कोरोना भाइरससम्बन्धी गण्डकी प्रदेशको अवस्था (चैत २८ गते)

  ०७६ चैत २८ गते

गण्डकी प्रदेशमा चैत महिनाभित्र भारत लगायतका विभिन्न देशबाट आएका ४ हजार १ सय ४६ जनाको कोरोना परीक्षण गरिने भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माका अनुसार कोभिड-१९ को सम्भावित सङ्क्रमण फैलिनबाट रोक्न विदेशबाट प्रदेश भित्रिएका सबैको र्‍यापिड डायगोनिष्टिक टेष्ट (आरडिटी) गर्न लागिएको हो । जसका लागि म्यादी, पर्वत, तनहुँ, स्याङजा, कास्की, लमजुङ, गोरखा र पुर्वी नवलपरासीमा र्‍यापिड डाइगोनिष्टक टेष्ट(आरडिटी) किट पठाइसकिएको छ ।

लकडाउनको समयमा बजारमा कालोबजारी हुन सक्ने भन्दै प्रदेश अनुगमन समितिले अनुगमनको कामलाई तिव्रता दिएको छ । पोखरा महानगरपालिकासँगै कास्की र तनहुँका विभिन्न क्षेत्रमा गएर बजार अनुगमन गरिएको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेशका निर्देशक गोकुल शर्मा पौडेलले जानकारी दिनुभयो । यस बाहेक प्रदेशका जिल्ला जिल्लामा रहेका घरेलु कार्यालय मार्फत सबै जिल्लामा निरन्तर बजार अनुगमन भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार बजारमा कुनै पनि वस्तुमा मुल्य बृद्धि भएको पाइएको छैन ।

इन्सेक कास्की जिल्ला प्रतिनिधि सुशन घिमिरेका अनुसार गण्डकी प्रदेशमा ३ सय १८ जनाको नमूना सङ्कलन गरिएकोमा २ सय ९८ जना को नेगेटिभ, २ जनाको पोजेटिभ र १८ जनाको नतिजा आउन बाँकी रहेको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरा स्वास्थ्य विज्ञान प्रष्ठिानका स्वास्थ्यकर्मीका लागि १ सय थान पीपीई प्रदान गर्नभएको छ । कोरोना भाइरसविरूद्ध खटिएका सबै स्वास्थ्यकर्मी ढुक्क भएर काम गर्ने वातावरण बनोस भन्ने महानगरको चाहना अनुरूप सामग्री हस्तान्तरण गरिएको मेयर जिसीले बताउनुभयो ।

इन्सेक गोरखा जिल्ला प्रतिनिधि हरिराम उप्रेतीका अनुसार पालुङटार नगरपालिकाले कोराना भित्रन नदिन टोल-टोलमा सतर्कता अपनाएको छ । विदेशबाट आएका ४६ जनालाई निगरानी भइरहेको र धेरैले १४ दिन कटाइसकेको नगर प्रमुख दिपकबाबु कँडेलले बताउनुभयो ।

पालुङटार नगरपालिकामा विपन्न वर्गलाई राहत वितरण थालेको छ । नगरपालिका भरी ८ सय ३ जना विपन्नको सूची तयार भएको नगर प्रमुख कँडेलले बताउनुभयो । ९ र ६ नम्बर वडा बाहेक अन्य वडामा राहत वितरण भइसकेको उहाँको भनाइ छ ।

इन्सेक नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार चैत २८ गते विभिन्न स्थानमा रहेका क्वारेण्टाइनमा बस्नेको सङ्ख्या १६ रहेको छ । काठमाडौँबाट फर्केका थप सात जनालाई हुप्सेकोट गाउँपालिकाको क्वारेण्टाइनमा राखेसँगै क्वारेण्टाइनमा बस्नेको सङ्ख्या १६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईंले बताउनुभयो । यसअघि जिल्लामा ९ जना क्वारेण्टाइनमा रहेका थिए । जिल्लामा हालसम्म ९० जना क्वारेण्टाइनमा बसेकोमा ७४ जना घर फर्केका छन् । चैत २८ गते कोरोना सङ्क्रमणको आशङ्कामा कसैको पनि स्वाब परीक्षणको लागि सङ्कलन नगरिएको उहाँले बताउनुभयो ।

इन्सेक पर्वत जिल्ला प्रतिनिधि सन्तोष थापाका अनुसार पर्वतमा हालसम्म ५१ ओटा स्वाब परीक्षणका लागि पठाइएको छ । जसमध्ये ४७ आटोको रिपोर्ट नेगेटिभ आएको छ भने चार जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला अस्पताल पर्वतका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर शिशिर देवकोटाले बताउनुभयो ।

चैत २८ गते पैञ्यु गाउँपालिकामा विदेशबाट भित्रिएका १४ जनाको स्वाब सङ्कलन भएको डाक्टर देवकोटाले जानकारी दिनुभयो । डाक्टर देवकोटाका अनुसार जिल्लामा र्‍यापिड टेष्ट गर्ने तयारी भएकाले १ सय थान किट भित्रिएका छन् । पहिलो चरणको र्‍यापिड टेष्ट चैत २९ गते फलेवास नगरपालिका र कुश्मा नगरपालिकामा भारतबाट भित्रिएका व्यक्तिहरूको गर्ने तयारी गरिएको छ ।

पर्वतमा हालसम्म फिभर क्लिनिकबाट ३ सय २६ जनाको परीक्षण गरिएको अस्पतालले जनाएको छ ।

जिल्लामा पहिलो चरणको राहत वितरण अभियान धमाधम भइरहेको छ । स्थानीयतहहरू मातहतका वडा कार्यालयमार्फत कोरोना प्रभावित परिवारहरूलाई राहत वितरण गरिरहेका छन् । चैत २७ गते राहात वितरणका क्रममा कुश्मा नगरपालिकामा अव्यवस्थित देखिएपनि चैत २८ गते व्यवस्थित तवरबाट राहत वितरण भइरहेको जिल्ला प्रशासन कार्यालय पर्वतका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताउनुभयो ।

इन्सेक बागलुङ जिल्ला प्रतिनिधि सृजना पन्तका अनुसार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले चैत २८ गते कोरोना सङ्क्रमितहरूको उपचार भइरहेको धौलागिरी अञ्चल अस्पताल बागलुङको निरीक्षण गर्नुभएको छ ।

जिल्लामा कोरोनाविरुद्धमा भइरहेको काम, अस्पतालले दिइरहेको सेवा सुविधा तथा समस्याको स्थलगत निरीक्षण गर्नुभएको छ ।

अस्पतालको निरीक्षणपछि मुख्यमन्त्री गुरुङले धौलागिरी अञ्चल अस्पताललाई स्रोत र साधनको कमी हुन नदिने बताउनुभएको छ । उहाँले काँधमा काँध मिलाएर कोरोनाविरुद्ध लाग्न सबैलाई आग्रह गर्दै कोरोना सङ्क्रमितहरूको उपचारमा कुनै कमि हुन नदिन अस्पताललाई आग्रह गर्नुभयो ।

'स्रोत र साधनको हामी व्यवस्था गरेका छौँ '-गुरुङले भन्नुभयो-'अस्पतालले बिरामीको उपचार र कोरोना रोकथामका लागि अझै प्रभावकारी भुमिका खेलोस ।' गुरुङले उपचारका क्रममा भएका जटिलता तथा आवश्यक उपकरणका विषयमा प्रदेश सरकार जानकार रहेको भन्दै आवश्यक उपकरण तथा दरबन्दी मिलानका लागि काम गरिरहेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री गुरुङले हाल चार शैया क्षमताको आइसोलेशन वार्डको क्षमता विस्तार गर्न अस्पताललाई अनुरोध गर्नुभयो ।

बरेङ गाउँपालिकाबाट कोरोना सङ्क्रमणको आशङ्कामा चैत २७ गते पोखरा पठाइएको सात जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । परीक्षणको लागि कोरोना सङ्क्रमण पुष्टि भएका अन्य दुई जना र बरेङका आठ जनाको स्वाब पठाइएको भएपनि तीन जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।

चैत २७ गतेबाट बागलुङमा र्‍यापीड टेस्ट सुरू गरिएको छ । पहिलो दिन परीक्षण गरिएको १४ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

इन्सेक तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार तनहुँबाट कोरोनाका शङ्कास्पद बिरामीले पोखरा स्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएर नमूना दिनुपर्ने बाध्यता रहेकोमा चैत २७ गतेबाट तनहुँको दमौली स्थित दमौली अस्पतालबाट कोरोना भाइरस (कोभिड-१९) को शङ्कास्पद बिरामीको स्वाब सङ्कलन सुरू गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदिपराज अधिकारीले बताउनुभयो ।

दमौली अस्पतालमा पहिलो दिन म्याग्दे गाउँपालिकाका एक जना र व्यास नगरपालिकाको एक जनाबाट स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाइएकोमा दुई जनाकै रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले बताउनुभयो ।

तनहुँमा पछिल्लो समय विभिन्न देशबाट ७ सय १६ जना आएको स्थानीयतहहरूको तथ्याङ्क रहेको छ । त्यसमध्ये देवघाट गाउँपालिकामा एक जना मात्र क्वारेण्टाइनमा बसेका छन् । बाँकी होम क्वारेण्टाइनमा बसेको र उनीहरूको नियमित निगरानी भइरहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले बताउनुभयो ।

हालसम्म तनहुँमा पाँच जना शङ्कास्पद बिरामीको स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले बताउनुभयो । यसअघि भानु नगरपालिकाका दुई जनाले पोखरामा र ऋषिङ गाउँपालिकाको एक जनाको काठमाडौँमा आफैँले स्वाब परीक्षण गराएका थिए । उनीहरूको रिपोर्ट नेगेटिभ आएको अधिकारीले बताउनुभयो । अब कुनै शङ्कास्पद बिरामीले आफैँ आएर दमौली अस्पतालमा नमूना उपलब्ध गराउन सक्ने अस्पतालका अध्यक्ष अधिकारीले बताउनुभयो ।

इन्सेक म्याग्दी जिल्ला प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि म्याग्दी जिल्लामा चैत २९ गते देखि र्‍यापिड टेष्टको तयारी थालिएको छ ।

बागलुङको दुई जनामा कोरोना सङ्क्रमण देखिएपछि सरकारले म्याग्दी, पर्वत र बागलुङमा कोरोनाको र्‍यापिड टेष्टको तयारी गरेको थियो । सोही बमोजिम म्याग्दीमा चैत २९ गतेदेखि टेष्टको तयारी गरीएको जनस्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । उहाँका अनुसार पहिलो दिन बेनी नगरपालिका र त्यसपछि गाउँपालिकाहरूमा पनि उक्त टेष्ट गरिनेछ । चैत २७ गते बेलुका र्‍यापिड टेष्ट किट आइपुगेकोले चैत २८ गते तयारी तथा सम्बन्धित व्यक्तिहरूलाई सम्पर्क गरी चैत २९ गते बेनी अस्पतालमा टेष्ट गर्न लगिएको लम्सालले बताउनुभयो ।

पछिल्लो तथ्याङ्क अनुसार म्याग्दी जिल्लामा ६१ जना चैत महिनामा मात्रै नेपाल बाहिरबाट आएका थिए । फागुनपछि विदेशबाट कुल १ सय ३९ जना आएको भएपनि २१ दिन भन्दा कम समय भएकाहरूको र्‍यापिड टेष्ट गरीने बेनी अस्पतालका ल्याब टेक्नीसियन ध्रुव गिरीले बताउनुभयो ।

पीपीई प्रयोग गरेर नमूना निकाली परीक्षण गर्नुपर्ने भएकाले आफू सुरक्षित हुँदै उक्त कार्य गर्ने तयारी भएको गिरीले बताउनुभयो । बेनीबाट परीक्षणका लागि०७६ चैत २७ गते पठाइएको स्वाबको नतिजा आएको छैन भने आज कुनै पनि नमूना सङ्कलन गरिएको छैन । जिल्ला भरी क्वारेण्टाइनमा १८ जना रहेका छन् ।

इन्सेक लमजुङ जिल्ला प्रतिनिधि दलबहादुर मजाकोटीका अनुसार चैत २८ गते जिल्लाका विभिन्न स्थानमा रहेका फिभर क्लिनिकबाट ५१ जनाले सेवा लिएका छन् । चैत २५ र २६ गते पठाइएका २१ जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । चैत २८ गते जिल्लामा स्वास्थ्य निर्देशनालय पोखराबाट १६९ थान आरडिटी प्राप्त भएका छन् । जिल्लाभरी राहत वितरणको काम भइरहेको छ । दुधपोखरी गाउँपालिका-२ का वडाध्यक्ष गोविन्द दवाडीले म्याद गुज्रिएको खाद्यान्न वितरण गरी विपन्नको स्वास्थ्यमा नै खेलवाड गरेको स्थानीय ३१ वर्षीय अनिल दवाडीले आरोप लगाउनु भयो । यस्तो परिस्थितिमा विपन्नको स्वास्थ्यसँग खेलवाड गर्नु भनेको मानव अधिकार उल्लङ्घन भएको दवाडीको भनाइ छ ।

दुधपोखरी गाउँपालिका-२ का स्थानीय व्यवसायी इमान गुरुङसँग खरिद गरी वितरण गरिएको उक्त खाद्यान्नको म्याद गुज्रिएको पाइएको छ । खाद्यान्न वितरणको लागि गरिएको भण्डारण स्थानमा  अनुगमनको क्रममा किरा, घुन लागेर कुहिएको हातमा राखेर मिच्दा धुलो भएको चामल पाइएको छ । २ सय ६३ विपन्न घरपरिवारलाई कुहिएको चामल वितरण गरिएको स्थानीय २९ वर्षीय प्रकाश दवाडीले बताउनुभयो । सत्यतथ्य छानबिन गरी आवश्यक कारवाही गर्ने गाउँपालिकाका अध्यक्ष छुपिमायाँ गुरुङले बताउनुभयो ।


इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखरा