद नाघेका औषधिहरूका विषयमा जानकारी लिन अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइँटेलको संयोजकत्वमा अनुगमन टोली बनाई अनुगमन गरिएको छ । सदरमुकाममा सञ्चालित आठ ओटा फार्मेसीमा अनुगमन भएको छ । अनुगमनका क्रममा टोलीले केही म्याद सकिएका औषधि पाइएको, तीन ओटा फार्मेसीलाई लाइसेन्स लिएर मात्र बेच्न निर्देशन गरेको, नवीकरण नगरेका चार ओटा फार्मेसीलाई नवीकरण गरेर मात्र औषधि विक्री गर्न निर्देशन दिएको छ ।
लकडाउनको अवज्ञा गर्दै आफुखुशी हिँडडुल गर्ने सर्वसाधारण र सवारीसाधनको आवतजावतमा कमी नआएपछि भोजपुर प्रहरीले सचेतनामूलक 'प्ले कार्ड' अभियान अघि बढाएको छ । बन्दको आव्हान गरिए पनि सर्वसाधारण र सवारीसाधन चल्न थालेपछि जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरीको संयुक्त टोलीले सचेतनामुलक प्ले कार्ड प्रदर्शन गर्न थालेको हो । सङ्क्रमणको जोखिम बढिरहेका बेला बन्दको अवज्ञा गर्ने सर्वसाधारण र सवारी धनीलाई सचेत गराउन यो अभियान थालिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर प्रदीप तामाङले बताउनुभयो ।
इन्सेक इलाम जिल्ला प्रतिनिधि कोकिला ढकालका अनुसार इलामका भारतीय सीमाक्षेत्रमा हुने आउ-जाउलाई पूर्णतः ठप्प बनाउने निर्णय भएको छ । जिल्लामा चैत ३० गते बसेको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम समितिको बैठकले पूर्वी भारतीय सीमामा भइरहेको कडाइलाई निरन्तरता दिने निर्णय गरेको छ । लकडाउनको अवधिभर भारतीय सीमा क्षेत्रमा कसैलाई पनि आउ-जाउ गर्न नदिनेगरी सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सीमा नाकाका खुला क्षेत्रमा समेत थप सुरक्षाकर्मी परिचालन गरिएको र यसलाई अझ प्रभावकारी बनाउने निर्णय भएको कार्यालयका सूचना अधिकारी सफल पोर्तेलले बताउनु भयो । इलामका क्वारेन्टाइनमा अहिले सम्म १२ जना पुरुषलाई राखिएको छ ।
इलामका स्थानीय तहले राहत वितरणको कामलाई निरन्तरता दिएका छन् । कतिपय स्थानीय तहले राहत वितरण गरिसकेका छन् भने केहीले सुरु गर्नै बाँकी छ ।
रोङ गाउँपालिकाले ४ सय ७३ परिवारलाई र देउमाई नगरपालिकाले २ सय ६८ परिवारलाई राहत वितरण गरिसकेका छन् । रोङको विपद् व्यवस्थापन कोषमा रहेको २० लाख रुपियाँ राहत बाँड्ने तयारी गरिएपनि दाताहरूकै सहयोगले राहतको खर्च जुटेको गाउँपालिका अध्यक्ष समशेर राईले बताउनु भयो । देउमाई नगरका प्रमुख सूर्य पोख्रेलले सङ्घीय सरकारले तोकेकै मापदण्डअनुसार राहत बाँडिएको जानकारी दिनुभयो । उहाँले नगरमा आउँदो तीन महिनालाई पुग्ने खाद्यान्न र औषधि जोहो भइसकेको भन्दै अहिलेसम्म विपद् व्यवस्थापन कोषबाटै रकम खर्च भइरहेकाले जनप्रतिनिधि र कर्मचारीबाट चन्दा उठाउनु नपरेको जनाउनुभयो । देउमाई नगरको विपद् व्यवस्थापन कोषमा १० लाख रुपियाँ विनियोजित छ ।
इलाम नगरपालिकाले पनि स्थानीय तह आकस्मिक राहत कोषमा ४८ लाख रुपियाँ जम्मा गरेको छ । सूर्योदय नगरपालिकाले विपद् व्यवस्थापन कोषमा १७ लाख रुपियाँ जम्मा भएको जनाएको छ । सन्दकपुर गाउँपालिमा चाहिँ विपन्न र असङ्गठित श्रमिकलाई राहत वितरण गर्नेबारे बैठक बस्ने र निर्णय गर्ने प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताउनु भयो । माइजोगमाई गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा ४ लाख रुपियाँ विनियोजित रहेकामा भर्खरै थप रकम रकमान्तर गरी ३२ लाख रुपियाँ पुर्याएको छ । यो गाउँपालिकाले ३ सय ९ परिवारलाई राहत वितरण गरेको लेखा शाखाका प्रदीप नेपालले जानकारी दिनुभयो ।
इन्सेक प्रदेश १ कार्यालय, विराटनगर
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ४ गते)
माघ ४ गते २ सय ६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नपा–१३ का १८ वर्षीय प्रभुप्रसाद यादवलाई इलाका प्रहरी कार्यालय लहानले माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २ गते…
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई जोगबनी नाका हुँदै भारत पुर्याएर बेचबिखन प्रयास गरेको आरोप प्रहरीले सुनसरी, धरान उपमहानगरपालिका–१७ का ३२ वर्षीय आशिष सुनुवारलाई पुस २९ गते विराटनगरबाट गिरफ्तार गरेको छ । पीडित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ३ गते)
माघ ३ गते २ सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
घरेलु हिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी
कालिका गाउँपालिका–२ की ४७ वर्षीया एकल महिला सीताकुमारी नगरकोटीले आफूलाई कुटपिट गरेको आरोपमा कान्छा ससुरा ७१ वर्षीय मङ्गलदाश श्रेष्ठ र कान्छी सासू ६५ वर्षीया विष्णुमाया श्रेष्ठविरुद्ध माघ ३ इलाका प्रहरी…