कोरोना भाइरससम्बन्धी गण्डकी प्रदेशको अवस्था (चैत २९ गते)

  ०७६ चैत २९ गते

गण्डकी प्रदेशको विभिन्न जिल्लामा चैत २९ गतेबाट कोरोना भाइरसको परीक्षण र छोटो अवधिमा भाइरस सङ्क्रमितको पहिचान गर्न र्‍यापिड डायगनोष्टिक टेष्ट (आरडिटी) प्रयोग गर्न थालिएको छ ।

इन्सेक कास्की जिल्ला प्रतिनिधि सुशन घिमिरेका अनुसार कास्की जिल्लामा कोरोना भाइरसको सङ्क्रमणको अवस्था जान्नको लागि र्‍यापिड डाइगोनिष्टक टेष्ट (आरडिटी) सुरू भएको छ । रूपा गाउँपालिकामा १७ जना र मादी गाउँपालिकामा दुई जनाको परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख बाबुराम आचार्यले जानकारी दिनुभयो ।

इन्सेक गोरखा जिल्ला प्रतिनिधि हरिराम उप्रेतीका अनुसार गोरखा अस्पतालको फिभर क्लिनिकमा उपचार गराउन आएकी एक महिलाको स्वाब परीक्षणको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

ति महिलाको उपचार गोरखा अस्पतालमा भइरहेको छ । हालसम्म गोरखा अस्पतालबाट ६ जनाको स्वाब परीक्षणको लागि पठाइएकोमा चार जनाको रिपोर्ट नेगेटिभ आएको छ भने दुई जनाको रिपोर्ट आउन बाँकी छ ।

गण्डकी प्रदेश सरकारले गोरखा अस्पताललाई पाँच थान पीपीइ र ५ सय थान सर्जिकल माक्स उपलब्ध गराएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताउनु भयो ।

कोरानाको सम्भावित जोखिमलाई लक्षित गरी सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विनियोजन गरेको १ करोड रुपियाँले गोरखा अस्पतालमा दुई ओटा भेण्टिलेटर जडान गरी चार बेडको आइसियु कक्ष स्थापनाको प्रक्रिया सुरू भएको छ । द्रुत प्रक्रियाबाट सुरू गरेर सकेसम्म दुई हप्ता भित्र निर्माण सक्ने लक्ष्य रहेको ढकालले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय गोरखाले नयाँ वर्ष २०७७ मनाउने उद्देश्यका साथ मेला, घुमफिर तथा जमघट नगर्न सचेत गराएको छ । विषम परिस्थितिमा घर बाहिर ननिस्कन आग्रह गरेको प्रशासनका अधिकृत हर्क रोकाले बताउनुभयो ।

इन्सेक नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार चैत २९ गते सबै स्थानीय तहमा र्‍यापीड टेस्ट किट बाँडिएको छ । गैँडाकोट नगरपालिकाले चैत २९ गतेबाट र्‍यापीड टेस्ट सरू गरेको र पाँच जना शङ्कास्पद बिरामीको टेष्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईंले बताउनु भयो । उहाँले चैतमा विदेशबाट आएकामध्ये १४ दिन नकटेकाहरूको परीक्षण गरिने जानकारी दिनुभयो ।

इन्सेक पर्वत जिल्ला प्रतिनिधि सन्तोष थापाका अनुसार पर्वतमा चैत २९ गते फलेवास नगरपालिका र कुश्मा नगरपालिकामा भारतबाट भित्रिएका १ सय २ जना व्यक्तिहरूको र्‍यापीड टेष्ट गरिएको छ । जिल्ला अस्पताल पर्वतले परीक्षणको रिपोर्ट एकैपटक सार्वजनिक गरिने जनाएपनि साँझसम्म रिपोर्ट सार्वजनिक गरेको छैन । जिल्लामा लकडाउनको पालना भइरहेको छ ।

बागलुङको गल्कोट नगरपालिका हटियादेखि हिँडेरै बीरगञ्ज जान लागेका चार जना मजदुरलाई पर्वत स्थित क्वारेण्टाइनमा भर्ना गरिएको छ । कोरोना सङ्क्रमणको महामारीसँगै काम गर्ने वातावरण नभएपछि हिँडेरै जान लागेका चारै जनालाई पर्वत सदरमुकाम कुश्मा बजार स्थित क्वारेण्टाइनमा राखिएको हो ।

घर निर्माण कार्यमा गल्कोट क्षेत्रमा रहेका मजदुरलाई ठेकेदार दिलिप शाहले अलपत्र पारेर छाडेपछि हिँडेरै घर पुग्ने लक्ष्यका साथ चैत २७ गते निस्केका हुन् ।

कोठामा खाना खर्च पनि नभएपछि सबै छाडेर हिँड्न बाध्य भएको २२ वर्षीय मजदुरले बताउनुभयो । उहाँसँगै पर्सा जिल्ला सखुवा प्रसौनी गाउँपालिकाका १८ वर्षीय एक जना १६ वर्षीय  र १५ वर्षीय दुई जना बालकलाई पर्वत प्रशासनले क्वारेण्टाइनमा राखेको हो ।

मजदुरहरूले आफूहरूलाई कुनै राहतको पनि व्यवस्था नभएको र खाने खर्च नभएकै कारण काम गर्ने स्थान छाडेर हिँडेको गुनासो गर्नुभयो ।

चारै जनालाई राजमार्गमा अलपत्र देखेपछि पर्वतका इन्सेक प्रतिनिधि सन्तोष थापाले क्वारेण्टाइनमा राख्न सहयोग गर्नुभएको हो ।

उहाँहरूले तीन दिनदेखि खाना खानसमेत नपाएको बताएपछि तत्कालका लागि खाजाको व्यवस्थापनसँगै खाना खुवाउने व्यवस्था गरी क्वारेण्टाइनमा राख्न सहयोग गरेको थापाले बताउनुभयो ।

इन्सेक बागलुङ जिल्ला प्रतिनिधि सृजना पन्तका अनुसार बागलुङमा चैत २९ गते ३ सय ९७ जनाको र्‍यापीड टेष्ट गरिएको छ । बागलुङ नगरपालिकामा ९१ जना, ढोरपाटन नगरपालिकामा ७७ जना, निसिखोला गाउँपालिकामा १ सय १५ जना र बडिगाड गाउँपालिकामा १ सय १४ जनाको परीक्षण गरिएको छ । चैत महिनामा बागलुङ भित्रिएका उनीहरूको र्‍यापीड टेष्ट रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।

बागलुङका १० ओटै स्थानीय तहमा राहत वितरण भइरहेको छ । बरेङ गाउँपालिकाको सर्वोदय माध्यमिक विद्यालयको क्वारेण्टाइनमा बसेका चार जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई एक केजी महसहित सर्जिकल माक्स र प्रशंसा पत्र दिएर चैत २९ गते बिदाइ गरिएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

इन्सेक तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार तनहुँमा ७ सय २० जना भारतलगायत विभिन्न मुलुकबाट फर्किएको भएपनि देवघाट गाउँपालिकामा १ जना मात्रै क्वारेण्टाइनमा बसेका छन् भने अन्य होम क्वारेण्टाइनमा बसेका छन् ।

उनीहरूको स्थानीय तह र वडा कार्यालयको चिकित्सकको पहलमा दैनिक स्वास्थ्य विवरण जानकारी लिइएको र ज्वरो आएका र शङ्कास्पद देखिएकाहरूलाई नमूना परीक्षणको लागि पठाइएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले बताउनुभयो । हालसम्म तनहुँमा ६ जनाको नमूना परीक्षण गरिएकोमा सबैका रिपोर्ट नेगेटिभ आएको अधिकारीले बताउनुभयो ।

भारतमा उपचार पश्चात् फर्किएका व्यास नगरपालिका-३ सफा सडकका तीन जनालाई होम क्वारेण्टाइनमा राखिएको छ । क्यान्सर रोगबाट पीडित भइ ६ महिनादेखि भारतको इन्दिरा गान्धी क्यान्सर अस्पतालमा उपचार पश्चात् चैत २८ गते साँझ घर फर्किएका तीनै जनालाई चिकित्सकको परामर्शमा घरमै सुरक्षित रूपमा राखिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय तनहुँको समन्वयमा उनीहरूलाई नेपाल-भारतको सीमाबाट नेपाल प्रवेश गर्ने व्यवस्था मिलाइएको थियो ।

इन्सेक म्याग्दी जिल्ला प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार म्याग्दी जिल्लामा चैत २९ गतेदेखि कोरोना भाइरसको र्‍यापीड टेष्ट सुरू गरिएको छ । पहिलो दिन बेनी नगरपालिकाबाट उक्त टेष्ट थालिएको हो । सुरूमा विदेशबाट आएको २१ दिन नपुगेकाहरूको टेष्टको तयारी गरेको भएपनि पछिल्लो समयमा विदेशबाट आएका सबैको टेष्ट गर्न निर्देशन भए बमोजिम विदेशबाट आएका सबैको टेष्ट गर्न लागिएको बेनी अस्पतालका ल्याब टेक्निसियन ध्रुव गिरीले बताउनुभयो ।

बेनी नगरपालिकामा विदेशबाट आएका ३८ जना रहेकोमा पहिलो दिन परीक्षण गरिएको ३१ जनाको  रिपोर्ट नेगेटिभ आएको छ । किटबाट परीक्षण गरिएकामध्ये ६ जनाको स्वाब परीक्षणको लागि पोखरा पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

म्याग्दी जिल्लाका बेनी नगरपालिकामा ३८, रघुगङ्गा गाउँपालिकामा ३६, धौलागिरी गाउँपालिकामा १५, मालिका गाउँपालिकामा ११, मङ्गला गाउँपालिकामा ३४ र अन्नपूर्ण गाउँपालिकामा १५ जना विदेशबाट आएका नागरिकहरू सम्पर्कमा रहेका छन् । पछिल्लो तथ्याङ्क अनुसार म्याग्दी जिल्लामा ६१ जना चैत महिनामा मात्रै नेपाल बाहिरबाट आएका थिए ।

इन्सेक लमजुङ जिल्ला प्रतिनिधि दलबहादुर मजाकोटीका अनुसार चैत २९ गते जिल्लाका विभिन्न स्थानमा रहेका फिभर क्लिनिकबाट आठ जनाले सेवा लिएका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा चैत २९ गते सात जना क्वारेण्टाइनमा बसेका छन् भने ६ जना घर फर्केका छन् । योसँगै क्वारेण्टाइनमा बस्नेको सङ्ख्या ३५ पुगेको छ । चैत २९ गते १० जनाको स्वाब परीक्षणको लागि पोखरा पठाइएको छ । आरडिटी उपयोग गर्न आठ ओटै स्थानीय तह प्रमुखहरूलाई अभिमुखीकरण गरिएको छ । जिल्लाभरी राहत वितरणको काम भइरहेको छ ।


इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखरा