कोरोना भाइरससम्बन्धी गण्डकी प्रदेशको अवस्था (वैशाख १ गते)

  ०७७ वैशाख १ गते

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले गण्डकी स्वास्थ्य एप्स सञ्चालनमा ल्याएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो । यसबाट नागरिकहरूले सहज रूपमा प्रदेश भरीको कोभिड-१९ को अवस्था बारे थाहा पाउन सक्नेछन् ।

गण्डकी प्रदेशको बागलुङ जिल्लामा चैत ३० गते गरिएको कोरोनाको द्रुत परीक्षण (र्‍यापीड डाइगनोष्टिक टेष्ट (आरडीटी)) मा कोरोना भाइरस पोजेटिभ देखिएकी ६५ वर्षीया महिलाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

इन्सेक बागलुङ जिल्ला प्रतिनिधि सृजना पन्तका अनुसार केही समय पहिले भारतका विभिन्न स्थानमा तीर्थयात्रा गरी फर्किएकी महिलामा कोरोना सङ्क्रमणको आशङ्का भएपछि उहाँको स्वाब परीक्षण वैशाख १ गते गरिएको तर रिपोर्ट नेगेटिभ आएको थियो । स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपनि महिलालाई केही दिन क्वारेण्टाइनमै राख्ने र नियमित चेकजाँचपछि घर पठाउने तयारी भएको काठेखोला गाउँपालिका अध्यक्ष अमर थापाले जानकारी दिनुभयो ।

वैशाख १ गते बरेङ गाउँपालिकमा २२ जनाको र्‍यापीड टेस्ट गरिएको छ । उनीहरू सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । त्यस्तै गलकोट नगरपालिकामा १२ जनाको र्‍यापीड टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको छ ।

जिल्लाका १० ओटै स्थानीय तहले राहात वितरण गरिरहेका छन् । जिल्लाका प्रवेशद्वारमा चेकजाँच कडा पार्दै आवतजावतमा रोक लगाइएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएर धौलागिरी अञ्चल अस्पतालको आइसोलेशन कक्षमा उपचाररत बागलुङकी युवतीको चौथो पटकको स्वाब रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।

इन्सेक कास्की जिल्ला प्रतिनिधि सुशन घिमिरेका अनुसार विदेशबाट आएका कुल ३ सय ४८ जनामध्ये १ सय २ जनाको नमूना सङ्कलन गरी परीक्षण गरिएकोमा ९५ जनाको रिपोर्ट नेगेटिभ आएको छ र सात जनाको नतिजा आउन बाँकी रहेको छ । कास्कीमा हालसम्म र्‍यापीड टेष्ट किटबाट ८० जनाको परीक्षण गरिएको छ ।

इन्सेक गोरखा जिल्ला प्रतिनिधि हरिराम उप्रेतीका अनुसार गोरखामा आरडीटी किटबाट २८ जनाको परीक्षण भएको छ । गोरखा नगरपालिका अन्तर्गत गोरखा अस्पताल, तारानगर स्वास्थ्य चौकी र ताप्ले शहरी स्वास्थ्य केन्द्रमा चैत १ गते पछि विदेशबाट फर्किएकाहरूको जाँच गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताउनुभयो । वैशाख १ गते गोरखा अस्पतालको फिभर क्लिनिकबाट दुई जनाले सेवा लिएका छन् र कसैको पनि स्वाब परीक्षणको लागि पठाइएको छैन ।

अत्यावश्यक कामका लागि जिल्ला प्रशासनबाट लिएको पासको दुरूपयोग बढेपछि यसअघि लकडाउन अवधिभरको लागि जारी भएको सवारी पास रद्द गरिएको छ । जिल्लामा खाद्यान्न ढुवानीलगायत अत्यावश्यक प्रयोजनको लागि लकडाउन अवधि भर उल्लेख गरेको पास जारी भएको थियो । वैशाख १ गतेबाट अत्यावश्यक कामको लागि नयाँ सवारी पास लिन पुनः प्रक्रिया सुरू गर्न भनिएको जिल्ला प्रशासन कार्यालयका अधिकृत हर्क रोकाले बताउनुभयो ।

इन्सेक नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेकाअनुसार वैशाख १ गते सबै स्थानीय तहहरू गरी ६९ जनाको र्‍यापीड टेष्ट गरिएको छ । गैँडाकोट नगरपालिकाबाट भरतपुर कोरोना अस्पतालमा परीक्षणको लागि पठाइएको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । काठमाडौँबाट पैदल यात्रा गरी सुर्खेत जान लागेका ३१ जना यात्रुलाई देवचुली नगरपालिका-१६ रजहरबाट गाडीमा पठाइएको छ ।

इन्सेक पर्वत जिल्ला प्रतिनिधि सन्तोष थापाका अनुसार २ सय ४३ जनाको र्‍यापीड टेष्ट गरिएको छ । पर्वतमा अहिलेसम्म ६८ जनाको स्वाब परीक्षण गरिएको छ । जसमध्ये ६२ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ६ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

इन्सेक तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार तनहुँमा वैशाख १ गतेसम्म २ सय ७ जनाको स्वाब परीक्षण गरिएको छ । वैशाख १ गतेदेखि १० मध्ये आठ ओटा स्थानीय तहले विदेशबाट आउने व्यक्तिको नमूना परीक्षण थालिएको र सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख शङ्करवावु अधिकारीले जानकारी दिनुभयो ।

तनहुँमा चैत १ गते यता ७ सय २० जना विभिन्न देशबाट आएका थिए । ती सबै व्यक्तिको नमूना परीक्षण गरिने प्रमुख जिल्ला अधिकारीले बताउनुभयो ।

स्वास्थ्य कार्यालयका अनुसार भानु नगरपालिकामा ३८ पुरूष र तीन महिलासहित ४१ जना, व्यास नगरपालिकामा १२ पुरूष र पाँच महिलासहित १७ जना, शुक्लागण्डकी नगरपालिकामा २६ पुरूष र आठ महिला गरी ३४ जना, भिमाद नगरपालिकामा २९ पुरूष र तीन महिलासहित ३२ जनाको नमूना परीक्षण गरिसकिएको छ ।

देवघाट गाउँपालिकामा २७ पुरूष र पाँच महिलासहित ३२ जना, आबुँखैरेनी गाउँपालिकामा पाँच पुरूष, म्याग्दे गाउँपालिकामा ३३ पुरूष र पाँच महिला र बन्दिपुर गाउँपालिकामा पाँच पुरूष र तीन महिलासहित आठ जनाको कोरोनाको नमूना परीक्षण गरिसकिएको छ ।

ऋषिङ र घिरिङ गाउँपालिकामा भने परीक्षण सुरू भएको छैन । उक्त दुई गाउँपालिकामा कोरोना परीक्षण गर्ने तालिम प्राप्त स्वास्थ्यकर्मी नहुँदा परीक्षण सुरू नभएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख अधिकारीले बताउनुभयो । उक्त दुई गाउँपालिकामा वैशाख २ गते जिल्ला स्वास्थ्य कार्यालयबाट दुई जना ल्याबसम्बन्धी स्वास्थ्यकर्मी गएर सबैको परीक्षण गरेर आउने अधिकारीले बताउनु भयो । सबै स्थानीय तहमै कोरोनाको नमूना परीक्षणका लागि चैत ३० गते किट उपलब्ध गराइएको थियो ।

यसैबीच स्थानीय तहले बजार अनुगमन पनि सुरू गरेका छन् । अत्यावश्यक वस्तुहरूको अभाव हुन नदिन अनुगमन गरिएको स्थानीय तहले जनाएका छन् । शुक्लागण्डकी नगरपालिकाले आइतबार नगरक्षेत्रमा सञ्चालित निजी स्वास्थ्य संस्थाहरूको अनुगमन गरेको थियो । कोरोना भाइरसको सङ्क्रमणको त्रास फैलिएको बेलामा अत्यधिक प्रयोगमा आउने मास्क र स्यानिटाइजरमा हुने कालोबजारी रोक्न स्वास्थ्य शाखाले दुलेगौँडा र खैरेनीटार बजारका मेडिकल, पोलिक्लिनिक र औषधि पसलमा अनुगमन गरेको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख अजय श्रीवास्तवले बताउनुभयो ।

अनुगमनको क्रममा आगामी महिनाको उत्पादन मिति राखेर बजारमा स्यानिटाइजर विक्री वितरण भइरहेको फेला परेको थियो । उत्पादन हुनु एक महिना अगाडि बजारमा भेटिएको ती स्यानिटाइजर जफत गरी कारवाहीका लागि सम्बन्धित निकायमा जानकारी गराइएको श्रीवास्तवले जानकारी दिनु भयो ।

स्थानीय प्रशासनले उपभोक्तालाई खाद्य वस्तु खरिदको लागि बिहान ७ बजेदेखि १० बजेसम्म र बेलुकी ४ बजेदेखि १० बजेसम्म खाद्य पसल खोल्न दिने यसअघि निर्णय गरेको भएपनि सोही समयमा उपभोक्ताको बजारमा भिड बढ्न थालेको र खाद्य वस्तु खरिद गर्ने नाममा सर्वसाधारण बजारमा हिँड्न थालेको कारण व्यास नगरपालिकाले वैशाख १ गतेदेखि बिहान ७ बजेदेखि १० बजे सम्ममात्र अत्यावश्यक वस्तु खरिदको लागि मात्र पसल खुल्ला गर्न दिने निर्णय गरेको छ ।

इन्सेक म्याग्दी जिल्ला प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार वैशाख १ गते मङ्गला गाउँपालिकाको बाबियाचौरमा भएको र्‍यापीड टेष्टमा २६ जनाको परीक्षण गरिएको छ र सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

इन्सेक लमजुङ जिल्ला प्रतिनिधि दलबहादुर मजाकोटीका अनुसार वैशाख १ गते जिल्लाबाट चार जनाको स्वाब परीक्षणको लागि पोखरा पठाइएको छ । र्‍यापीड टेष्टबाट ४२ जनाको नमूना परीक्षण गरिएको थियो र सबैको रिपोर्ट नेगेटिभ आएको छ । हाल जिल्लामा २९ जना क्वारेण्टाइनमा रहेको छन् ।


इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखरा