कोरोना भाइरससम्बन्धी गण्डकी प्रदेशको अवस्था (चैत ३० गते)

  ०७६ चैत ३० गते

गण्डकी प्रदेशको विभिन्न जिल्लामा र्‍यापिड डायगनोष्टिक टेष्ट (आरडटी) प्रयोग भइरहेको छ । यसै परीक्षणबाट बागलुङ जिल्लामा एक शङ्कास्पद सङ्क्रमितको पहिचान भएको छ ।

इन्सेक बागलुङ जिल्ला प्रतिनिधि सृजना पन्तका अनुसार दुई सङ्क्रमित पुष्टि भएसँगै जोखिमयुक्त जिल्लाको सूचीमा रहेको बागलुङमा थप एक महिलामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको छ ।

जिल्लाको काठेखोला गाउँपालिकामा चैत ३० गते सात जनाको द्रुत परीक्षण गरिएकोमा ६५ वर्षीया एक महिलामा र्‍यापिड टेष्टमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको गाउँपालिका अध्यक्ष अमर बहादुर थापाले जानकारी दिनुभयो ।

केही साताअघि मात्रै गाउँका अन्यसँग मिलेर भारतको तिर्थयात्रा गएर फर्किनु भएकी ती महिलालाई अहिले गाउँपालिकाकै क्वारेण्टाइनमा राखिएको छ ।

सङ्क्रमण थप पुष्टि गर्न उहाँको पुनः स्वाब सङ्कलन गरेर परीक्षणका लागि पोखरा या काठमाडौँ पठाउने तयारीमा रहेको बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले जानकारी दिनुभयो । 'तीन दिनदेखि जारी र्‍यापिड टेष्टका क्रममा एक जनामा रिपोर्ट पोजेटिभ देखिएको जानकारी आयो ।'-प्रजिअ सैजुले भन्नुभयो-'अब शङ्कास्पद महिला सहित उहाँको परिवार र सम्पर्कमा आएकाहरूलाई क्वारेण्टाइनमा राख्न र आवश्यक समन्वयका लागि जिल्ला प्रशासनबाट सुरक्षाकर्मीको टोली त्यसतर्फ पठाएका छौँ ।'

काठेखोला गाउँपालिकामा ५७ जनाको परीक्षण गरिएकोमा ५६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । जैमिनी नगरपालिकामा ८६ जना, बागलुङ नगरपालिकामा आठ जना, ढोरपाटन नगरपालिकामा ५० जना, ताराखोला गाउँपालिकामा २९ जना, बरेङ गाउँपालिकामा ३५ जना र गलकोट नगरपालिकामा १ सय जनाको र्‍यापिड टेष्ट गरिएको छ । उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

इन्सेक कास्की जिल्ला प्रतिनिधि सुशन घिमिरेका अनुसार कास्कीका पाँच वटा फिभर क्लिनिकबाट हालसम्म २ सय २७ जनाको परीक्षण गरिएको छ । कास्कीका ११ ओटा क्वारेण्टाइनमा ४ सय ९३ बेड रहेका छन् । सरकारबाट बनाइएका क्वारेण्टाइनमा कोही पनि छैनन् भने होम क्वारेण्टाइनमा ९६ जना रहेका छन् । एक महिना भित्र विदेशबाट आएका ३ सय ४८ जनामध्ये ९५ जनाको नमूना परिक्षण भएको छ । जसमा ८५ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १० जनाको रिपोर्ट आउन बाँकी रहेको छ । जिल्लाका विभिन्न स्थानीय तहहरूमा हालसम्म १९ जनाको र्‍यापिड टेष्ट किटबाट परीक्षण गरिएको छ ।

इन्सेक गोरखा जिल्ला प्रतिनिधि हरिराम उप्रेतीका अनुसार बारपाक सुलिकोट गाउँपालिकामा  भारत र चितवनबाट आएका तीन जना, धार्चेमा सडक निर्माणका लागि गुल्मी गएर फर्केका दुई जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएको छ । उनीहरूको स्वाब चैत ३० गते परीक्षणका लागि पोखरा पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायण अर्यालले बताउनुभयो ।

इन्सेक नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार चैत २९ गते सबै स्थानीय तहहरूमा र्‍यापिड टेष्ट सुरू गरिएको र चैत ३० गते ६२ जनाको परीक्षण गरिएको छ । उनीहरू सबैको रिपोर्ट सामान्य आएको छ । बौदीकाली गाउँपालिकाको क्वारेण्टाइनमा थप चार जना बसेका छन् । यसका साथै क्वारेण्टाइनमा बस्नेको सङ्ख्या २० पुगेको छ ।

इन्सेक पर्वत जिल्ला प्रतिनिधि सन्तोष थापाका अनुसार पर्वतमा हालसम्म ६६ जनाको स्वाब सङ्कलन गरेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट परीक्षण गराइएको छ । जसमध्ये सबैको रिपोर्ट नेगेटिभ देखिएको छ भने चैत २९ गते र्‍यापिड टेष्टबाट परीक्षण गरिएका कुश्मा नगरपालिकाका ४५ जना र फलेवास नगरपालिकाका ५७ जना गरी १ सय २ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल पर्वतका डा. शिशिर देवकोटाले जानकारी दिनुभयो । पर्वतमा विदेशबाट चैत १ गते यता भित्रिएका ३ सय ५० जना रहेका छन् । हालसम्म १ सय ६८ जनाको परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको डा. देवकोटाले जानकारी दिनुभयो । चैत ३० र ०७७ वैशाख १ गते परीक्षण कार्यलाई तिव्रता दिइ कोरोना परीक्षण कार्य सम्पन्न गर्ने उहाँले बताउनुभयो ।

पर्वतमा राहत वितरण कार्य सात ओटै स्थानीय तहमा धमाधम भइरहेको छ । पर्वतका सबै स्थानीय तहहरूले १ करोड ६६ लाख रुपियाँ बराबरको खाद्यान्न वितरण गर्दैछन् । स्थानीय प्रशासनले छिमेकी जिल्ला बागलुङबाट ओहोरदोहोर गर्ने सम्पूर्ण नाकाहरूमा सुरक्षाकर्मी परिचालन गरेको छ भने पर्वत बागलुङ जोड्ने झुलुङ्गे पुलहरूमा तारबार नै लगाएर अवरोध गरिएको छ । प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले स्थानीयवासीहरूको अनुरोधमा नै सुरक्षाकर्मीको सहयोग लिएर उक्त कार्य गरेको बताउनुभयो । वैशाख सङ्क्रान्तिको अवसरमा कुनै पनि मेला आयोजना नगर्न जिल्ला प्रशासन कार्यालय पर्वतले आग्रह गरेको छ । जमघट हुने सबै कार्यक्रममा प्रशासनले रोक लगाएको छ ।

इन्सेक तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार तनहुँका सबै स्थानीय तहबाट नै कोरोना भाइरसको द्रुत परीक्षण गरिने भएको छ । चैत्र ४ गते यता विभिन्न मुलुकबाट भित्रिएका व्यक्तिहरूमा कोरोना परीक्षणको लागि कीट प्राप्त भइसकेको जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले बताउनु भयो ।

विभिन्न मुलुकबाट भित्रिएका नागरिकहरूमा कोरोनाको द्रुत परीक्षण गरिने र शङ्कास्पद रिपोर्ट  आएमा माथिल्लो निकायमा पठाइने अधिकारीले बताउनुभयो । यसका लागि ६ सय ४२ थान कीट प्राप्त भएको र उक्त कीट चैत ३० गते नै सबै स्थानीय तहमा पठाइ सकिएको उहाँले बताउनुभयो । बाहिरी मुलुकबाट नागरिक आएको सङ्ख्याको आधारमा स्थानीय तहमा कीट वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

व्यास नगरपालिकामा १ सय २० थान, शुक्लागण्डकी नगरपालिकामा १ सय थान, भानु नगरपालिकामा ८५ थान र भिमाद नगरपालिकामा ६० थान कीट पठाइएको छ । यसैगरी सङ्ख्याको आधारमै गाउँपालिकाहरूमा पनि कीट पठाइएको अधिकारीले बताउनुभयो । तनहुँमा चैत १ गते यता ७ सय २० जना नागरिक भारतलगायत अन्य मुलुकबाट आएको तथ्याङ्क छ । तर, चैत ४ गतेपछि आएकाहरूको मात्र परीक्षण गरिने अधिकारीले बताउनुभयो ।

कोरोना परीक्षणका लागि सबै स्थानीय तहमा तालिम प्राप्त स्वास्थ्यकर्मीहरू छन् ।स्वास्थ्यकर्मीहरूले कीटमार्फत नमूना परीक्षण गर्ने र शङ्कास्पद देखिएकाहरूको थप परीक्षणका लागि माथिल्लो निकायमा पठाइने अधिकारीले बताउनुभयो ।

तनहुँमा लकडाउनको कारण समस्यामा परेका विपन्न नागरिकलाई सबै स्थानीय तहले राहत वितरण गरिरहेका छन् । सकेसम्म निकै समस्यामा परेका नागरिकलाई प्राथमिकतामा राखी राहत वितरणको काम भइरहेको सम्बन्धित स्थानीय तहका अधिकारीहरूले जनाएका छन् ।

देवघाट गाउँपालिका-५ का वडा अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता यालबहादुर गुरुङले सकेसम्म विवाद नआउने गरी राहत वितरण गरिएको बताउनुभयो । तर, सम्पन्न वर्गका व्यक्तिहरू पनि राहत लिन आउँदा र उनीहरूले नपाएको अवस्थामा भने बाहिर आएर धेरै हल्ला गर्ने गरेको कारणसमस्यामा परेको उहाँले बताउनुभयो ।

इन्सेक म्याग्दी जिल्ला प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार मालिका गाउँपालिका-६ को प्राथमिक स्वास्थ्य केन्द्रमा चैत ३० गते थप १९ जनाको र्‍यापिड टेष्ट गरिएको छ । जसमध्ये एक जनाको स्वाब थप परीक्षणका लागि निकालिएको छ । चैत २९ गते परीक्षणका लागि स्वाब निकालेर पोखरा पठाइएको ६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

इन्सेक लमजुङ जिल्ला प्रतिनिधि दलबहादुर मजाकोटीका अनुसार चैत ३० गते जिल्लाका विभिन्न स्थानमा रहेका फिभर क्लिनिकबाट ५३ जनाले सेवा लिएका छन् भने ६६ जनाको र्‍यापिड टेष्ट गरिएको छ । दुधपोखरी गाउँपालिकाको क्वारेण्टाइनमा बसेका तीन जना घर चैत ३० गते फर्केका छन् । दोर्दी गाउँपालिका-३ मा खानेपानीको काम गर्दै आएका नौ जना मजदुर र वडा नम्बर ५ का नौ जना मजदुरहरूको उद्धार गरिएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताउनुभयो । उनीहरूको लागि खाने बस्ने व्यवस्था गरिएको अध्यक्ष गुरुङको भनाइ छ ।


इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखरा